११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

चितवनको पुरानो छवि: उपरदाङगढी

नियात्रा

यादवराज आचार्य

हामी जीवनमा यात्रा धेरै गछौं। कति यात्रा गरिन्छ बिर्सिन्छ। कति यात्रा यादगार बन्छन् र जीवन्त पनि। सायद यात्रा र नियात्रामा फरक त्यही नै हो। अर्थात् जीवन्तता भरिएको यात्रालाई नियात्राको नाम दिइएको हुनुपर्छ। यात्रालाई धेरैले एक पन्थ दुई काजको संज्ञा दिन्छन्। हाम्रो नेपाली सन्दर्भमा सो कुरा सत्य पनि हो किनकि हाम्रो संस्कारमा व्यापार (कुनै काम) बिनाको घुमफिरलाई जीवनयापनको हिस्सा बनाउने प्रचलन अझै विकास भैसकेको छैन।

मेरो हिजोको उपरदाङगढीको यात्रालाई पनि मैले नियात्राको कोटिमा राखेको छु। त्यहाँ पुग्ने रहर पहिलेदेखि नै भए पनि साइत जुराउन सकिएको थिएन। सेवाग्राहीको कुनै कामका लागि फिल्ड निरीक्षण गर्न जानुपर्ने भए पछि मात्र हिजोको दिन ऐतिहासिक स्थलको अवलोकन गर्ने अवसर मिल्यो। त्यसमाथि धान्य पूर्णिमाको अवसर पारेर नेपाल सरकारले दिएको सार्वजनिक बिदाले यात्राको कार्यक्रम सफल पार्न सहज बनायो।

आजभोलि एउटा ट्रेन्ड छ-‘अपेक्षा भर्सेस वास्तविकता’ जसलाई विभिन्न प्रसङ्गमा जोड्ने गरिन्छ। नयाँ ठाउँमा पहिलोपल्ट जाँदै गर्दा अक्सर मैले यो कुरा सम्झिने गर्छु। स्वाभाविक हो अपेक्षा गरेभन्दा वास्तविकता भिन्न हुन्छ नै। पहिलोपटक काठमाडौं जाँदा होस्, त्रिभुवन विश्वविद्यालयमा पहिलो पाइला राख्दा वा सिंहदरबारभित्रको पहिलो प्रवेश होस्, वास्तविकतामा म नराम्रोसँग चिप्लिएको थिएँ। मकवानपुर गढी, सिन्धुली गढी, चिसापानी गढीजस्ता किल्लाहरूमा पुगिसकेको हुनाले उपरदाङगढीको चित्र मानसपटलमा सजाएको हुँदा त्यति सारो उत्साहित त थिइनँ तर मलाई खिचेको अर्को विषय भनेको चितवनको पुरानो सदरमुकामको प्रसङ्गले हो।

गढी पुग्ने सीमित बाटाहरूमध्ये आफू बसेको स्थानबाट छोटो पर्ने मार्ग पछ्याउँदै शक्तिखोर पुग्दा बिहानको ९ बजिसकेको थियो। जुन मुख्य उद्देश्यले हाम्रो यात्रा तय भएको थियो, त्यो काम मुकरर गर्न आवश्यक पर्ने व्यक्तिहरू हाम्रो प्रतीक्षामा त्यहाँ उपस्थित भैसकेका थिए। बाटो अप्ठ्यारो भएकाले मोटरसाइकल, बोलेरो तथा अटो रिक्साबाहेक अन्य विकल्प थिएनन् त्यहाँ पुग्ने। सोहीअनुरूप हामी पनि आफ्नो मोटरसाइकलमै सवार थियौं। शक्तिखोर बजारमा नास्ताका रूपमा ‘हाई टी’ लिईसकेपछि करिब १५ जनाको हाम्रो टोली एडिबीको सहयोगमा निर्माणाधीन निर्माण कार्य अन्तिम चरणमा पुगेको भनिएको (म्याद थप समयावधिका हिसाबले) पहाडी, धुलाम्य र डरलाग्दो सडकलाई पछ्याउन शक्ति खोलाको पुल तर्दा बिहानको १० बजिसकेको थियो।

ठूलो पत्थरको सिरानमा बनेको भुमेस्थानको मन्दिर। शक्तिखोरको पहिचानजस्तै बनेको पोल्ट्री व्यवसाय सञ्चालन गर्न बनेका अत्याधुनिक प्रविधिजडित खोरहरू। पुल बन्न बाँकी बाटाहरू। तिनै बाटा माथिबाट बग्ने पहाडी खोलाहरू। मोटरबाटो नबन्दा प्रयोग गरिने गोरेटो बाटाका धमिला धर्साहरू। बन्दै गरेको परियोजनाका लागि प्रयोगमा रहेका हेभी भेइकलहरू। अत्यन्त कठिन र सडक यातायातका लागि जोखिमयुक्त लाग्ने ठाडा घुम्तीहरू। बाटोको धुलोलाई जीवन्त पार्दै अगाडि बढेका सवारी साधनहरूको योगदानले कुहिरोको आकार लिएर शरीर र लगाएका विभिन्न रङका लुगालाई एउटै रङमा परिणत गरिदिएको निःशुल्क पाउडरको सेवन। झन्डै दश किलोमिटरको ४५ मिनेटको यात्राका क्रममा देखिएका यी दृश्यहरू नेपालको पहाडी यात्राका साझाजस्तै लाग्ने चित्रहरू हुन् भन्दा फरक पर्दैन।

