१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

नारायण कोइरालाका पाँच लघुकथा

लघुकथा

नारायण कोइराला

१) शक्ति

धान झुलेको खेतमा नेता आए। किसानहरूले नेतालाई स्वागत गरे। नेताले भोट र नोटको कुरा गरे। किसानहरू चोट र भोकको।

चुनावको दिन किसानहरूले मतदान केन्द्रमा होइन खेतमा धान काटे। नेता बाँझो खेत भए।

 २) पक्का

विदेश बसेको पच्चीस बर्से लक्का जवानलाई साथीले मंसिरमा पक्का भयो भनेर खबर सुनाएँ। उसको खुसीको सीमा रहेन।

सपना बुनिहाल्यो। सिन्दूर-पोते सबै मनमा आए। बेहुलीसँग अँगालामै बाँधिएको कल्पना गर्‍यो।

टोलाएको देखेपछि साथीले सोधे, ‘के भो तँलाई!’

ऊ उफ्रिंदै भन्यो,‘पक्का भो पक्का।’

साथीको जवाफले ऊ तर्सियो, ‘पक्का त उसको विवाह होइन चुनावको मिति पो भएको रहेछ।’

 ३) किनमेल

मौन समय सुरु भइसकेको समाचार आउँदै थियो। बाहिर हेरेको दुई जना मान्छेलाई देखें। हेर्दाहेर्दै नजिकै आए। मेरो अगाडि एउटा पोको छोडी फटाफट अगाडि बढे।

म बोल्ने मौका पाइनँ।

पोको खोल्दा,

-हाँसो, खुसी,विस्मात,अचम्म,आश्चर्य,दिक्क,वाक्क, हैरान!

केके भयो केके!

कस्तो बिडम्बना! चुनावी मौन समयमा भोटको किनमेल।

४) पागल

मैदानमा चर्को भाषण चल्दै थियो। मान्छेको भीडभाड देखेपछि शहरका पागल पनि जम्मा भए।पागललाई सुरक्षाकर्मीले सोध्यो, ‘यहाँ किन आएको?’

वर्षौं पुरानो कुरा सम्झिंदै पागलले भन्यो, ‘पुराना मित्र भेट्न।’

 ५) ओमिक्रोन

ठूलो भीड थियो। म  बीचमा। भीडबाट  निस्कन चाहन्थे। भीड भने झन् बढ्दै थियो।

आकाशतिर हेरेर भगवानलाई पुकारे, ‘हे भगवान्, बँचाउनुस्।’

चिसो हावाको एक झोक्का नाक र मुखमा पस्यो।  जोडसँग खोकी र हाछ्यूँ आयो।

पछाडि फर्किएर हेरें। भीड नै मलाई बाहिर पठाउन आतुर थियो।

भीडबाट बाहिर आउनेबित्तिकै भगवान् सम्झिने कोसिस गरें।

मैले भगवान सम्झें,‘अचम्म!’

देखें ओमिक्रोन।

प्रकाशित: ७ मंसिर २०७९ ०६:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App