१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

मेलबर्नमा झरेको आँसु

कथा

मेसेज आएको आठ घण्टापछि मात्र उसले देखेको थियो। आठ घण्टा उभिएर काम गर्दाको थकान मेट्न छहारीमुनिको मेचमा पल्टेर उसले केहीबेर निदाउन खोजेको थियो। निदाउनुअघि मेसेन्जर चेक गर्दा देखेको त्यो मेसेजले उसको निद्रा अनायास कता हरायो हरायो। हत्त न पत्त ऊ मेचमा अडेस लागेर बस्यो। फेरि फेरि उही मेसेज पढ्यो। पढ्दा पढ्दा उसको निधारमा चिटचिट पसिना बग्यो। चाल पाउने गरी पसिनाका धारा ढाडबाट पुट्ठातिर सललल बग्यो। त्यसै पनि अनिँदो आँखा, त्यो मेसेज पढेपछि उसका आँखा अझ धमिलो बन्दै गए। पार्कको हरियो घाँसे मैदान एकाएक डढेलो लागेको चौरजस्तै लाग्यो। सयौं वर्ष पुरानो बुढो रुख बिजुलीको नाङ्गो पोलजस्तै लाग्यो। कुकुर डोर्‍याउँदै गरेको बुढो मान्छे ऊ बसेको मेचअघिको बाटो हुँदै धिमा गतिमा गयो। उसलाई त्यो मान्छे पानी परेको रात अँध्यारो बाटोमा ठम्याउन नसकिने छाया गएजस्तो लाग्यो। ऊ उभिन खोज्यो। तर, अहँ उसका खुट्टा नै काटिएजस्तो लाग्यो। ऊ उभिन सकेन। पसिनाले उसलाई मेचमा बसिरहन पनि असजिलो भयो। उकुसमुकुसमै ऊ अघिजस्तै मेचमा पल्टियो। आँखा बेस्सरी चिम्लियो। आँखाअघि कालो, मात्र कालोबाहेक केही देखेन।

कलेजमा राजीव मध्यम क्षमताको विद्यार्थी थियो। टप टेनमा कहिल्यै आएन तर अनुत्तीर्ण पनि कहिल्यै भएन। गणितमा उसले कहिल्यै पचास कटाउन सकेन। ३५ भन्दा कम पनि कहिल्यै आएन। अर्थात् ऊ अनुत्तीर्ण कहिल्यै भएन। तर, कक्षाका पढन्तेहरूले जस्तै गणितमा ९७, ९८, ९९ पनि कहिल्यै ल्याउन सकेन। अरू विषयभन्दा अंग्रेजीमा उसको केही बढी अंक आउँथ्यो। बढी अंक आउने विषयमा बढी मिहिनेत गर्ने स्वाभाविक मनोविज्ञान हो। त्यसैले ऊ अंग्रेजीमै बढी मिहिनेत गथ्र्यो। अंग्रेजी उपन्यास पढ्ने उसको रुचि थियो। विद्यालयको पुस्तकालयमा साथीहरूले गणित, विज्ञान आदि विषयका पुस्तकमा चाख देखाउँथे भने ऊ अंग्रेजी उपन्यासका सिरिजको सौखिन थियो। उसका धेरै साथी र शिक्षक-शिक्षिकाले अपेक्षा गरेजस्तै एसएलसीपछि उसले मानविकी संकाय पढ्यो।

उसले मानविकीमै स्नातकोत्तर उत्तीर्ण गर्‍यो। खासमा स्नातक तहमै उसले ‘अनुत्पादक’ पढाइ छोडेर कुनै उत्पादक काम गर्न चाहेको थियो। तर, शिक्षक बाउको करबलमा उसले कहिल्यै पढाइ छोड्छु भन्ने आँट गरेन। साथीहरूसँग पढाइप्रति निराशा देखाए पनि उसले बाउ–आमासमक्ष कहिल्यै आफूलाई व्यक्त गर्न सकेन।

