२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
निर्वाचन विशेष

बारा निर्वाचन क्षेत्र नं ३: जित दोहोर्‍याउने दाउमा पुराना दलका उम्मेदवार

बारा निर्वाचन क्षेत्र नं ३ मा यसपटक पुराना दलका उम्मेदवार जित दोहोर्‍याउने दाउमा छन् भने उनीहरूलाई प्रतिस्पर्धामा पछाडि पारेर आफ्नो जित निकाल्ने दाउमा नयाँ दलका उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।

यस क्षेत्रमा नेपाली कांग्रेसबाट फरमुल्ला मन्सुर, नेकपा एमालेबाट ज्वालाकुमारी साह, जसपाबाट रामबाबु यादव, जनमतबाट प्रमोद गुप्ता र राष्ट्रिय स्वतन्त्र पार्टीबाट अरविन्द साह, नेपाली कम्युनिस्ट पार्टीबाट भरत साह चुनावी मैदानमा छन्। रास्वपाका साह र नेकपाका साह दुवैजना नयाँ चेहरा हुन्।

बारा निर्वाचन क्षेत्र नं ३ बाट पहिलो संविधानसभा सदस्य निर्वाचनमा तत्कालीन फोरम नेपालबाट प्रमोद गुप्ता निर्वाचित भएका थिए। दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका फरमुल्ला मन्सुर निर्वाचित हुन पुगेका थिए। त्यसपछि भएको प्रतिनिधिसभा सदस्य २०७४ मा जसपाबाट रामबाबु यादव निर्वाचित भएका थिए। पछिल्लो पटक २०७९ सालमा गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेबाट ज्वालाकुमारी साह निर्वाचित बनेकी थिइन् । पहिलो संविधानसभानिर्वाचनयता भएको चारवटा निर्वाचनमा यस क्षेत्रका मतदाताले पुरानालाई भन्दा नयाँ उम्मेदवारलाई मत दिएर विजयी गराएका छन्।

एमाले उम्मेदवार ज्वालाकुमारी साह

थोरै समयका लागि आफू संघीय सरकारमा कृषिमन्त्री हुँदा पनि धेरै विकास निर्माण कार्य गरेका कारण त्यसबाट प्रभावित भएका मतदाताले पुनः आफूलाई नै विजयी गराउने साहले दाबी गरेकी छिन्। आफूले यस क्षेत्रको चौतर्फी विकास निर्माण कार्य गरेको र यस क्षेत्रमा एमालेको संगठन पनि बलियो रहेका कारण आफू राम्रो मत ल्याएर विजयी हुने उनले बताइन्।

टिकट सिफारिसमा असन्तुष्ट बनेका नेता–कार्यकर्ताको असन्तुष्टिलाई साम्य पारेर सबैजना चुनावमा खटिएको उनले बताइन्।

चुनाव प्रचारका क्रममा ठाउँठाउँमा सुनियोजित तरिकाले मेरो विरोधमा केही लागे पनि आफूले त्यसलाई सहज रूपमा स्विकार गरेर अगाडि बढेको उनले बताइन्।२०७९ को निर्वाचनमा साहले २० हजार दुई सय मत ल्याएर विजयी भएकी थिइन्।

एमाले क्षेत्रीय कमिटी– ३ ले ज्वालाकुमारी साहको नाम टिकटका लागि सिफारिस गरेको थिएन तर पनि जिल्ला र केन्द्रमा भनसुन गरेर टिकट लिएका कारण साहले विरोधको सामना गर्नुपरेको हो। जेनजी आन्दोलनमा साहको घर जलाइएको थियो। यसका आधारमा पार्टीभित्र र बाहिरबाट सहानुभूति पाउनुको साटो विरोध भएकाले मतदाता र पार्टीभित्र उनका छवि राम्रो नभएको कलैयाका स्थानीय श्याम साहले बताए।

कांग्रेस उम्मेदवार फरमुल्लाह मन्सुर

पदमा होस् वा विनापदमा होस्, सधैं जनताका साथमा रहेका कारणअन्यको भन्दा बढी मत पाएर यसपटक चुनाव जित्ने दाबी मन्सुरले गरेका छन्। यस क्षेत्रको शिक्षा, स्वास्थ्य र पूर्वाधारको विकासका लागि संघीय सरकारबाट बजेट दिलाउन सशक्त आवाज उठाएकाले पनि मतदालाले आफूलाई नै विजयी बनाउने मन्सुरले बताए।

