१३ माघ २०७९ शुक्रबार
कला

बदलिएको गाउँको परिचय

संस्मरण

डा.नवीनबन्धु पहाडी

गाउँ सम्झनेबित्तिकै सम्झनाका तरेलीहरू शीतबिन्दुझैं बरर्बती बर्सिन्छन्, छुटेर गएका घटना र अनुहारका उज्यालाहरू। कहिले आउँछन् पाखापखेरमा गोठबारीका झझल्काहरू र ऐंसेलुका झ्याङमुनिका लुकामारी र काफलका बोटबोटमा झुत्ती खेल्दै बयेली खेलेझै मच्चिएका रहरहरू।  

त्यसैले गाउँ शब्दको यति प्रेमिल अर्थ मेरो मन र मुटुमा अभेद्य भएर बसेको रहेछ कि त्यसको बदलिएको परिभाषा स्वीकार्न मानिरहेको छैन हृदयले। मानोस् पनि कसरी कि पचासौं हिउँदका जँघार तरेर आएका  भङ्गालाहरूमा नखुइलिएर, मधौरु नभैकन बसेका सुकिला अर्थहरूको घनत्व उस्तै र उही रूपमा चहकिएकै छ।

शब्दविज्ञानले भन्छ कि वषौंपछि शब्दका अर्थहरू आफैंमा अर्थापकर्ष हुन्छन्, कतैकतै अर्थान्तर र कतै त अर्थ उत्कर्ष पनि भैदिन्छन्। मलाई यसमा सहमत हुन करै लाग्छ किनकि सृष्टि भएका हर चिजका आयु हुन्छन् भनेर पण्डितहरूले भनिरहेका छन्। शब्द पनि कहीं कतैबाट र कसैले आविष्कार गरेकै होलान्। आविष्कार गर्ने शब्द ब्रम्हका पनि त सर्जन होलान्। उनको पनि त आयु होला अनि उनले आविष्कार गरेका शब्दहरूका आयु नहुने कुरै भएन।  

मैले बुझेको गाउँको अर्थमा पनि यसरी नै बदलाब आइदिएको पो छ कि? यसको अधिकारिकता कसरी निरूपित हुन सक्ला त? शब्द अदालतका श्रीमानको होलान् र त्यहाँ वकालत गर्ने विद्वानजीहरूको खोजी कसरी गर्ने? म रनभुल्लमा परेको छु यतिबेला।

म गाउँमा जन्मेको मान्छे। मैले व्यहोरेर आएका जम्मैजम्मै भुक्तमानका कथाहरू गाउँमा नै सिर्जिएका हुन्। मैले देखेका मान्छेहरूका सुखदुःखका कथाहरू गाउँमा नै उब्जेका छन्।

अझ भन्न मन लाग्छ, गाउँमा नै उब्जनी भएको गुन्द्रुक र ढिंडो खाएर बनेको यो शरीर, मनमस्तिस्क, चेतना र चरित्रले अहिले पनि ग्राम्य प्यार, ग्राम्य परिदृश्य र त्यतैका समग्रताको अर्थबिम्ब खोजिरहन्छ र दिलदिमागमा अजम्बरी छाप बोकेर बसेको गाउँको छविछायामा अर्धशहरी जीवन भोगाइको वर्तमानले खुर्कन र लछार्न सक्दैन।

उसो भए गाउँको छविको अर्थ के हो र गाउँ भनेको खास अर्थमा के हो त? प्रश्नहरूको वर्षा भइदिन सक्छ।

लौ सुन्नुस्, हिजो र आजको विरोधाभाषपूर्ण गाउँको परिचय:

आजभन्दा पचास वर्षअघि जहाँ म जन्मे,जसरी हुर्कें मैले बुझेको गाउँको परिचय त्यही हो जुन मेरो स्मृति बिम्बमा अटल छ र जसलाई मैले कुनै शब्दकोशबाट टिपेको होइन। अनुभूतिको गहिराइ र बोधको उचाइबाट छानेको हुँ।

हो आजभन्दा पचास वर्षअघि मैले स्पर्श गरेको माटो, मैले सानासाना पैतालाले कुल्चिएको धर्तीका धुलिकाहरू गाउँकै थिए जहाँ सुनिन्थे सल्लाका सुसेलीहरू, जहाँका पाखापखेरामा फुल्थे लालीगुराँस र पाखनवेदका झुप्पाहरू, जहाँका रनवनमा गुञ्जन्थे काफल र ऐंसेलु खाएर मत्त भएका कोइलीका गीतिमय चर्का आलापहरू। म जहाँ हुर्कें मेरा दिदीबहिनी, काकीहरू, आमाहरू निर्भय साँझ बिहान, मेलापातबाट एक्लै फर्कन सक्नुहुन्थ्यो। कहिलेकहिले छिप्पिएका रातलाई चुनौती दिएर सन्नाटाको गीत गाउँदै एक्लैएक्लै फर्कन सक्नुहुन्थ्यो।

