१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

डल्ला गाउँ होमस्टे नम्बर १४!

२०७२ चैत ८ गते डल्ला गाउँ चर्चित बन्ने अवसर पायो। त्यही दिन बेलायतका राजकुमार ह्यारी डल्लागाउँको १४ नम्बर होमस्टे पुगेका थिए। ह्यारी डल्ला पुगेको खबर फैलिँदा होमस्टेले समृद्धिको यात्रा तय गर्‍यो। थारु समुदायले चलाएको डल्ला होमस्टे आर्कषक छ। होमस्टेमा १ देखि २२ सम्म नम्बरिङ गरिएको छ। कुमालको एक घरबाहेक सबै थारु समुदायका होमस्टे छन् डल्ला गाउँमा। १४ नम्बर होमस्टेमा विशिष्ट पाहुना पुग्दा अलि चर्चित छ। होमस्टेका कारणले डल्ला गाउँ नै आन्तरिक पर्यटनको केन्द्रबिन्दु बन्दै छ।

१४ नम्बर होमस्टेकी सञ्चालक चम्फी योगी खुसीले गदगद छिन्। ह्यारीसँग गरेको कुराकानी उनको मानसपटलमा अझै ताजा छ। बेलायती राजकुमार ह्यारी बर्दिया राष्ट्रिय निकुञ्जको भ्रमण गर्ने क्रममा डल्लाको १४ नम्बर होमस्टे पुगेर सूक्ष्म अवलोकन गरेका थिए। त्यसबेलादेखि डल्ला होमस्टेको नाम देशविदेशमा चिनिन थालेको हो। चम्फी भन्छिन्, ‘ह्यारी आएको होमस्टे कुन हो भन्दै पर्यटक खोज्दै आउँछन्। खुसी लाग्छ।’

ह्यारीले गोबर ग्यास प्लान्ट, धुवाँरहित चुल्हो र होमस्टेका कोठा अवलोकन गरेको उनले सुनाइन्। ‘गोबर ग्यासमा चुल्हो बालेर देखाएँ,’ चम्फी भन्छिन्, ‘वातावरणमैत्री देखेर होला, उहाँ खुसी हुनुभयो।’ चम्फीसँगको गफगफामा १४ नम्बर होमस्टेमा २० मिनेट बिताएका थिए ह्यारीले।

डल्ला गाउँमा थरीथरीका पाहुनाले पाइला टेकिसकेका छन्। निकुञ्ज घुमेर डल्ला गाउँ पुग्ने धेरै देशविदेशबाट आएका पाहुनालाई चम्फीले खाना खुवाइसकेकी छिन्। चम्फीका लागि ह्यारी विशिष्ट पाहुनामध्येमा पर्छन्। होमस्टे आँगनमा पुग्नेमा देशविदेशका धेरै सेलिब्रेटी पाहुना छन्। गफगाफमा भुलेका ह्यारी संरक्षणका बारेमा जिज्ञाशु बनेको चम्फी सुनाउँछिन्। ‘उहाँसँग गरेको कुरा धेरैलाई सुनाइसकें। वार्ता नै कण्ठस्थ भइसकेको छ,’ उनले भनिन्, ‘ह्यारी आएकै कारण देशविदेशमा डल्ला गाउँ चिनियो।’

होमस्टे पुग्नुअघि ह्यारी बर्दिया निकुञ्ज घुमिसकेका थिए। बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालय ठाकुरद्वाराको प्रवेशद्वाराबाट ९ बजेर २० मिनेटमा बिहानको समयमा ह्यारी निकुञ्जभित्र पसेका थिए। निकुञ्जभित्र बाघ मचान, तीनकुने र कर्णाली नदीमा र्‍याफटिङ गरेर चार घण्टा बिताएपछि अर्को गन्तव्य डल्ला होमस्टे पुगेका थिए। डल्ला होमस्टे पुगेका ह्यारीलाई पञ्चकन्याले स्वागत गरेका थिए। उर्वशी, उषा, कृर्तिमा, सुभिक्षा र सुजिता योगीगरी पाँच कन्याले टीका लगाई नमस्कार गर्दा उनी खुसी भएको स्मरण ताजै छ डल्ला गाउँमा। ह्यारीको सुरक्षाका लागि खटिएका नेपाली सेना र प्रहरी निशस्त्र खटिएकाले होमस्टेको वातावरण रोमाञ्चक बनेको स्थानीय बताउँछन्। निकुञ्ज घुम्ने क्रममा ह्यारीले गैंडा र हात्ती देखेका थिए। ह्यारीले क्यामरामा कैद गरेको बाघको तस्बिर भाइरल बनेको थियो।

निकुञ्जभित्र र्‍याफ्ट गर्दा उनले गैंडाको चहलपहल देखेका थिए। उनले संरक्षणप्रति आफ्नो चासो र चिन्ता व्यक्त गरेको निकुञ्जका पूर्व वार्डेन रमेश थापाले सुनाए। होमस्टे अध्यक्ष परशुरामले ह्यारीलाई ढाका टोपी र स्टकोट लगाइदिएका थिए भने फर्किने क्रममा चम्फीले फूलमाला लगाएर बिदा गरेकी थिइन्।

डल्लामा २०६७ फागुन १७ देखि होमस्टे सुरु भएको थियो। सामुदायिक होमस्टेका अनुसार हालसम्म करिब ५० हजार पर्यटक बास बसेका छन्। बास नबसी दिउँसो घुमेर मात्र फर्कनेको संख्या पाँच लाख छ।

होमस्टेका ९९ प्रतिशत ग्राहक नेपाली हुन्। ‘होमस्टे चल्छ कि चल्दैन भन्ने दोधारमा थियौं तर पछि राम्रो गति लियो,’ परशुराम सम्झन्छन्। गाष्ठी, सेमिनार, पारिवारिक भ्रमण गर्न आउनेले नै होमस्टे चलाएको उनको अनुभव छ।

होमस्टेमा बसेर शिव सामुदायिक वनमा सफारी गर्न पाइन्छ। निकुञ्जभित्र सफारी गर्ने व्यवस्था पनि होमस्टे सञ्चालकले नै मिलाउने गरेका छन्। माछा, लोकल कुखुरा, मुसाको पकुवा, महुवाको रक्सीलगायत परिकार डल्ला गाउँका होमस्टे सञ्चालकले पस्कन्छन्। सामुदायिक भवनमा झुमरा, लट्ठी, मजिरा र छोकरा नृत्यले पाहुना रमाउने गरेका छन्।

होमस्टे पर्यटनबाट गाउँले खुसी छन्। उनीहरूमा चेतनास्तर बढेको पाइन्छ। पाहुनालाई स्वागत गर्नकै लागि भए पनि डल्ला गाउँ सफा राख्न समुदायको लगाब बढेको छ।

होमस्टेको मेनु:

सादा खाना: १७०।–

लोकल कुखुराको मासु र खाना: ३५०।–

बेड: ८००।–

खसीको मासु र खाना: ४००।–

थ्यान्चु थारु

सामुदायिक वन प्रवेश शुल्क:

आन्तरिक पर्यटक: ५०।–

बाह्य पर्यटक: ३००।–

प्रकाशित: १४ माघ २०७९ ०१:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App