coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

कथ्यमा नयाँ आयाम ‘आदिबिम्ब’

मध्यपश्चिमको विकट पहाडी जिल्ला दैलेखको बडलम्जी तिदुगौरामा जन्मिएका रामकृष्ण आचार्य ‘विशेष्य’ले मध्यपश्चिमको सर्वाङ्गीण विकासका लागि साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएका छन्। कथाकार, अन्वेषक तथा लेखक ‘विशेष्य’को कथासङ्ग्रह ‘आदिबिम्ब’ राउटे जातिसँग सम्बन्धित कथाहरूको सँगालो हो।

‘आदिबिम्ब’ विशेष जातिको अनुसन्धान गर्दै लेखिएको कथा साहित्यको एक उत्कृष्ट नमुना हो। यस कथासंग्रहमा समावेश गरिएका सबै कथामा अनुसन्धान गरी साहित्यिक कृतित्व रच्ने जमर्को गरिएको छ। अनुसन्धान र साहित्यलाई समन्वय गर्दै अनुसन्धान तथ्यमा र साहित्य कल्पनामा आधारित हुन्छ भन्ने तथ्यको समन्वय गर्न खोजिएको छ। कथामा बढी तथ्यको खोजी र कम कथाशिल्प वा कल्पनाको संयोजन गरेको पाइन्छ। काल्पनिकभन्दा यथार्थमा जोड दिई कथासङ्ग्रह प्रकाशित गरेका छन् कथाकारले।  

साथै दैलेख जिल्लाका विभिन्न क्षेत्रका जंगललाई आफ्नो बासस्थान बनाएका राउटेहरूको जीवनशैलीलाई आधार बनाएर लेखिएको यो पहिलो आख्यानात्मक कृति बन्न पुगेको छ। यसै सन्दर्भमा कथा साहित्यको क्षेत्रमा आचार्यद्वारा रचित ‘आदिबिम्ब’ कथासङ्ग्रहले नेपाली साहित्यका फाँटमा नयाँ आयाम थप्न सफल भएको छ। कृतिमा कथाका माध्यमबाट समेटिएका जीवन्त चरित्र वा तथ्यले २१औं शताब्दीको सभ्यताको विकासलाई नै चुनौती थपिदिएका छन्। पत्यार नलाग्ने गरी, खुसुक्क थाहै नपाउने गरी कथाहरूले पाठकलाई ढुंगेयुगमा पुर्‍याएका छन् र तत्कालीन जीवनशैलीलाई चित्रित गरेका छन्। कारण, कथाकारको जन्मस्थल नै दैलेख हो र उनी सानैदेखि समाजबाट उपेक्षित नामधारी मानव राउटेसँग धेरै नजिकबाट परिचित रहे, भनौं मेलापात, घाँसदाउरा, गोठालोखेतालो जाँदा राउटेसँग उनले उठबस गर्ने मौका पाए, उनीहरूका दिनचर्यालाई नजिकैबाट नियाल्न वा चियाउन पाए। त्यसैले पनि उनको यो कथा संग्रहले राउटेको जीवनको वास्तविक चरित्रलाई प्रस्तुत गरी जनसमक्ष ल्याउने जमर्को गरेको छ।  

राउटे जातिमा जन्मदेखि मृत्युसम्मका संस्कार, रीतिरिवाज, रहनसहन, लवाइखवाइ र जीवनका भोगाइलाई ज्यादै नजिकबाट नियालेर सत्यतथ्यलाई प्रस्तुत गर्न अत्यन्तै सफल भएका छन् आचार्य। कथा पढ्दा यस्तो अनुभूत हुन्छ, कथाकार र पाठक राउटेसँग उठबस गरिरहेका छन्।  

सङ्ग्रहका कथा मार्मिक, कारुणिक र जीवन्त छन्। कथासङ्ग्रहमा बीसवटा शीर्षकमा सम्पूर्ण राउटेको इतिवृत्त समेटिएको छ। र, राउटे जातिका जीवनका विविध पक्षलाई उठाएर उनीहरूकोे आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक र भाषिक पक्षलाई विशेष महŒव दिइएको छ। कथासङ्ग्रह अत्यन्त रोचक, मर्मस्पर्शी र यथार्थपरक छ।