म आफैं पाँच/सात वर्षे बालक काकाकाकीहरू, उपल्ला घरका ठूले र च्यान्टेहरूसँग पछि लागेर गाईबाख्रा चराउन  निमारे र पोखरे खोलासम्म जान्थें। अहिले मेरो स्मृतिका अन्तरमा नबिर्सने गरेर खाँदिएका गोठाले भाकाहरूः

‘घाँसको भारी ल्यायौ च्याट्टै पारी च्यान्टे पोइलाई देखाउन।

काठैको सुली बीचैबीचै हुली तिम्रो पोइलाई देखाउन।

मै पनि त थिएँ मनमुटु दिए छोड्यौ गरिब भनेर

ल्याएको थें बाला तिमीलाई जाइको माला रुमालैमा गनेर।’

यी र यस्ता सवाल-जवाफ मैले त्यतिबेला नै सुनेको हुँ। त्यसका अर्थ गूढता आज बल्लबल्ल बुझ्न खोज्दै छु।

आज मैले पढेका महाकाव्यहरूका पुर्खा थिए सायद रातदिन अविराम गाइएका ती लोक सुसेलीहरू।

अँ,मैले बुझेको गाउँको परिचय त्यति मात्रै पनि त थिएन र त्यत्तिमा मात्रै सीमित पनि त थिएन।अरू-अरू पनि निकै थिए गाउँका बसिबियाँलाहरू। पहिचानहरू।

गाउँको बिचमा धारो पँधेरो थियो र अक्सर महिलाहरू मात्रै भेटिन्थे पानीपँधेरोका उपभोक्ता। पुरुषहरू अक्सर नुहाउने समयका लागि मात्रै पो होकि गएका हुन्थे धोती, साबुन, पिना वा यस्तै केही बोकेर।

बलियाहरूले काखीमा र निर्धा बालिकाहरूले डोको वा डालीमा गाग्री बोकेर पँधेरोमा पानी भर्न सखारै ३ वा चार बजेदेखि नै बिउँझिएका हुन्थे। महिला सभा वा गोष्ठी र बैठकहरू ढाडमा पानीको रित्तो बा भरिएको गाग्रो र थाप्लोमा नाम्लो  बोकेरै एकाध घण्टासम्म पनि चलिरहन्थो फुर्सदको समयमा र यदाकदा। त्यहाँका बहसका विषय प्रायः छिमेकका हुर्किएका छोराछोरी, कसैका प्रगति, अधोगतिका टिप्पणीहरू,बालीनाली, आफ्ना छोराछोरीका राम्रा, नराम्रा क्रियाकलापहरू र श्रीमान्का मायाप्रेम, अरूहरूका लुप्त गुप्त रहस्यहरू।

यस्तै बैठक र पँधेरे गोष्ठीहरूबाट फुत्कन्थे ग्राम्य महाभारतका  पयो र उम्रन्थे बीउहरू। त्यहाँ बन्थे झाँक्री, बोक्सी र भूतप्रेतका स्वप्निल मिथकहरू र खेल्थे रुद्रराजका रुपमती, मैनालीका नासोमा परी लाइएका देवीरमणहरू पनि।

यस्तो लाग्छ: अहिले भए कैयौं कथाका बेलो पहिल्याउन उहिलेका पँधेरो, धारो र इनारहरू नै काफी थिए।

पाटीपौवा र सत्तलहरू थिए, देउराली र चौतारीहरू थिए, मठमन्दिर र विहारहरू थिए र नै गाउँहरू थिए। कुल देवता, इष्ट देवता, तिनका मन्दिर पूजा, अनुष्ठानहरू,जात्रापर्व र उत्सवहरू थिए र पो गाउँ बाँचेको थियो। हामी हुर्किएको गाउँमा हामीले देखेभोगेका विरासत थिए यी र यस्तै संस्कार र संस्कृतिहरू।

गाउँमा प्रायः भोक भाग्थ्यो डराउँथ्यो र कायल हुन्थ्यो त्यहाँको एकता देखेर। छाक बस्ने निमुखाहरूको दैलामा सहयोग आफैं धाउँथ्यो कोदो कोइरालो भए पनि। बरु त्यसैलाई आधार मानेर घरखेत डस्ने साँपहरू पनि हुन्थे यदाकदा र लेखिन्थे लीलबहादुरका कारुणिक बसाइँ उपन्यासहरू।

