७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

आधा शिर कसले उचालिदिन्छ कविज्यू?

पुस्तक

कविताको सार्थकता र सौन्दर्य शब्दमा मात्र समात्न खोज्दा केही न केही अंश फुत्किहाल्छ। फुत्किएका तीनै केही अंश समात्ने प्रयत्नमा म कविता लेख्छु। पूर्ववर्ती कवि मनीषीहरू उनीहरूका विचार–बिम्ब र कविता लेखनले जीवनलाई सार्थक बनाएर बाँचे। त्यसै गरी बाँच्ने लालसा र सानै भने पनि आफ्नो कुनै स्थान बन्ने भए बनोस् न त भनेर म कविता लेख्छु। सपनालाई बचाउन, जीवनलाई शीतलता प्रदान गर्न, मरेपछि पनि अलिक बढ्ता बाँच्न, आफूखुसी कल्पनामा रमाउन, आफूसित निस्फिक्री कुरा गर्न, सधैं जवान रहिरहन अर्थात् बुढो हुनबाट रोक्न म कविता लेख्छु। कविता लेख्न सोचेभन्दा जटिल छ, त्यसैले म कविता लेख्छु। रोशन शेरचनको ‘म कविता किन लेख्छु’ निबन्धलाई साक्षी राखेर कवि ज्योति जङ्गलमार्फत आफैलाई र यहाँहरूलाई सोध्न मन छ-कविता किन लेख्नुहुन्छ ? यो दुनियाँमा कविता लेख्नुभन्दा महत्त्वपूर्ण, सुन्दर, आवश्यक र आनन्ददायी कैयन् अन्य कामहरू छाडेर कविता चाहिँ किन लेख्ने हँ?

कविता लेख्नु भनेको सायद आफूलाई अभिव्यक्त गर्नु, मन-मस्तिष्क तन्दुरुस्त राख्नु, आफ्ना विचार र भावनाहरू व्यक्त गर्नु हो। मानिसहरूसँग जोडिनु, प्रकृति, कला र संस्कृतिसित एकाकार हुनु, आफूलाई राम्रोसँग बुझ्नु, आफू, आफ्नो समय र समाजलाई प्रतिबिम्बित गर्नु र सामाजिक रूपान्तरणमा एक पाइला बढाउनु पनि हो। प्रायः जसो मान्छेहरू जीवन वा विचारलाई दस्तावेजीकरण गर्न, भाषाको सौन्दर्य, शक्ति र सामथ्र्य व्यक्त गर्न,महत्त्वपूर्ण सामाजिक मुद्दाहरूमा चेतना जगाउन र आफैलाई एक अन्तरदृष्टि प्रदान गर्न र समग्रमा आनन्दको खोजीस्वरूप कविता रचना गर्छन्।

मलाई मन पर्ने र भ्याएसम्म पढ्न रुचि लाग्ने दुइटा पात्र हुन्-बुद्ध र ओशो। तिनै बुद्धले आफ्ना शिष्यहरूलाई बताएको प्रसङ्ग टिपेर ओशोले भनेका छन्-जो व्यक्ति शून्यमा स्थिर हुन्छ, जो आफू भित्रबाट निर्विचार हुन्छ, जसको भित्र विचार या तरंग नै उठ्दैन, उही शान्त चित्त हो। साधारणतया जो देखिँदा शान्त चित्त देखिन्छ, ऊ सतहबाट शान्त प्रतीत त हुन्छ तर भित्रबाट शान्त हुँदैन। चुप रहेर मात्र कोही शान्त हुँदैन। ऊभित्र विचारको आँधी चलिरहेको हुन्छ। विचार शून्यताले मात्र शान्त हुन्छ। सवाल मनको हो। मनमा शून्यता हुनुपर्छ। तब न शान्त हुन्छ कोही। र, फर्केर हेर्न सक्छ, आफैलाई। आफैलाई फर्केर हेर्न सक्नु विपश्यना पनि हो। बुद्ध यसलाई नै विपश्यना भन्छन्। जसलाई महावीर प्रतिक्रमण भन्छन्। पतञ्जलीले प्रत्याहार भनेका छन्।

यौटा फरक प्रसङ्गमा ओशोले यसलाई अलौकिक आनन्द पनि भनेका छन्। अर्गाजम पनि भनेका छन्। आनन्द चेतनामा हुन्छ। जब तिमी आफैभित्र हेर्न सक्छौ, आफूले आफैलाई देख्न सक्छौ र आफैलाई भेट्छौ, त्यही आनन्द हो। त्यही त हो समाधि। संभोगमा समाधिको झलक मिल्छ यदि भने समाधिमा संभोगको पूर्णता भेटिन्छ। अलौकिक आनन्द भनेको त्यही नै त हो। र, जीवन त्यही आनन्दको खोजी हो।

