१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

सङ्घर्ष

बिहानीपख शीतका थोपा रुखका पातमा टिल्पिलाएका छन्। सूर्यको किरण बिस्तारै मुस्कुराउन खोज्दै छ। दुबोमाथि साम्राज्य जमाएको तुसारो हट्न मानिरहेको छैन। यिनीहरूको लुकामारीमा प्रकृति सुन्तला रङको घुम्टोमा सजिएकी दुलहीजस्तै देखिएको छ। जसले मनलाई फुरुङ्ग हुन सघाइरहेको छ।

हरेक दिन बिहान झ्यालबाट बगैंचा नियाल्दै चिया पिउनु मेरो दैनिकी नै हो। यतिबेला दिनभर गर्नुपर्ने कामको सूची आउँछ दिमागमा। अर्थात् आजको दिन कसरी बित्छ भन्ने निक्र्योल गर्छ यतिबेला निर्धारण हुने सूचीले। जसलाई क्रमशः लागु गर्दै जान्छु र दिन यसरी नै बित्छ।

आज म एकदमै खुसी छु किनकि राष्ट्राध्यक्षको हातबाट सम्मान पाउने दिन हो आज। त्यसैले सम्मानको समय कतिबेला आउला भन्ने व्यग्र प्रतीक्षामा छु बिहानैदेखि। त्यसैले सबै काम छिटो छिटो गर्नु छ। काम धेरै भए पनि मैले समय बढाउन सक्दिन किनकि त्यो मेरो वशमा छैन, तर आफ्नो काम गर्ने गति भने बढाउन सक्छु किनकि यो मेरो हातमा छ। आफ्नो वशमा भएको कुराबाट अधिक फाइदा लिन प्रयास गर्ने तर आफ्नो नियन्त्रणमा नभएको विषयमा चिन्ता नगर्ने मेरो पुरानै बानी हो। जसले मलाई सन्तोषी बन्न मद्दत गर्दै आएको छ।  

बगैंचाको फूलमध्ये एउटा कोपिलामा गएर अड्किएको मनले आफ्नो बाल्यकाल सम्झायो। आमा–बाबा दुवैजना वीरगन्जबाट काठमाडौं आउँदा गाडी दुर्घटनामा बित्नुभयो। त्यसपछि परिवारमा म र भाइमात्र भयौं। म ९ वर्षको अनि भाइ मात्र ७ वर्षको। आखिर ९ र ७ भनेको खासै ठूलो उमेर पनि त होइन। अर्थात् बाल्यकाल नै भएकाले हामी आफ्ना सबै काम आफै गर्न सक्ने भइसकेका थिएनौं। त्यसैले मामाघरका हजुरबुबा–हजुरआमासँग बस्न थाल्यौं।

मावली हजुरआमाको माया पाएर निकै खुसी थियौं तर पनि बच्चा न ठहरियौं, अरू आफ्ना बाबुआमासँग हात समाएर हिँडेको, काखमा बसेर लुटुपुटु गरेको अनि सँगै बजार र स्कुल गएको देख्दा आमाबाबाको धेरै याद आउँथ्यो। तर पनि उनीहरूका त्यस्ता दृश्य हेरेरै चित्त बुझाउनुको विकल्प हामीसँग थिएन। केहीबेर कल्पिन्थ्यौं अनि आफ्नै कर्मलाई धिक्कारेर आफ्नै मनलाई सात्वना दिन्थ्यौं।

बाल्यकालमै टुहुरा बनेकाले पनि हुन सक्छ, हामी दिदीभाइ ज्ञानी अनि शान्त स्वभावका थियौं। सबैले टुहुरा टुहुरी भनेर माया पनि गर्थे। ठिकै थियो दिनचर्या। भगवान्ले पनि आफूलाई मन परेको प्राणीको धेरै परीक्षा लिन्छन् भन्ने सुनेकी थिएँ कतै। सायद हाम्रो यही परीक्षा लिएको हुनुपर्छ– खाना खाएर सँगै सुत्नुभएका हजुरबुबा–हजुरआमा दुवैजना बिहान उठ्दै उठ्नुभएन। म त अलि अलि बुझ्ने भैसकेकी थिएँ। चित्त बुझाएँ आफैलाई तर भाइलाई चित्त बुझाउन निकै गाह्रो भयो।

