फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कालीकोटमा ६ जना उम्मेदवारको जमानत जफत भएको छ। दुई स्वतन्त्र उम्मेदवारसहित विभिन्न राजनीतिक दलका १० जना उम्मेदवार चुनावी मैदानमा थिए।
खसेको सदर मतको १० प्रतिशत ल्याउन नसक्दा देशभरि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जनलहर चले पनि कालीकोटमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश न्यौपानेले २ हजार ९ सय ३७ मत प्राप्त गरेपछि उनको जमानत जफत भएको हो।
नेमकिपाका नन्दबहादुर शाहीले ५ सय ९७, राप्रपाका सूर्यबहादुर शाहीले ५ सय ६६, राष्ट्रिय जनमोर्चाका अजबहादुर गिरीले २ सय ६९ मत प्राप्त गरेपछि जमानत जोगाउन सकेनन्।
स्वतन्त्र उम्मेदवारी दिएका रास्कोटका मानबहादुर तिरुवा र नरहरिनाथका अस्मिन विष्टको समेत जमानत जफत भएको सहयक निर्वाचन अधिकृत सुनिल खाणले बताए।
उम्मेदवारहरूले कानुनबमोजिम निर्वाचन कार्यालयमा दाखिला गरेको धरौटी रकम गुमाएका छन्। खसेको सदर मतको १० प्रतिशत प्राप्त नगरेमा जमानत जफत हुने कानुनी व्यवस्था रहेको जिल्ला निर्वाचन कार्यालय कालीकोटले जनाएको छ।
कालीकोटबाट नेकपाका महेन्द्रबहादुर शाही ११ हजार ३ सय ३८ मत ल्याएर निर्वाचित भएका छन्। दोस्रोमा एमालेका नगिन्द्र शाहीले १० हजार ३ सय ५२ मत प्राप्त गरेका छन्। कांग्रेसका हर्षबहादुर बमले सात हजार एक सय ३३ मत मत गरेका छन्। त्यस्तै नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले चार हजार पाँच सय ९९ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।
जम्मा खसेको कुल मतमध्ये एक हजार आठ सय ७० मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। जिल्लामा कुल मतदाता ८४ हजार ६ सय ४६ जना रहेको जिल्ला निर्वाचन अधिकारी विश्वमंगल शर्माले बताए। जिल्लामा कुल मतदाता संख्यामध्ये प्रत्यक्षतर्फ ४१ हजार ३ सय ५० अर्थात् ४८.८५ प्रतिशत मत खसेको थियो।
कालीकोट जिल्लामा अस्थायी मतदाता संख्या २ हजार २१८ थप हुँदा समानुपातिक प्रणालीतर्फ मतदाता संख्या ८६ हजार ८ सय ६४ भएकोमा ४२ हाजार २ सय ३७ अर्थात् ४८.६२ प्रतिशत मत खसेको थियो।
प्रकाशित: २६ फाल्गुन २०८२ ०९:५९ मंगलबार


-600x400.jpg)


