२० मंसिर २०८१ बिहीबार
image/svg+xml
निर्वाचन विशेष

नेपालगन्जमा २०४९ पछि कांग्रेसको पुनरागमन

२०१७ सालमा नेपालगन्ज नगर पञ्चायतका नामबाट स्थापना भई २०१९ सालमा नगरपालिकाको रूपमा स्थापित भएको नेपालगन्जमा हालसम्म नौ जना नगरप्रमुख बने। व्यक्तिका हिसाबले १०औं र कार्यकालका हिसाबले १२औं नम्बरमा नगरप्रमुखको जिम्मेवारी आइपुगेको छ ४२ वर्षीय प्रशान्त बिष्टको काँधमा।

नेपालगन्ज उपमहानगरको प्रमुखमा बिष्टको आगमनले नेपालगन्जको विकासमा कस्तो अर्थ राख्छ? त्यसको परीक्षण हुन बाँकी नै छ। तर, राजनीतिक रूपले यसले केही फरक अर्थ अवश्य राख्छ। बिष्टको जितसँगै देशको पुरानो र ठूलो सहरमध्ये एक नेपालगन्जमा करिब अढाई दशकपछि नेपाली कांग्रेसका प्रतिनिधिले प्रमुख हुने अवसर पाएका छन्।

२०४९ सालमा नेपाली कांग्रेसका तर्फबाट विजयकुमार गुप्ता नेपालगन्जको नगरप्रमुख निर्वाचित भएका थिए। त्यसपछि २०५४ सालमा एमालेका तर्फबाट उम्मेदवार बनेका डा. धवल शम्शेर राणा नगरप्रमुख निर्वाचित भए। २०५९ सालसम्म नगरप्रमुख रहेका डा. राणाको कार्यकालपछि करिब १५ वर्ष देश संक्रमणकालीन अवस्थामा जाँदा स्थानीय निकाय कर्मचारीको हातमा रह्यो।

वर्तमान संविधान २०७२ जारी भएपछि २०७४ सालको स्थानीय निर्वाचनमा फेरि डा. धवलशम्शेर नगरप्रमुखको उम्मेदवार बने र कांग्रेसलाई हराए। तर, त्यसबेला उनी राप्रपाबाट उम्मेदवार थिए। दोस्रो पटक नगरप्रमुख बनेका राणा यसपटक नगरप्रमुखको दौडमा नरहेपछि कांग्रेसका उम्मेदवार बिष्टले भारी मतान्तरका साथ एमालेका पशुपतिदयाल मिश्रलाई हराएका छन्।

हुन त नेपालगन्जका दोस्रो नगरप्रमुख कृष्णजंग शाह कांग्रेसकै प्रतिनिधि थिए तर शाहको कार्यकालपछि नेपालगन्जको नेतृत्व कांग्रेसको हातबाट फुत्किएर पञ्चायत पक्षधरहरूको हातमा गयो। नगरप्रमुखका रूपमा हालसम्मका ११ कार्यकालमध्ये ६ कार्यकाल त पञ्चायत पक्षधरले नै सम्हाले। पहिलो नगरप्रमुख मुलचन्द आजाद स्वतन्त्र रूपमा मेयर चुनिएका थिए।

२०२२ देखि २०४५ सालसम्म नेपालगन्जमा पञ्चायत पक्षधरले नै नगर चलाएका थिए। बहुदल पुनःस्थापनापछिको पहिलो स्थानीय निर्वाचनमा पाएको अवसर कांग्रेसले त्यसपछिको अर्काे चुनावमा जोगाउन सकेन। नेपाली कांग्रेसको बलियो पकड भएको भनिएको नेपालगन्जको नेतृत्वमा यसअघिका दुई कार्यकाल पनि पूर्णतया खाली भने थिएनन्।

२०५४ मा कांग्रेसका सुरेन्द्र हमाल र २०७४ मा उमा थापा मगर उपप्रमुख निर्वाचित भएका थिए। ‘तर, नगरप्रमुखकै रूपमा यसपटकको विजय नेपालगन्जको स्थानीय सरकारमा एक किसिमको पुनरागमन नै हो,’ कांग्रेसका पूर्व जिल्ला सभापति सनत रेग्मी भन्छन्। संगठनका हिसाबले बलियो रहेको कांग्रेस नेपालगन्जमा लामो समय नेतृत्वबाहिर रहनुका पछाडि उम्मेदवार छनोटमा भएका गल्ती र अवसरलाई सही तरिकाले सदुपयोग गर्न नसक्नु कारण रहेको विश्लेषकहरू बताउँछन्।

