मधेशको राजनीतिमा ३० वर्ष बिताइसकेका महेन्द्र यादव र राजेन्द्र महतो सर्लाहीको क्षेत्र नं-२ का प्रतिस्पर्धी छन्। उनीहरुको प्रतिस्पर्धाले सुख्खा क्षेत्र मानिएको सर्लाही-२ गर्माएको छ।
दुवै नेता अहिले घरदैलोमा व्यस्त रहेका छन्। उनीहरु दुवैले राष्ट्रिय राजनीति अस्थिर हुँदा त्यसको असर मधेशम पनि परेका बताउने गरेका छन्। सरकारमा हुँदा आफूहरुले पहिचान र विकास निर्माणको काममा लागेको बताउने गरेका छन्।
पटक-पटक सांसद बनेका महेन्द्र यादवले विकास निर्माण मात्र होइन मधेश अधिकारको नाममा समेत आफूले लडाइ जारी राखेको बताए। ‘विकास निर्माणमा मेरो योगदान जनताले बुझेका छन्, पहिचानको विषयमा मेरा आवाज संसदसम्म पुगेको छ,’ यादवले भने। उनी स्थानीय स्तरमा भिजेको नेताको रुपमा चिनिन्छन्।
अर्का प्रतिस्पर्धी राजेन्द्र महतो पनि घरदैलोमा व्यस्त रहेका छन्। स्थानीय कार्यकर्ता र सर्वसाधारणसँगको भेटघाटका क्रममा महतोले मधेशी, थारु, मुस्लिम, जनजातिलगायत पहिचान र अधिकारबाट वञ्चित समुदायको आवाज संसद्सम्म पुर्याउने बताए।
‘राजनीति पद र सत्ताका लागि मात्र होइन, जनताको दैनिक जीवनसँग जोडिएका समस्या समाधान गर्ने माध्यम हुनुपर्छ,’ महतोले भने। यादवको तुलनामा राजेन्द्रलाई यसपटक पनि केही असहज भएको देखिन्छ।
सर्लाही क्षेत्र नम्बर-२ मा उमेदवारलाई चुनाव लागेपनि स्थानीय मतदातालाई यतिबेला देखि नै खानेपानी, सिंचाइको अभाव पुरानै समस्या रहेको छ। गतवर्ष चैतको पहिलो सातादेखि नै पानीको मुहान सुक्न थालेको, वर्षाको समयमा पनि कम भएको स्थानीयहरुको भनाइ छ।
खानेपानी र सिचाइँको समस्या यहाँ पुरानै हो। यतिबेला नेताहरु मत माग्न जाँदा किसानहरुले उठाएका मुद्दामा अवाक बनिरहेका छन्। नेताहरुलाई चुनाव लागेपनि मतदातालाई पुरानै समस्याले सताइरहेको पाइन्छ।
मधेसका लागि महतो र यादव दुवै पुरानामध्येका नेताहरु हुन्। जनताले उनीहरुलाई पटकपटक निर्वाचित गराएका छन्। महतो पटक-पटक मन्त्रीसमेत भए। यादवले पनि उक्त अवसर बारम्बार पाएका छन्।
यस पटकको निर्वाचनपछि देशमा आमुल परिवर्तन ल्याउने नारा सुनिएपनि आफ्नो क्षेत्रमा पुरानो अनुहार नै मैदानमा देखिएपछि आफ्ना समस्या ज्युका त्यूँ रहेने पो हो कि भन्ने चिन्ता पनि मतदातामा देखिन्छ।
सर्लाही सुकनाहाका रामदेव राय अगुवा किसान हुन्। यस्तै समस्या उनको मात्रै होइन। छेउमै उखु काटिरहेका अर्का स्थानीय राम सकल साहले आउनै लागेको सुख्खायामको कारण गहिरिँदो भू-जल सतह मै पानीको मुहान सुक्ने डर व्यक्त गरे। सर्वसाधारणका लागि पेयजल आपूर्ति व्यवस्थित नहुँदा दैनिक जीवनमै कठिनाई भोग्न उनको भनाइ छ।
सर्लाही क्षेत्र नम्बर-२ मा गतवर्ष देखि खानेपानीको चापाकलहरु सुक्दै गएकोले पानी अभावले विद्यालय, साना उद्योग तथा कृषि कार्य समेत प्रभावित हुने गरेको बैलबासका दिलिप सहनी सुनाउँछन्।
‘यस पटक सबैले परिवर्तन हुने भनेपनि पटक-पटक पार्टी फेरेर उहीँ पुरानै अनुहार चुनावी मैदानमा प्रतिस्पर्धामा देखिएकाले हाम्रो माग कहिल्यै नसुन्ने र पूरा नहुने हो कि भन्ने चिन्ता थपिएको छ,’ सहनीले भने।
सदरमुकाम मलंगवा निवासी नागरिक समाजका अगुवा शिवचन्द्र चौधरीले सर्लाही-२ मा सडक, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा व्यापक समस्या र बेथिति रहेको बताउँछन्।
सर्लाही क्षेत्र नम्बर-२ मा उम्मेदवार बनेका राजेन्द्र महतो स्वास्थ्य मन्त्री र निरन्तर ह्याट्रिक गर्दै आएका महेन्द्र यादव सिंचाइ मन्त्री बनेपनि यहाँको स्वास्थ्य र सिचाइँमा सामान्य पनि परिवर्तन नभएको चौधरी सुनाउँछन्।
सदरमुकाम र सदरमुकामसँग जोडिएका क्षेत्र भए पनि सडकको दुरावस्था, शिक्षाको खस्कँदो स्तर, भएका स्वास्थ्य संस्थाको दयनीय अवस्था र किसानले मलखाद नपाउने समस्या व्याप्त रहेकाले अब निर्वाचित हुने प्रतिनिधिले यस्ता कुरामा ध्यान दिनुपर्ने नागरिक अगुवा चौधरीको भनाइ छ।
