जनता समाजवादी पार्टी (जसपा) नेपालका संरक्षक महन्थ ठाकुर महोत्तरी–३ भन्दा बाहिर जान सकेका छैनन्। २०६४ सालमा कोषाध्यक्ष रहेकै बेला कांग्रेस परित्याग गरेर २०६४ माघ ५ मा तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) गठन गरेर ठाकुरले मधेसको अग्लो नेताको उचाइ प्राप्त गरेका थिए। तर पछिल्लो समय उनी पारिवारिक मोहमा परेर महोत्तरी–३ भन्दा बाहिर निस्कन नसकेका हुन्। ठाकुरकै नेतृत्वमा रहेको तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) ले दोस्रो मधेस आन्दोलन थालेको थियो। यसको नेतृत्व पनि ठाकुरले नै गरेका थिए। राजनीतिमा शालीन र भद्र नेताको छवि बनाएका उनीभित्र क्रान्ति र विद्रोह व्यापक छ। तर पारिवारिक मोहले उनलाई आलोचित पनि बनाइरहेको छ।
महोत्तरी–३ बाट छोरी मीनाक्षी ठाकुरलाई उम्मेदवार बनाएपछि उनी त्यहाँभन्दा बाहिर जान नसकेको बताइन्छ। सक्रिय राजनीतिबाट विश्राम लिने अवस्थामा आइपुगेका ठाकुरको मधेस प्रदेशमा छुट्टै मानसम्मान छ। यतिबेला छोरीको राजनीतिभन्दा टाढा जान नसकेको भन्ने आरोप खेप्न उनी बाध्य छन्।
दोस्रो मधेस आन्दोलनपछि २०६४ चैतमा भएको संविधानसभाको निर्वाचनमा उनले सर्लाही–४ मा उम्मेदवार भएका थिए। त्यहाँ २०४७ सालदेखि उनले पटकपटक निर्वाचन जित्दै आए पनि तत्कालीन मधेसी जनअधिकार फोरमका उम्मेदवार शिवपूजन यादवसँग उनी पराजित भए।
२०७० सालमा दोस्रो संविधानसभा चुनावमा कांग्रेसका अमरेश सिंहसित पराजित भएपछि उनी सर्लाहीबाट महोत्तरी सरेका थिए। २०७४ सालमा महोत्तरी–३ बाट चुनाव जितेका ठाकुरले फेरि २०७९ सालमा पनि जित हात पारे। ठाकुरको दुवै पटकको जितमा कांग्रेसले उनलाई ठुलो सहयोग गरेको थियो।
ठाकुरले छोरीलाई अघि बढाएपछि पार्टीभित्र विद्रोह भएको छ। जसपाका हरिनारायण यादव बागी बनेपछि मीनाक्षीको अवस्था नाजुक बन्दै गएको छ। महोत्तरी–३ बाट उम्मेदवारीका लागि हरिनारायण यादव, रामकुमार शर्मा र कृष्णाशंकर साहको नाम जिल्लाबाट सिफारिस भएको थियो। मीनाक्षीको नाम सिफारिससमेत भएको थिएन तर विगतमा आफूले जितेको क्षेत्र भएकाले यसपटक छोरीलाई उम्मेदवार बनाएपछि महन्थसँग चिढिएका नेताहरूमध्ये हरिनारायणले बागी उठेर चुनौती दिएका छन्।
उमेरले ८० कटेका महन्थले छोरीलाई आफ्नो पारिवारिक विरासतका रूपमा अघि बढाउन खोजेका छन्। उनले यसपटक मात्र होइन यसअघि पनि सम्धी र सम्धिनीलाई अवसर दिएका थिए। त्यसकारण पनि जसपाका नेताहरू उनीप्रति सकारात्मक नदेखिएका हुन्। स्वास्थ्यका कारण पनि ठाकुरलाई एकै ठाउँमा बस्नुपर्ने बाध्यता छ।
जलेश्वरको होटलमा बसेर आफन्त, सहयोगी, कार्यकर्ताहरूसँग मत माग्ने र चुनावी माहोल छोरीको पक्षमा पार्ने काममा उनी व्यस्त छन्। मधेस आन्दोलनका एक हस्तीसमेत रहेका महन्थलाई मधेस प्रदेशकै सर्वमान्य, सर्वस्वीकार्य नेताका रूपमा चिनिए पनि यो पटकदेखि छोरीलाई उत्तराधिकारी बनाएको भन्दै नेताहरूले उनको आलोचना गरेका छन्।
मीनाक्षीको उम्मेदवारी दर्ता भएसँगै मधेसी जनअधिकार फोरमको स्थापनाकालदेखि पार्टीमा क्रियाशील यादवले विद्रोह गरे। ‘हामीले महन्थ ठाकुरलाई नेता मानेका थियौं, असाध्यै आदर पनि गरेका थियौं तर उहाँले छोरीलाई मात्र देख्नुभयो, हामीलाई देख्नुभएन,’ स्वतन्त्र उम्मेदवार यादवले भने, ‘पार्टीमा केही योगदान नै नभएकी उनकी छोरीलाई पनि मानिदिनुपर्ने भएपछि मैले स्वतन्त्र उम्मेदवारी दिएँ। मेरो जित सुनिश्चित छ।’
उम्मेदवारी दर्ता गराएपछि नै उनले छोरीलाई (मीनाक्षी) लाई नेता मान्न नसकिने बताउँदै आएका थिए। जसपाका महासचिव रामकुमार शर्मा पनि यतिबेला मौन छन्। संरक्षक ठाकुर भने लोकतान्त्रिक आन्दोलनमा लाग्दा आफूले सबैथोक गुमाएका बेला तिनै छोरीको सहारामा बसेको जिकिर गर्दै आएका छन्। ठाकुरकी छोरी मीनाक्षी पेसाले चिकित्सक हुन्।
