१६ मंसिर २०७९ शुक्रबार
कला

अश्रुधारा

कथा

जीविका अश्रु

असौजको दिनमा पनि झरी रोकिने नामै लिएको थिएन। लाग्थ्यो,यो महिना असौज होइन असार हो। एकैछिन बजार जानु थियो, निस्कें घरबाट। तर, पानी झन्-झन् ठूलो परेकाले साथी चिनुकोमा एकछिन पसुँ भन्ने लाग्यो। अनि तातो चिया पिउँदै दुःखसुखका कुरा पनि गर्न मन हुने। मन अलि हल्का पारेर निस्कौं झैं लाग्यो।

चिनु, रमाइली छ मोरी। मेरो कुरा सबै बुझ्छे। आधा घण्टामा  घर पुगिने भएर पनि जान र बस्न कहिले मौका नै नपर्ने। घरको तानेमुने कहिले नसकिने। थोरै फुर्सद भएको बेला बारी खोस्रेर तुलफूल र सब्जी लगाउन मन लाग्छ। त्यतै बारीतिर टहलियो, दिन त्यसै बितिजान्छ। देख्न त घरको काम केही नै देखिंदैन तर काम कहिल्यै सकिंदैन।

चिनुको घर पुगें। मूल दैलाको बाहिरबाट घण्टी बजाएँ। चिनु भान्साकोठामा नै रहिछे क्यार! चिसा हात लिएर आई दैलोमा। सधैं हँसिलो अनुहारमा हुन्छे ऊ। आज पनि असाध्य खुसी मुद्रामा थिई।

चिनुले मुस्कुराउँदै भनी,‘लौन नि! यो पानी झरीमा कसरी आइपुगेकी?’

उसले कुरा थपी,‘म त भान्सा कोठामा थिए नि!’

चिसो बढी नै भएर चिया पिउन लाग्या’थिएँ, तँ आइपुगिस्, खुसी लाग्यो।’

हामी बिच तँतँ-मम चल्छ। ऊ पनि प्रायः चिया पिइरहन्छे। चियाको कुरामा उसको र मेरो बानी उस्तै हो।

ऊ मुसुक्क हाँसी,‘ओहो, म त भित्र जाऔं पनि पो नभनी रैछु। हेर् न कस्तो है म।’

म चुपचाप कुरा सुनिरहें अनि सँगै भित्र पस्यौं र सिधै भान्साकोठामा नै गएर बस्यौं। उसले मरिच र नुन हालेर दुध चिया तयार पारी। मलाई पनि नुन हालेको चिया मनपर्छ। सँगै बसेर पियौं। एकएक कप दुध चिया पिएपछि जिउ नै रनक्क तात्यो।

यसरी हाम्रो खबर आदानप्रदान भयो। सञ्चो-बिसञ्चो थाहा पाएपछि एकछिन चुपचाप रह्यौं। अचानक मेरा आँखा उसको घरको भित्तामा गएर ठोकिए। नानीहरूका तस्वीरहरू र केही सम्मान र पुरस्कारका प्रमाणपत्र लस्करै थिए।

मैले भनें,‘घरमा कोठाको शोभा। कति मजाले राखेकी यी प्रमाणपत्रहरू!’

ऊ धेरै बोलिन,मुसुक्क हाँसी मात्र। आवश्यकताभन्दा बढी खासै नबोल्ने तर सबैसँग बोल्ने मिल्ने स्वभावकी हो चिनु। उसलाई आज हेर्दा कति धेरै कुरा गरूँझैं लाग्यो होला। उकुसमुकुस भएझैं लाग्थ्यो। हुन त तीन-चार वर्षअघि मात्र चिनुसँग मेरो भेट भएको थियो। त्यतिन्जेलमा फोनमा सामान्य कुरा मात्र भइरहन्थ्यो। खास कुरा भने हुँदैनथ्यो।

उसको उकुसमुकुस भएको भाव बुझेर मैले सोधे, ‘के छ यार, तेरो खास खबर? तँलाई देख्दा आज कस्तो अनौठो लागिरहेको छ।’

हुन त उसले सिन्दूर, टीका र पोतेर चुरा मिलाएर लगाएकी छे। कपाल कोरेर सपक्क बाटेकी छे। मधुरो रंगको लिपिस्टिक पनि लगाएकी छे। फेरि पनि मलाई उसलाई के नपुगेको जस्तो लागिरह्यो।

‘नितु, तँलाई भेटेर धेरै कुरा गर्न मन थियो। आज आइस् खुसी लागेको छ। अब दिनभरि गफ गरौंला नि हुन्न?’

चिनुको कुरा भुईमा खस्न नपाउदै मैले भनें, ‘अँ भन न!’

