एमालेले झापा निर्वाचन क्षेत्र नम्बर-५ मा सोमबार पहिलो चुनावी सभा गर्यो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशका विभिन्न भागमा चुनावलक्षित सभाहरु गरिरहँदा एमालेले झापा–५ मा पहिलो सभा गरेको हो।
यो क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली उम्मेदवार छन्। विगत निर्वाचनमा देशव्यापी चुनावी सभा गरेर पक्षमा लहर ल्याएको एमालेले अहिले ठुला सभा आयोजनामा ढिलाइ गरेको छ।
एमाले नेता र उम्मेदवार ठुला आमसभा भन्दा आन्तरिक बैठक, छलफल र जनस्तरमा पुगेर मतदाताको मन र मत मागिरहेका छन्।
झापा–५ मा एमालेको राम्रो संगठन भए पनि ओलीसँग आफ्नै नेता–कार्यकर्ताका प्रश्न पनि छन्। ओलीका वरिपरि भएका नेताहरुले जनताको काम राम्रोसँग नगरेको र शक्तिमा पुगेपछि हेपेको जस्ता गुनासा गरेका छन्।
तैपनि आफ्नो क्षेत्रबाट विजयी भई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छवि बनाएका र राष्ट्रियतामा अडान राख्ने नेता ओलीप्रतिको विश्वासले उनीहरूलाई ओलीकै पकडमा राख्छ।
यसअघि २०७४ र २०७९ मा भएका निर्वाचनमा एमाले अध्यक्ष ओलीले विभिन्न निर्वाचन क्षेत्रमा पुगेर भाषण गर्दा पार्टीलाई मत आउने र त्यहाँका उम्मेदवारले पनि जित्ने आधार बनेको थियो।
अहिले त्यो आधार भत्काउन आफ्नो लोकप्रियताका आधारमा बालेन्द्र शाहले कोसिस गरे पनि ओली त्यति साह्रै कमजोर देखिएका छैनन्। त्यसमा पनि उनले यस पटक आफ्नो सम्पूर्ण शक्ति झापा–५ मा केन्द्रित गरेका छन्। ओली अहिले सञ्चारमाध्यममा भनाइ राख्न पनि उत्तिकै सक्रिय देखिएका छन्।
दमकमा सोमबार आयोजित सभामा आफूलाई सरकारबाट हटाएपछि देश चालकबिनाको गाडीजस्तो भएको बताएका ओली मंगलबार भने कुनै पनि कार्यक्रममा बाहिर निस्केनन्।
चुनावी सभामा देश उठ्नका लागि आफू सरकारमा आउनुपर्ने बताएका ओलीले रास्वपाका वरिष्ठ नेता शाहलाई लक्षित गर्दै भनेका थिए, ‘म सुन्छु प्रधानमन्त्रीको उम्मेदवार भन्ने, तपाईंहरूले बच्चाबच्चीलाई के हुने भनेर सोध्नुभयो भने उसले प्रधानमन्त्री पनि भन्न सक्छ, राष्ट्रपति पनि भन्न सक्छ। तर भइहाल्ने त होइन नि। उसले आफैंले आफैंलाई बन्ने भनेर घोषणा गरिदिन्छ।’
ओलीले यसो भनिरहँदा शाह भने इटहरी थिए। शाहले मतदातासँग पूर्वी पहाडकै तरकारी खान पाउनुपर्ने भनिरहेका थिए। सीमापारि (भारत) बाट आएको तरकारी किन खाएको भन्दै उनी राष्ट्रियताको अघोषित पहरेदार बनिरहेका थिए।
‘खाना खानु भयो त ? बिहान खानामा तरकारी कहाँको खानु भयो ? बोर्डर पारिको ? बोर्डर पारिको खानुभयो। इलाम, पाँचथरमा उत्पादन भएको तरकारी खानु पाउनुभएको छैन,’ शाहले मतदातासँग भनिरहेका थिए।
बालेनले यसो भनिरहे पनि २०७२ सालमा संविधान जारी भएपछि भारतले गरेको नाकाबन्दी विरुद्ध ओलीले खुलेर गरेको विरोधलाई भने उनका मतदाताले सम्झिरहेका थिए।
२०६४ सालमा तत्कालीन माओवादी भूमिगत राजनीतिबाट बाहिरिएपछिको लोकप्रियताका कारण ओलीले पहिलो पटक चुनावी असफलता भोग्नु परेको थियो।
अन्यथा, उनलाई जहिल्यै सफलता प्राप्त हुँदै आएको छ। अन्यत्र चुनाव जित्नुभन्दा ओलीलाई नै हराउनुको मज्जा हुने भनेर शाह जोखिम मोलेरै झापा–५ मा आएका हुन्।
अघिल्लो निर्वाचनमा आफूले पाएको ११ हजार ७५९ मतमा यस पटक एमाले, कांग्रेस, राप्रपा र अन्य दलको मत पनि थपिनेमा रास्वपा आशावादी छ। चुनावी राजनीतिमा अब्बल ओलीले बालेन्द्रलाई टक्कर दिने गरी आन्तरिक व्यवस्थापन गरिरहेका छन्।
ओलीको अत्यधिक प्रभाव र पकड भएको क्षेत्रमै उनलाई हराउने ध्याउन्नमा शाह छन्। आफ्नो बलियो विरासत भएको ठाउँमा दोब्बर मतान्तरले विजयी हुने दाबी ओलीले गरिरहेका छन्। शाहले ओलीलाई उनकै परम्परागत क्षेत्रमा पराजित गरेर देश हाँक्ने बताइरहेका छन्।
शाहले झापा-५ का लागि चुनावी घोषणापत्रमा भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको दिगो व्यवस्थापनका लागि आफ्नो नेतृत्वमा सरकार बनेको एक सय दिनमा आयोग गठन गरी एक हजार दिनमा काम टुंगो लगाउने संकल्प गरेर मतदातालाई आकर्षित गर्न खोजेका छन्।