‘बनाउन त तलाई डाक्टर बनाउन खोजेको हो। तेरो ताल यस्तै भयो। अब मेजर इंग्लिसमा भए पनि एमए पास गर,’ बाउले बेला बेलामा उसलाई डोज दिइरहन्थे। किन हो, उसले बाउलाई ‘बरु म अरू काम गर्छु’ कहिल्यै भन्न सकेन।

उसले एमए पढ्दै गर्दा उसका विद्यालयका साथीहरूमध्ये दस जना पनि नेपालमा बाँकी थिएनन्। सबै विदेश गइसकेका थिए। कहिलेकाहीं हुने साथीहरूको जमघटमा पनि पाँच छ जनाभन्दा बढी जम्मा हुँदैनथे। खासमा विदेशबाट कोही साथी बिदामा आएको बेला मात्र उनीहरूको ‘ग्यादरिङ’ हुन्थ्यो।

त्यस्ता भेटघाटको अधिकांश समय विदेशबाट बिदामा आएका साथीको बखान सुन्दै व्यतीत हुन्थ्यो।

‘काम त मरेरै गर्नुपर्छ। तै पनि यता आउँजस्तो लाग्दैन यार। जीवन त उतैको ठीक लाग्छ।’

‘यत्रो वर्ष बसियो। मरी मरी काम गरियो। अहिले अलि राम्रै काम हात लागेको छ। यता आएर फेरि जिरोदेखि सुरु गर्नुपर्छ। अब उतै सेटल हुने विचार छ।’

‘बिहे गर्न आएको यार। जे जस्तो भए पनि बिहा त यताकै गर्नुपर्छ। उताका त के हो के।’

‘अब यता आएर फ्रस्टेट भएर बस्ने ? के काम गर्ने ? उतै काम सिकियो। उतैको काममा मज्जा लाग्छ।’

‘कहिलेकाहीं फकूँजस्तो पनि लाग्छ। तर, यताका खबर सुन्दा फेरि भइहाल्यो भन्ने विचार मनमा आउँछ।’

ग्यादरिङमा यस्तै यस्तै कुरा हुन्थ्यो। राजीव सुन्थ्यो। केही गिलास बियर घुट्काउँथ्यो। अनि राति ट्राफिक चेकिङ र बाउआमालाई छलेर कोठामा लुसुक्क पस्थ्यो।

   -                       -                                 -                        

राजीव एउटा प्लस टु कलेजमा अंग्रेजी साहित्य पढाउँथ्यो। उसको गोजे पैसाका लागि त्यो काम ठिकै थियो। बिहान सबेरै कलेज पुगेर केही कक्षा पढाउँथ्यो। दिनभर क्याफेमा बिताउँथ्यो। गितार बजाएर गीत गाउँदै दिन बित्थ्यो। झोलामा अंग्रेजी उपन्यास कहिल्यै खाली हुँदैनथ्यो। गितार बजाएर गीत गाउन साथी नभएको दिन दिनभर उपन्यास पढेर बस्थ्यो।

राजीव कहिल्यै प्रेममा परेको थिएन। उसलाई वास्तविक जीवनमा भन्दा उपन्यासकै प्रेममा बढी रुचि थियो। रोमान्सकारी उपन्यास खुब पढे पनि उसले कहिल्यै कुनै युवतीको आँखामा प्रेम अनुभव गरेको थिएन। केटी साथी त नभएको होइन। तर, किन हो उसलाई कोही हिस्सी लाग्दैनथ्यो। त्यसैले गितार बजाएर धेरैसँग प्रेम गीतमा मग्न भए पनि कसैको सौन्दर्यले पनि उसको हृदयमा झंकार ल्याउन भने सकेको थिएन। तर, शिलाको आगमनपछि भने उसको जीवनमा धेरै बदलाब आयो।

