लता केसी
म सरकारी कर्मचारी सधैं ९ बजे घरबाट कार्यालय निस्किंदा दुई सन्तानलाई विद्यालय छोडेर जाने गर्थें। आज नोभेम्बर ५ तारिख अन्तर्राष्ट्रिय वातावरण दिवसको दिन। सधैंझैं समयमा नै हामी निस्कियौ। बाटामा छोरी अलि हतार लाउँदै थिइन्, ‘बुवा, अलि छिटोछिटो पुगौं न! ऊ हेर्नु त, बाटाभरि अरू विद्यालयका साथीहरू ‘वातावरण जोगाऔं, पृथ्वी बचाऔं’ भनेर नारा लगाउँदै निस्किन थालिसके। मलाई छिट्टै पुग्नुपर्यो। मेरो नेतृत्वमा कार्यक्रम चलाउनु पनि थियो। म नै ढिलो पुगे भने त जो अगुवा उहीं बाटो हगुवा भने जस्तो हुन्न र?’
छोरीलाई ढाडस दिंदै मैले भनें, ‘नआत्तिऊ न छोरी, म समयमै पुर्याउँछु।’
मैले बाइकको गति बढाएँ। दिमागमा कुरा खेल्दै थियो, ‘दुई सन्तान मेरा, कक्षा ८ मा ठूली छोरी पढ्दै छे। मिहिनेती, लगनशील र समझदार छे तर ५ मा पढ्ने कान्छा छोरा त्यस्तो छैन। एउटै आमाका सन्तान, स्वभावमा कत्ति भिन्नता?’
उनीहरूको विद्यालय आइपुग्यो। भाइको पनि विचार गर्नू है, छोरी भनेर गेटमै बाई गरें र म कार्यालयतर्फ हानिएँ। दिनभरिको कामको चाप, लखतरान भएर साँझ ६ बजे घर पुगें। सपरिवार खाजा खायौं। छोरीले घरमा पनि आज वृक्षारोपण गर्नुपर्छ भनेर स्याउ, अम्बा आदि फलफूलका ५/७ वटा बिरुवा लिएर आएकी थिइन्। बुवा र छोरी मिलेर त्यसलाई रोप्यौं।
छोरीले भनिन्, ‘बुवा, यी बिरूवाहरूलाई आफ्नै सन्तान जस्तै माया गरेर हुर्काउने है! सधैं पानी हालौ। मलजल गरेपछि यी राम्रा हुन्छन् , सप्रिन्छन् अनि भविष्यमा मीठा र गुनिला फलहरू दिन्छन् नि।’
‘मैले स्याबास छोरी भन्दै हस् भनें। छोरीका कुरा सुनेर म गर्व गर्थें तर छोरा ....! मन खिन्न भयो। छोरी जस्तै छोरा पनि बनोस् भन्ने मेरा चाहनामा तुषारापात हुँदै थियो।
ऊ कसैले भनेको मान्दैनथ्यो। मनको मालिक बन्न खोज्थ्यो। दिदी,हामी बुवाआमा र शिक्षकशिक्षिका सबै मिलेर सम्झाउँथ्यौं तर ऊ नसुनेझैं गर्थ्यो। एउटा कानले सुनेर अर्को कानले उडाउँथ्यो। कक्षामा पनि खासै बस्दैनथ्यो। बाहिर खेलेरै समय बिताउँथ्यो। पाँच कक्षाकै प्रथम त्रैमासिक परीक्षामा सातै विषय लागेपछि विद्यालयले सजाय पनि दियो। तर, रिस देखाएर हो वा डरले हो २ दिनसम्म घर नै आएन। साथीको घरमा लुकेर बसेको रहेछ। थाहा पाएपछि उसलाई लिएर घर आएका थियौं। सन्तान हो, केही तलबितल गर्ला कि भनेर स्कूलमा पनि कसैले केही नगर्नू भन्यौं।
‘बुवा, बुवा के सोच्नुभएको?’ छोरीको सम्बोधनले म झसङ्ग भएँ।
सम्भालिदैं भनें, ‘केही होइन छोरी, भाइलाई कसरी सही बाटो देखाउने भनेर सोचिराको नि!’
