१७ असार २०८१ सोमबार
image/svg+xml
निर्वाचन विशेष

बुटवलमा कांग्रेसले फर्कायो शाख, खेलराज पाण्डे भारी मतअन्तरले विजयी

नेपाली कांग्रेसले बुटवल उपमहानगरपालिकामा २ दशक अघिदेखि गुमेको आफ्नो शाख फर्काउन सफल भएको छ। बुटवल उपमहानगरपालिकाको प्रमुखमा भारी मत अन्तरले कांग्रेसका उम्मेदवार खेलराज पाण्डे विजयी भएका छन्।

पाण्डेले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमाालेका बाबुराम भट्टराइलाइ ७ हजार ५३३ मतले पछाडी पार्दै मेयरमा निर्वाचित भएका हुन्। कांग्रेसका पाण्डेले ३० हजार १३० पाउँदा एमालेका भट्टराइले २२ हजार ५९७ मत ल्याएका छन्।

यसअघि २०७४ सालको निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग २३ सय मत अन्तरले पराजित भएका पाण्डेले यसपटक अघिल्लोभन्दा तेब्बरभन्दा बढी मत अन्तरले जितेका हुन्। उपमेयरमा नेकपा एमालेकी सावित्रा अर्याल पनि फराकिलो मतान्तरसहित विजयी भएकी छिन्।

अर्यालले २४ हजार ९०४ मत ल्याउँदा गठबन्धनका तर्फबाट उपमेयरका उम्मेदवार नेकपा एकीकृत समाजवादीका चिनबहादुर गूरुङले १६ हजार ९८० मत पाए। अर्यालले गुरुङलाई ७ हजार ९२४ मतले पछाडि पराजित गर्दै उपमेयरमा निर्वाचित भएकी हुन्।

पाण्डेसँगै बुटवलमा कांग्रेसले बहुमत वडामा जित हासिल गरेको छ भने एमाले खुम्चिएको छ। बुटवलका १९ मध्ये नेपाली कांग्रेसले ४, ५, ६, ७, ८, ९, १२, १३, १५, १६ र १७ गरी १० वडाध्यक्ष जितेको छ। यसैगरी एमालेले वडा नंं १०,११,१४, १८ र १९ जितेको छ।

नेकपा माओवादी, एकीकृत समाजवादी र स्वतन्त्रले एक–एक वडा जितेका छन्। बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले २ दशकपछि नेकपा एमालेबाट नेतृत्व फर्काउन सफल भएको हो। यसअघि बुटवलमा २०४९ सालमा भएको स्थानीय चुनावमा कांग्रेसका सूर्यप्रसाद प्रधान बुटवलका मेयर बनेका थिए।

२०५४ सालमा भएको स्थानीय चुनावमा एमालेका भोजप्रसाद श्रेष्ठले  प्रधानलाई पराजित गरे। मेयरमा पराजित प्रधानले दुई वर्षपछि २०५६ को संसदीय चुनावमा टिकट पाएर सांसद बने। त्यसबेला कांग्रेसका प्रधानसँग एमालेका विष्णु पौडेल पराजित भएका थिए। तर त्यसपछिका संसदीय र स्थानीय निर्वाचनमा एमालेले बुटवलमा एकछत्र जित निकालेको थियो।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको गृहनगर रहेको बुटवललाई एमालेको बलियो संगठन भएको क्षेत्रको रूपमा लिइन्थ्यो। २०५४ साल यताका हरेक निर्वाचनमा जित हासिल गर्दै आएको एमालेको विरासतलाई ढलाएका पाण्डेको जितले बुटवलमा एमालेको शक्तिलाई आकलन गरिएभन्दा बढी कमजोर बनाएको विश्लेषण भइरहेको छ। बुटवलबाटै लगातार तीन संसदिय निर्वाचन जितेका बिष्णु पौडेलको वडाबाट पनि यसपटक एमाले बडारीएको छ।

को हुन् खेलराज पाण्डे?

५ फागुन २०२६ मा बुबा लीलावल्लभ पाण्डे र आमा तारादेवी पाण्डेको कोखबाट स्याङ्जाको साविक आलमदेवी २ (हाल कालीगण्डकी–२) मा जन्मिएका पाण्डे हाल बुटवल उपमहानगरपालिका– ६ का बासिन्दा हुन्। १३ वर्षको उमेरमै २०३८ सालमा बुटवलमा झरेका पाण्डेले पार्टी राजनीति बुटवलबाटै सुरु गरे पनि विद्यार्थी संगठनमा आवद्ध भइ स्याङ्जाबाट आफ्नो राजनीतिक जीवन सुरु गरेका हुन्।

आदर्श मावि स्याङ्जाबाट २०३९ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएका पाण्डे २०४० सालमा पाल्पाको जेभीटी स्कुलमा पढ्दा नेविसंघकै समितिमा आवद्ध भए। त्यसपछि २०४३ सालमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत पाल्पा क्याम्पसमा विज्ञान संकायको इकाइ सदस्य, २०४४ सालमा अमृत साइन्स क्याम्पसमा नेविसंघको सचिव, २०४७ सालमा बुटवल बहुमुखी क्याम्पसको नेविसंघ उपसभापति र २०५२ सालमा रूपन्देहीको नेविसंघ सचिव बनेका हुन्।

विद्यार्थी राजनीति पछि तरुण दलमा आवद्ध पाण्डे २०५९ सालमा नेपाल तरुण दल रूपन्देहीको अध्यक्ष, २०६० सालमा नेपाल तरुण दल केन्द्रीय सदस्य भए भने २०६७ सालमा नेपाली कांग्रेस बुटवल नगर सभापति भए। २०६७, २०७२ र २०७८ सालमा भएका अधिवेसनबाट पाण्डे निरन्तर नेपाली कांग्रेस बुटवल नगर समितिको सभापति रहेर पार्टी र सामाजिक काममा क्रियाशील छन्।

श्रीमती सीता भट्टराई पाण्डे र छोरा अभिषेक पाण्डेका साथ बुटवलमा बसोबास गर्दै आएका पाण्डेले स्नातक तहसम्मको अध्ययन गरेका छन्। बिहानैदेखि साँझ अबेरसम्म पार्टी र सामाजिक काममा व्यस्त रहने पाण्डे बुटवलका हरेक वडा र तल्लो टोल कमिटीसम्म परिचित व्यक्ति हुन्।

प्रकाशित: ७ जेष्ठ २०७९ १०:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App