२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
निर्वाचन विशेष

चितवनका मतदाता भन्छन्: हामीलाई रोजगारी देउ, विदेसिनु चाहाना होइन

रोजगारीका लागि साउदी गएका भरतपुर महानगरपालिका २६ स्थित ज्योतिनगरका प्रमोद चौधरी घर फर्किएका छन् । स्वदेशमै रोजगारी पाएमा उनलाई अब विदेश जान मन छैनन् । विदामा आएका चौधरीले निर्वाचन पछि बन्ने सरकारले रोजगारीको ग्यारेन्टी गरेमा आफू नर्फिने समेत बताए ।  

‘निर्वाचनमा नेताहरु मत माग्न आउनुभएको छ । देशलाई समृद्ध बनाउँछौँ भन्नुभएको छ,’ चौधरीले भने ‘रोजगारी दिन्छौँ कसैले भन्नुहुँदैन ।’ उनी साउदी गएको पाँच वर्ष भयो। भोट दिए पनि कसैले केही नगर्ने उनको भनाई छ ।  

भरतपुर २० चनौलीका वसन्त अधिकारीले दुई पटकसम्म अष्ट्रेलियाको जाने तयारी गरेका थिए । असफल भएपछि उनी शनिबार मात्र काठमाडौंबाट घरमा फर्किएका छन् ।  

उनले दुई वर्ष यतै अटोमा तरकारी बेच्ने काम गरे। स्थायी रोजगारी भेटिएन । ‘घरमै राम्रो भए केही गर्न पाए किन विदेश जान्थें र?’ प्रश्न गर्दै उनी भन्छन् ‘यहाँ नेताहरुले रोजगारीको वातावरण मिलाए विदेश जाने थिएन।’  

निर्वाचनको मिति नजिकिँदै छ । उम्मेद्वारहरु आआफ्ना माग राखेर चुनावी मैदानमा होमिएका छन्  चितवन जिल्लाका युवा मतदाताले राजनीतिक दल र उम्मेदवारसँग स्वदेशमा काम गर्ने वातावरण मिलाउन अनुरोध गरेका छन् । भरतपुर १७का मानबहादुर मगर स्वदेशी युवालाई आफ्नै ठाउँमा काम गर्ने वातावरण हुनुपर्ने बताउँछन् ।  ‘हरेक चुनावमा रोजगारीको आश्वासन दिइन्छ, तर व्यवहारमा केही परिवर्तन हुँदैन।’  

उनले उद्योग कलकारखाना खोलेर युवालाई रोजगारी दिनुपर्ने धारणा राखे । ‘राज्यले उद्योग खोलोस । गाउँका युवालाई यत्तै नोकरी दिलाउनुपर्छ,’ उनले भने ‘यद्यपी नेताले गर्ने त केही होइनन् ।’ रानामगरले आगामी निर्वाचत हुने उम्मेद्वारले नेपाली जनताले दुःख नपाउने गरी देशको अस्तित्व कायम गर्नुपर्ने बताए ।  

चितवनमा कृषि उत्पादन, दुग्ध व्यवसाय, पोल्ट्री उद्योग र पर्यटन क्षेत्रलाई रोजगारी सिर्जनाको मुख्य आधार मानिन्छ । विशेषगरी चितवन राष्ट्रिय निकुञ्ज आसपासको पर्यटन व्यवसायले हजारौँलाई प्रत्यक्ष–अप्रत्यक्ष रोजगारी दिन सक्ने सम्भावना छ । तर, पूर्वाधार विकास र दीर्घकालीन नीति अभावले अपेक्षित लाभ लिन नसकिएको उनीहरूको भनाई छ । बढ्दो सहर, पर्यटनको आकर्षण र पूर्वाधार निर्माणले यहाँ फड्को मार्दैछ । भरतपुर आसपासका क्याफे र कलेजमा बस्ने युवाको बहस एउटै छ, देशमै अवसर कहिले? ‘भाषण धेरै सुन्यौं, अब काम देख्न चाहन्छौं,’ २३ वर्षीया मनिषा क्षेत्रीले भनिन् । उनी पनि नेपालमा काम गर्ने वातावरण नभएको भन्दै विदेश जाने तयारीमा छिन् ।  

आगामी निर्वाचनलाई लक्षित गर्दै दलहरूले प्रतिव्यक्ति आय नै ३००० डलर पुर्याउने घोषणा गरेका छन् । विदेशमा बस्ने नेपालीहरूलाई अनलाइन मताधिकार, वंशजको नागरिकताको निरन्तरता, सार्वभौम डायस्पोरा फन्डको कार्यान्वयन, सुरक्षित लगानी र सम्मानित देश फिर्तीको वातावरण, मर्यादित वैदेशिक रोजगारीको नारा लगाइरहेका छन् । यद्यपि स्वदेशमा रोजगारीको वातावरण सृजना गर्ने विषयमा उम्मेद्वारहरुको त्यति चासो देखिँदैन । भरतपुर महानगरपालिका–१८का समपन्न अधिकारी जितेर जाने उम्मेद्वारले खानेपानी, स्वास्थ्य, शिक्षा, पर्यटन क्षेत्रमा काम गर्नुपर्ने बताउँछिन् ।  

‘यहाँ शिक्षा, स्वास्थ्य र रोजगारी चाहियो,’ उनले भनिन् ‘हामीलाई सिंगापुर पनि चाहिएन, मोबाइलमा डाटा पनि आवश्यक परेन।’ नेताहरुले विकासका नारालाई अगाडि सारेपनि प्रमुख समस्या रोजगारी नै रहेको उनले बताईन् । 

प्रकाशित: ११ फाल्गुन २०८२ १७:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App