के जीवन ओशोले अथ्र्याएझैं आनन्दको खोजी नै हो त? के कविता लेख्नु पनि आनन्दको खोजी हो? त्यसो भए कविता पढ्नु चाहिँ के हो? यदि कविता लेख्नु आनन्दको खोजी हो भने कविता पढ्नु पनि त त्यै मार्गको प्रयत्न होला। त्यसो भन्ने हो भने आधा शिर उचालेर लेख्नु आनन्दको खोजी हो? कि, आनन्दको प्रयत्न? के यो पढ्नु पनि आनन्द खोज्ने बहाना हो? कन्फ्युज्ड छु म यतिखेर।

ज्योति कवितामा जीवन र जगत् लेख्छिन्। आफूले बाँचेको समय र समाज लेख्छिन्। छोरीका, आमाका, बुहारीका र समग्रमा आइमाई मान्छेका सुख, दुःख, आक्रोससँगै युगीन आरोह-अवरोह लेख्छिन्। नचाहिँदो शब्द आडम्बर र नसुहाउँदो बिम्ब/प्रतीक उनेर कवितालाई बेतुकको भारी बोकाउन्नन् उनी। सरलता, सघनता र त्यसमा मिसिएर आउने भावनाको तीब्रता, शैली र शिल्पगत मौलिकता र अनुभूतिजन्य गहनता उनका कविताहरूको प्राप्ति हो, विशेषता हो। त्यस मानेमा आधा शिर उचालेर राम्रो कविता सञ्चयन हो।

मलाई लाग्छ समय, समाज, लेखक र पाठक बीच द्वन्द्वात्मक सम्बन्ध हुन्छ। साहित्य समाज, सामाजिक संरचना र तिनीहरूकै अन्तरसम्बन्धबाट प्रभावित हुन्छ। लेखकले शून्यबाट कुनै पनि कृतिको निर्माण गर्दैन, समाज यसको प्रमुख कारक हो। ज्ञानको इन्द्रियजन्य पक्षबाट भावजन्य पक्षमा हुने रूपान्तरण सिर्जनाको सौन्दर्य हो।

कतिपय कवितामा आन्तरिक बनोट, बुनोट र समग्र व्यवस्थापन रोचक छन्। शान्त, कोमल र सुललित तवरले हिउँदको नारायणीझैं आफ्नै गतिले आनन्दसित सुसाइरहेको उनको कविताको नदीमा बिचमा यत्तिकै भेल-बाढी र आँधी आइपस्छ। कताकता केके हुन्छ र पाठकले मेलोमेसो नपाउँदै कवितामा अचम्मको द्वन्द्व देखिन्छ। त्यस्ता थुप्रै कविता छन् आधा शिर उचालेरमा। त्यसो त आधामात्र शिर उचाल्नु पनि आफैमा सुन्दर द्वन्द्व हो। बाँकी आधा कसले उचाल्ला भनेर छाडिन होला है कविले? कि उनलाई आधा मात्रै शिर प्रिय र पर्याप्त लाग्यो? आधा उचालेपछि बाँकी आधा कता छुट्यो होला ! प्रश्न यसरी पनि गर्न सकिन्छ। त्यसो त नारीहरूलाई आधा आकाश, आधा धरती यस्तै भनिँदै आइएको पनि छ। त्यसैको प्रतीकात्मकता हुन सक्छ, आधा शीर उचालेर।

सत्य हो

सत्य झुट बोलिरहेको छैन

यो घरमा खाबाहरूमा

मेरो करङ उभिएको छ

यो घरको जग मेरो पैतालाबाट उठेको छ।

कवितामा नजानिँदो अशान्ति, असन्तुष्टि र छटपटी मिसिन्छ र अलिक आक्रोश, विद्रोह थपिन्छ कवितामा र यसरी टुंगिन्छ उनको घर कविता।

के म घर भत्काएर

अब मुक्तिको उद्घोष गरूँ?

यो कविता मैले दोहोर्‍याएरै पढें र आफैलाई सोधें थुप्रै प्रश्नहरू:

के बनिबनाउ घर भत्काउनु नै मुक्ति यात्रा हो?

मुक्तिको उद्घोष गर्न घर भत्काउनै पर्छ?

हामी आफैले आफ्नै रगत पसिना र सर्वश्व सुम्पेर उभ्याएका घरहरू नै हाम्रा बन्धनका कारक हुन्?  

साँची, के घरको रेट्रोफिटिङ या पुनर्निर्माण सम्भव छैन?