छोरीले मलाई कुरा बुझाएर भनिन्, ‘भाइको रुचि खेलकुदतिर छ बुवा। उसलाई उसको इच्छा अनुसार त्यतै लगाउनुपर्छ। उन्नति गर्न सक्छ नि। पढेन भनेर चिन्ता नलिनुस् न बुवा।’
कुरा गर्दै हामी घरभित्र पस्यौं। छोरीको कुराले केही राहत मिलेको थियो। म र उनी साथीजस्तै बनेका थियौं। घरको समस्या एक आपसमा मिलेर समाधान खोज्ने गरेका थियौं।
समय आफ्नै तालमा भाग्दै थियो। वर्ष दिन पुग्न के बेर। छोरी जिल्ला स्तरीय परीक्षाका लागि कडा मिहिनेतमा जुटिन्। म उनलाई सहयोग पुर्याउन थालें। हेर्दाहेर्दै परीक्षा नजिकियो। परीक्षाफल पनि आयो। छोरा ५ उत्तीर्ण भएन। उता छोरी भने जिल्लाकै प्रथम भइन्।
विद्यालयले सम्मान कार्यक्रममा हामीलाई पनि निमन्त्रण गरेको थियो। छोरालाई पनि लिएर गयौं। कार्यक्रममा शिक्षा क्षेत्रका महान् व्यक्तिहरू पनि उपस्थित थिए। सबैले छोरीलाई बधाई तथा भविष्यका लागि शुभकामना दिए।
सफलताका साथ कार्यक्रम सकिंदै गर्दा एउटा सूचना जारी भयो। एक महिनासम्म विद्यालय बिदा हुने र त्यसै बीचमा नयाँ कक्षाका लागि विद्यार्थीहरूको भर्ना गराउन पनि अनुरोध गरिएको थियो। छोरीले पाएको सम्मान, इज्जत र पुरस्कारले हामीमा गर्वानुभूति भएको थियो।
उतै नै रात्रिभोजको आयोजना थियो। केही तीतो केही मीठो पल समेटेर हामीले खाना खायौं। खाइपिई हामी राति मात्रै घर पुग्यौं। मैले घरमा आएर छोरीलाई पाँच हजार रुपैयाँ नगद पुरस्कार दिएँ। छोरा नमीठोसँग हेर्दै थियो। एकप्रकारले ऊ त्यो नगद खोस्ने मुद्रामा देखिएको थियो। भाइको अनुहार पढ्दै दिदीले भाइलाई भनिन्, ‘पैसा चाहियो? किन?’
उसले कपाल कन्याउँदै भन्यो, ‘हजुर, जुत्ता र फुटबल किन्न,पर्सि क्लबको म्याच छ।’
‘हस्, भोलि तँ र म किन्न जाने है त!’
ऊ दङ्ग पर्यो। लाग्यो, उसले ठूलै युद्ध जितेको थियो।
एक महिनापछि विद्यालय खुल्यो। उनी भने कक्षा ९ मा पढ्न थालिन् तर ऊ कक्षा ५ मा बस्न मानेन। विद्यालय सारिदिन जिद्धी गर्न थाल्यो तर यो कदमले हामीलाई समस्या हुन्थ्यो। म उसलाई लिएर विद्यालय गएँ। कुराकानी गरें। अनुरोध गरें। फुटबल खेलमा दक्ष भएकाले उसलाई छ कक्षामा भर्ना मिल्यो। एक वर्षलाई समस्या टरेकामा म पनि खुसी भएँ। केही दिनपछि एकदिन साँझपख अचानक ऊ दिदीको छेउमा गयो र भन्यो, ‘दिदी, गृहकार्य गर्न सिकाइदिनु न!’
उनले भाइको मन बुझिन् र भनिन्, ‘नियमित रूपमा पढ्छस्, मिहिनेत गर्छस् भने मात्रै सिकाउँछु।’
मैले तिम्रो जस्तो पढेर प्रथम भएँ भने सबैले मलाई माया गर्छन्, पुरस्कार र सम्मान दिन्छन्, हो?
उनले सम्झाएर भनिन्,‘हो भाइ, जीवनको मूल्य बुझेर हामीले पाइला बढायौं भने सबैतिर हामीलाई सफलता मिल्छ नि!’
दिदीबाट उसले के सिक्यो कुन्नि? त्यसपछि उभित्र धेरै परिवर्तनहरू देखिन थाले। त्यसपछि उसको क्रियाकलापले कसैलाई पिरोलिनु परेन। उसमा आएको यो परिवर्तनले हामी सबैको खुसी बोकेको थियो।
प्रकाशित: १६ मंसिर २०७९ ०३:१० शुक्रबार