आफूलाई गडेको यो दुःख भाइलाई नगडोस् भनेर धेरै प्रयास गरें। भाइ अगाडि नै भएकाले दिनभर भित्रभित्रै भक्कानिएर पनि रुन पाएकी थिइनँ। जब रात प र्‍ यो, भाइलाई च्यापेर सुतें। भाइ त निदायो तर मलाई के निद्रा लाग्थ्यो ? त्यसपछि बलिन्द्र धारा खसे आँखाबाट आँसुका। झिमिक्कै निदाउन सकिनँ। कलिलो मन न हो, भगवान्लाई पनि गाली गरें बेसरी अनि सोधें– किन हामीलाई यति धेरै दुःख दिएको ? के अपराध गरेका थियौं हामीले ? कसको के बिगारेका थियौं हामी दिदीभाइले ? अनि अनुरोध पनि गरें कि बरु म र मेरो भाइ दुवैलाई लैजाऊ यो संसारबाट एकैचोटि। तर यसरी घरिघरि दुःख दिने काम नगर।

अब हामी कता जाने ? के गर्ने ? न आमा न हजुरआमा। न बाबु न त हजुरबुबा नै। भाइ पनि सानो छ। म के गरुँ ? कसो गरुँ ? कसरी अगाडि बढौं ? सोच्नै नसक्ने भएँ। आमाबाबाको काखमा लुटुपुटु गर्ने उमेरकै त थिएँ म पनि। तर आफूलाई मन पर्ने अनि माया गर्ने सबैलाई दैवले लगेपछि कसरी बिताउने होला बाँकी जीवन ?

अनि आफ्नै मनलाई सान्त्वना दिँदै अठोट गरें– जति रोए पनि, कराए पनि हामी अनाथ भयौं। अब रोइकराई गरेर केही अर्थ छैन। न त अब हामीलाई माया गर्न हजुरबुबा–हजुरआमा नै आउँछन्। त्यसैले अब भाइलाई धेरै माया गर्छु। उसलाई बाबुआमाकोे अभाव कस्तो हुन्छ भनेर कहिल्यै महसुस हुन दिने छैन। मायाको कुनै कमी गराउने छैन।  

यस्तै कुरा सोच्दासोच्दै कुन बेला हो निदाएछु। बिहान उठ्दा घडीको छोटो सुई आठमा थियो। उठेर पनि कहाँ जानु थियो र ? खुट्टा भुइँमा खसालेर पलङमै बसिराखें। कता जाने, के गर्ने भन्ने थाहा थिएन। बाल्य मुटु न प र्‍ यो, एकदमै धड्किरहेको थियो। हिजोका सबै घटना दिमागमा क्रमशः घुमिरहेका थिए।

फेरि एकपल्ट सबै कुरा बिर्सेर सुत्न मन लाग्यो। टाउको सिरानमा अड्याएको मात्र के थिएँ, बाहिरबाट कसैको आवाज आयो– नानी ढोका खोल त। भाइलाई पनि तयार बनाऊ। आफू पनि तयार बन। तिम्रा ठुलाबुबा तिमीलाई लिन आउनुभएको छ।

ढोका खोलेर बाहिर निक्यौं। हामी दुवै दिदीभाइ बाहिर ठुलाबाबा भएको ठाउँमा गयौं। ठुलाबाबाले अ“गालो हालेर निकैबेर माया गर्नुभयो हामी दुवैजनालाई। अनि घर लिएर जानुभयो। त्यहाँ पुगेपछि सबैले माया गर्नुभयो। ठुलाबाबाका ४ छोरी थिए अर्थात् मेरा दिदी ४ जना। समय राम्ररी बित्दै गइरहेको थियो।

एकदिनको कुरा हो। ठुली आमा ठुला बाबासँग भन्दै हुनुहुँदोरहेछ– बाबु त हाम्रै छोरीहरूसँग हुर्कन्छ, नानी (शुभ) लाई चाहिँ मावलीमा पठाउनुपर्छ है।

त्यत्तिकैमा ठुलाबाबाको प्रतिक्रिया पनि सुनें– नचाहिने कुरा नगर। आफ्नै सन्तानलाई किन अन्त पठाउने ? यहीं हुर्कन्छन् दुवैजना, जसरी तिम्रा ४ छोरी हुर्किरहेका छन्। बरु माया गरेर पढाउने अनि व्यावहारिक कुरा पनि सिकाउँदै जानुपर्छ। मेरो भाइको चिनो यिनै दुईजना हुन्। माया देऊ दुवैलाई। अझ सक्छौ भने तिम्रा छोरीलाई भन्दा धेरै माया गर यिनलाई ल ?