शाहका समर्थक भने यो संकल्पप्रति त्यति सकारात्मक छैनन्। उनीहरू जसरी पनि ओली हराउनुपर्छ भन्नेमा छन्। ‘सुकुमवासी समस्या समाधानको यो आकर्षक नाराले होइन, ओलीकै विरोध गरेमात्र चुनाव जित्न सकिन्छ, यो नारामा खास दम छैन, सुकुमवासी समस्या एक हजार दिनमा समाधान हुँदैन, बालेन्द्रले जे गर्छु भने पनि नभने पनि ओलीलाई हराउने हो,’ दमक बजारमा भेटिएका एक होटल व्यवसायीले भने, ‘ओली हराउने हो, बाँकी अरु काम गरौंला।’
एमालेले यो विषयलाई राम्रोसँग बुझेर नेता–कार्यकर्ताहरु परिचालन गरिरहेको छ। पार्टीभित्रका असन्तुष्टहरुसँग पनि ओलीले सोमबार रातिदेखि मंगलबार राति अबेरसम्म भेटेर कुरा गरेका छन्।
यो भेटघाटले एमालेभित्रको द्वन्द व्यवस्थापन राम्रोसँग हुने र स्थानीय नेताहरुको गुनासो सम्बोधन हुने अपेक्षा छ। ‘पार्टीभित्र कुनै समस्या छैन, जनताले उठाएका माग र समस्या समाधान गर्ने विषयमा कुराकानी भैरहेको छु,’ एमाले झापा–५ का चुनावी कमाण्डर देवेन्द्र दाहालले भने।
रास्वपाका स्थानीय नेताहरुले पनि यो विषयलाई राम्रोसँग बुझेका छन्। उनीहरुले आफ्नो संगठन नभएको तर लहर आफ्नो पक्षमा रहेको बुझेका भए पनि यसलाई बाहिर व्यक्त गर्न चाहेका छैनन्। उनीहरुले विगतको अवस्था र शाहको पक्षमा देखिएको लहरलाई मतदानमा परिणत गर्ने कोसिस गरिरहेका छन्। रास्वपा झापाका सचिव शम्भु ढकाल झापाका ५ वटै क्षेत्रमा पार्टीले जित्ने दाबी गर्छन्।
विगतको अंकगणित
झापामा ओलीको यो आठौं प्रतिस्पर्धा हो। पहिलो पटक २०४८ मा उनी झापा–६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
२०५१ को मध्यावधि निर्वाचनमा पनि ओलीले सोही क्षेत्रबाट जितेका थिए। त्यो बेला ओली १८ हजार ८६१ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका केशवबहादुर बुढाथोकीले १४ हजार २०२ मत पाएका।
२०५६ को निर्वाचनमा झापा–२ र ६ बाट उम्मेदवार बनेका ओली दुवै ठाउँमा जित निकाल्न सफल भएका थिए। झापा–२ मा उनले १८ हजार ९०९ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसकी गिरिराजकुमारी प्रसाई १८ हजार ८९२ मतमा रोकिइन्।
झापा–६ मा ओलीले २३ हजार ७४९ मत पाउँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका कासीलाला ताजपुरियाको पक्षमा १९ हजार ७१३ मत परेको थियो।
पहिलो संविधानसभा निर्वाचन, २०६४ मा भने झापा–७ बाट चुनाव लडेका ओली तत्कालीन नेकपा माओवादी केन्द्रका विश्वदीप लिङ्देनसँग पराजित भए।
लिङदेन १६ हजार ९९ मत ल्याएर विजयी भएका थिए। ओली १४ हजार ९५९ मतमै सीमित भए। दोस्रो संविधानसभा निर्वाचन, २०७० मा भने ओली झापा–७ बाट निर्वाचित भए। उनले १९ हजार २८७ मतसहित जित निकाल्दा निकटतम प्रतिस्पर्धी कांग्रेसका सुरेशकुमार योङ्या ११ हजार ४१ मत पाए।
२०७४ को निर्वाचनसम्म आइपुग्दा ओली पार्टीमा शक्तिशाली नेता बनिसकेका थिए। २०७१ मा सम्पन्न एमालेको नवौं महाधिवेशनबाट अध्यक्ष बनेका ओली २०७२ मा संविधानसभाबाट संविधान जारी भएपछि प्रधानमन्त्री बने। भारतले लगाएको अघोषित नाकाबन्दीको सामना गरेर उनले ‘राष्ट्रवादी नेता’ को छवि पनि बनाए। त्यसपछि उनी देशमै शक्तिशाली नेताका रुपमा उदाए।
एमालेले २०७४ मा तत्कालीन नेकपा माओवादी केन्द्रसँग पार्टी एकीकरण गर्ने निर्णयसहित गठबन्धन गर्यो। ओलीले झापामा राम्रै जनमत रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीसँग पनि रणनीतिक तालमेल गरे।
जसको बलमा ओली २०७४ मा झापा–५ बाट ५७ हजार १३९ मतसहित निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २९७ मत मात्रै पाए।
२०७९ को निर्वाचनमा पनि झापा–५ बाटै ओली ५२ हजार ३१९ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकै अधिकारीले २३ हजार ७४३ मत पाए। अधिकारीलाई एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रले सहयोग गरेका थिए। रास्वपाका उम्मेदवार सुरेशकुमार पोखरेल ११ हजार ७५९ मत पाएका थिए।
प्रकाशित: १२ फाल्गुन २०८२ २०:५७ मंगलबार





