फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सबै १६५ वटै क्षेत्रको मतगणना सकिएको छ।
गणना सकिएसँगै निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ। प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले १२५, नेपाली कांग्रेसले १८, नेकपा एमालेले ९, नेकपाले ८, श्रम संस्कृति पार्टीले ३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेको छ। भने, म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुन निर्वाचित भएका छन्।
यस्तै, सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति सार्वजनिक भएको छ। जहाँ नेकपा एमालेका अर्जुनकुमार कार्कीले जितेका छन्। उनले रास्वपाका मिङ्मा शेर्पालाई पराजित गरे।
यसैगरी, धनुषा-१ मा आयोगले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का मातृकाप्रसाद यादवलाई विजयी भएको प्रमाणपत्र दिएको छ। यो क्षेत्र रास्वपाका उम्मेदवारको उम्मेदवारी खारेज भएपछि विवादित बनेको थियो।
प्रकाशित: २६ फाल्गुन २०८२ ०८:१९ मंगलबार





