नेपाली कांग्रेसबाट गोरखा क्षेत्र नम्बर २ मा उम्मेद्वार बनेका प्रकाशचन्द्र दवाडी शनिवार चितवनमा आफ्ना मतदातासँग मत माग्न व्यस्त थिए । चितवनको चौविसकोठी स्थित एक होटलमा मतदाता माँझ देखा परेका दवाडीले चितवनमा सचिवालय स्थापना गर्ने घोषणा समेत गरे ।
‘चितवन बासीका लागि मैले यहाँ सम्पर्क कार्यालय खोल्छु,’ उनले भने ‘मलाई भेट्न गोरखा, पोखरा काठमाडौँ धाउन पर्दैन।’ उनले आफ्नो गाउँ ठाउँको विकासमा सहयोग गर्न समेत सबैलाई अपिल गरे । ‘हामी जहाँबाट आए पनि हाम्रो लक्ष्य आफ्नो ठाँउ र देश बनाउने हो । मतदाताले दिएको मतले देशभर सकारात्मक सन्देश जाने विश्वास छ।’
उनी जस्तै फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै गोरखा, बाग्लुङ, तनहुँ, धादिङ लगायतका उम्मेदवारहरू चितवनमा आएर भोट माग्न सक्रिय देखिन्छन् । चितवनमा यी क्षेत्रका मतदाताको बसोबास रहेकाले मत माग्न उम्मेद्वार आउने गर्दछन् ।
चितवनका विभिन्न वडामा उनीहरूले घरदैलो, साना सभा, चिया चौतारी संवाद तथा मतदाता भेटघाट कार्यक्रममार्फत आफ्नो एजेन्डा प्रस्तुत गरिरहेका छन्। नेपाली कांग्रेसबाट बाग्लुङको क्षेत्र नम्बर १मा उम्मेद्वार रहेका भिम श्रीस गाउँमा बसाईसराई र रोजगारीको समस्याका कारण मतदाता भेट्न बाहिरी जिल्ला घुम्नु परेको बताउँछन् ।
‘मतदाता गाउँमा भन्दा बाहिरी जिल्लामा बढी छन् । यो अवधिमा म भोट माग्न नवलपरासी, कास्की, काठमाडौँ, चितवनका जिल्लामा पुगिँसके’ उनले भने, ‘गाउँमा बसाईसराई र रोजगारीको समस्याका कारण मतदातालाई भेट्न कठिन छ।’ उनी माघ ११ र १२ गते चितवन र नवलपुरमा रहेका आफ्ना मतदातासँग मत मागेर फर्किएका थिए । यसरी मत माग्न जाँदा लगानी समेत बढी पर्ने उनको अनुभव छ ।
‘मतदाता माँझ नपुग्दा भोट नआउने हो कि भन्ने डर हुने । गाउँमा मतदाता न्यून हुनुहुन्छ, बाहिरी जिल्ला पुग्दा पैसा धेरै खर्च हुने’–उनले भने । उनले मतदातालाई गाउँ फर्किन समेत अनुरोध गरेका छन् । ‘गाउँमा बाँदर आतंक छ कोही बस्न खोज्दैन । बसाईसराई रोक्न नीति ल्याउनुपर्छ,’ उनले भने ‘जुन ठाउँमा छौँ । त्यही ठाउँबाट मताधिकार प्रयोग गर्ने व्यवस्था नभएसम्म समस्या यस्तै रहन्छ।’
चितवनमा नेपाली कांग्रेसबाट गोरखा क्षेत्र नम्बर १मा उम्मेदवार बनेका कुमार खत्री, तनहुँ क्षेत्र नम्बर १का गोविन्द भट्राई, यस्तै नेपाली कम्यूनिस्ट पार्टी(नेकपा)बाट गोरखा क्षेत्र नम्बर १ मा उम्मेद्वार बनेका हरिराज अधिकारी, २का लेखनाथ न्यौपाने, एमालेबाट गोरखा क्षेत्र नम्बर २मा उम्मेद्वार बनेका मिलन गुरुङ, रास्वपाका उम्मेद्वार कर्विद्र बुर्लाकोटी, बाग्लुङ क्षेत्र नम्बर १मा राष्ट्रिय जनमोर्चाबाट उम्मेद्वार बनेका कृष्ण अधिकारीले चितवन आएर मतदातासँग मत मागेका छन् ।
नेपाली कांग्रेस चितवनका सचिव धुर्व पोखरेल चितवनमा बाहिरी जिल्लाका मतदाता बढी भएको हुनाले पनि यहाँ बाहिरी जिल्लाका उम्मेद्वारहरु मत माग्न आउने गरेको बताउँछन् । निर्वाचनको बेला पार्टीले बस रिजर्भ गरेर मतदाता पठाउने चलन छ, उनले भने त्यही अनुसार उम्मेद्वारहरु पनि मत माग्न आउनुहुन्छ ।’
चितवनको जनसंख्या ७ लाख १९ हजार ८५९ रहेको छ । मतदाताको संख्या भने ४ लाख ४२ हजार ८४ छ । नेपाली कम्यूनिस्ट पार्टी चितवनका इन्जार्च घनश्याम दाहालले एक दशकदेखि चितवन बसाईसरेका अधिकांश व्यक्तिका मतदाता नामावली सोही स्थानमा रहेको बताउँछन् ।
‘चितवनमा गाउँबाट बसाईसराई गरेर आउनुहुन्छ । तर मतदाता नामावली सार्नुहुँदैन,’ दाहालले भने ‘एक दश यता गोरखाबाट बसाईसराई गर्नुभएका ५० प्रतिशतको मतदाता नामावली गोरखामा नै छ ।’ गोरखा, बाग्लुङ, तनहुँ लगायतका जिल्लाका उम्मेद्वार चितवन भोट माग्न आउनुपर्ने बाध्यता जस्तै रहेको उनले बताए ।
‘गोरखामा बुढिगण्डकी आयोजनाले धेरैलाई मुआब्जा दिएपछि चितवन झरे । गोरखामा गुरुङ समुदाय पनि बढी छन् । तीन घण्टा लाग्ने बाटोमा उनीहरुले मतदाता नामावली पनि सार्न उचित ठानेनन् होला,’– उनले भने । निर्वाचन नजिकिँदै जाँदा चितवनमा बाहिरी तथा स्थानीय उम्मेदवारबीचको प्रचार–प्रसार थप तीव्र बन्दै गएको उनले बताए ।
प्रकाशित: ४ फाल्गुन २०८२ १६:१६ सोमबार