पहाडको सानो थुम्को। खेती योग्य जमिनको अभाव। यस्तो ठाँउमा गढ त हुन सक्थ्यो तर जिल्लाकै मुकाम रहेको कुरा विश्वास दिलाउने कुनै संरचना थिएनन्। उक्त कुराको विश्वास गर्न बाध्य तुलाउने दुई कुराहरू भनेको गढीमा कुँदिएको शिलालेख र सदरमुकाम सार्दा साक्षी बनेका अग्रजहरूको बयान नै हुन्। गढी त गढीजस्तै छ तर साबिकको सदरमुकामका कुनै डोब र भग्नावशेष बाँकी छैन गढीमा। बाँकी छ त नजिकै घर भएका मगर बुबाको सम्झनामा आजकल।

मलाई गढीहरू जाँदा चकित तुल्याउने भनेको प्राचीन कालमा निर्माण गर्दा त्यहाँ प्रयोग गरिएका ढुङ्गाका आकार, सिप र शिल्पी कला नै हुन्, जुन उपरदाङगढीमा पनि दोहोरियो। गढी भन्नेबित्तिकै राजाको दरबार पनि हुनुपर्ने आम अपेक्षाजस्तो केही त्यहाँ छैन, सम्झनामा पनि र किंवदन्तीमा पनि। वरिपरि गहिरो खाल्डो खनेर कुलोजस्तो बनाइएको अनि करिब डेढ मिटर फराकिला ढङ्गे पर्खालले वरिपरि घेरिएको करिब एक हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको रहेछ पुरानो किल्ला। बीचमा एउटा चारकुने इनार र एउटा सानो गोली गट्ठा राख्ने गरिएको भनिएको बन्द टहरोबाहेक उल्लेख्य अन्य संरचना छैनन् त्यहाँ।

२०१६ सालमा अड्डा-अदालतसहित जिल्लाको मुकाम भरतपुर सारेको १२ वर्षको उमेरमा देख्नुभएका मगरबा भन्नुहुन्थ्यो-त्यसको दुई वर्षपछि तोपलगायत युद्ध सामग्री त्यहाँबाट मकवानपुर जिल्लाको भीमफेदीमा सारिएको थियो। एक जनाको ५० रूपैयाँका दरले टिकट काटेर गढीको अवलोकन गर्न ५० मिनेट पनि लागेन।

त्यहाँको पर्खालमाथि चढेर चितवनको समथर भूभागको दृश्यावलोकन गर्दा देखिएको तस्बिर प्रतिकुल मौसमले गर्दा ‘ब्लर’ मात्र देखियो। बरु उत्तर फर्किएर हेर्दा देखिएको गणेश हिमाल र मनास्लु लगायतका हिमालहरूको चित्र चाहिँ तुलनात्मक रूपमा सफा नै थियो। नजिकै देखिएको चितवन जिल्लाको सबैभन्दा अग्लो (१९०० मिटरभन्दा बढी) सिराईचुली पहाड वरपर देखिएका महाभारत शृंखला अरू चुचुराभन्दा उँचो लाग्यो। निकट भविष्यमा त्यहाँसम्म पैदल यात्रा गर्ने मनसुवा पलायो। चितवनको माथिल्लो भागका प्रायःजसो सबै प्राचीन पहाडी बस्तीहरू कुनै टड्कारै त कुनै घुर्मइलो रूपमा गढीको सेरोफेरोबाट देख्ने र चिन्ने मौका मिल्यो।

विगतमा तराईबाट करबाली तिर्न गढी आउने मार्ग र वास बस्ने सो आसपासका गाउँको नामकरण हात्तीवास, थारुवास आदि गरिएको कुरा पनि रोचक लाग्यो। युद्धको समयमा किल्लाहरू निर्माण गरी सोको सुरक्षार्थ खटिने सैनिकहरूले गढी वरिपरि लडाकु शैलीका गुरुङ मगर समुदायका मानिहरूको बस्ती बसाउने गरेको उदाहरण त्यहाँ पनि देख्न सकिन्थ्यो। वरिपरि सीमान्तीकृत चेपाङ समुदायको बाहुल्य रहेको स्थानमा केही घर मात्र गुरुङ र मगरका रहनुबाट सो कुरा पुष्टि गर्ने आधार मिल्थ्यो।  