कक्षा ११ को ‘ओरेन्टेसन प्रोग्राम’मा शिलालाई पहिलोपटक देखेको थियो राजीवले। औसत कथा हुँदो हो त शिलाको रूपले राजीवको मनमा त्यही बेला झंकार ल्याएको हुन्थ्यो। तर, यो कथालाई यसो हुन मञ्जुर छैन। त्यही भएर त्यो भेट सामान्य भेट मात्र थियो। शिला कलेजको नयाँ विद्यार्थी र राजीव प्रोग्रामको एमसी अर्थात् ‘मास्टर अफ सेरेमनी’। राजीवले अंग्रेजीमा कार्यक्रम सञ्चालन गरेको कसलाई पो मन परेको थिएन र कार्यक्रमको अन्त्यमा भएको रिसेप्सनमा शिला र उसका साथीहरूले राजीवलाई भेटेर भनेका थिए, ‘सर, वी आर रियल्ली इम्प्रुभ बाइ योर प्रिजेन्टेसन।’

‘थ्याङ यु गर्ल्स,’ राजीवले सदाचारवश भनेको थियो।

दुई दिनपछि नयाँ एघार कक्षामा पस्दा राजीवले शिलालाई दोस्रोपटक भेट्यो। कथालाई सायद यही मञ्जुर थियो। शिला दस-बाह्र जना विद्यार्थी भएको मानविकी कक्षाकी एक जना मात्र केटी। शिलाको एसइईको नतिजा राम्रो थियो। ए प्लस। पहिलो कक्षामा राजीवले सबै विद्यार्थीलाई मानविकी पढ्नुको अभ्यान्तर सोधेको थियो।

शिलाले भनिन्, ‘मलाई सबैले साइन्स पढ्न भनेका थिए। तर, म लिबरल आर्टस्मा केही गर्न चाहन्छु। लिबरल आर्टस्ले मानिसलाई मानिस हुन सिकाउँछ। सर! त्यसैले आइ टुक दिस डिसिजन।’

राजीवले सोध्यो, ‘तिम्रो गे्रड के थियो?’ मानविकी पढ्न आएका अधिकांश विद्यार्थी बी ग्रेडका थिए। त्यो हुलमा शिलाको ए प्लसले विद्यार्थीलाई त चकित पारेकै थियो, राजीवलाई पनि छक्क पारेको थियो। त्यसमाथि मानविकी पढ्नु पछाडि शिलाको तर्क सुनेर राजीव ताजुब मानेको थियो। उसले मानविकी पढ्नु पछाडि त्यति गहिरो कारण हुन सक्छ भनी कहिल्यै सोचेको पनि थिएन।

कक्षामा शिलाको छाँट बेग्लै थियो। ए प्लसको महिमा नै कक्षामा अरू विद्यार्थीभन्दा बेग्लै देखिन उसलाई पुग्दो थियो। तथापि, शिला विनम्र स्वभावकी थिइन्। साहित्यमा उनको विशेष चाख थियो। उनको झोलामा पनि कोर्सका पुस्तकबाहेक नेपाली र अंग्रेजीका कुनै न कुनै पुस्तक कहिल्यै खाली हुँदैनथे। उपन्यासका पात्रहरूको बखान गरेर उनी घण्टौं बिताउन सक्थिन्। पुस्तक पढ्ने उनको चाहअघि कलेजको सानो पुस्तकालय अपुग थियो। त्यसैले उनी विभिन्न पुस्तकालय पुगेर नयाँ नयाँ ठेलीको सिकार खेलिरहेकी हुन्थिन्।

शिलाका बुबा विश्वविद्यालयका प्राध्यापक थिए। अखबारमा बेला बेला लेख पनि लेख्थे। तर, विश्वविद्यालयको निको नभएको चाला, राजनीतिक खिचातानी, भागबन्डा देखेर वाक्कदिक्क थिए। त्यही भएर छोरीलाई भन्थे, ‘प्लस टु सकाएर पढ्न तिमी अब्रोड जाने हो।’

शिला राजीवको कक्षाको अब्बल छात्रा मानिन धेरै समय लागेन। कति बेला उनले पढेका पुस्तक र पात्रहरूको चर्चा राजीवलाई नै अत्याउने खालका हुन्थे। राजीवले छिचोल्न पनि आँट नगरेका पुस्तकका पात्रहरूको मनोविज्ञान केलाउँदै अर्को पुस्तकका पात्रसँग तुलना गर्ने शिलाको क्षमता देखेर सिंगो कक्षा स्तब्ध हुन्थ्यो।

