८ वैशाख २०८१ शनिबार
निर्वाचन विशेष

पोखराको मेयरमा धनराज जितकाे नजिक

उपमेयरमा एमालेकी गुरुङको अग्रता कायमै

पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य जित नजिक पुगेका छन्।

सोमबार विहानसम्म १ लाख १९ हजार ३ सय १९ मत गणनामा प्रतिस्पर्धी  एमाले उम्मेदवार कृष्ण थापालाई ३ हजार ८ सय ५३ मतान्तरले पछि पार्दै उनी जित नजिक पुगेका हुन्। कुल १ लाख ४३ हजार २ सय २६ मत खसेकोमा अब २३ हजार ९ सय ७ मत गणना गर्न बाँकी छ।

आचार्यले हालसम्म ४७ हजार ९ सय ९२ मत प्राप्त गरिसकेका छन्। उनलाई एमाले उम्मेदवार थापाले ४४ हजार १ सय ३९ मत ल्याएर पछ्र्याइरहेका छन्। अब वडा नम्बर १७, १८, १९, २१, २२, ३१, ३२ र ३३ को अन्तिम नतिजा आउन बाँकी छ।

यी वडाहरुको प्रारम्भिक नतिजा अनुसार वडा नम्बर १७, १८, १९, ३१, ३२ र ३३ मा आचार्यलाई केहि मत बढी आइरहेको छ । बाँकी वडा नम्बर २१ र २२ मा भने थापालाई झिनो मत बढी छ। वडा नम्बर १७, १९ र २१ बाट थापालाई धेरै नै मत आउने अपेक्षा एमालेले गरेको थियो। तर झण्डै आधा मत गणना गर्दा ती वडाहरुमा थापालाई ह्वात्तै मत आएन। उसो त एमालेको गढका रुपमा परिचित वडा नम्बर ५ र २६ मा पनि थापालाई उत्साहजनक मत आएन। त्यसैले गणना भइरहेका वडाहरुको बाँकी मत गणनामापनि थापालाई ह्वात्तै मत आउने सम्भावना कमै छ।

मेयर पदमा राप्रपाका शंकर खरालले ५ हजार १ सय ६४ र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले २ हजार ८ सय १५ मत प्राप्त गरेका छन्।

उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङपनि जिततर्फ उन्मुख भएकी छन्। उनले पनि कांग्रेस उम्मेदवार कोपिला रानाभाटसँगको मतान्तर बढाउँदै लगेकी छन्। गुरुङले ५० हजार २ सय ६० मत प्राप्त गरेर अग्रता जारी राखेकी छन्।

उनलाई कांग्रेसकी रानाभाटले ४७ हजार ४ सय ७० मत ल्याएर पछ्याइरहेकी छन्। गुरुङ रानाभाट भन्दा २ हजार ७ सय ९० मतले अघि छिन् । उपमेयर पदमा राप्रपाकी रञ्जना सेनले ५ हजार १ सय १९ मत प्राप्त गरेकी छन्।

प्रकाशित: ९ जेष्ठ २०७९ ०२:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App