९ चैत्र २०८२ सोमबार
image/svg+xml
कला

सलमानले पूरा नगरेको वचन

मुम्बई–फिल्म 'जय हो'को प्रमोसनका लागि बलिउड स्टार सलमान खान इन्दौर गएका थिए। त्यहाँ उनले आफ्नी धाईआमा रुक्मणि भाटी र उनकी नातिनी मनीषालाई भेटेका थिए । त्यसबेला उनले रुक्मणिसँग मनीषालाई पढाउने र उनको बिहे गराइदिने बचन दिएका थिए।रुक्मणि सलमानकी धाईआमा हुन् । सलमानकी आमालाई सुत्केरी गराउनेदेखि शिशुलाई मालिस गराउनेसम्मको जिम्मेवारी उनले निर्वाह गरेकी थिइन् । फिल्म 'जय हो' को प्रमोसनका क्रममा इन्दौर पुग्दा सलमानले आफ्नी धाईआमाबारे जानकारी पाए । उनले रुक्मणिलाई आफू बसेको होटलमा भेट्न बोलाए । उनी आफ्ना दुई नातिनीसहित होटलमा पुगिन् । सलमानले उनको पाउ छोए र उनलाई विभिन्न बचन दिए ।

आफ्नी हजुरआमासँग सलमानलाई भेट्न गएकी मनीषालाई सलमान असाध्यै असल मान्छे लाग्यो । रुक्मणिसँग कुराकानी भएको पाँच मिनेट नबित्दै सलमानको पीएले भित्र आएर भने, 'बाहिर तपाईंलाई भेट्न थुप्रै मान्छे आएका छन् ।' यस्तो सुनेपछि रुक्मणि उठ्न खोजिन् । तर, सलमानले उनको हात समाएर केही बेर बस्न भने । उनले पीएलाई 'बाहिर बसेका मान्छेलाई केही बेर कुर्न देऊ' भने ।

'होटलबाट निक्लने बेलामा सलमान अंकलले हजुरआमाको हातमा केही पैसा राखिदिनुभयो,' मनीषाले भनिन्, 'बाहिर एकदमै भीड थियो । हाम्रो हात समाएर हिँड्दा हजुरआमाले पैसा खसाल्नुभयो । उहाँको हातमा एक हजारको एउटा नोटमात्रै बचेको थियो । त्यही नोटलाई मैले अहिलेसम्म सम्हालेर राखेकी छु । यसलाई म आफ्नो 'लकी चार्म' मान्छु ।'

मिडियाका अगाडि सलमानले धाईआमालाई अँगालो हालेर भनेका थिए, 'अब तपाईंका दुःख मेरा भए ।' उनले नातिनीका साथ रुक्मणिलाई मुम्बई बोलाउने बचन दिए । साथै, दुई नातिनीलाई पढाउने र उनीहरूको बिहे गराइदिने वचन पनि उनले धाईआमालाई दिएका थिए ।

सलमानले यस्तो प्रतिज्ञा गरेको दुई वर्ष बितिसक्यो । तर, मनीषालाई सलमानले आफ्नो वचन पालन गर्ने छन् भन्नेमा पूरा विश्वास छ । 'सलमान अंकल बडो असल मान्छे हुनुहुन्छ,' मनीषाले भनिन्, 'उहाँको मनमा साना–ठूला, धनी–गरिबबीच कुनै भेद छैन । मलाई आशा छ– एक दिन उहाँले हामीलाई फोन गर्नुहुनेछ ।' उनले सलमानसँगका आफ्ना सारा तस्बिर घरमा सजाएर राखेकी छिन् ।

प्रकाशित: ४ माघ २०७२ ०१:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App