दलित समुदायलाई प्रत्यक्ष निर्वाचनमा पाटीले टिकट दिनै मुस्किल भएकाे छ। त्यसमा पनि दलित महिलाले प्रत्यक्षमा टिकट पाउनु उसै नौलो कुरा तर प्रतिनिधि सभाको आसन्न निर्वाचनमा प्रत्यक्षतर्फ भिड्नेमा बर्दियाकी विमला बिक एक्ली दलित महिला बनेकी हुन्।
दलितमैत्री निर्वाचन अभियानले समानुपातिकतर्फ थुप्रै महिला उठेको भए पनि प्रत्यक्षमा भिड्ने विक मात्र भएको दावी गरेको छ। जनआन्दोलन भाग– २ पछि सम्पन्न प्रतिनिधि सभामा माओवादीको तर्फबाट प्रत्यक्षमा केही संख्यामा दलित महिलाले टिकट पाएको भए पनि पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा भने अन्य दलले दलित महिलाले टिकट पाउने विमला मात्र एक्ली हुन्।
बर्दियाको ग्रामीण जीवनमा विसं २०४४ सालमा जन्मिएकी विक कम्युनिष्ट पाटीको राजनीतिमा लामो विद्यार्थीकालदेखि नै सक्रिय हुँदै केन्द्रीय तहको भूमिकामा पुगेकी हुन्। अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेको तर्फबाट समानुपातिक तर्फबाट प्रतिनिधि सभाको सदस्य बनेकी थिइन्। त्यही अवधिमै उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीको भूमिका पनि पूरा गरेकी हुन्। कानुन, रुरल डेभलपमेन्ट स्नाकोकत्तोर तहको अध्ययन पूरा गरेकी र छात्रावृत्तिमा चीन पुगेर राजनीतिशास्त्रको अध्ययन पनि पूरा गरेकी छन्। सानैदेखि समाजसेवा र अधिकारमुखी कामको कारण उनी विशेष उम्मेदवार बनेको उनका स्वकीय सचिव चन्द्र भण्डारी बताउँछन्। ‘अध्ययन र क्षमता दुवैले साथ दिएकाले उहाँले प्रत्यक्षमा टिकट पाउनु भएको हो’ उनले भने।
दलित त्यसमा पनि महिलाले प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बन्नु सामान्य चानचुने कुरा नभएको दलितमैत्री निर्वाचन राष्ट्रिय अभियानका संयोजक जेवी विश्कर्मा बताउँछन।
‘नेपाली समाजमा विद्यमान जातव्यवस्था र लैंगिक विभेदको कारण प्रतिस्पर्धामा महिलालाई सजिलै अवसर पाउँदैनन्, त्यसमा पनि दलित महिलाले पाउनु सामान्य कुरा हैन’ उनले भने।
पुराना तथा साना दल गरी १७ उम्मेदवारसँग विक प्रतिस्पर्धामा छिन्। उनीहरू हुन कांग्रेसका पूर्व सहमहामन्त्री किशोरसिंह राठोर र उज्यालो नेपाल पाटीका धर्मबहादुर चौधरी यो निर्वाचनमा मुख्य प्रतिस्पर्धी देखिएको स्वकीय सचिव भण्डारी बताउँछन्।
अघिल्लो निर्वाचनमा नेपाल उन्मुक्ति पाटीका लालविर चौधरीले विजय बनेको यो क्षेत्रमा अहिले पाटी विभाजनसँगै अन्य पाटीको प्रतिस्पर्धी बलियो बनेको भण्डारीले बताए। मुख्य प्रतिस्पर्धी मानिएका नेपाली काँग्रेसका किशोरसिंह राठौर यसअघि बाँकेबाट निर्वाचित नेता हुन् भने उज्यालो पाटीका नयाँ उम्मेदवार हुन्।
यो क्षेत्रमा सुकम्वासी र वन्जजन्तुको आक्रमण मुख्य समस्या रहेकोमा यो समस्याको सम्बोधन गर्न सक्ने क्षमता भएकी नेता विमला नै भएको दावी भण्डारीको छ। उनले यही मुद्दालाई लिएर जनताको बीचमा गइरहेको देखिन्छ। वन्यजन्तुको आक्रमणबाट आक्रान्त बनेका बर्दियावासीको निकास दिने पहिलो कार्य रहेको भन्दै उनले मत मागिरहेकी छन्। उनी भन्छिन, ‘पहिलो एक्सन वन्यजन्तु र मानव बीचको द्वन्द्व न्यूनीकरण गर्न र बर्दियाली जनतालाई परेको अप्ठेरो समाधान गर्न लाग्नेछु।’
यी दुवै मुख्य प्रतिस्पर्धीको बीचमा विमलाको अध्ययन र क्षमता र युवा उम्मेदवार हुनुले विमलाको आधार बनेको भण्डारी बताउँछन्। ‘मुख्य उम्मेदवार ६० वर्ष हाराहारीका छन्, विमला ४० वर्षकी’ उनले भने।
महिलाको नेतृत्व स्वीकार्न अहिले पनि हाम्रो समाजमा सहज नभएको बेला दलित समुदायकी महिलालाई मत दिने कुरा सहज छैन तर उनले त्यो समाजमा गरेको सामाजिक कार्य र निरन्तर संघर्ष मतको आधार रहेको दलितविज्ञ सुशील बिके बताउँछन्। ‘लैगिंक विभेद र जातव्यवस्था दुवै दलित महिलालाई समाजले स्वीकार्दैन, यो बीचमा विमलाको उम्मेदवारी उभिनु आफैंमा सफलता हो’ विकले भने।
प्रकाशित: १२ फाल्गुन २०८२ ०८:२७ मंगलबार





