बोधराज पौडेल
चर्खामा मसिना रौंहरू जेलिएसरि जेलिइरहेको छ जीवन। बिहानको मिर्मिरेमा जागा भएको चेष्टा रातमा कीराहरूको आवाज सुनेर मात्र घरको प्रवेशद्वारबाट भित्र छिर्छ। यो हरेक दिनको दैनिकी हो। यति नगरे उसको चुलामा आगो बल्दैन। भाँडो बस्दैन। यो रीतको अन्त्य हुँदैन। निरन्तर-निरन्तर चलिरहेको छ।
खेल्नका लागि धेरै साथी छन्। पढ्नका लागि किताबका ठेलीको कमी छैन। तर, गोधूलिदेखि झमक्के साँझसम्म उसले कहिल्यै किताब समाउन पाएन। र त जहानले फिलिम हेरेर राखेको टिकटलाई पनि महत्त्वपूर्ण कागज सम्झेर जतनले सिरानीमा राख्छ, कुनै बेला काम लाग्ला भन्ने सोचेर।
निष्पट्ट अँध्यारोमा रात जस्तै निदाउँछ। यतिबेला सिधै बिर्सने गर्छ म परिवारसँग छु। मेरो घरमा जहान र साना नानीहरू छन्। यति नगरोस् त बिहानको सूर्योदयपूर्व ऊ कसरी काममा जान सक्छ र? यसै कमजोरीको फाइदा उठाउँदै आफ्नै धन्दामा व्यस्त छे उसकी जहान।
जहान के गर्छे, कहाँ जान्छे? ऊ केही सोध्न चाहँदैन। घर फर्केपछि मीठो बोलेर पस्किदिएको भात खानु जीवनको जीत हो उसका लागि। ऊ अतीतमा जान चाहँदैन। वर्तमानमा जे छ, त्यसमै रमाउनु श्रेयस्कर ठान्छ।
फाटेको भोटोको गोजीमा अडिन्न रुपियाँपैसा। हुन त गोजीमा राख्नका लागि पैसा पनि हुनुपर्यो। पैसा नभए राख्नुपर्ने झन्झटै साफ! सायद यस्तै सोच्दो हो। र त दिनमा जति जम्मा भए पनि भोलि कमाउला भन्ने भानमा जहानको हातमा हालिदिन्छ।
कहिल्यै भन्दैन नमीठो छ। जे छ कपाकप खान्छ। भन्दैन मेरो बिस्तारा मैलो भो, नयाँ फेरिदेऊ। सम्झन्छ म यहाँ बसेपछि त बिस्तारै नभए पनि निदाइहाल्छु। सायद गोजी फाटेकै कारण हुनुपर्छ सानो डोरीमा अड्याएर बाँधेको छ सोते। यो यसको साथी हो, दिनको एकान्तमा। अनि न जतनले राख्छ आफ्नो मुटुको छेउमा राति पनि।
घरिघरि छामिरहन्छ भुईमा झर्यो कि भनेर। सानो डोरीमा बाँधिएको त्यो सोते जीवनको अभिन्न अंग हो। अझ भनौं, त्यो नै जीवन हिंडाउने सारथि हो। यस्तो चिज वा वस्तुले उसलाई यति सजिलै कहाँ छोड्न सक्छ र? छाम्नु नपर्ने हो उसले पनि। बिचराको योभन्दा नजिकको अर्को कोही छैन। सायद यसैले त प्रियाको झल्को मेटाउँदो हो।
यो सोते सल्केको समय आनन्दले तान्छ। त्योबेला यति जोड लगाउँछ, सायद ब्रह्माण्डको सारा शक्ति खिचेर आफूभित्र लिन चाहन्छ। जीर्ण शरीरले त्यसको भार थाम्न सक्दैन भन्ने जानेर नै होला ऊ बिस्तारै आफूमा लीन हुन लागेको त्यो धुवाँलाई बाहिर छोडिदिन्छ। जसले मेटाउछ, मनको तलतल। छोप्न खोज्छ त्यो धुवाँमा सारा समस्याहरूलाई। तर, ती किटिएर बसेका वर्षौं पुराना अवशेषलाई फाल्न सक्दैन। छोप्न सक्दैन। एकैछिन अलप हुन्छन् फेरि उसको शरीरमा आइहाल्छन्। जे गरे पनि नजाने भनेको उसको हातको ठेला मात्र हो। जुन झन् झन् गाडिन्छन्। अहिले त ठेला पनि उठ्दैनन्। उसलाई थाहा छ ढुंगामा ढुंगोे टाँसिन्न भन्ने कुरा।
कहिलेकाहीं सोते बल्दैन। पानीमा भिजेको सोते बलोस् पनि कसरी! हरेक कोसिस गर्छ, जहानलाई फकाएको जसरी। तर, आफ्नो अनुहार कहिल्यै हेर्न नचाहेकी जहानलाई के गाली गर्नु भन्ने ठान्छ र सोतेलाई अगेनको छेउमा सेकाउन थाल्छ। सेकेपछि पक्कै बल्छ भन्ने उसको आशा अझै जीवित छ, मनको अन्तरकुनामा जहानको माया जस्तै।