शिलाको घरमा पुस्तकको राम्रो सङ्कलन थियो। प्राध्यापक बुबाले गास काटेर ती पुस्तक जम्मा गरेका थिए। तिनै पुस्तकले राजीवलाई शिलाको अझ नजिक पुर्‍यायो। ऊ शिलासँग भएका पुस्तकहरू क्रमशः पढ्न चाहन्थ्यो। शिला पनि राजीव भनेपछि हुरुक्कै थिइन्। साथीहरूसँग कहिलेकाहीं हाँसोठट्टामा भन्थिन्, ‘बिहा त म आफूभन्दा उमेरले ठुलो पढाकुसँग गर्ने हो। माया पनि पाउने, ज्ञान पनि पाउने।’ उसको अभ्यन्तरको मनोभावनाले खोजेको उपयुक्त उम्मेदवार राजीव थियो अथवा राजीवजस्तो थियो। त्यसकारण पनि शिला राजीव भनेपछि हुरुक्क थिइन्।

दुई जनाबीच क्रमशः पलाएको आकर्षण शिला बाह्र कक्षा पुग्दासम्म व्यक्त हुन नसकेको प्रेममा बदलिइसकेको थियो। विद्यार्थी भएकाले राजीवले शिलालाई आफ्नो भावनामा मुख फोडेर भन्न सकेको थिएन। शिलाले पनि राजीवप्रति प्रेमजस्तै केही स्पन्दन अनुभव गरेकी थिइन्। तर, भनिहाल्न असहज मान्दै थिइन्। ‘यस्तो बच्चाबच्ची उमेरमा यस्तो प्रेमस्रेमको चक्करमा पर्ने हो र,’ राजीवले आफ्नो प्रस्तावको जवाफ यसरी फर्काए कुन मुख लगाएर पातालबास हुने? शिलालाई यस्तै लाग्थ्यो। तर, दुवैको मनमा पलाएको प्रेमले कुनै संयोगको प्रतीक्षा गरिरहेको थियो।

दसैंअघि भृकुटीमण्डपको पुस्तक प्रदर्शनबाट फर्केर कफी खाने क्रममा शिलाले राजीवलाई दिएको प्रेमिल उपन्यास नै उनीहरूबीच औपचारिक प्रेम प्रस्ताव बन्यो। पुस्तकको पहिलो पानामा शिलाको घुँग्रिएको अक्षरमा लेखिएको थियो, ‘आइ एम सरी सर। विल यु बि माई भ्यालेन्टाइन?’

राजीव र शिलाबीचको सम्बन्ध कलेजमा केही महिना गुपचुप नै रह्यो। तर, जब सम्बन्धबारे चर्चा सुरु भयो, तब शिलाको कक्षा बाह्र सकिइसकेको थियो। त्यसकारण यो चर्चाको आयु त्यति लामो भएन।

      -                            -                                   -                                  

यसैबीच राजीवकी आमालाई सञ्चो भएन। सुरुमा सामान्यजस्तो लागेको बिसन्चो उपचार गर्दै जाँदा क्यान्सर डाइग्नोज भयो। राजीव र बुबालाई अलगै राखेर डाक्टरले भने, ‘अन्तिम चरणमा मात्र क्यान्सर पत्ता लाग्यो। अलि अघि हुँदो हो त उपचारको सम्भावना थियो। तर, अब लामो उपचार गाह्रो छ। तैपनि हामी सकेको सबै प्रयास गर्छौं।’