५ दिदीबहिनीमा एउटा भाइ। हामीले सबैको माया पाएकै थियौं। हामी छ नै जना एकदमै मिलेका थियौं। पढ्थ्यौं, पढाउँथ्यौं। घरको कामकाजमा पनि सघाउँथ्यौं। एकले अर्काको हेरचाह गथ्र्यौं। यसरी समयसँगै जिन्दगी पनि हाँसीखुसी नै बितिरहेको थियो।

एकदिन अलि टाढाका दिदीभिनाजु आउनुभयो। उहाँहरू किन आउनुभयो भन्नेबारे मैले जान्ने कुरा भएन। त्यो मेरो चासोको विषय पनि थिएन। तर ठुलाबुबा र उहाँहरूबीच भने राति अबेरसम्म कुराकानी भइरहेको थियो। कुराकानीका क्रममा बेलाबेलामा ठुलाबाबाको कडा स्वर सुनिन्थ्यो। त्यसैले चासो नदिँदा पनि उहाँहरूबीच केही रुखोसुखो कुरा भइरहेकोचाहिँ कोठाबाहिरबाटै थाहा हुन्थ्यो।

भोलिपल्ट बिहान ठुलाबुबा ठुली आमातर्फ हेरेर आफ्नो आँसु पुछिरहनुभएको थियो। कोही कसैसँग राम्ररी बोलिरहेका थिएनन्। शनिबारको दिन थियो। सबैले खुरुखुरु खाना खायौं। केहीबेरपछि दिदीहरूले सबै लुगा मिलाउँदै सुटकेसमा राखे। मेरा मैला लुगा र स्कुलको जुत्ता धोएर सुकाइदिए। त्यत्तिकैमा ठुलाबाबाले भन्नुभयो– अब हाम्री शुभ सहर जान्छे। धेरै पढ्छे। ठुलो मान्छे बन्छे। अनि हामी सबैलाई काठमाडौं बोलाउँछे। त्यसपछि हामी सबैजना शुभको ठुलो घरमा बस्छौं र उसका राम्रा गाडी चढेर काठमाडौं डुल्छौं। उसका दिदीभाइ अनि हामी सबै सँगै बस्छौं।

ठुलोबाबा यस्तै के के कुरा भनिरहनुभएको थियो। मलाईचाहिँ हजुरआमाले जस्तै कथा सुनाउनुभएको होला जस्तो लाग्यो, जुन म र भाइलाई सुताउने बेला उहाँ सुनाउनुहुन्थ्यो। जब म त्यतिखेर यो कथा नभएर वास्तविकता नै भएको पत्याउन बाध्य भएँ जतिबेला तीन बजेतिर भिनाजु आएर ‘अब हामी काठमाडौं जान्छौं। शुभ, ल हिँड, भन्नुभयो।  

मैले केही कुरा बुझिरहेकी थिइनँ। भिनाजुले मेरो हात समाएर गाडीमा लगेर राख्नुभयो। दिदी छेउमा आएर बस्नुभयो। भिनाजु पनि अगाडि सिटमा गएर बस्नुभयो। अनि गाडी गुड्यो। न भाइ, न दिदी, न ठुला बाबा, न ठुली आमा नै। कोही नदेखेपछि म गाडीमै आत्तिन थालें। दिदीभिनाजुको मुखमा हेरें र सोधें– हामी कता जाँदै छौं ? खै सबैजना ?