‘आदिबिम्ब’मा रहेका सबै कथाहरू जंगलमा बसोबास गर्ने आदिवासी राउटे जातिको जीवनका दयनीय कथा–व्यथालाई आधार मानेर रचना गरिएका छन्। कथाकार आचार्यद्वारा रचित सो आख्यानात्मक कृतिमा राउटेहरूको व्यवहार, संस्कार, संस्कृति, रहनसहन, चालचलन, रीतिरिवाज, लवाइखवाइ तथा कष्टपूर्ण जीवन भोगाइका प्रसङ्गले स्थान पाएका छन्। उनीहरूको मौलिक कला तथा सिप (काठका भाँडा बनाउने, कुँद्ने), परम्परा धान्ने प्रचलन, अशिक्षा आदि विषय चर्चित छन्। राउटे जातिमा आफन्तको मृत्यु भएको खण्डमा बसोबास गरिरहेको जङ्गललाई छोडेर बसाइँ सर्ने चलन छ। यो जातिमा चरम गरिबी छ तर जातीय विभेद नभए पनि लैंगिक विभेद भने चरम अवस्थामा भेटिन्छ, जुन प्रसङ्गलाई पनि कथाशिल्पका माध्यमबाट आचार्यले खुलाएका छन्।  

कथामा वर्गीय विभेदको कुरालाई पनि देखाइएको छ। राउटे–राउटेबीच पनि मुखियाको शोषणविरुद्ध आवाज उठाउनु, आन्दोलन गर्नु र मुखियालाई सत्ताच्यूत गरी अर्को मुखिया छनोट गर्ने व्यवस्था पनि देखाइएको छ। यी प्रसङ्गले प्रगतिवादी चेतना प्रतिबिम्बित गराएको अनुभूत हुन्छ। साथै संघर्षपूर्ण जीवन र सामन्ती व्यवस्थाको चित्रण सान्दर्भिक छ।  

राउटे जातिसँग सम्बन्धित थुप्रै तथ्यहरू आजसम्म पनि खुल्न सकेका थिएनन्, आम मानिसहरू ढुंगे युगबाट आजको युगसम्म आइपुग्दा पनि राउटे जाति कसरी जङ्गली जातिकै रूपमा रह्यो, त्यो रहस्यको विषय नै थियो। कथाहरू पढिसक्दा राउटेहरू अझै सभ्यताका दृष्टिकोणले आदिम युगमै छन् भन्ने लाग्छ। उनीहरूको आजको समाज, लवाइखवाइ, रहनसहन, जीवनशैली, वेशभूषा, विवाह, व्रतबन्ध, खानपानलगायत सम्पूर्ण साङ्गोपाङ्ग जीवनका संस्कार र संस्कृति मात्र होइन, तिनीहरूको सामाजिक, आर्थिक, सांस्कृतिक, व्यावहारिक व्यवस्थापनका साथै मुखियाले गर्ने गरेको आर्थिक शोषण, उत्पीडनका तथ्यहरू पनि आचार्यका कथामा आएका छन्।  

जवान मुखियाले १२ वर्षीया बालिकासँग विवाह गर्नु, समाजमा छोरालाई प्राथमिकता दिँदै छोरा नभए स्वर्ग जान पाइन्न भन्ने सोच राख्नु, मुखिनीको गर्भमा छोरो होस् भनी मुखियाले भगवान्सँग प्रार्थना गर्नु, अन्त्यमा छोरी हुँदा मुखिया दुःखी हुनु, दोस्रो सन्तान पनि छोरी हुँदा मुखिया रिसाएर ‘छोरीलाई घाँटी निमोठेर मारिदेऊ’ भनेका प्रसङ्गले राउटे समाजमा पनि पुरुषप्रधान वा पितृसत्तात्मक सोचले जरा गाडेको पुष्टि हुन्छ।  

राउटे जातिको सामाजिक व्यवस्थापनमा शासकीय संरचना रहेको बुझिन्छ। उनीहरू समावेशी समाजभित्र रहन चाहँदैनन्। राउटे समाजभित्र अरू जातजातिका मानिसलाई पस्नसमेत प्रतिबन्ध छ। जसकारण आजको मानवसभ्यताको आवश्यकतालाई औंल्याउँदै राउटे समाजभित्र गुप्त रहेका कुसंस्कार, कुरीति, भेदभावजस्ता कुराको खोजी गर्न आवश्यक रहेको देखिन्छ। जसका लागि आचार्यका कथाले पर्याप्त मात्रामा सहयोग गर्दछन्।  