राजीवको जीवनको सबभन्दा नजिकको मानिस हुन्, आमा। बुबासमक्ष उसले आफूलाई कहिल्यै सपाट व्यक्त गर्न सकेन। तर, आमासँग ऊजस्तै कुरा पनि धक फुकाएर गर्ने आँट गथ्र्यो। बुबासँग केही माग्नुपरे, बुबालाई केही भन्नुपरे उसको प्रवक्ता हुन्थिन् आमा। आमालाई भनेपछि आफ्नो माग पूरा हुने मात्र होइन, बुबासँगको प्रत्यक्ष साक्षात्कारबाट पन्छिन पनि ऊ आमाकै कवच उपयोग गथ्र्यो। आमा भनेका आमा हुन्। राजीवको मौनताको, उदासिनताको, आक्रोशको भाषा आमाले सजिलै बुझ्थिन्। अनुहार हेरेरै आमाले राजीवको मनभित्र खेलिरहेका तरङ्ग बुझ्न सक्थिन्।

‘के भयो तँलाई? आमालाई नभने कसलाई भन्छस्? भोलिपर्सि बुढीलाई भन्लास्। अहिले म छु, मलाई भन। के भयो?,’ आमाले यति भनेपछि राजीवले जस्तै भन्दिनँ भनेको कुरा पनि हिउँ पग्लेजस्तै तरल भएर बग्थ्यो।

एकातिर शिलासँगको अङ्कुराउँदो प्रेम अनि अर्कोतिर आमाको निको नहुने व्याधि। राजीवलाई त्यो समय जीवनकै सबभन्दा कठिन समय झेल्नुपरेजस्तै अनुभव भयो। बुबा पनि प्रायः चुपचाप बस्थे। आफूलाई कुनै प्राणघातक रोग लागेको संकेत पाइसकेकी आमा भने सकेसम्म मुस्कुराएर आफ्नो बह लुकाउन खोज्थिन्। राजीव रातभर अस्पतालमा कुरुवा बसेर बिहान कलेजमा फुङ उडेको अनुहार लिएर पुग्थ्यो। कलेज सकेलगत्तै अस्पतालतिर दौडिन्थ्यो। कहिलेकाहीं क्याफेमा पुगे पनि हतारमै निस्कन्थ्यो। छेउको भित्तामा झुन्ड्याइएको गितारमा धुलो जमेको टड्कारै देखिन्थ्यो। झोलाभित्र बोकेको एउटै उपन्यास पढिसक्न पनि महिनौं लाग्थ्यो।

राजीवको अस्पताल दौड चल्दै गर्दा शिला भने अब्रोर्ड जाने तयारीमा थिइन्। उनी भाषा कक्षा, कागजात मिलान, भिसा प्रोसेसिङजस्ता काममा व्यस्त थिइन्।

‘मर्निङ सर,’ हरेक बिहान राजीवको मोबाइलमा शिलाको एसएमएस झर्थ्यो।

‘गुड नाइट डियर,’ शिलाकै एसएमएसबाट रात खस्थ्यो।  

‘कफी?’ शिलाको यो एसएमएसको अर्थ भने सँगै कफी खाने समय छ कि भन्ने हुन्थ्यो।  

आमालाई अस्पतालबाट घरमा फर्काउँदा राजीवको व्यस्तता अझ बढ्थ्यो। तथापि, शिलाको कफी खाने प्रस्ताव उसले सकेसम्म नकार्दैनथ्यो।

‘के भइरहेको छ त तिम्रो प्रोसेसिङ?’ शिलासँग एक दिन राजीवले सोध्यो।

‘काम भइसकेको छ। अब जाने तयारी बिस्तारै थाल्नुपर्छ,’ कपको कालो कफीमा आफ्नो धमिलो अनुहार नियाल्दै शिलाले भनिन्। घरीघरी अनुहार छोप्न आउने उसका जुल्फी दायाँ हातका औंलाले मिलाइरहन्थिन्।

‘ह्वाट विल यु दु सर,’ शिलाले राजीवलाई सोधिन्। उनले सर भन्न छोडेकी थिइनन्।  

‘तिमीलाई थाहा छ नि मेरो अवस्था,’ राजीवले झ्यालबाहिर माथि आकाशतिर हेर्दै भन्यो।  

‘आइ वान्ट यु टु बी विथ मि सर,’ शिलाले झुकेरै भनिन्।

‘म के गर्न सक्छु र? मेरो हातमा केही पनि छैन। आमालाई यस्तो हालतमा छोडेर कसरी म कहीं जान सक्छु र?,’ राजीवले भन्यो।

दुवै जना चुपचाप उठे। राजीवले स्क्यान कोड स्क्यान गरेर कफीको पैसा तिर्‍यो।

        -                          -                         -                                      

‘के भयो तँलाई?’ आमाले राजीवको मनोभाव बुझ्न समय लागेन।  

‘केही भएको छैन। किन र?’