पार्टीका नेता–कार्यकर्ता विशेष महाधिवेशनपछि असन्तुष्ट भए पनि उनीहरूलाई फकाएर आफूले चुनाव प्रचारप्रसारमा फर्काएको नेता मन्सुरले बताए। मन्सुर २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए।

सुरुमाकांग्रेस कोइराला खेमामा रहेका मन्सुर सुशील कोइरालाको मृत्यु भएपछि शेरबहादुर खेमामा गएर महाधिवेशनमा देउवाकै खेमाबाट सहमहामन्त्रीमा निर्वाचित बनेका थिए। सहमहामन्त्रीमा रहेका मन्सुरले कांग्रेसको विशेष महाधिवेशनमा शेरबहादुर देउवा समुहबाट विद्रोह गरेर गगन थापालाई पार्टी सभापति बनाउन भूमिका खेलेका थिए। गगन थापा कांग्रेस सभापति बनेपछि फरमुल्लाह मन्सुरले बाराका चारवटै निर्वाचन क्षेत्रमाआफूनजिकका व्यक्तिलाई उम्मेदवार बनाएर देउवा खेमाका नेता–कार्यकर्तालाई पाखा लगाएको आरोप लागेको छ।

जनमतका उम्मेदवार प्रमोद गुप्ता

विगत तीन÷चारवटा निर्वाचनमा आफू थोरैथोरै मतले पराजित भएको देखेरै मप्रति मतदाताको सहानुभूति रहेको रबलियो संगठनका कारणले पनि मेरो विजय हुने बलियो आधार रहेको दाबी गुप्ताले गरेका छन्। यसका साथै यस क्षेत्रका जनताको सुखदुःखमा साथ रहने र विकासका हरेक कार्यमा अन्यभन्दा अगाडि रहेको देखेरै यसपालि मतदाताले आफूलाई विजयी बनाउने गुप्ताले विश्वास गरेका छन्।

विगतमा गरिएको सदरमुकाम कलैया बचाउ अभियान, बेटी बचाउन अभियानसहित धेरै संघर्षका कार्यक्रम मेरै नेतृत्वमा गरिएका कारण यसपालि मतदाताले आफूलाई विजयी मनाउने दाबी गुप्ताले गरे।

२०६४ सालमा गरिएको पहिलो संविधानसभा सदस्य निर्वाचनमा तत्कालीन फोरम नेपालबाट गुप्ता धेरै मतान्तरले विजयी बनेका थिए।दोस्रो संविधानसभा निर्वाचनदेखि प्रतिनिधिसभा सदस्य निर्वाचन र स्थानीय तह निर्वाचनमा गुप्ता उम्मेदवार बने पनि पराजित हुँदै आएका छन्।

जसपा उम्मेदवार रामबाबु यादव

रामबाबु यादव यसपालि बलियो उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका छन्। २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सँगै रहेका तत्कालीन प्रदेशसभा सदस्य पारस साह, जसपा नेता प्रमोद गुप्ता जनमतमा लागे पनि जसपाको संगठन बलियो रहेको र आफू मतदाताका बिचमा लोकप्रिय रहेको जसपा उम्मेदवार यादवले दाबी गरे।

२०७४ सालको प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि यस क्षेत्रको शैक्षिक क्षेत्रमा आफूले अथक योगदान पुर्‍याएको र कुनै किसिमको भ्रष्टाचार आरोप नलागेका कारण आफूलाई यस क्षेत्रका मतदाताले धेरै मतान्तरले विजयी बनाउने यादवले बताए।

रास्वपा उम्मेदवार अरविन्द साह

यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीले युवालाई चुनावी मैदानमा उतारेको छ।दोहोरो जित निकाल्न चुनावी मैदानमा उत्रिएका कांग्रेस, एमाले र जसपा, जनमतका उम्मेदवारलाई यस क्षेत्रका मतदाताले पटकपटक धोका पाएकाले यसपालि आफूलाई नै विजयी गराउने दाबी अरविन्द साहले गरे। मतदाताले परिर्वतन खोजेका कारणले माहोल रास्वपाको पक्षमा देखिएको उनले बताए। पेसाले इन्जिनियर रहेका अरविन्द ‘खल्ती एप’ का संस्थापक निर्देशक हुन्।

बारा निर्वाचन क्षेत्र नं ३ मा कलैया उपमहानगरका २६ वटा वडा, फेटा गाउँपालिकाका ४ वटा वडा, जितपुर सिमराका उपमहानगरपालिकाका आठवटा वडा गरेर ३८ वटा वडामा एक लाख १३ हजार पाँच सय २१ मतदाता रहेका छन् भने २४ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।

प्रकाशित: ३ फाल्गुन २०८२ ०८:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App