अतिथि देवो भवः गाउँको सूक्तिभाव हो किनकि गाउँमै थिए यसका मर्महरू। नयाँ अतिथिको पदार्पणमा खुशीको वहार गाउँमै हुन्थ्यो। गाउँमै झुल्थ्यो। व्यावसायिक बासशालाहरू थिएनन्। पाटी-पौवामा बास बस्नेहरूका लागि पनि तरकारीहरू घरघरबाट सित्तैंमा पुग्थे।

‘लहै गाउँले पाँचा (पञ्च) हो। भोलिदेखि देउरालीको बाटो सुधार्न, खन्ने निधो भएकाले घरघरबाट एकएक जना काम गर्न सक्ने मान्छे कोदालो, डोकोनाम्लो लिएर बिहान सात बजे चौतारमा जम्मा हुनु।’

अथवा,

‘लहै पाँचा हो, भालि महादेवको मन्दिरमा समक्ष पूजा गर्ने सल्लाह भएको छ। पानी नपरेर सबै सुक्खा लागेकाले महादेवको मन्दिरमा क्षमा पूजा तथा प्रार्थना गर्न पूजा सामग्री र भेटीघाटी लिएर बिहान ६ बजे जम्मा हुनु है, जलधाराका लागि आदिआदि।

यस्तैयस्तै विषयमा बैठक, छलफल र अनेक क्रम-उपक्रमहरूमा मैले गाउँ बुझेको देखेको र पढेको थिएँ अन्तस्करणबाट।

चाडपर्व आउनुअघि नै पानीघाट, गामबेसी गर्ने बाटाहरू, गौंडागल्छेडाहरू मर्मत हुन्थे। ब्रम्ह मुहुर्तसँगै सखारै मन्दिरमा बज्ने घण्टाहरूभन्दा अगाडि बिउँझिने ढिकीजाँतो र गोठका बाछाबाछीका आवाजहरू, परेवा र कुखुराले लगाउने संकेतले ओछयान छोड्न बाध्य बनाउने परिवेश आजसम्म पनि मैले ग्राम्य विशेषता नै मानेको छु। जसले मेरा मानस बिम्बमा शिलाक्षर कोरेको छ।

...अनि मैले अहिलेका गाउँमा नखोज्नु ती स्वभाविकताहरू?

तिर्खाएका मनले अहिले पनि खोजिरहन्छन् छुटेका ती स्वप्निल यादहरू।

तर,घायल छु वर्तमानका परिदृश्यहरूबाट जुन पाइलाका डोबहरू मुटुदेखि खुर्केर पत्रपत्र मनोबिम्बमा चलचित्रका पर्दामा झै चित्रित भैरहन्छन् गाउँका बिम्ब झरनाहरूमा।

अहँ पाउँदिनँ, त्यस्तो पूर्वस्मृतिका छविमय स्वभाविकता आजकालका गाउँहरूमा।

गाउँका गोठकटेरामा गाईभैसी छैनन् बरु छन् त आना बेचेर किनिएका भटभटे जसलाई जतनले राखिएका छन्। घरघरमा प्रतिस्पर्धा छ मोटरसाइकल र गाडी किन्नेहरूको। जग्गा टुक्रयाएर घडेरी बेच्दै किनिएका गाडीहरूका लामबद्ध प्रतिस्पर्धाले नगद व्यापक विदेश गैरहेका छन्।

त्यसमा हाल्ने इन्धन त झन् प्रतिदिन कति बिदेसिन्छ कति? त्यसका पार्टपुर्जामा  बिदेसिने नगद त बेहिसाब छँदैछ। यसरी गाउँका कुनाकुनाबाट देश चिमोटिएको देखेर आँसु खसिरहन्छ।

उहिल्यै गाउँ थियो र झुरुप्प-झुरुप्प मिलेका समुदाय थिए। प्रत्येक घरको छेउमा गोठकटेरा थिए। कटेराको एकातर्फ दाउराका खलियो हुन्थे। अगेना र चुलाका चम्काहरूको आफ्नै महत्त्व थियो। चुलाको छेउमा चौकी र त्यसको अर्कोतर्फ मझेरी पनि बनेका हुन्थे। हरेकका वैज्ञानिकता आज उत्खनन् भैरहेका छन् तर आज पुराना इन्जिनियरिङ मर्महरू स्खलित बनाएर ठडिएका छन् कंक्रिटका थुप्राहरू।