जनप्रतिनिधि तथा सम्बन्धित कार्यालयमार्फत् तत्काल दीर्घकालीन योजना तथा आपतकालीन खानेपानी तथा सिंचाइ आपूर्तिको व्यवस्था गर्न सहनीले माग गरेका छन्।
उनीहरुको प्रतिस्पर्धाले अन्य राजनीतिक दलका उम्मेदवारलाई छायाँमा पारेको छ। यहाँ नेपाली नेपाली कांग्रेसबाट डा. सरोज यादव, एमालेबाट नागेश्वर साह र रास्वपाबाट रविन महतोको उम्मेदवारी परेको छ। अन्य पार्टी र स्वतन्त्र उम्मेदवार पनि रहेका छन्।
यो क्षेत्रमा रास्वपाको उम्मेदवारको पनि चर्चा राम्रो छ। तर प्रभावशाली मत आउने संभावना कमजोर रहेको देखिन्छ।
समकालीन राजनीतिमा यादव र महतोबीच करिब ३० वर्षदेखि रोचक प्रतिस्पर्धा चलिरहेको छ। यो प्रतिस्पर्धा अझ रोचक बनिरहेको छ। २०७४ मा सर्लाहीबाट धनुषा समेत पुगेका महतो फर्केर सर्लाही नै आएका छन्।
यी दुई उम्मेदवारसँगै प्रमुख पार्टीहरू नेपाली कांग्रेसका तर्फबाट डा. सरोज यादव, नेकपा एमालेबाट नागेश्वर साह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट रबिन महतो पनि उम्मेदवार बनेका छन्।
२०७९ सालको निर्वाचनमा तत्कालीन कांग्रेस-माओवादीसहितको सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रको चुनाव चिह्न लिएर यादव विजयी भएका थिए। लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट उम्मेदवार बनेका महतो दोस्रो भएका थिए।
यादव र महतोबीच २०७० सालमा पनि प्रतिस्पर्धा भएको थियो। त्यो निर्वाचनमा पनि महतो पराजित भएका थिए।
यादवले तराई-मधेस सदभावना पार्टीका तर्फबाट निर्वाचन जितेका थिए भने महतो सदभावना पार्टीका उम्मेदवार थिए। त्यो निर्वाचनमा सर्लाहीका ६ क्षेत्रमध्ये यादव र महतोले क्षेत्र नम्बर-४ मा प्रतिस्पर्धा गरेका थिए।
२०७४ सालमा भने यादव र महतो एउटै पार्टीमा थिए। तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट यादव सर्लाही क्षेत्र नम्बर-२ बाट विजयी भएका थिए भने महतो धनुषा क्षेत्र नम्बर-३ मा गएका थिए।
तेस्रो मधेस आन्दोलनपछि जनकपुर पुगेका महतोले नेपाली कांग्रेसका विमलेन्द्र निधिलाई हराएर चर्चामा आएका थिए। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन तराई-मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का तर्फबाट यादव समानुपातिकतर्फ सांसद बनेका थिए।
२०६४ सालमा तत्कालीन सद्भावना पार्टीका उम्मेदवार बनेर सर्लाही-४ बाट महतो निर्वाचित भएका थिए। त्यो निर्वाचनमा तमलोपा र सदभावना पार्टीबीच चुनावी तालमेल समेत भएको थियो।
यादव २०४८ सालदेखि उम्मेदवार बन्दै आएका छन्। २०४८ सालमा नेकपा मानन्धर समूहबाट उम्मेदवार बनेर पराजित भएका यादवले २०५१ र २०५६ सालको निर्वाचन एमालेबाट विजयी भएका थिए। २०६४ सालदेखि कम्युनिस्ट राजनीति छोडेर मधेस केन्द्रित राजनीतिमा होमिएका यादव २०७९ सालमा बाबुराम भट्टराईसँग रहे।
महतोले सुरूदेखि नै मधेस केन्द्रित पार्टीको राजनीति गर्दै आएका छन्। २०४८ र २०५१ सालमा तत्कालीन सदभावना पार्टीबाट उम्मेदवार बनेर पराजित भएका महतो २०५६ सालमा भने विजयी भएका थिए।
सर्लाही-२ निर्वाचन क्षेत्रभित्र पर्सा गाउँपालिका, हरिपुर्वा नगरपालिका, ब्रह्मपुरी गाउँपालिका, मलङ्गवा नगरपालिका, कौडेना गाउँपालिका, कविलासी नगरपालिकाको वडा नं. ८-१०, विष्णु गाउँपालिकाको वडा नं- ५–८ र ईश्वरपुर नगरपालिकाको वडा नं. १५ समेटिएको छ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार सर्लाही निर्वाचन क्षेत्र नं-२ मा मलङ्गवा नगरपालिका पुरै (वडा नं. १ देखि १२ सम्म), हरिपुर्वा नगरपालिका पुरै (वडा नं. १ देखि ९ सम्म), पर्सा गाउँपालिका पुरै (वडा नं. १ देखि ६ सम्म), ब्रह्मपुरी गाउँपालिका पुरै (वडा नं. १ देखि ७ सम्म), कौडेना गाउँपालिका पुरै (वडा नं. १ देखि ७ सम्म), ईश्वरपुर नगरपालिका वडा नं-१५, कविलासी नगरपालिका वडा नं- ८, ९ र १०, विष्णु गाउँपालिका वडा नं- ५, ६, ७ र ८ पर्छन्।
प्रकाशित: १० फाल्गुन २०८२ १८:०६ आइतबार