रूखको डालीलाई थाहा छ, उसले अन्दाजेर हानेपछि छिन्नुपर्छ। ढुंगालाई थाहा छ, उसले उचालेर राखेपछि मिल्नुपर्छ । पानीले नापिसकेको छ उसको आँकडा। र त ऊ हेलिएपछि शान्त बनिदिन्छ। भारी सजिलो भएर पिठ्यूँमा थपक्क बस्छ। उसले भनेको कुरा आजसम्म कसैले नमानेको छैन। तर, घरकी त्यही एउटी जहानले हो उसको कुरामा ध्यान नदिएको।
कला नै नभएको हो भनौं भने बहर गोरु मेलामा सरासर जोतिन्छ। बाँसको घनाले डोको दिन्छ। फलामका औजारहरूले जे भन्यो, जहाँ ताक्यो र जुन आकारमा भन्यो त्यही काम गर्छन्। तर, घरको हाल उस्तै छ। उसले यही कुराको तारतम्य बुझ्न खोजेको समय एकबीसबाट माथि भइसकेको छ।
ससुरालीमा साला जेठान थिएनन्। सासूससुरा पहिल्यै बितेका थिए। परिवारकी कान्छी छोरी थिई उसकी जहान। ऊ कहिल्यै झगडा गर्न चाहँदैन थियो। एकदमै कम बोल्थ्यो। एकदिन अँध्यारोमा ओछ्यानमुनि भएको खुकुरीले खुट्टा काट्दा पनि अरूको निन्द्रा बिच्कन्छ भनेर ‘हैट,खुट्टाले आँखा देखेन! काट्यो कि क्या हो’ मात्र भनेको थियो। उता जहानले थाहा पाई कि क्या हो? मण्डीले छोपेको टाउको देखाए जस्तो ठानेको थियो। जूनको टहकमा त्यति राम्रोसँग त ठम्याउन सकेन।
सानो घरमा मालताल मिलाएर राख्नुपर्ने। त्यो गर्न नसक्दा चोट लागेको मनले ठान्यो। भोलि मिलाउँछु भन्यो र खुट्टा छाम्यो। चिसो पाएन। ओभानो भएकोमा खुसी भयो। धन्न काटेनछ। काँडा त बिझ्न छोडेको थियो। खुट्टा बलियो नै रहेछ। यस्तै सम्झियो।
मेरो हातले पहरालाई फोर्न सक्छ। खुट्टाले काँडा टेक्न सक्छ। हुँदा-हुँदा आज खुट्टाले खुकुरी टेक्यो। मेरो त अहो! सबै कुरा बलियो छ। तर,यो सम्बन्ध किन कमजोर भयो? एकछिन सोचमा डुब्यो। सोतेको आगोले कालो पारेजस्तै थियो खुट्टा पनि। सान्त्वनाभन्दा ठूलो औषधि छैन। मनमा आफूमाथि कसैको कृपा छ भन्ने ठान्यो।
बाहिर हावा चलेको त थिएन तर शरीरमा सिरेटोले हाने जस्तो काँडा उम्रिएको ठान्यो। दोलाईलाई अलि बेरेर ओड्यो। सकेको च्याप्यो। सायद चलमलाएका कारण चिसो भएको होला भन्ने ठान्यो। बिस्तारै निदाउने चेष्टा गर्दै थियो, भालेले बिहानको संकेत गर्यो। परेवाका बचेराहरू पनि जुर्मुराए। बाहिर कुकुर भुकेको आवाजले होला, डोकाले छोपेको कुखुरा चलमलायो। कुखुराको फटफटाहटले कुकुरको छाउरो तर्सेर आँगनतिर दौडियो।
जहान चेतना भएर पनि निर्जीव जस्तै थिई। उसले त्यसको कारण जान्न चाहेको भए पनि सकेको थिएन। एकपटक डाग्डरकोमा जाऊँ भनेको थियो। जहानले पर्दैन भनेको सम्झियो। बाँकी कुरा ऊ केही जान्दैन।
कुन सालमा विवाह भएको हो, त्यो साल भुल्यो उसले तर याद छ त्यही वर्ष हो खेतको बाटो भएर खोला बगेको। र, त्यही खोला खेत बनाउँदादेखि हो उसको जहानसँग सम्बन्ध बिग्रेको पनि। मानजित काकाले कहिलेकाहीं भन्थें, ‘तिमी विवाह गर्दा उन्नाइस वर्षका थियौ। अहिले तिम्री छोरी बाइस वर्षकी भई। एउटी छोरीबाहेक उसका अरू सन्तान थिएनन्। त्यही भएर डाग्डरकोमा जान भनेको थियो।’
छोरीको नाम सुनेर कतै टोलाए जस्तो गर्छ। अहिलेसम्म एकरात म जहानसँग सुतेको छैन, छोरी बाइस वर्षकी भइसकिछ। म कस्तो हुस्सू छु। सुत्केरी हुँदा घरको भाले सानो हुन्छ भनेर मानजित काकाले नै त एउटा छरी उम्रेको भाले दिएका थिए। पछि मैले बेंसीमा दुई मेलो काम गरेर छिनेको थिए। यो कुरा झन्डै भुलेछु। वर्षौंदेखि अल्झिएर बसेको मनको पर्दा यतिबेला खुला भएको छ।
(निबन्धकार पौडेलको ‘सोकेसको ऐना’मा सङगृहीत।)
प्रकाशित: २५ मंसिर २०७९ ०७:५७ आइतबार