हिजो थियो कि गाउँबाट बजारसम्म स्थानीय जातका कुखुरा चेपेर दैनिक गुजारा चलाउन झर्नेहरूको लस्कर हुन्थ्यो, दूध बेच्नेहरूको ताँती लाग्थ्यो। झुम्रामा पोको पारेर, खरानी र धानका भुसले जोगाएर स्थानीय जातका अण्डाहरू बिक्री गर्न बजार-बजार चहार्नेहरू प्रशस्त हुन्थे तर अहिले उल्टो उपक्रम छ। बजारबाट गाउँतर्फ चाउचाउका पोका, ब्रोइलरका मासु र डेरीका दूध र घिउ बोकेर उक्लिरहेको देखिन्छ। यसले ग्रामीण अर्थतन्त्रको कहालीलाग्दो अनुत्पादक र परनिर्भर दैनिकी प्रतिपल आँखा अगाडि नाचिरहन्छ।

पहिले पनि उस्तै फल्थे आलीकान्लामा नास्पाती, जुनार सुन्तला र आलुवखडाहरू जसरी अहिले फलिरहेका छन्। फरक यति छ, बाँझो बसेका घरघडेरी, करेसाबारी र गैह्रीबारीका डिलडिलमा उभिएका ती बोटवनस्पतिलाई स्याहार गर्ने हात पाखुरा, मलजल गर्ने र महत्त्व बुझ्ने बाआमाहरू जस्तै कुप्रा, दुब्ला र निरीह भैरहेका छन्। देशलाई खाने नवराजतन्त्रका ऐंजेरुले जस्तै कोपरिरहेका छन् तिनलाई पनि बोटबिरुवाका ऐंजेरुसँगै हुर्किंदै गरेका वनमाराहरूले।

गाउँमा बाटोघाटो पनि बनेका छन्, जताततै चोकहरू छन्। गल्ली र त्यहाँ पुर्खाले आर्जिएका सिंढीहरू मासिएका छन्, किंवा भत्किएका छन् नभए सिस्नु उम्रिएर हेरिसाध्य भैदिएका छन्। मानौं, दिउँसै भूतप्रेत वा स्याल लुकामारी गर्छन् जस्तो पो देखिन्छ।

बाल्यकाल सम्झन्छु कि सदरमुकाम आउने अतिथिहरू ओसारा, बार्दली र आँगन पिंढीमा असरल्ल बास बस्थे। हजुरआमाहरूले भण्डार, डालो, भकारी, कुन्यूमा जे छ त्यो झिकेर दिनुहुन्थ्यो। त्यहाँ पैसाको आस थिएन न थियो लेनदेनको सौदाबाजी। दुःख-पीरमा मलम लगाउनुहुन्थ्यो। संस्कार,सभ्यता, धर्म र परोपकारका बातचित हुन्थे।

तर, आजकाल गाउँमा अभर परेर गाउँमा बास बस्न माग्ने हो भने होटेल देखाइँदा रहेछन्। खाना खानेबेला आश नगर्दा हुने रहेछ किनकि हजुरले त खानुभयो होला। हामी खाएर आउँछौं है भन्ने कुटनीतिक भाषा सबैले जानेका रहेछन्। कतैकतै त म होटलमा अर्डर गरूँ कि भनेर आफू समेत त्यतै खाइदिएर बिल बढाइदिने पो रहेछन्। बडो विचित्रताको आतिथ्य देखिएको पनि भोगेको छु र लाग्छ, ग्रामीण सभ्यता शहरीकरण र त्यसको पनि काँठकरणको फ्यूजन भैरहेको छ।

फ्यूजन त्यो पनि ग्राम्य सभ्यताका खराबी बाँचिरहेको र शहरी सभ्यताका सुधार्नुपर्ने विकारहरू गठजोड भएको देवराक्षसको निर्माणले हाम्रा सनातन सुसंकृति र विकासका साम्राज्यका प्रत्येक इट्टाइट्टा खसिरहेका छन्। जग ध्वंस हुँदै आइरहेको छ। त्यसैले त आजभोलि गाउँमा गाउँ भेटिंदैन। कतै शहरजस्तो, कतैकतै गाउँजस्तो लाग्छ। कतै परिचित जस्तो र कतै विरानो जस्तो लाग्छ। आउनुस्, गाउँवस्तीहरूका हिजोका सभ्यताका धुलौटाहरू खोजौं।

प्रकाशित: १५ मंसिर २०७९ ११:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App