२३ माघ २०७९ सोमबार
कला

छविलाल खड्काका पाँच लघुकथा

लघुकथा

छविलाल खड्का

१) अभियान

चतुरमान उर्फ सन्देश। गाउँपालिका अध्यक्ष चुनिए। गाउँभर आशाका मुना पलाए। हेपिएका, दबिएका र अन्याय/अत्याचारमा परेकाहरूको दिन फिर्ने नजरअन्दाज गरियो।

गाउँ परिषद् बस्यो। तामझाम देखियो। आन्तरिक आयस्रोत जुटाउन दबाबमा थिए अध्यक्ष। अचुक अस्त्र फुर्‍यो, करका दायरा र दर दुवै बढाउने। सघन छलफलपछि पास भयो।

एक थरीले गाउँ परिषदका निर्णयहरूको अन्धभक्त समर्थन गरे।

अर्का थरीले परिवर्तनकारी स्थानीय सरकारको अग्रगामी निर्णय र प्रगतिशील कर भनेर खिसीटिउरी गरे।

सरकारका निर्णयविरुद्ध फैलाइएका अफवाह चिर्न घरदैलो अभियान चलाउने निर्णय भयो। दलबलसहित अध्यक्षले आफैं अभियानको नेतृत्व गरे।

अभियान लालप्रसादको घरआँगनमा पुग्यो। अध्यक्ष सहितको टोली राहत लिएर आएको अनुमान गरेर ऊ खुसी भयो। हिजो जनक्रान्तिमा आफूले गरेको योगदानको कदर भएको महसुस गर्‍यो।

सामान्य औपचारिकतालाई चिर्दै अध्यक्ष बोले, ‘लालप्रसाद कमरेड, हामी अहिले नयाँ चरणको क्रान्तिमा छौं। हाम्रो गाउँपालिकालाई समृद्ध बनाउन हामी सबैले तिरो(भूमि कर) तिरेर सहयोग गर्नुपर्‍यो। यो अभियान हामी यहींबाट शुरू गर्दैछौं।’

ऊ नव सामन्ती राज्यसत्ताले थिचेर निसास्सियो र बर्बरायो,‘अध्यक्षज्यू, हिजो तपाईंले नै भन्नुहुन्थ्यो, सामान्तहरू पोस्ने र गरिबहरू चुस्ने तिरो तिर्न हुँदैन!’

२) पागल

उसलाई फुटपाथे साहित्यकार भनेर चिन्थे। उसको साहित्य साधनाको चौतारी फुटपाथ थियो। दिनभर चिल्लाइरहन्थ्यो। गीत, गजल, कविता, मुक्तक, कथा, चुट्किला सुनाउँथ्यो। कहिलेकाहीं कसैले दस–बीस रुपैयाँ फालिदिन्थे।

ऊ साहित्यको पारखी र अनुरागी थियो। गर्दागर्दै साहित्यको अध्ययता र साधक भयो।

बाह्र वर्षमा खोला पनि फर्कन्छ भन्थे। नभन्दै आज त्यस्तै भयो। साँझ हर्षित मुद्रामा कोठा छिर्‍यो र भन्यो, ‘आज तैले कति कमाइस्, साइँली?’

‘सात सय। किन चाहियो र?’

‘अब त म पनि कमाइ गर्ने हुन थालें। आज एक हजार कमाएँ। एउटा कथा बेचिदिएँ। के काम राखेर! मधुपर्क, गरिमा र प्रज्ञामा कतिपटक पठाएँ। छापिने हैन। एउटा भलाद्मी खाले मान्छे आएर किन्यो।’ महाभारतको युद्ध जितेझैं फुर्ति देखायो।

थप्दै गयो। भन्दै थियो,‘यो कथा अब अरूलाई नदिनु। पैसाले किनेपछि मेरो भैसक्यो। हस् भनी दिएँ।’

अझै फुर्किएर भन्यो, ‘यी कविता,गजल पाँचपाँच सय, मुक्तक दुई सय, नाटक र कथा हजारहजार र उपन्यास दुई हजार जति पाए बेचिदिने।’

करिब एक सातापछि फेरि भन्यो, ‘साइँली, आज पनि त्यो मान्छे आयो। एउटा कथा लेखेर ल्याएको रहेछ। देखाउँदै थियो। केको कथा हुनु, ताई न तुईको। फेरि एउटा कथा लिएर गयो।’

केही समयपछि हल्लाखल्ला चल्यो, ‘प्रज्ञाप्रतिष्ठानले ठूलो पुरस्कार वितरण गर्दैछ।’