‘म आमा हुँ। तँलाई जन्माएको आमा। तेरो अनुहारको हरेक भाव मलाई थाहा हुन्छ। के भयो भन्।’

‘भन् भन्या। भविष्यको चिन्ता लाग्यो तँलाई?’

आमा भनेका आमा नै हुन्। कति दुरुस्तै कुरा बुझ्न सकेको। खासमा राजीवलाई भविष्यकै चिन्ताले लखेटिरहेको थियो। शिलाबाट टाढिन उसलाई कति पनि मन परेको थिएन। विदेशमा गएका साथीहरूका बखान सुन्दा सुन्दा उसलाई पनि कति बेला आफू पनि विदेश जाऊँजस्तो त बारम्बार लागेकै हो। तर, समयको खेल यही बेला आमालाई सन्चो भएन।

कोठामा अक्सिजनको सिलिन्डरमा पानी उम्लेजस्तो आवाज मात्र सुनिन्थ्यो। बुबा पल्लो कोठामा थिए। पल्लो कोठाबाट लत्ता र किशोर कुमारका सदाबहार गीत गुन्जिरहेको थियो। आमा छोरा मात्र यता कोठामा।

‘बाबु, केही सोचेको छस् भने भन्,’ आमाले राजीवको अनुहार गहिरो गरी नियाल्दै भनिन्।  ‘केही होइन आमा।’

‘तैंले मन पराएकी त्यो विद्यार्थी के गर्दै छे,’ आमाले शिलाकै कुरा निकालिन्। उसले शिलासँगको सम्बन्धबारे सबै कुरा आमालाई भनेको थियो।

‘विदेश जाने तयारी गर्दै छे।’

‘अनि तँ?’

राजीवसँग यो प्रश्नको जवाफ थिएन।

‘राजीव, मलाई हेर्ने बुबा छन्। नभए कोही मान्छे राखूँला। फुपू पनि आइरहन्छिन्। हामी डाँडापारिको घाम। हामीलाई कुरेर तिमीले आफ्नो भविष्यको बाटो खन्ने काम नरोक्नु। केही सोचेको छस् भने भन्। हामी तिम्रो बाटोको तगारो कहिल्यै बन्दैनौं,’आमाले भनिन्।

यति मातृवचन सुनेपछि राजीवले सुस्तरी बोल्यो, ‘शिलाले सँगै जाम भनिरहेकी छिन्। मैले जान्नँ भनेको छु।’

‘तैंले मेरा लागि यस्तो निर्णय गरेको? बाबु, तँ पनि जा। मलाई बिस्तारै सन्चो होला। मलाई कुरेर भविष्य नबिगार्। यो आमाको वचन सुनिदे। भोलि नै गएर के गर्नुपर्ने हो गर्,’ आमाले कति पनि नअलमली एक श्वासमा भनिन्।

त्यही बेला राजीवको मोबाइलमा एसएमएसको आवाज सुनियो-कुकु।

‘सर, केही गर्न सकिन्नँ र भन्या? आइ वान्ट यु टु बि विथ मि। तपार्इं मेरो पहिलो र अन्तिम प्रेम हो।’

 -                         -                                            -                                 

आमाले बुबालाई के भनिन् कुन्नि, राजीवसँग भने लामो कुरा गरेनन्। बिहान एकै वाक्य भने, ‘प्रोसेसिङका लागि पैसा चाहिन्छ होला। कति चाहिन्छ भन्। म जोहो गरुँला।’