म रुन थालें। म घर जान्छु। मलाई घरमा लगेर छोडिदिनूस् भनेर बिन्ती गरिरहें। म धेरैबेर रोएपछि भिनाजु वाक्क भएर सम्झाउन थाल्नुभयो– शुभ, अब हामीसँगै बस्ने हो। अब त्यो घर तिम्रा लागि पराइघर हो।

तर पनि कन्भिन्स हुन सकिनँ। बाटोभरि रोइरहें। जब काठमाडौं पुगियो, एउटी अधवैंशे आमाले ढोका खोल्नुभयो। मलाई एउटा कोठामा लानुभयो र भन्नुभयो– ल नानी तिम्रो कोठा यही हो। केही चाहियो भने मलाई भन्नू।

मैले हस् आमा भनिहालें। मेरो मुखबाट ‘आमा’ शब्द सुनेपछि मलाई अँगालो हाल्नुभयो अनि जानुभयो। म एकतमासले शून्यमा बाँचिरहेकी थिएँ। मलाई माया गर्ने कोही थिएन। मेरो भाइ अनि दिदीहरू मसँग कोही थिएनन्। सानो दिमाग न हो, यस्तो अवस्थामा के गर्ने, के नगर्ने केही सोच्न सकिरहेकी थिइनँ। समयले जता लान्छ त्यतै बग्नु मेरो दिनचर्या थियो। यसविपरीत गर्नु मेरो हैसियतको विषय थिएन। कहिले जन्मदिने बाबाआमा त कहिले उहाँहरूको अभावमा माया दिने हजुरबाबा हजुरआमा अनि कहिले ठुला बाबा ठूली आमाको सम्झना आइरहन्थ्यो। तर सम्झनाबाहेक कोही थियो त सिर्फ म थिएँ। अनि कोही हरदमको साथी थियो भने त्यो आँखाबाट बगिरहने आँसु मात्र थियो। भाइसँग भेट्ने सपनाले पनि तड्पाइरहन्थ्यो।  

बिहान उठें। आमा आउनुभयो कोठामा अनि भन्नुभयो– तिमी स्कुल जाने हो। छिटो तयार होऊ र खाना खान आऊ। म तिमीलाई स्कुल देखाइदिन्छु।

मलाई पढ्नु थियो। पढेर ठुलो मान्छे बन्नु थियो। अनि भाइसँग सधैं सँगै बस्नु थियो। त्यसैले म मेहनत गरेर पढिरहेकी थिएँ। आफ्नो भविष्य बनाउनु एक मात्र उद्देश्य थियो मेरो। फुर्सदको बेलामा आमालाई सघाउँथें। बिस्तारै बिस्तारै घरका सबै काम मैले नै गर्न थालें। मलाई पढाइ अनि काम भए अरू केही चाहिँदैनथ्यो। कुनै पनि काम मेहनतसहित फत्ते गर्थें, त्यो पनि समयमै।

पढाइमा पनि अब्बल बन्दै गएँ। स्कुलका शिक्षक शिक्षिकाको प्रिय विद्यार्थी बन्दै गएँ। तर यसबीचमा म धेरैपटक घरेलु हिंसाको सिकार पनि भएँ। जुन कुरा मैले किताबमा पढ्थें हिंसाविरुद्ध आवाज उठाउनुपर्छ भनेर तर म १६ वर्षसमेत नपुगेकी एउटी केटी नै यस्तो हिंसा भोग्न बाध्य थिएँ। यसबारे कसलाई भन्ने ? के गरी भन्ने ? कताबाट सुरु गर्ने ? फेरि मेरो कुरा कसले पत्याइदिने ? यावत् थिए प्रश्न।

दिदी बाहिरी काममा व्यस्त। मलाई भने रात प र्‍ यो कि आफ्नै कोठामा पनि डर लाग्थ्यो। सम्साँझै आफू सुत्ने कोठाको ढोका बन्द गरेर बसिहाल्थें। यसरी हरदम एउटा त्रासबीच बाँचिरहेकी थिएँ। आमाबाबा नभएकी एउटी टुहुरी छोरी आफूले भोगेको दुःख कसैलाई भन्न सकिरहेकी थिइनँ। बाहिर कोठा भाडामा लिएर बस्न पनि पैसा थिएन।