मभित्रको पाठक अनुत्तरित छ, तपाईंको कविताको उत्तर म कसरी दिऊँ ? तर यत्ति चाहिँ भन्छु, बनिबनाउ घर भत्काएर गरिने मुक्ति उद्घोष प्रत्युत्पादक हुन्छ। चाहे त्यो राजनीतिमा होस् या प्रेममा।

थकानको बर्को खोलेर

मुस्कानको शरणमा आइपुगेको छु

छेउमा हाँसिरहेका बालकहरू छन्।

मुस्कानको शरणमा शीर्षात्मक कविताको टुंग्याउनीमा प्रयुक्त यी लाइन कति सुन्दर, कलात्मक र मनमोहक छन्। जीवन आनन्दको खोजी हो भन्न रुचाउने पाठकका लागि योभन्दा सुन्दर र आनन्ददायी कविता अरू के हुन सक्छ। यस्ता सुन्दर र शक्तिशाली कविताहरूको बिचमा मुला जिन्दगी, मुक्ति र अरू एकाध अलिक निम्सरा र कम कलात्मक कविता नभएकै भए नि हुन्थ्यो भन्ने लाग्न सक्छ आम पाठकलाई।

कवितामा नारीवादी स्वर चर्कै सुनिन्छ र पनि स्वरले सन्तुलन गुमाएको छैन। उस्तैउस्तै लाग्ने केही कविताहरू पनि छन् र पुनरावृत्ति त्यति सारो भेटिन्न र पनि विषयगत विविधतामा अझै सजग हुनुपर्ने देखिन्छ। सहअस्तित्व, सहचार्य र समानताको आग्रह छ सरदरमा। जातीय, वर्गीय, लैंगिक तथा नश्लगत विभेदका कुरा कवितामा बलियो ढंगले बोलिएको छ।

यो कविताको सुन्दर पक्ष त हुँदै हो तर केही कवितामा त्यसरी बोल्दा कलापक्ष अलिक कमजोर भएको महसुस पनि भएको छ। हुन त कवितामा विचारलाई प्रधानता र प्राथमिकतामा राखिन्छ। त्यस मानेमा तिनै कविताहरू सबल पनि छन्। यसै भएर मलाई कविता मन पर्छ। कवितामाथि लेखन बोल्न खासै मन पर्दैन। कवितामाथि सदियौंदेखि बोलिएको छ, लेखिएको पनि छ र पनि कवितामाथि बोलेर या लेखेर न कहिल्यै सकिन्छ, न सम्भव छ।

सयौं वर्ष बालुवामा पुरिएपछि

निर्जल सुकेको थिएँ

तिर्खाको आगोमा जलेर दिन दिन

निःशब्द दुखेका थियौं झरीबिना

खेत, बारी, जङ्गल र म।

सुन्दर कलात्मक संयोजन, भावको कोमलता, अनुभूतिको तीव्रता र आनन्दको उद्बोधन छ झरीपछिको यो कवितामा। तपार्इंलाई लाग्छ कविता यसरी नै अगाडि बढेको होला? के भयो होला झरीपछि कवितामा यसपछि? घाम लाग्यो होला? झरी अझै थपियो होला? कि थामियो होला? अहँ, त्यस्तो छैन। विभत्सताको दुन्दुभी छाडेर गएको छ झरीले। लडेको रुखमाथि नाङ्गै छ कवि, समयबाहेक अरू कोही छैन ऊसित, न छिमेक छ, न सरकार, न साथी , न परिवार। कविताले पाठकको मानवीय संवेदनाको अन्तस्करणसम्मै स्पर्श गर्छ। यो कविको सबल पक्ष हो भन्ठान्छु म।

नारी जब देख्छे

आफ्नै शरीरमा बाँचेको ईश्वर

मुस्कुराउँछे निर्विध्न

जब नित्सेले थाहा पाए

मान्छेले मन्दिरमा पूजेको ईश्वर जिउँदो छैन

त्योभन्दा धेरै अघिदेखि

नारीले भेटिरहेकी हो

ईश्वर आफ्ना ओठमा मुस्कुराइरहेको !

क्रमशः ईश्वरको वास र आमाहरू गरी दुई फरक-फरक कविताका केही सुन्दर अंशहरू हुन् यी। यी र यस्तै गरी नारीलाई केन्द्रमा राखिएका उनीहरूका दुःख, पीडादेखि उनीहरूले बाँचेको जीवन र समाजको सुन्दर तस्बिरले सजिएका छन् अधिकांश कविताहरू। उनीजस्तै सुन्दर र बलशाली छन् कविता। उनी कहिल्यै बुढी नहून्, कमजोर नहून्। कहिल्यै नथाकोस् उनको कलम।  

प्रकाशित: २ पुस २०७९ ०१:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App