महोत्तरी–३ भित्र मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, मनरा शिसवा नगरपालिकाका वडा नम्बर ८–१०, पिपरा गाउँपालिकाका वडा नम्बर १–५ र ७ तथा एकडारा गाउँपालिकाका वडा नम्बर १–५ पर्छन्। यही क्षेत्रबाट दुईपटक चुनाव जितेका महन्थले आफ्नो सम्पूर्ण राजनीतिक शक्ति लगाइरहेका छन्।
छोरीलाई टिकट दिलाएपछि पार्टीमा विद्रोह हुँदा मीनाक्षी कमजोर हुन सक्ने आकलन गरिएको छ। यादव पार्टीबाट बाहिरिएपछि जसपाका नेता डा. सुरेन्द्र झाले मीनाक्षीलाई सहयोग गरिरहेका छन्।
महोत्तरी–३ मा विभिन्न दल र स्वतन्त्र गरी ४१ उम्मेदवार चुनावी मैदानमा छन्। यहाँ कांग्रेसका बजरंग नेपाली, एमालेका मनोज सिंह, जसपाकी मीनाक्षी ठाकुर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उज्ज्वल झा र स्वतन्त्र उम्मेदवार रामआधार कापरबिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। उज्ज्वल झा भने काठमाडौंका पूर्वमेयर बालेन्द्र शाहको गाउँ एकडाराकै बासिन्दा हुन्। उनले स्थानीय मतदाताको मन जितेको बताइन्छ। उनी यसअघि जसपाकै कार्यकर्ता हुन्।
मधेसमा रास्वपाको प्रभाव बढिरहेकाले झालाई आँक्न नमिल्ने स्थानीयको मत छ। एमालेबाट टिकट नपाएपछि रामआधार कापर पनि स्वतन्त्र उम्मेदवार बनेका छन्। उनले एमालेको भोट काट्न सक्ने आकलन गरिएको छ। यादवले जसपाको मत काट्न सक्ने सम्भावना छ।
मीनाक्षीका लागि अर्को चुनौती कांग्रेस बनेको छ। २०७४ र २०७९ सालको निर्वाचनमा ठाकुरलाई सघाएका कांग्रेस नेता बजरंग नेपाली उम्मेदवार बनेका छन्। कांग्रेस सभापति गगनकुमार थापा सर्लाहीबाट चुनाव लडेपछि मधेसमा कांग्रेसको माहोल बनेकाले यसपटक यो क्षेत्रमा कांग्रेसले पनि जितको अपेक्षा गरेको देखिन्छ। महोत्तरी–३ मा कुल एक लाख १० हजार चार सय ३६ मतदाता छन्। यहाँ २० देखि २५ हजार आसपासले हारजित हुने सम्भावना छ।
महन्थका उहापोह
संविधानसभाको दोस्रो निर्वाचनअघि बनेको तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको अन्तरिम मन्त्रिपरिषद्मा ऊर्जा, विज्ञान, प्रविधि तथा वातावरण र सिँचाइमन्त्री बनेका उमाकान्त झालाई ठाकुरकै पहलमा मन्त्री बनाइएको थियो। उनै झा महन्थ ठाकुरका सम्धी हुन्। त्यसअघि पहिलो संविधानसभामा ठाकुर अध्यक्ष रहेको तराई मधेस लोकतान्त्रिक पार्टीबाट झाकी पत्नी इन्द्रा झालाई समानुपातिक सांसद बनाइएको थियो। उमाकान्तलाई २०७४ माघ ३ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले लुम्बनी प्रदेश प्रमुखमा समेत नियुक्त गरेको थियो। उमाकान्त पार्टीमा समेत केन्द्रीय सदस्यदेखि सचिवसम्म बने।
२०२६ सालतिर महन्थ कांग्रेसनिकट छात्र संघको सभापति भएका थिए। उनी नेपाल विद्यार्थी संघका संस्थापक केन्द्रीय सदस्य पनि हुन्। महन्थ विद्यार्थीकालमा २०१७ पुस १ मा राजा महेन्द्रले गरेको ‘कु’ विरुद्ध आन्दोलन गर्ने क्रममा पक्राउ परे। त्यतिबेला उनीमाथि राजकाजको मुद्दा लागेको थियो। जेलमै बसेर उनले स्नातकोत्तर अध्ययन गरे। उनले कानुनमा स्नातक (बिएल) समेत गरेका छन्।
२०४८ सालको आमचुनावमा कांग्रेसबाट सर्लाही–५ बाट जितेर महन्थ प्रतिनिधिसभामा आएका थिए। उनी २०५१ सम्म उपसभामुख बने। त्यसबेला दमननाथ ढुंगाना सभामुख थिए। २०५१ सालको मध्यावधि चुनावमा पनि महन्थले सर्लाहीबाटै जिते। त्यतिबेला उनी कृषि मन्त्री भए। २०५६ सालपछि उनी कानुनमन्त्री पनि बनेका थिए।
विद्यार्थीकालदेखि नै राजनीतिमा लागेका ठाकुरले कृषि, कानुनदेखि विज्ञान तथा प्रविधि मन्त्रालयको समेत नेतृत्व गरे। ८२ वर्षीय ठाकुर अहिले संसदीय राजनीतिबाट टाढिँदै राष्ट्रियसभा सदस्यमा विजयी भएका छन्। आफू राष्ट्रियसभामा पुगेको अवस्थामा छोरीलाई प्रतिनिधिसभा सदस्य बनाउन खोजेपछि महन्थविरुद्ध असन्तुष्टि बढेको हो।
प्रकाशित: ११ फाल्गुन २०८२ ०६:३८ सोमबार