किनकिन? आज उसका गोडा प्रज्ञातिर मोडिए। आज रत्नपार्कको फुटपाथ छोडिदियो।

सभा हल सुकिलामुकिलाहरूले खचाखच थियो। ऊ एउटा कुनामा बस्यो।

कार्यक्रम औपचारिक रूपमा शुरू भयो। उदघोषकले उदघोष गर्‍यो, ‘मूर्धन्य साहित्यकार कसम शर्माको  कथासग्रह ‘खल्तीका कथा चल्तीका मान्छे ’ ले यस वर्षको दस लाख राशिको चतुर्भुज साहित्य पुरस्कार पाएकाले उहाँलाई बधाई दिंदै उक्त पुरस्कार ग्रहण गरिदिनुहुन हार्दिक आमन्त्रणा गर्दछु।’

सर्जक कसम शर्मा हात हल्लाउँदै मञ्चमा उभिए। उनको अनुहार देखेर कुनामा बसेको फुटपाथे साहित्यकारका आँखा तिर्मिराए। चक्कर लाग्यो। मन भारी भयो। ऊ पागलझै भयो।

३) गोरु जुधाइ

‘अ‍ोई बामे हेर त, मुखिया बाका बल्ल जुधेको।’ दामे चिल्लायो।

रमाइलो मान्दै बामेले ठोकुवा गर्‍यो, ‘आहा क्या मजा भयो। माले बल्लले जित्छ। माले बल्लले।’

‘ईस् जित्छ मालेले! झालेले जित्छ, बुझिस् झालेले। हाम्रा बाले भनेको झाले बल्ललाई त तल्ला घरका काकाले नि माया गर्छन् रे। मिठोमिठो खान दिन्छन् रे। त्यही भएर ऊ बलियो छ। उसैले जित्छ।’ दामेले प्रतिवाद गर्‍यो।

‘माले के कम छ र? उसलाई पनि हपल्ला घरे च्याङबाले कति माया गर्छन्। बेलामौकामा खानापिना र स्याहारसुसार गरेको यही आँखाले देखेको हो क्या रे!’ बामे पनि जंगियो।

वादविवाद गर्दागर्दै दुवै लड्न थाले। कुटाकुट भयो। भकुराभकुर गरे। लछारापछार गरियो।

एकाएक रमाइलो हेर्नेको घुँइचो लाग्यो। कसैले ताली पिटे। कोही तीन हात उफ्रिंदै कराए।

एक्कासि झिलिक्कै चम्कियो। लडाइ झ्याप्पै रोकियो। सन्नाटा छायो। हुलभित्रबाट कसैले शंका गर्‍यो, ‘रिमोटबाट चलेको झगडा जस्तो पो छ त!’

 ४) चलखेल

‘सरुवाको सुनामी...!’  प्रशासन डटकमले हेडलाइन राखेर समाचार छाप्यो।

धेरैका मुटुमा ढ्ंयाग्रो ठोक्यो।

‘अमुक’ हरूको चेहरामा भने घाम लाग्यो। मुख्य सचिवको मोबाइलमा घण्टी बज्यो।

‘हेलो मन्त्रीज्यू, नमस्कार।’ औपचारिकता निभायो।

नमस्कार,नमस्कार! मुख्य सचिवज्यू। मलाई मन्त्रालय चलाउन गाह्रो भयो। सचिवले भनेकै मान्दैन।’  विभागीय मन्त्रीले गुनासो राखे।

‘कसलाई पठाऊँ त हजुर?’

‘ ... ।’

‘उहाँको त योग्यता नै पुग्दैन हजुर।’

-उपाय छ त!

‘कस्तो उपाय हजुर?’

‘निमित्त!

‘मन्त्रालय निमित्तलाई जिम्मा लाएर फूललाई कहाँ व्यवस्थापन गर्नु हजुर?’

‘हत्तेरिका बरण्डा क्या त!’

 ५) नियति

उसले चियाको सुर्की लिंदै भन्यो, ‘मधेसको राजनीति तरल छ र त तरंगित छ।’

अर्काले जिज्ञासा राख्यो,‘कसरी?’

देख्नुभएन? दिन दिनै पार्टी प्रवेश। चुनावी चटारो। कहिले यता, कहिले उता!’ बेलिविस्तार लायो।

उसले पनि बुझेजस्तो गरी टाउको हल्लायो।

एक कान, दुई कान गर्दागर्दै मतदान गर्ने दिन आयो। चुनावी परिणाममा केही फेरबदल आयो। मधेस विरोधी ट्याग लागेको पार्टीको नै मधेसमा बहुमत आयो। भोजभतेर लाग्यो।

सरकार बन्ने क्रम शुरू भयो। फेरि उथलपुथल भयो। साना दल मिलेर सरकार बन्यो। मधेसले मालदार मन्त्रालय पायो तर नेतृत्व पाएन।

मन्त्री मधेस झरे। जनताले विकासको याचना गरे। मन्त्रीले भोट हाल्नु अघिल्लो रातको दृश्य सम्झे।

प्रकाशित: १५ मंसिर २०७९ १३:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App