साथै नेपाली समाजमा देखिने सामन्ती सोच र संस्कृतिलाई पनि कथाकार आचार्यले चित्रण गर्ने प्रयास गरेका छन्। जसलाई कथाकोे पसङ्गमा आएको ‘मुखिनीको मृत्यु’ ले प्रमाणित गरेको छ। यसका साथै असिनापानीले राउटे बस्ती तहसनहस हुनु, हुरीबतास, अतिवृष्टि र भेलबाढीले बस्तीलाई उजाडिदिनु, राउटे परिवारमा रुवाबासी चल्नु, सुत्केरी मुखेनीलाई असिनाले चुट्नु र चिसोले कठ्याङ्ग्रिएर उनको मृत्यु हुनु, मुखियाले बिचलित हुँदै लास गाड्नु र परिवारका कुनै पनि सदस्यको मृत्यु हुनासाथ बस्तीमै आगो लगाएर बसाइँ सर्ने परम्परालाई कथामा देखाइएको छ।

विवाहको सन्दर्भमा पनि राउटेको आफ्नै परम्परा छ। केटाकेटीले एकअर्कालाई मन नपराए पनि विवाह हुन्छ। ‘राउटेको मगनी’मा पुरानो नातासम्बन्ध, मित्रताभन्दा पनि रक्सी, मह, माछामासु आदि मीठामीठा खानेकुरा भेटमा लिएर गएको खण्डमा केटी पक्षले सजिलै केटी दिने र विवाह पक्काजस्तै हुने परम्परालाई वर्णन गरिएको छ। ‘राउटेको बिहे’मा नाच्ने, जाँडरक्सी पिउने र रमाइलो गर्ने परम्पराको चर्चा छ। गान्धर्व विवाहलाई भने राउटे समाजमा प्रतिबन्ध लगाइएको छ। ‘जङ्गली प्रेम’मा प्रेमविवाह वा विवाहपूर्व शारीरिक सम्बन्ध राखेको प्रमाणित भए चारपाटा मुडेर बस्ती घुमाउने परम्परा रहेको छ। बिहेपछि दुलाहादुलहीलाई नयाँ झोपडी बनाइदिने तर पति मरेको खण्डमा विधवालाई बस्तीभन्दा उल्टो दिशातिर फर्काएर छुट्टै झुप्रो बनाइदिने परम्परा पनि कथामा उल्लेख छ। समाजमा नारीको दूरवस्था, प्रगति र नयाँपन नचाहने संस्कार, संस्कृति र परम्परा, बालविवाह, बाल प्रजनन, समाजमा कन्याको अभावलगायत सामाजिक व्यवस्थापनको पनि वर्णन छ।  

राउटेहरूमा भाग्यवादप्रतिको विश्वास पनि छ। छाउपडी प्रथा छ। राउटे समुदायमा पनि पहिला वस्तु विनिमय रहेको तर अहिले अन्य समुदायसँगको सामाजिक सम्बन्धले मुद्रा विनिमयमा आइसकेको कुरा पनि उल्लेख छ।  

राउटे समाजमा बिहे आदि संस्कारजन्य कार्यमा मुखियाबाट ऋण लिनेदिने, मुखियाले सो ऋणबापत ऋणी मात्र नभएर उसको परिवारका सदस्य सबैलाई शोषण, उत्पीडन गर्नेजस्ता सामन्ती परम्पराको पनि रहेको पाइन्छ।  

राउटे बालबालिकाप्रतिको दृष्टिकोण, मनोविज्ञानको चित्रण र सहरका तथाकथित ठूला मान्छेप्रतिको व्यङ्ग्य तीव्र छ। ‘आदिमानव’ मा राउटे परिवारको अशिक्षा, अन्धविश्वास, गरिबी र परम्परावादी सोच, संस्कार, संस्कृति र मनोविज्ञानको सजीव चित्रण छ।

यसरी समग्रमा फरक विषवस्तु र एउटा समुदायको समग्र दिशाबाट गरिएको चित्रणले नेपाली कथा साहित्यमै नयाँ आयाम थपेको छ आदिबिम्बले। साथै राउटेसँग सम्बद्ध मानवशास्त्रीय अध्ययनले कथाकार आचार्य स्थापित कथाकारका रूपमा चिनिएका छन्। 

प्रकाशित: १० मंसिर २०७९ ०३:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App