यसरी नै दिन बित्दै गइरहेको थियो। १२ कक्षा पास भएँ। त्यसपछि केटाकेटीलाई ट्युसन पढाएर अलिकति पैसा बचत पनि गरेकी थिएँ। घरमा हरेक दिन भिनाजु आफ्ना साथी लिएर आउनुहुन्थ्यो। सबैले मलाई हेर्ने दृष्टिकोण कस्तो राख्छन् भन्ने मैले बुझिसकेकी थिएँ। धेरैपल्ट आफूलाई बचाउन खोजें। कतिपल्ट सकें, कतिपल्ट सकिनँ। यस्ता मान्छेको विचार, नाता, सम्बन्ध केही पनि नहुनेरहेछ। खालि केटा–केटी, लोग्ने मानिस–स्वास्नी मानिस।

बेलाबेलामा म सोच्न बाध्य हुन्थें– आखिर मानिसले शिक्षा किन लिन्छन् ? शिक्षित किन भनिन्छन् ? यही जङ्गली बन्नका लागि हो ? हो भने जनावर र मानिसमा के फरक भयो त ? अनि आफैंलाई सोध्थें– यसरी यौन हिंसा सहन पर्नुमा दोष मेरो रूपको हो ? वा मेरो यौवनको ? कि बेलैमा टुहुरी हुनु हो ? धेरे सोच्थें। प्रश्नहरू गर्थें। न कसैलाई राम्रोसँग भन्न सक्थें न त जवाफ आफै आउँथे कतैबाट।

तरकारी किन्न बजार जाने क्रममा देखेकी थिएँ ‘आमा नेपाल’ नाम गरेको एउटा संस्थाको साइनबोर्ड। एकदिन एक्लै पुगें त्यहाँ। वातावरण नियालें। जानेआउनेसँग यसले गर्ने काम सोधें। अनि सोचें– मेरा लागि सहयोग गर्ने उपयुक्त ठाउँ यही हुन सक्छ।

घरेलु हिंसामा परेका महिलालाई मोटिभेसनल शिक्षा दिई जीवन कसरी अगाडि बढाउने भन्नेबारे सिकाइने रहेछ त्यहाँ। आफूले गर्दै नगरेको गल्ती स्वीकारेर पीडित भई बस्नुहुँदैन भन्ने पनि बताइँदो रहेछ। घरमा बस्न नसकेका, निकालिएका, तिरस्कृत भएकालाई आश्रय दिइने रहेछ।

एकातिर यही संस्थामा नियमित आएर आत्मनिर्भर हुने मात्र होइन, अन्यायविरुद्ध आवाज उठाउने अठोटसमेत गर्न सक्ने भएँ। अर्कातिर मास्टर्सको तयारीमा पनि लागें। मैले यसो गर्नैपथ्र्यो किनकि सम्बन्धको महŒव, जीवनको मूल्य संसारलाई बुझाउनुथियो। साथै समयको महŒव पनि बुझाउनुथियो। बाल्यकालदेखि आजको दिनसम्म मैले जे भोगेँ, जे सिकेँ, त्यही कुरामा नडग्मगाईकन अगाडि बढ्न सिकाउनुथियो।

आज म आफै आमा नेपालमा काम गर्छु। यसरी काम गर्न पाउँदा म सन्तुष्ट पनि छु। सन्तुष्ट यस अर्थमा कि म त्यस्ता चेलीलाई ढाडस दिने कार्यमा संलग्न छु जो आफ्नै परिवारमा बारम्बार बलात्कृत भएका छन्, जो श्रीमान् र आफन्तबाटै पिटिएका छन्, जो नातेदारबाटै बेचिएका छन् अनि जो न्यायको याचना गर्दा झनै पीडित तुल्याइएका छन्। जसलाई परामर्श दिन्छु। सिप सिकाउँछु। कानुनी कुरा जानकारी गराउँछु र मर्न होइन, केही गर्न उत्प्रेरित गर्छु। आफ्नो जीवन अरूका भरमा आश्रित गराउन नहुने र आत्मनिर्भर हुने उपाय पनि सिकाउँछु। त्यति मात्र होइन, पोते उन्ने, कपासको बत्ती बनाउने, दुना÷टपरी बनाउने, गुन्दु्रक, मस्यौरा, तितौरा आदि बनाउनेजस्ता अभ्यास पनि गराउँछु।

अस्ति भर्खर एकजना आमा आउनुभयो आफ्नी १० वर्षकी छोरी लिएर। अनि भन्नुभयो– नानी, अब हामी दुवै यहीं बस्छौं। कृपया नाइ नभन ल।

सोधें– किन र ? के भयो ?