‘हेर न नितु, जिन्दगीले कुन मोडमा ल्याएर फ्यात्त फालिदियो मलाई। कहिले कसैको कुभलो चाहिन। कसैलाई आफ्नो पीडा पोखिनँ। हाँसेर नै सारा पीडा उडाइदिने गर्थें र गर्छु पनि। तर, कति दिन आफैंलाई ढाँट्नु यार। समाज, आफन्त र छोरा-छोरीलाई त ढाँट्न सजिलो छ तर आफ्नो आत्मालाई ढाँट्न नसकिने रहेछ! कैयौं पटक सबैले मानेको भगवानमाथि विश्वास गरेर पुजें। मनको भगवानलाई छल्दाछल्दै अब त म आफैं अवाक् भइसकें।’ ऊ एक्लै बोल्दै थिई।

मैले बिचमा कुरा काट्दै भनें, ‘कति घुमाइफिराइ भन्छेस् चिनु। भन् न कुरा के हो?’

लामो सास तानेर भनी, ‘तँ त के सुन्न सक्लिस् र मेरो पीडा!’

यसो भन्दै गर्दा पनि मन्द मुस्कान छरिरहेकै थिई ओठमा।

‘तैंले झेल्न सकेको पीडा म कसो नसकूँला त सुन्न। भन्, के छ समस्या?’

‘वैवाहिक जिन्दगीको तीसौं वसन्त चलिरहेको छ अहिले। तँलाई थाहा छ, मैले यस घरभित्र एक्लो जीवन बिताइरहेकी छु वर्षौंदेखि। छोरा छ वर्षको भएपछि छोरी जन्मिएकी हो। छोरी जन्मिएदेखि आजसम्म म एक्लै छु। एक्लो महसुस गरिरहेकी छु। घरको इज्जत बाहिर किन लानु भनेर यत्तिका वर्ष चुपचाप सहँदै बसेकी पो त!’

चिनुको अनुहारमा कुनै परिवर्तन नै आउँदैन यत्तिको पीदादायक कुरा गर्दा पनि। ऊ थप्दै गई।

‘एउटै घर, एउटै भान्सा कोठामा भएर पनि तेरो भिनाजुसँग बोलचाल नभएको तेइस वर्ष भयो। यत्तिका दिन हामी एकै घरमा पनि घरमा अलगअलग प्राणीझैं छौं। तैंले पत्याउँछेस्?’

चिनुको कुरा सुनेर म खेलिरहेको लिङे पिङ चुँडिएझैं भएँ।

आश्चर्य मान्दै सोधें, ‘कसरी सम्भव छ यार त्यस्तो?’

अब भने उसले कारुणिक स्वरमा उत्तर दिई, ‘हुँदोरहेछ त खै!’

‘मेरा साथीसँगी आउँदा, बोल्नुपर्दा मीठो बोल्छ। समाजमा आफ्नो गल्ती नदेखियोस् भन्ने चाहन्छ। मैले बनाएको खाना आफैं पस्केर खान्छ घरमा चाहिं। थाहै नदिई बाहिर जान्छ। कतिबेला आउँछ,अहँ पत्तै हुँदैन। बिस्तारा वर्षौंदेखि छुट्टै छ। मैले कसलाई भन्ने? भन्ने पनि के? मेरो लोग्ने मसँगसँगै सुतेन भन्ने। दुई सन्तान छन्। पढाउने र बढाउने जिम्मा मलाई मात्रै छ। सन्तानको भविष्य सम्झेर पनि मैले सहनुपर्छ भनेर अहिलेसम्म सहेकै छु। थाहा छ नितु, अहिले आएर मेरी स्वास्नी खराब छे भन्दै गाउँ छरछिमेकमा फलाक्दै हिंड्छ रे। मेरो कमाइमा पालिएकी छे भन्छ रे। के मैले यत्तिका वर्ष मेरो पेट मात्र पालिने गरी यसको घरमा केही पनि गरिनँ होला त? म त्यति निमुखा भएर अर्काको गाँसले मात्र बाँचेकी थिएँ त?’

चिनु एकतमासले आफ्नो दुःख पोख्दै थिई। मलाई एउटा कुरा सोध्न मन लाग्यो।

‘चिनु,भिनाजुचाहिं किन यसो गर्छन्? हामीले देख्दा त समाजसेवी असल मान्छेझैं लाग्छन् त! कम्ती बोल्ने, भनेको मान्ने।’

‘हो, अन्तर्मुखी स्वभावको छ। भित्रभित्रै के सोच्छ के गर्छ। कसैलाई थाहा हुँदैन। कहिले पनि भोलिको योजना बताउँदैन। जे जति कमाउँछ ऊ, उसकै मनोरञ्जनका लागि ठिक्क हुन्छ। बढी र केही पुग-अपुग घरमा खर्च गर्छ। हेर न, अहिलेसम्म खै कहाँ छ र हाम्रो केही? न घर छ न जग्गाजमीन। बस्, खायो सक्यो। तास, रक्सी, केटी, मोटर, मोबाइल आदि उसका विलासिताका सामान हुन्। आवश्यकता परोस् नपरोस् नयाँ-नयाँ फेरि रहनुपर्छ उसलाई। जे पनि साथीले बोकेभन्दा अझ गुणस्तरको हुनुपर्छ। घरमा जेसुकै होस्। उसलाई पुङ न पुच्छरको प्रतिस्पर्धा गरिरहनुपर्छ। सम्झन्छु, कति नीच सोचाइ भएका मान्छे पनि हुन्छन् होला यो दुनियाँमा।’

