बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग अवरुद्ध भएका छन्। बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा सवारी आवागमन प्रभावित भएको छ।
गण्डकी प्रदेशको मनाङमा बाढीका कारण बेसीसहर हुँदै खाङसारसम्म जाने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै, म्याग्दीमा पहिरोका कारण रघुगंगा गाउँपालिका-२ बैसरी र अन्नपूर्ण गाउँपालिका-३ सुकेबगर क्षेत्रमा पर्ने बेनी-जोमसोम सडक खण्ड अवरुद्ध भएको छ।
नवलपरासी पूर्वमा कालीगण्डकी करिडोरअन्तर्गत बुलिङटार गाउँपालिका-६ घुमाउनेघाटमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालन भइरहेको छ। सोही जिल्लाको बौदीकाली गाउँपालिका-३ जन्ती पहिरो क्षेत्रमा पनि सडक अवरुद्ध भएको छ। उक्त स्थानमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको र ठूला गाडी आवतजावत गर्न नसक्ने अवस्था रहेको जनाइएको छ।
कर्णाली प्रदेशको हुम्लामा पहिरोका कारण सिमकोट-हिल्सा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। नाम्खा गाउँपालिका-४ यालबाङ र सिमकोट गाउँपालिका-७ ठाडोढुंगा क्षेत्रमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।
सडक अवरुद्ध हुँदा यात्रु तथा मालवाहक सवारीसाधनको आवागमन प्रभावित भएको छ। पहिरो प्रभावित सडक खण्डमा यात्रा गर्दा सावधानी अपनाउन तथा सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सम्बन्धित निकायले आग्रह गरेका छन्।
प्रकाशित: १७ आश्विन २०८३ ०७:०८ शनिबार




-600x400.jpg)