इच्छाकामना गाउँपालिकाको सबैभन्दा टाढामध्येमा पर्ने उपरदाङगढीको ऐतिहासिक गढी छेवैमा रहेको एउटा आधारभूत विद्यालयले गाउँको प्राथमिक शिक्षा धानेको रहेछ। दश बाह्रवटा पुराना कच्ची घरहरू भएको सानो ग्रामलाई होमस्टेका रूपमा प्रयोगमा ल्याई पर्यटकीय स्वरूप पनि दिइएको रहेछ। १००/१५० पाहुनासम्मलाई एकपटकमा सत्कार गर्न सकिने कुरा सञ्चालकहरू बताउँदै गर्दा संयोगले त्यसै दिन कुनै विद्यालयका सोही संख्याका विद्यार्थीहरूको ‘नाइट स्टे’ सहितको भ्रमण हुँदै रहेछ। जसका लागि सिंगो गाउँ नै एकाकार भएर सक्रियता जनाउँदाको दृश्य हेर्नलायक थियो।

 हामीले पनि त्यसैमध्ये एउटा गुरुङ दाजुको घरमा दिउँसोको भोजन गर्दा दिनको एक बजिसकेको थियो। फाफर, कोदो, मकै अनि तोरी लगाएका बारीहरू थोरै मात्रामा देखिन्थे। नगन्य मात्रामा उपलब्ध खेती हुनेजस्ता गराहरू पनि बाँझै रहेको देख्दा कृषि कर्ममा स्थानीयको त्यति रुचि रहेको देखिएन। फाफरको ढिँडो र सिस्नोको साग खाएर स्थानीय परिकारको स्वाद लिने चाहना भने पूरा हुन सकेन।

गाँउमा एउटा चर्च बन्दै रहेछ। त्यस्ता चर्चहरू चेपाङ बस्तीमा थुप्रै संख्यामा छन् भन्ने सुन्दा त्यति मजा लागेन। आफ्नो घर बनाउन उति रुचि नदेखाउने चेपाङ दाजुभाइहरू चर्च बनाउनका लागि निःशुल्क श्रमदान गर्न तम्तयार हुनुका पछाडिको रहस्य के हो बुझ्न सकिएन। लोपोन्मुख सो समुदायको जीवनस्तर उकास्न राज्यले गरेको प्रयास प्रयाप्त नभएको सप्रमाण त्यहाँ देख्न सकिन्थ्यो।

तल बजार झर्ने, श्रम गर्ने, पैसा पनि कमाउने तर कमाएको भन्दा बढी सोही दिन खर्च गर्ने नियति चेपाङ दाजुभाइहरूको रहेछ। अधिकांशको आफ्नो नाममा घर जग्गा नरहेको र भएकाहरूले पनि चाडबाड, रङ्ग-रमाइलोका लागि कौडीको भाउमा बिक्री गर्ने प्रचलनले सो समुदायको भविष्य झनै अन्धकार हुन सक्ने कुरा सहजै आँकलन गर्न सकिन्थ्यो। बसाइँसराइँ गरी चेपाङबाहेकको अरू समुदाय गाँउबाट पलायन भैसकेका रहेछन्। तिनै मानिसका जग्गा जमिन खनजोत गरी कतिपय चेपाङहरूले जोहो गर्ने गर्दा रहेछन्। त्यसरी चितवनको समथर भूभागमा झर्नेहरूमा गुरुङ, मगर, गिरी, पुरी समुदायका मानिसहरू पर्दा रहेछन्।

चितवनको पूर्वी भागलाई पृथ्वी राजमार्गको फिस्लिङ खण्डमा जोड्ने गरी बन्दै गरेको सडकले पर्यटन, कृषि लगायत जीविकोपार्जनका समग्र आयाममा सकारात्मक ऊर्जा भर्ने आशमा छन् त्यहाँका बासिन्दाहरू। दुरीका हिसाबले टाढा नभए पनि भौगोलिक विकटता विकासको बाधक बनेको कुरा लुकेको छैन। सडक सञ्जालको विकास हुँदै गर्दा त्यहाँको सम्भावना भनेको पर्यटन प्रवर्धनका अलावा सुन्तला खेती, पशुपालन आदि पनि हुन् कि जस्तो लाग्यो। सडक पूर्वाधारभन्दा विभिन्न थुम्काहरू जोड्ने गरी केबलकार विस्तार गर्न सकेमा सहरको आधुनिकता त्यस ठाउँले साक्षात्कार गर्न पाउने र जीवनस्तर उकासिन सक्ने स्वरैकल्पना गर्दा मात्र पनि आनन्द महसुस भयो मलाई।  

प्रकाशित: २ पुस २०७९ ०१:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App