१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

लोकगायिका छन्त्यालको निधन

सामाजिक संजाल फेसबुकमार्फत माघे संक्रान्तिको शुभकामना दिएर सांगीतिक प्रस्तुति दिन पोखरा पुग्ने क्रममा यती एयरलाइन्सको विमान दुर्घटनामा परेर लोकगायिका निरा छन्त्यालको निधन भएको छ। नेपाल छन्त्याल युवा संघले पोखरामा आयोजना गर्ने तय भएको कार्यक्रमा सांगीतिक प्रस्तुति दिन आइतबार बिहान राजधानीबाट पोखरातर्फ गइरहेकी गायिका छन्त्यालको विमान दुर्घटनामा परी निधन भएको पुष्टि उनी दिदी हिरा छन्त्यालले गरेकी छन्।

‘त्रिभुवन विमानस्थलबाट मम्मीलाई फोन गरेर माघे संत्रान्तिको अवसरमा पोखरामा आयोजना हुने भनिएको एक कार्यक्रममा सांगीतिक प्रस्तुति दिन आइतबार बिहान १० बजे गइरहेको छु भनेर खबर गरेकी रहिछन्,’ बागलुङस्थित घरमा रहेकी लोकगायिका छन्त्यालकी दिदी हिराले भनिन्, ‘विमान दुर्घटनाको खबर सुनेलगत्तै परिवारका सबैजना बागलुङबाट पोखरामा पुगिसकेका छन्।’

नेपाल छन्त्याल युवा संघले पोखरामा आयोजना गर्न लागेको भलिबल प्रतियोगताका क्रममा उनले सांगीतिक प्रस्तुति दिने तयारी थियो। ‘माघे संक्रान्तिको अवसरमा नेपाल छन्त्याल युवा संघले पोखरामा आयोजना गर्न लागेको भलिबल प्रतियोगताका क्रममा लोकगायिका छन्त्यालले सांगीतिक प्रस्तुति दिने तय भएसँगै हामीले तयारी गरिरहेका थियौं,’ नेपाल छन्त्याल युवा संघ कास्कीका सचिव नवीन घर्ती छन्त्यालले भने, ‘विमान दुर्घटना भएलगत्तै भलिबल प्रतियोगिताको कार्यक्रम स्थगित गरिएको छ।

’शनिबार नेपाल छन्त्याल युवा संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सहभागि हुँदा खिचेका फोटो सामाजिक संजालमा पोस्ट गरेर पोखरामा रमाइलो गर्ने बताएकी लाइभ लोकदोहोरीमा स्थागित लोकगायिका छन्त्याल दुर्घटनाग्रस्त यती एयरलाइन्सको ६१९ फ्लाइटको ११ डि सिटमा सवार थिइन्। ‘छन्त्याल युवा संघले माघे संत्रान्तिको अवसरमा राजधानीमा आयोजना गरेको सांगीतिक प्रस्तुतिका क्रममा उनीसँग भेटघाट भएको थियो,’ लोकदोहोरी गायिका सुमन थापा मगरले भनिन्, ‘कार्यक्रम सिध्याएपछि उनलाई घरसम्म पुर्‍याएर म फर्केको थिएँ। बिहान उनी सवार विमान दुर्घटनाको खबरले त्रसित बनाएको छ।’

लोकगायिका छन्त्यालका ‘मायामा नभुल’, आँखै नशालु’, ‘सानु’ र ‘चौतारीको बर’लगायत लोकदोहोरी गीतहरू चर्चित छन्।

पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा विमान चालक दलका चार जना र ६८ जना यात्रुसहित ७२ जना सवार थिए। त्यसमध्ये ५३ जना नेपाली, पाँच जना भारतीय, चार जना रसियन, दुई जना कोरियन, आयरल्याण्ड, अष्ट्रेलिया, अर्जेन्टिना र फ्रान्सका १–१ जना गरी १५ जना विदेशी नागरिक रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार सिनियर पाइलट कमल केसीले उडाएको जहाजमा को–पाइलट अन्जु खतिवडासहित एयर–होस्टेज सिर्जना होङचुन र ओसिन आलेमगर थिइन्।

जोगिए लोकगायक पशुपति शर्मा

लोकगायक पशुपति शर्मा यती एयरलाइन्सको विमान दुर्घटनामा पर्नबाट जोगिएका छन्। सांगीतिक प्रस्तुतिका लागि आइतबारको यती एयरलाइन्सको नियमित उडानबाट पोखरा पुग्नुपर्ने भए पनि दुई दिनअघि उनी काम विशेषले त्यहाँ पुगेकाले जोगिएको बताए। ‘सांगीतिक प्रस्तुतिका लागि नियमित उडानमार्फत आइतबार यती एयरलाइन्सको विमानबाट पोखरा पुग्ने तय भएको थियो,’ फोन सम्पर्कका आएका उनले भने, ‘केही कामहरू समेत भएकाले शुक्रबार बुद्ध एयरबाट पोखरा पुगेको थिएँ। माघे संत्रान्तिको अवसरमा बागलुङमा आयोजना भइरहेको महोत्सवमा सांगीतिक प्रस्तुति दिनेसहित काममा व्यस्त भएको बेला विमान दुर्घटनाको खबरले स्तब्ध बनाएको छ। यसपटकले भाग्यले बाँचियो। तर कामको सिलसिलमा प्राय विमानबाट आवतजावत गरिरहनुपर्छ। मनमा चिसो पसेको छ।’

प्रकाशित: २ माघ २०७९ ०२:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App