अब यसपटकको कार्यकाल बिष्को राजनीति मात्रै नभई नेपालगन्जमा कांग्रेसको राजनीतिका लागि अवसर र चुनौती दुवै रहेको रेग्मीले बताए। ‘अब सबै दलका प्रतिनिधिलाई साथमा लिएर चुनावमा गरेका वाचामा खरो उत्रियो भने मात्रै यो अवसरले कांग्रेसलाई फाइदा पुर्‍याउन सक्छ,’ रेग्मीले भने।

स्मरणयोग्य पूर्व नगरप्रमुखहरू

हुन त २०७४ अघिका स्थानीय निकाय र अहिलेका स्थानीय तहमा धेरै भिन्नता छ। अहिले स्थानीय तह आफैंमा एक स्वायत्तता प्राप्त सरकार हो। जोसँग न्यायालयदेखि प्रहरी पनि आफ्नै हुन्छ। उसले आफैं बजेट निर्माण गर्न सक्छ। त्यसको कार्यान्वयनका लागि आफ्नै कानुन बनाउन सक्छ। जुन अधिकार स्थानीय निकाय हुँदा थिएन।

स्थानीय निकायहरू विभिन्न स्रोतबाट आएको बजेटलाई कार्यान्वय गर्ने र समन्वय गर्ने भूमिकामा मात्रै थिए। तर, नगरप्रमुखको जिम्मेवारी पाएका व्यक्तिहरूको क्षमता र उनीहरूले गरेको कामको भने तुलना गर्न सकिन्छ। यस्तो तुलना गर्दा एक/दुई जनाबाहेक अरू सबै नगरप्रमुखहरू औपचारिकतामा मात्रै सीमित भएको जानकारहरू बताउँछन्।

नेपालगन्जको स्थानीय विकासमा पहिलो नगरप्रमुख मुलचन्द आजादको योगदान सबैभन्दा बढी रहेको नेपालगन्जको इतिहासका जानकार सनत रेग्मी बताउँछन्। ‘उहाँको पालामा नेपालगन्जमा सडक बत्तीदेखि सार्वजनिक सम्पत्तिको विकासका कामको सुरुवात भएको थियो। त्यसकारण उहाँको कार्यकाल सबैभन्दा बढीसम्झन योग्य छ,’ उनले भने।

त्यसपछिको जति विकास भयो, त्यो पञ्चायतको समयमा भयो। त्यसमा पनि पूर्णमान आजादको पालामा देखिने गरी विकास भयो। बहुदल स्थापनापछिका दुई नगरप्रमुखले औसत काम गरेको विश्लेषण नेपालगन्जवासीको छ। विजयकुमार गुप्ताको पालामा केही विकासका योजनाको रेखा कोरिएको र धवलशम्शेरले त्यसलाई कार्यान्वयन गरेको जानकारहरू बताउँछन्।

स्थानीय सरकारको नगरप्रमुख हुँदा भने धवलशम्शेरले अपेक्षाकृत काम गर्न नसकेको आम बुझाइ छ। भर्खरै सकिएको उनको कार्यकालमा नेपालगन्जमा ठूला कामको रूपमा जेजति काम भए ती एडिबी सहयोगप्रदत्त एकीकृत सहरी विकास परियोजनाका देन हुन्। बसपार्क, ल्यान्डफिल साइट, अधिकांश सडक र नाली सबै परियोजनाअन्तर्गत निर्माण भएका हुन्। 

धवलशम्शेर उक्त परियोजनाको कार्यान्वयन गर्ने बेलामा नगरप्रमुख बन्न पुगेका मात्र हुन्। जसको जस उनले स्वाभाविक रूपमा पाइरहेका छन्। यसबाहेक चक्रपथको असफलता, सार्वजनिक शौचालयको अव्यवस्था, सडक व्यवस्थापन, सडकपेटी व्यवसायीको व्यवस्थापन, विद्यालय सुधारका दृष्टिकोणबाट डा. राणाको कार्यकाल असफल रह्यो। अब यिनै अधुरा कामबाट नयाँ नगरप्रमुख बिष्टले आफ्नो औचित्य पुष्टि गर्नुपर्नेछ।

प्रकाशित: ८ जेष्ठ २०७९ ०४:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App