प्रतिनिधिसभाको निर्वाचन आउन एक साता बाँकी रहँदा कर्णालीका १० जिल्लाका १२ निर्वाचन क्षेत्रको परिणाम आ-आफ्नो पक्षमा पार्न राजनीतिक दलहरू सक्रिय छन्।
तत्कालीन माओवादी केन्द्रबाट अलग भएर जनार्दन शर्मासहितका नेताहरूले गठन गरेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र पहिलो पटक निर्वाचनमा सहभागी नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले पुराना राजनीतिक दलहरूलाई चुनौती दिइरहेका छन्। तर अपवादबाहेक अधिकांश निर्वाचन क्षेत्रमा पुरानै प्रतिस्पर्धा रहेको देखिएको छ।
तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) सहितका दलहरू मिलेर अहिले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको छ।
उक्त दल अहिले तारा चुनाव चिह्न लिएर चुनावी प्रतिस्पर्धामा छ। त्यस्तै तत्कालीन माओवादी केन्द्रका नेता जनार्दन शर्मा उक्त दलबाट अलग भएका छन्। प्रलोपाबाट रुकुम पश्चिमबाट अहिले चुनावी प्रतिस्पर्धामा छन्।
त्यहाँ शर्माको प्रभाव देखिएको छ भने कांग्रेस, एमाले, नेकपा र रास्वपासहितका दलहरू पनि प्रतिस्पर्धामा छन्। कालिकोटमा खड्गबहादुर विश्वकर्मा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट उम्मेदवार बनेका छन्।
लगभत १७ हजार दलित मतदाता रहेको त्यहाँ विश्वकर्माको उम्मेदवारीले प्रभाव पार्ने स्थानीयहरूको बुझाइ छ। यसले गर्दा त्यहाँ बहुपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। रुकुम पश्चिम र कालिकोट मात्र होइन, यी दुवै पार्टीले कर्णालीका जिल्लाहरूमा मत प्रभावित गर्नेछन्।
जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगै नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाबिच प्रतिस्पर्धा छ। त्यहाँ दलगतभन्दा व्यक्तिगत प्रभाव बढी रहेको स्थानीयहरूको बुझाइ छ।
डोल्पामा नेकपाका धनबहादुर बुढा र कांग्रेसका कर्णबहादुर बुढा मुख्य प्रतिस्पर्धी छन्। त्यसका साथै एमालेका लंक रोकाया, उज्यालो नेपाल पार्टीका दिलबहादुर विष्ट, रास्वपाका देवसिंह ऐडी, प्रलोपाका विकास बुढासहितका नेता चुनावी प्रतिस्पर्धामा छन्।
दुई क्षेत्र भएको सुर्खेत र दैलेखमा पुरानै प्रतिस्पर्धी छन्। सुर्खेत–२ मा कांग्रेस, एमाले र नेकपाको उम्मेदवारलाई रास्वपाले चुनौती दिइरहेको छ। त्यसकारण पुरानो विरासत बोकेका दलहरूको अंक गणितमा फरक पर्न सक्ने आकलन गरिएको छ। साथै, रास्वपासहितका दलहरूले सुर्खेतसहित जिल्लामा पनि आफ्नो जबर्जस्त उपस्थिति देखाउने विश्लेषण गर्न थालिएको छ।
अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ कांग्रेस र माओवादी केन्द्रले चार/चार, नेकपा एसले तीन र राप्रपाले एक क्षेत्रको परिणाम आफ्नो पक्षमा पारेको थियो। त्यतिबेला कांग्रेस, माओवादी केन्द्र, नेकपा एसबिच चुनावी तालमेल थियो।
अहिले माओवादी केन्द्र र नेकपा एससहितका दल नेकपाका रूपमा एक ठाउँमा उभिए पनि अन्य दलहरू अलगअलग प्रतिस्पर्धामा छन्। उनीहरू सबै पुरानो नतिजा सुरक्षित गर्दै नयाँ क्षेत्रमा आआफ्नो उपस्थितिका लागि कसरतमा जुटेका छन्।
कर्णालीमा २०७९ सालको निर्वाचनमा एमालेले समानुपातिकतर्फ सबैभन्दा धेरै मत पाएको थियो । एक लाख ८३ हजार १३३ मतसहित एमाले पहिलो पार्टी बन्दा कांग्रेस एक लाख ८० हजार ९०९ मतसहित दोस्रो दल बनेको थियो भने माओवादी केन्द्र एक लाख ३५ हजार ४९६ सहित तेस्रो स्थानमा थियो।
नेकपा एस २५ हजार पाँच सय ५५ पाउँदा रास्वपाले २० हजार १६७ मत पाएको थियो भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १९ हजार २६१ मत पाएको थियो।
२०७४ सालको निर्वाचनमा एमाले एक लाख ६९ हजार ७५५ मत समानुपातिकमा पाएको थियो भने कांग्रेसले एक लाख ६२ हजार ३ मत पाएको थियो। माओवादी केन्द्रले एक लाख १७ हजार २९८ र राप्रपाले १५ हजार ६२९ मत पाएको थियो। फागुन २१ गते जनाले कसलाई आफ्नो अभिमत व्यक्त गर्छन्, त्यो भने अझै केही दिन प्रतीक्षा गर्नुपर्ने हुन्छ।
(जिल्ला सहकर्मीहरूको सहयोगमा)
प्रकाशित: १४ फाल्गुन २०८२ २२:०९ बिहीबार