अहिले भने चिनुले खुइय सुस्केरा हाली। हतपत हरेस नखाने चिनुको अनुहारमा हरेसका भावहरू छरपस्ट देखिन्थे। चिटचिट पसीना आएको थियो निधारमा। ऊ जुरुक्क उठी र भान्साकोठामा गएर आधा बोतल पानी घटघट पिई। अनि केही सहज महसुस गरेर आई।

मैले विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासबाट एउटा कुरा झल्याँस्स सम्झें। आफ्नो पुस्तकमा उनी भन्छन्, ‘मानिसको जीवनमा पत्नी भएर आउने नारीको स्थान र प्रेमिका भएर आउने नारीको स्थान नितान्त भिन्न हुँदो रहेछ। बालक कालमा आमाले जुन स्थान लिएकी हुन्छिन्, बालिग भएपछि पुरुषका निम्ति पत्नीले त्यही स्थान लिएकी हुँदिरहिछन्। त्यसैले जब पुरुषलाई चारैतिरबाट समस्या र आपत्तिहरूले घेर्छन् अनि उसलाई आफ्नो घर र त्यहाँ रहेकी पत्नीको स्मरण हुन्छ। ऊ भागीभागी घरमा आइपुग्छ। प्रेमिकाहरू जो सुखका बेला उसका नजिकमा थिए, दुःखका बेला सपना जसरी नै छोडिन्छन्। प्रेमिकाले मानिसको जीवनमा कहिल्यै पत्नीको स्थान लिन सक्दैनन् र पत्नीहरू पनि आफ्नो पत्नीत्वलाई ताकमा राखेर प्रेमिका बनेर पतिका लहडबाजीहरूमा बहकिन सक्दैनन्। यसबाट नारी मनोजगत् र नारीको स्थान विशेषबारे पनि अनुभव गर्न सकिन्छ।’

तर, चिनुका पतिले यस्ता कुरा किन बुझेनन्?

‘हेर नितु, लोग्ने-स्वास्नीको झगडा परालको आगो भन्ने उखान सम्झिएर वर्षौं बित्यो। म पनि त समाजको प्रतिष्ठित व्यक्ति हुँ। मेरो आफ्नै इज्जत र प्रतिष्ठा छ समाजमा। मैले बडो मुस्किल आफ्नो ठाउँ बनाएकी हुँ। धेरैले चिनु शर्मा भनेर चिन्छ्न्। यो मेरो पहिचान नगुमाउनकै लागि पनि मैले समाजसम्म घरका कुरा पुर्‍याउन हुन्न भन्ने सोचेर अहिलेसम्म बसेकी छु। तर, स्वास्नीको प्रगतिमा भित्रभित्रै जलन भएर दनदनी आगो ननिस्केर धुवाँको मुस्लो मात्र निस्किएपछि त वातावरण प्रदूषण हुन्छ नि हैन? त्यो मनको ज्वाला आमुने-सामुने बसेर वार्ताद्वारा पनि त समाधान गर्न सकिन्छ हैन र? के ऊ पुरुष हो भन्दैमा महिलामाथि बित्थाको लाञ्छना लगाउन मिल्छ र?

घरैमा समाधान हुने कुरा बोल्दै नबोलेर दिइने यातना भनेको त सयौं भाटाले हानेको चोटभन्दा पनि कडा, खतरा मानसिक  यातना हुँदोरहेछ।’ आक्रोश पोखी र एक्कासि भक्कानो छोडेर रोई। उसको आँसु गालासम्म आयो। त्यो देखेर मेरो मन पनि भरियो। मुटु ढक्क फुल्यो। कैयौं दिनदेखिको भँडास पोखी विचरा।

अझै झरी रोकिएन। चिनुका कुरा अझै कति थिए कति। यता घडीले भने चारको घण्टा बजाइसक्यो। मलाई घर फर्किन हतार भइसक्यो। चिनुले फेरि चिया बनाई। अट्टे धानको चिउरामा अलिकति प्याज, डल्ले खुर्सानीको अचार र तेल मोलेर खाजा बनाई। मनको भँडास पोखेपछि अलिक हल्का भएछ। प्रफुल्ल अनुहार बनाएर नजिकै बसी अनि खाजा खायौं। पछि अर्को पटक अझ केही गम्भीर कुरा गर्ने बताउँदै चिनुले मलाई बिदा दिई।

झरी केही मत्थर भएको मौका छोपेर म ओरालो लागें आफ्नो घरतिर। बजार नगई नहुने काम थियो। तर, पनि पानीको कारण जानै सकिनँ। म तल आइपुगुन्जेल चिनुले माथिबाट हेरिरहेकी थिई।

चिनु भन्दै थिई, ‘बाटो चिप्लो छ। बिस्तारै होसियार भएर जा है।’

म उसको नियति केलाउँदै घरमा पुगेको पत्तै भएन। मनमनै सोचें, ‘यदि मेरो हालत चिनुको जस्तै हुँदो हो त त!’

प्रकाशित: ५ मंसिर २०७९ १२:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App