त्यसको दुई महिनापछि राजीव शिलासँगै अस्ट्रेलियाको मेलबर्न उड्यो। आमा बाहिरबाट ठिकै देखिन्थिन्। महिनाको एकाधपटक अस्पताल भने लगिरहनुपथ्र्यो। घरमा एक जना सहयोगी राखियो। फुपू पनि आमासँगै बस्ने गरी बसाइ सरिन्। दुवै छोरा अस्ट्रेलिया गएपछि फुपू वीरगन्जमा एक्लै थिइन्। त्यत्ति भएपछि राजीवलाई अस्ट्रेलिया उड्न समस्या भएन। बिदाबारी गर्दा राजीवको अनुहार मलिन भए पनि आमाले भने सबै दुःख लुकाएर छोरालाई निधारमा रातो टीका र गल्लामा सयपत्रीको माला लगाइदिइन्। मेलबर्नमा केही न केही काम गरेर घरमा पैसा पठाउन सके आमाको उपचार सहज हुने आशा उसको मनभित्र कतै खेलिरहेको थियो।

 -                              -                                        -                                          

मेलबर्न सपनाको सहर। बाहिरबाट हेर्दा साथीहरूले इन्स्टामा राख्ने तस्बिरजस्तै सुन्दर थियो। पुगेको केही दिन राजीव र शिला साथीहरूको पछि लागेर घुमे। रमाइलो गरे। तर, उनीहरू त्यहाँ घुम्न मात्र गएका थिएनन्। कोभिड महामारीपछि मुस्किलले भर्खरै उठ्न खोजेको अर्थतन्त्रका दाग यत्रतत्र देखिन्थ्यो। काम पाउन उनीहरूलाई पनि धौधौ भयो। मेलबर्नमा बसिरहेका साथीहरू भन्थे, ‘केही समय यस्तै हो। तर, कामको खोजी जारी राख।’

यता क्यान्सरले शिथिल बन्दै गएकी आमा अनि यता पराइ देशमा कामको खोजीमा दिनरात चक्कर लगाउनुपर्दा राजीवलाई सकस लाग्यो। कति बेला शिलासँग रिस पनि उठ्थ्यो। तर, अस्ट्रेलिया जाने उसको पनि निर्णय थियो। फेरि जीवनसँग फ्रन्ट गियर मात्र हुन्छ, ब्याक गियर हुँदैन। हामी फर्केर बितेको समय बाँच्न सक्दैनौं। त्यसकारण आगत स्वीकार्दै अघि बढ्नुको विकल्प थिएन। त्यसैले दुवै जना कामको खोजीमा लागिरहे। आमासँग फोनमा कुराकानी हुन्थ्यो। दुवैतिर आफ्नो खास अवस्था लुकाउन मुस्कान मुखभरि पोत्ने काम हुन्थ्यो। आमा आफ्नो शिथिल काया लुकाउन मुस्काउँथिन् छोरासामु शिथिल वर्तमान लुकाउन।

दिनभर काम खोजेर थाकेको ज्यान खाटमा पल्टेर सिलिङतिर नियाल्दै राजीव आफ्नो विगत सम्झन्थ्यो। समयलाई उसले कहिल्यै आफ्नो चाहअनुसार कुलो लगाउन नसकेकामा सधैं आफूलाई धिकार्दै बस्थ्यो। सधैं मध्यमस्तरको व्यक्ति हुनुको दुःख भोग्ने पात्र हो, राजीव। समयले तोकेको बाटोमा मात्र हिँड्ने मानिस वियोगान्त कथाको वियोगी नायक बन्ने गर्छ। राजीव त्यस्तै वियोगी यायावर हो।

अरूको देश र आमाको काखमा ठुलो अन्तर हुने कुरा कसैले भनिरहन पर्दैन। सामाजिक सञ्जालमा झल्मलाउँदो तस्बिरभन्दा धेरै कुरूप हुन्छ कुनै पनि सहरको कथा। मेलबर्न अपवाद थिएन। कहीं मानवताको खडेरी हुन्छ, कहीं आत्मसम्मान र संवेदनाको।

