१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
निर्वाचन विशेष

चुनावी माहोलले पर्यटकीय सिजन प्रभावित

अकुपेन्सी २५ प्रतिशतमा सीमित, व्यावसायी चिन्तित

पर्यटकीय सिजनको मुखैमा निर्वाचन परेपछि पोखरासहित देशभर विदेशी पर्यटक आगमन प्रभावित भएको व्यवसायीले बताएका छन्। मार्चदेखि मेसम्म पदयात्राका लागि उपयुक्त समय मानिने भएकाले यो अवधिलाई पर्यटन क्षेत्रले उच्च सिजनको रूपमा लिने गर्छ। तर चुनावी गतिविधि र यातायात प्रतिबन्धका कारण अपेक्षित पाहुना नआएको उनीहरूको भनाइ छ।

होटल व्यवसायीका अनुसार अहिले औसत अकुपेन्सी २५ प्रतिशत हाराहारीमा सीमित छ। सिजनको सुरुवातमै कम्तीमा ५० प्रतिशत अकुपेन्सी हुनुपर्नेमा त्यो स्तर नपुगेको गुनासो छ। चुनावका दिन तथा अघिल्लो–पछिल्लो दिन आन्तरिक हवाई उडान बन्द हुने र स्थलमार्गमा आवागमन अवरुद्ध हुने भएकाले पाहुनाले यात्रा तालिका सार्ने गरेका छन्।

होटल ल्याण्डमार्कका सञ्चालक ओम पाण्डे भन्छन्, ‘चुनावका बेला पर्यटक आवागमन स्वाभाविक रूपमा कमजोर हुन्छ। आउने तयारीमा रहेका पाहुनाले यात्रा पछि सारेका छन्।’ उनका अनुसार अहिले भारतीय पर्यटकको संख्या केही बढी भए पनि सीमा नाका बन्द हुने सम्भावनाले उनीहरू पनि छोटो बसाइमै फर्कन थालेका छन्।

क्षेत्रीय होटल संघ चितवनका अध्यक्षसमेत रहेका पाण्डेका अनुसार विदेशी पर्यटक आगमनमा एकरूपता छैन, कुनै दिन वृद्धि देखिए पनि समग्र अवस्था सुस्त छ। ‘निर्वाचनका कारण कम्तीमा एक सातासम्म आगमन प्रभावित हुने देखिन्छ,’ उनले भने।

अन्नपूर्ण क्षेत्रका पर्यटन व्यवसायी जगन गुरुङले पनि पदयात्राको सिजन भए पनि अपेक्षित संख्यामा पर्यटक नआएको बताए। ‘पदयात्रा शून्य छैन, तर सोचेजति आगमन भएको छैन। चुनावपछि अवस्था सहज भए आगमन बढ्नेमा हामी विश्वस्त छौँ,’ उनले भने।

पदयात्रा व्यवसायी धर्म पन्थीका अनुसार तेस्रो मुलुकका पर्यटक आगमन अपेक्षाकृत कम छ। ‘चुनावका बेला अराजक गतिविधि हुने त्रासले केही पाहुना हच्किएका हुन सक्छन्,’ उनले भने।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पनि चुनावी अनिश्चितताले सिजनको सुरुवाती चरण प्रभावित भएको बताए। ‘एक साताको प्रभाव देखिएको छ। शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भए त्यसपछि आगमन बढ्ने सम्भावना छ,’ उनले भने।

रात्रीकालीन व्यवसायमा समयसीमा

निर्वाचनलाई शान्तिपूर्ण बनाउन कास्की जिल्ला प्रशासन कार्यालयले कास्कीभित्र सञ्चालित सबै प्रकारका रात्रीकालीन व्यवसायमा समयसीमा तोकेको छ। सोमबारदेखि अर्को निर्णय नभएसम्म राति ९ बजेसम्म मात्र होटल, रेस्टुरेन्ट, क्लब, डान्स लगायत सञ्चालन गर्न निर्देशन दिइएको छ।

प्रशासनको निर्णयपछि पर्यटकीय क्षेत्र लेकसाइडमा पनि राति ९ बजेपछि व्यवसाय बन्द हुने भएको छ। यसले पर्यटकको खानपिन र घुमघामको समय खुम्चिने व्यवसायीको भनाइ छ। ‘राति अबेर पोखरा आइपुग्ने पाहुनाले बीच बाटोमै खानपिनको व्यवस्था गर्नुपर्ने अवस्था आएको छ,’ सुवेदीले बताए।

व्यवसायीहरूको आकलनमा, निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भए र यातायात सहज भए आगामी सातादेखि पर्यटक आगमन पुनः लयमा फर्किन सक्छ। तर अप्रिय घटना भए सिजन थप प्रभावित हुने उनीहरूको चिन्ता छ।

प्रकाशित: १६ फाल्गुन २०८२ १८:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App