२६ वैशाख २०८१ बुधबार
image/svg+xml
निर्वाचन विशेष

महानगरमा नयाँ मेयर राजेशमान उपमेयर इम्तियाज आउने पक्का

मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्जको नयाँ नगरप्रमुख (मेयर)मा पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवार रहेका राजेशमान सिंह हुने निश्चित भएको छ। त्यस्तै नगर उपप्रमुख (उपमेयर)मा गठबन्धनकै उम्मेदवार नेपाली काँग्रेसका इम्तियाज आलम आउने पक्का भएको छ। गन्न बाँकी मतभन्दा बढी मतान्तरले प्रतिस्पर्धीभन्दा गठबन्धनका दुवै उम्मेदवार अगाडि छन्।

सोमबार बिहान सार्वजनिक मतगणना नतिजा अनुसार जसपाका सिंहले नगरप्रमुख पदमा ३८ हजार ४ सय ३७ मत ल्याएका छन्। प्रतिस्पर्धी एमाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को गठबन्धनको तर्फबाट एमाले उम्मेदवार विजयकुमार सरावगीभन्दा १८ हजार ७ सय ५८ मतले अगाडि छन्। गन्न अझै १६ हजार ७ सय ४७ मात्र बाँकी छ। सरावगीलेले अहिलेसम्म १९ हजार ६ सय ७९ मत ल्याएका छन्। वीरगञ्ज महानगरपालिकामा ९४ हजार ३ सय २४ मत खसेको थियो। यसमध्ये ७७ हजार ५ सय ७७ मत गिन्ती भइसेकको छ।

त्यसैगरी उपमेयरमा नेपाली काँग्रेसका उम्मेदवार इम्तियाज आलम १८ हजार ३ सय ४७ मतले प्रतिस्पर्धी एमालेसँग वीरगञ्जका लागि स्थानीय स्तरमा गठबन्धन गरेको लोसपाका उपमेयरका उम्मेदवार पुरुषोतमलाल झाभन्दा अगाडि छन्। यो अंक पनि गिन्ती गर्न बाँकी रहेको मत संख्याभन्दा बढी हो। यसरी अब गिन्ती औपचारिकता मात्र पूरा गर्न बाँकी रहेको देखिन्छ। वीरगञ्ज महानगरपालिकाको नयाँ मेयर राजेशमान उपमेयर इम्तियाज आउने पक्का भएको छ।

यसैगरी राप्रपाबाट मेयरका उम्मेदवार रहेका गिरिश गिरिले २ हजार ८ सय ५७ मत मात्र प्राप्त गरेका छन् र राप्रपाकै उपमेयरमा बिना जैसवालले ४ हजार ८ सय ३४ मत प्राप्त गरेकी छन्। मंगलबार अन्तिम नतिजाको मतांक आउने आकलन छ।

प्रकाशित: ९ जेष्ठ २०७९ ०१:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App