राजीव र शिला दुवैले जसोतसो काम पाए। तर, एउटै कामले मात्र बाँच्न गाह्रो थियो। त्यसमाथि सपना र चाहनाको फराकिलो फाँट त बाँकी नै थियो। कामको चटारोले उनीहरूसँग आपसमा भेट्ने पनि मनग्य समय थिएन। सँगै बाँच्ने सँगै मर्ने सपना पैसाको तराजुमा तौलिएको थियो।

बिहान उज्यालो नखस्दैदेखि मध्यरातसम्मको दौडादौडबीच केही घण्टा पार्कको घाँसेमैदानमा सुत्न खोज्दा राजीवको मनमा कुरा खेल्थ्यो-एउटै जीवनमा सबै सुखको आकाङ्क्षाले मानिसलाई कति निष्ठुर बनाउने रहेछ। सुख, सफलता, सुविधाको दौडमा मानिस कस्ता कस्ता बाटा पनि हिँड्न बाध्य हुँदा रहेछन्। उसलाई कफी पसलको भित्तामा झुन्ड्याइएको गितारको याद आउँथ्यो। अनि उसले पढेका अंग्रेजी उपन्यासका। कफी पसलमा दिनदिनभर उपन्यास पढेर बिताउँदा पनि उसलाई जीवनसँग गुनासो थियो। आज सपनाको नक्सा कोर्दै दुरदेशको पार्कमा थकित ज्यानलाई आराम दिन केही बेर पल्टिँदै गर्दा पनि उसका मनमा जीवनप्रति धेरै गुनासा छन्। लाग्छ, गुनासोको यो झाम्टा कहिल्यै ठेगान लाग्दैन।

 -                              -                                  -                               

राजीव पार्कमा पल्टिएको समय मोबाइलमा आएको मेसेज कुनै पनि बखत आउन सक्नेमा ऊ सजग थियो। मनभित्र कतै उसलाई त्यस्तो मेसेज जुनै दिन र समय पनि आउने लागिरहन्थ्यो। डिपार्टमेन्टल स्टोरमा ड्युटीका क्रममा सामान किन्न आउने आमाकै उमेरकी ग्राहक देख्दा राजीव लामो श्वास तान्थ्यो। उसलाई भित्रैदेखि आमाको याद आउँथ्यो। अनि आमाको सुस्वास्थ्यको कामना गर्दै किबोर्डमा सामानको हिसाब गर्नतिर लाग्थ्यो। फरक यति हो, त्यहाँ उसको अनुहार पढेर मनको कुरा सुन्ने कोही आमा थिएनन्।

आज आमाको निधनको चट्याङ खस्दा ऊ भित्रैबाट टुट्यो। उसका अगाडि सबै कुरा धमिलो अनि कालो बनेजस्तो लाग्यो। उसले फेरि एकपल्ट आफ्नो समयलाई धिकार्‍यो। प्रेम र सपनाको आयतनले थिच्दा उसले भोग्नुपरेको सकसपूर्ण समय उसको मनले थाम्न नसक्ने सकस बन्यो।

पार्कबाट सम्हालिँदै ऊ कोठामा आयो। शिला काममा गइसकेकी थिइन्। लुगा लगाएरै स्नानकक्षमा गएर पूरै जिउ भिजायो। त्यहीं बसेर ऊ निकै बेर रोयो। आमालाई सम्झेर, आफ्नो समयलाई सम्झेर, जीवनको लयलाई सम्झेर। परदेशमा मात्र सपनाको बगैंचा भएको ठान्ने आफ्नो पुस्ताको मनोविज्ञान सम्झेर ऊ अझ जोड जोडले रोयो। विदेशका झलमलाउँदो उज्यालोको पृष्ठभूमिमा मात्र सुखद् सपना देख्ने आफ्ना आँखा सम्झेर उसलाई रिस उठ्यो। तिनै रिस उठेका आँखा गोलभेडाजस्ता राता नहुन्जेल ऊ धेरैबेर रोएर बस्यो। 

प्रकाशित: २८ माघ २०७९ ००:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App