१२ आश्विन २०८१ शनिबार
image/svg+xml
निर्वाचन विशेष

भरतपुरको प्रमुखमा दोस्रो पटक रेनु दाहाल विजयी

चितवनको भरतपुर महानगरपालिकाको प्रमुख र उपप्रमुखमा सत्तारुढ गठबन्धन विजयी भएको छ। भरतपुरको प्रमुखमा नेकपा (माओवादी केन्द्र)की रेनु दाहाल र  उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी निर्वाचित भएका हुन्।

तर मुख्य निर्वाचन कार्यालयले औपचारिक जानकारी गराएको छैन। माओवादी केन्द्रकी दाहालले एमालेका विजय सुवेदीलाई १२ हजार ४४९ फराकिलो मतान्तरले पराजित गर्दै दोस्रोपटक महानगरपालिका प्रमुख बनेकी हुन्। दाहालले ५२ हजार ३० मत ल्याउदा सुवेदीले ३९ हजार ५८१ मत प्राप्त गरेका छन्।  

अघिल्लो स्थानीय तहको चुनावमा भन्दा दाहालले ८ हजार ९०३मत बढी ल्याएकी छन्। त्यतिखेर ४३ हजार १२७ मत ल्याएर विजयी भएकी थिइन्। देवी ज्ञावालीले ४२ हजार ९२४ मत ल्याएका थिए। तर, अहिले ज्ञवालीले भन्दा २ हजार ३४३मत कम ल्याएका छन्।

सुवेदी वाग्मती प्रदेशको संसाद पदबाट राजिनामा दिएर महानगरपालिका प्रमुखमा लड्न आएका थिए । सुवेदीले एमालेका वडाध्यक्षहरुले ल्याएको मत पनि ल्याउन सकेनन्।

उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले २२ हजार १९१मतान्तरले राप्रपाकी हिमला गुरुङलाई पराजित गरेका छन्। अधिकारीले ५२ हजार ८ सय १२ ल्याउँदा प्रतिस्पर्धी गुरुङले ३० हजार  मतप्राप्त गरिन्। अधिकारी यसअघि वडा नम्बर २१ को वडाध्यक्ष थिए। उनलाई भष्टाचार गरेको आरोपमा अख्तियारमा उजुरी समेत पारेको थियो।  

२९ वडामध्ये कांग्रेसले १६, एमालेले ६ र माओावदी केन्द्र र नेकपा (एकीकृत समाजवादी)  समान ३ र एक जना स्वतन्त्रले वडाध्यक्ष जितेका छन्। यसअघि एमाले एक्लै १४ वटावडाध्यक्ष जितेको थियो। अहिले ६ मा खुम्चिएको छ।

नेपाली कांग्रेसबाट वडानम्बर १मा केशव महर्जन २मा मनोज रानाभाट, ४, अर्पण पोख्रेल, ५मा युद्ध प्रसाद श्रेष्ठ, ६मा कृष्णलाल श्रेष्ठ, ८मा जीवनाथ कंडेल, १०मा परमेश्वर खनाल, १४मा राजेन्द्र सेखी, १५मा श्रीकृष्ण देवकोटा, १६मा अमृतराज हमाल, १७मा ललितमान तामाङ, २०मा मुक्तिप्रसाद घले, २१मा कृष्ण गुरुङ, २३मा दिपक दवाडी, २७मा रामबहादुर भण्डारी र २९मा सर्युबहादुर गुरुङ विजयी भएका छन्।  

एमालेबाट वडा नम्बर ३मा विकास थापा, ११मा कमल बहादुर मल्ल, १२मा लेखराज पन्त, १८मा बाबुराम अधिकारी, १९मा प्रकाश तामाङ, २८मा डण्डपानी रिजाल विजयी भएका छन्। नेकपा माओवादीबाट वडा नम्बर १३मा प्रकाश दवाडी, २४मा रामप्रसाद गोदार र २६मा ज्ञानप्रसाद खनालले जितेका छन्। 

त्यस्तै नेकपा (एकीकृत समाजवादी) बाट वडा नम्बर ७मा राजेन्द्रमणी काफ्ले, ९मा यमलाल कंडेल र २२मा बिष्णु महत्तोले जितेका छन्। स्वतन्त्रबाट वडा नम्बर २५मा छबिलाल सापकोटा विजयी भएका हुन्। यसअघि महानगरमा कमजोर रहेको कांग्रेस बलियो बनेको छ।

महानगरमा उपप्रमुख सहित १६ वडाध्यक्ष कांग्रेसले जितेको छ । १५५ कार्यपालिका सदस्य हुने महानगरमा कांग्रेसकोले उपमेयर सहित ७९  जनप्रतिनिधि निर्वाचित भएका छन्। त्यस्तै एमालेका ५०, माओवादीका मेयर सहित ९, समाजवादीका ५,राप्रपा ३ जान विजयी भएका छन्। पहिलो चरणमा १४७ प्रतिनिधि निर्वाचित हुन्छन्।

यसअघि कांग्रेसका उपप्रमुख सहित ६९ जनप्रतिनिधि निर्वाचित भएका थिए। एमालेका ७०  र माओवादी केन्द्रका ९ जना सदस्य  विजयी भएका थिए। 

को हुन् रेनु दाहाल  

दोस्रोपटक भरतपुर महानगरपालिकाको प्रमुख पदको जिम्मेवारी समाल्न पुगेकी रेनु दाहालको विस २०३३ असार २३ गते चितवनको भरतपुर वडा नं १४ भिमसेनगरमा भएको हो। बुवा पुप्पकलम दाहाल र आमा सीता दाहालकी दोस्रो सन्तानका रुपमा जन्मिएकी थिइन्। जनयुद्धको कारण बुवाआमासँगै घर छाड्न पर्दा एसएलसीभन्दा माथिल्लो अध्ययन गर्ने अवसर भने पाइनन्। युद्धकालीन समयमा बुवा प्रचण्ड र आमा सीतासँगै देशभित्रै तथा प्रवासमा संघर्ष गरिन्।  

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी भनेर चिनिएता पनि नेतृ दाहालको आफ्नै राजनीतिक र सामाजिक यात्रा छ।

युद्धकै समयमा प्रवास भारतमै रहँदा गुल्मीका अनिल कुमार पाठकसँग विवाह गरेकी  दाहालको ६ जनाको परिवार छ।  सासु, ससुरा, श्रीमान एवम् एक छोरा र छोरी उनको परिवारमा छन्। नेपाली, हिन्दी र अंग्रेजी भाषामा दख्खल राख्ने नवनिर्वाचित मेयर दाहाल राजनीतिक तथा थुप्रै सामाजिक संघसंस्थामा आवद्ध छन्।  युद्दकालीन समयमा भारतका विभिन्न प्रान्तमा सेक्रेटरीको भूमिका निर्वाहा गरेकी थिइन् ।  बेलायत, थाइल्याण्ड, श्रीलंका, इन्डोनेसिया लगायतका देशहरूको भ्रमण गरेकी छन्।

२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेका देवी ज्ञवालीलाई हराउदै भरतपुर महानगरको मेयर बनेकी थिइन्।

प्रकाशित: १० जेष्ठ २०७९ ०३:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App