७ वैशाख २०८१ शुक्रबार
निर्वाचन विशेष

देउवा र दाहालकाे निर्णयविरुद्ध उम्मेदवार बनेका अधिकारी भारी बहुमतले विजयी

नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादीको तर्फबाट गठबन्धनमा सर्लाहीको लालबन्दी नगरपालिकामा नेकपा माओवादी केन्द्रले नगर प्रमुखको उम्मेदवार पाउने सहमति भएको थियो। त्यसको विपरीत नेपाली कांग्रेसबाट मनोनयन दर्ता गराएका वासुदेव अधिकारी अत्यधिक मतले नगर प्रमुखमा जित हासिल गरेका छन्।

नेपाली कांग्रेसको उम्मेदवारको रुपमा अधिकारीले मनोनयन दर्ता गराएपछि पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले जिल्ला निर्वाचन कार्यालयमा इमेलमार्फत अधिकारीको मनोनयन फिर्ता लिइएको पत्र पठाएका थिए तर पाँच बजेभित्र प्राप्त हुनुपर्ने पत्र सबा छ बजे आएपछि अधिकारीको मनोनयन कायमै रहन पुगेको थियो।

यसैगरी वैशाख १९ मा पनि देउवाले सर्लाहीका पार्टी सभापतिलाई अर्को पत्र लेख्दै गठबन्धनका तर्फबाट उम्मेदवार बनेकालाई समर्थन गरी नेकपा माओवादीको उम्मेदवारलाई सहयोग गर्न निर्देशन दिएका थिए। पत्रमा नेपाली कांग्रेसका अधिकारी उम्मेदवार नरहेको जिकिर पनि गरिएको थियो।

यसैगरी वैशाख २७ गते लालबन्दी पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ताधारी दलहरुको गठबन्धनको तर्फबाट नेकपा माओवादीका प्रहलाद बुढाथोकी उम्मेदवार भएकाले उनलाई भोट नदिने र नसघाउने कांग्रेसी नेता कार्यकर्ता कारबाहीको भागिदार हुने भन्दै चेतावनी पनि दिएका थिए।

गठबन्धनको नाममा आफ्नो पकडको पालिका अरुलाई नसुम्पने मनोविज्ञान बनाएका लालबन्दीका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु अलिकति पनि विचलित नभई आफूले बनाएको उम्मेदवार वासुदेव अधिकारीलाई जिताउन निरन्तर कम्मर कसेर लागिरहे।

चुनावको अन्तिम परिणाम आउँदा देउवा र दाहालको उम्मेदवार प्रतिस्पर्धामा कतै पनि आउन सकेनन्। वासुदेव अधिकारीले निकै फराकिलो बहुमतले नगर प्रमुख बन्ने मौका पाएका छन्। अधिकारीले ९५६१ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी एमालेका गोविन्दबहादुर महतले ७८८३ मत प्राप्त गरेका छन्।

गठबन्धनको भनिएका उम्मेदवार माओवादीका प्रहलाद बुढाथोकीले भन्दा अधिकारीले करिब साढे तिन हजार मत बढी ल्याएर जित हासिल गरेका छन्। गठबन्धनको निर्णय लालबन्दी नगरपालिकाको हकमा गल्ती भएको नेपाली कांग्रेसको तर्फबाट बलजफ्ती उम्मेदवार बनेको अधिकारी र त्यहाँका मतदाताले साबित गरिदिएका छन्।

प्रकाशित: ७ जेष्ठ २०७९ ११:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App