दैलेख निर्वाचन क्षेत्र नं १ मा निरन्तर चुनावमा भाग लिइरहेका नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवारलाई नेपाली कांग्रेसकी युवा नेत्री बासना थापाले चुनौती दिएकी छन्। त्यस्तै एमालेबाट उम्मेदवार बनेका रवीन्द्रराज शर्मा र नेकपाबाट उम्मेदवार बनेका अम्मरबहादुर थापा यसअघि पनि चुनाव लडेका उम्मेदवार भएकाले नयाँ उम्मेदवार रास्वपाका नन्दकिशोर बस्नेत पनि खरो रूपमा मैदानमा उत्रिएसँगै चुनावी माहोल तातिएको छ। बस्नेत एमालेबाट उम्मेदवारका रूपमा सिफारिस भए पनि अन्तिममा रास्वपा प्रवेश गरी उम्मेदवारी बनेका हुन्।
कांग्रेसबाट उम्मेदवारी दिएकी थापा युवा पहिलोपटक चुनावमा होमिएकी छन्। दैलेखमा पटकपटक चुनावमा लडेका अनुभवीसँग नयाँ उम्मेदवार बस्नेत र थापाले टक्कर दिएका छन्। बस्नेत समुह बनाउँदै गाउँगाउँ पुगेका छन् भने थापा आफ्नै संगठनका भोट सुरक्षित गर्न टोलटोल पुगेकी छन्। यसअघि पनि दैलेखमा कांग्रेस र एमालेकै कडा प्रतिस्पर्धा हुने गर्दथ्यो। कांग्रेसले १० वर्षपछि पहिलोपटक आफ्नै उम्मेदवार उठाएको छ।
पहिले राप्रपा र पछि समाजवादीलाई भोट दिएका कांग्रेसीले १० वर्षपछि रूखमा भोट हाल्ने अवसर पाउँदैछन्। कांग्रेस उम्मेदवार थापाले भनिन्, ‘म महिला उम्मेदवार भएकाले पनि भोट आउँछ। अग्रज बुबाआमा र दाजुभाइहरूले हाम्री चेलीलाई भोट दिएर जिताउनुपर्छ है भनिरहनुभएको छ। उहाँहरूको आशीर्वादले पनि मेरो जित निश्चित छ।’ कांग्रेसले युवा तथा महिला उम्मेदवार उठाएकाले पनि दैलेखमा कांग्रेसीमा उत्साह थपिएको युवा नेता भूपेन्द्र शाहीले बताए।
दैलेखको विकास र समृद्धिका लागि यहाँका जनताको मनमुटुमा बसेको, उनीहरूका आवाज संसद्मा बुलन्द गर्ने नेताका रूपमा चिनिएको र कांग्रेस–एमालेका मान्छेले पनि अब्बल र राष्ट्रिय स्तरको नेता बन्न सक्ने आकलन गरेकाले आफ्नो पक्षमा स्वतः मत बढी आउने नेकपा उम्मेदवार अमरबहादुर थापाले बताए। ‘अहिले चुनावमा लड्नुभएका नेताहरू पटकपटक टेस्टेट भइसक्नुभएकाले म परिवर्तनका लागि चुनावी मैदानमा आएको हुँ।’
हाम्रो देशमा पछिल्लो समय जुन खालका घटनाक्रम भइरहेका छन्, त्यसले देशको भलो नगर्ने एमाले उम्मेदवार रवीन्द्रराज शर्माले बताए। उनले भने, ‘यो राजनीतिक अस्थिरताको परिणाम हो। यसर्थ देशलाई राजनीतिक स्थायित्व प्रदान गर्नका निम्ति अहिले एमालेलाई सघाउनुपर्छ भन्ने प्रतिक्रिया जनताबाट आएकाले मेरो जित निश्चित छ।’
त्यस्तै रास्वपा उम्मेदवार नन्दकिशोर बस्नेतले यसपटक आफ्नो जित सुनिश्चित भएको बताएका छन्। उनले भने, ‘म रास्वपाको उम्मेदवार हुँ नभनी भोट माग्न जाँदा जनताले स्वतस्फूर्त ‘हामी घन्टीलाई भोट दिन्छौं भनेका छन्। मतदाताले घन्टीलाई हेर्न चाहेका छन्। यसर्थ यसपटक मेरो जित पक्का छ।’ जेनजी आन्दोलनपछि मतदाताको आकर्षण रास्वपातर्फ बढेकाले पनि चुनावी मतपरिणाम यसतर्फ आउन सक्ने आकलन गरिएको छ।
प्रकाशित: १ फाल्गुन २०८२ १०:२६ शुक्रबार