म जहिले पनि काममा बाहिर जाँदा छोरी सधैं असुरक्षित। त्यो पनि अरूबाट हो र ? आफ्नै बाबुबाट। ल हेर्नूस् त नानी, छोरीको अस्मिता बचाउन बाबुबाटै गाह्रो हुन थालेपछि सुरक्षित हुने कसरी ? कोबाट मात्रै बच्ने ?

उनले यसो भनिरहँदा म भने आफ्नै विगत सम्झिरहेकी थिएँ। जहाँ आफन्त भनिएकाबाटै चेलीमाथि गिद्देदृष्टि लगाइन्छ भने त्यस्तो घरलाई कसरी आफ्नो भनेर बस्न सक्छन् ? त्यस्ता मानिसलाई कसरी आफ्नो भनेर स्वीकार्न सक्छन् ? ती आमा÷छोरीको सवाल यिनै प्रश्नसँग सम्बन्धित थियो।

उनीहरूको प्रस्ताव नकार्न सक्ने अवस्थै थिएन। आखिर यस्तै पीडितहरू हतोत्साहित नहोऊन्, गलत बाटो नरोजून् र समाजमा उदाहरणीय बनेर देखाऊन् भन्नका लागि त हो यो संस्था खुलेको। अनि संस्थाको यही उद्देश्य मन परेर म पनि आबद्ध भएको। त्यसैले मेरो पनि सबै ध्यान यही संस्थालाई दरिलो बनाउनमा केन्द्रित भयो।

पीडित दिदीबहिनीको सेवा गर्दै थिएँ। त्यही क्रममा आमा नेपालका सञ्चालकले बोलाउनुभयो एकदिन। भन्नुभयो– ‘शुभ, तिम्रो कामदेखि म एकदमै खुसी छु। तिमीले आमा नेपालको सपना पूर्ण गराउन राम्रो भूमिका निर्वाह गरेकी छ्यौ। अन्यायमा परेकालाई न्याय दिलाउने मात्र होइन, उनीहरूलाई आत्मनिर्भर बनाउने सोच पनि साकार पारेकी छ्यौ। त्यसैले तिम्रो भिजन, सोच र व्यवहारको कदर गर्दै यो संस्था तिमीलाई नै जिम्मा लगाउँछु। कृपया मेरो प्रस्ताव स्वीकार।’

ती सञ्चालकको थप भनाइ थियो– मैले तिमी र अन्य पीडितलाई मात्र आश्रय दिएको थिएँ तर तिमीले आश्रयबाहेक आर्थिकरूपमा स्वावलम्बी पनि बनायौ। जसले समाजबाट तिरस्कृत, अपहेलित महिलालाई बाँच्ने बाटो सुझायो। जुन साह्रै उदाहरणीय कार्य हो। अझ सोझैभन्दा तिम्रो सोच मेराभन्दा निकै अग्रगामी र शक्तिशाली छ। त्यसैले मैले यस्तो निर्णय गरेको हुँ।

त्यसपछि उहाँ उठ्नुभयो र आफ्नो कुर्सीमा मलाई राख्नुभयो। अनि कार्यालय सहयोगीलाई बोलाएर अगाडि नै तयार पार्न लगाएको नेमप्लेट कुर्सीअगाडिको टेबलमा राख्न लगाउनुभयो। जसमा सञ्चालकको ठाउँमा लेखिएको थियो– शुभ।

‘शुभ ! शुभ ! सम्मान कार्यक्रममा जान ढिलो भएन ? के सोचेर बसेको ? ल हामी त तयार भएर आयौं, छिटो तयार होऊ तिमी पनि’– संस्थाका दिदीबहिनीको संयुक्त आवाजले विगतको सम्झनालाई यहीं ब्रेक लगायो। 

प्रकाशित: ७ माघ २०७९ ०२:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App