१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
निर्वाचन विशेष

नवनिर्वाचित जनप्रतिनिधि भन्छन्, जनताका आधारभूत आवश्यकतामा पहिलो नजर

तनहुँको शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डित पदभार ग्रहण गर्दै। तस्बिरः बिनोद ढुंगाना/नागरिक

स्थानीय तहको निर्वाचनपछि धेरैतिर परिणाम आउने क्रम चलिरहेको छ। निर्वाचन परिणाम आएर कतिपय स्थानीय तहका पदाधिकारीले कार्यभार समेत सम्हालिसकेका छन्। कार्यभार सम्हालेका ती पदाधिकारीले आगामी पाँच वर्षका लागि कामको खाका कोर्न थालेका छन्। निर्वाचनका बेला मतदाता समक्ष गरेको प्रतिवद्धतालाई प्राथमिकतामा राख्दै काममा लाग्ने उनीहरुको भनाइ छ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङ गाउँलेका समस्या समाधानमा आफ्नो प्राथमिकता रहने बताउँछन्। उनका अनुसार माछापुच्छ्रे गाउँपालिकाभित्र खानेपानी, सडक, स्वास्थ्य र शिक्षामा समस्या छ। ग्रामिण भेगका कतिपय विद्यालयको भौतिक अवस्था निकै नै कमजोर छ। ती पूर्वाधारलाई जतिसक्दो छिटो अब्बल बनाउनुपर्ने उनले आवश्यकता देखेका छन्।

गुरुङले भने, ‘बेलाबेला म गाउँमा पुग्दा विद्यालयमा व्यवस्थित पूर्वाधार नहुँदा बालबालिकाले दुःख पाएर पढेको देखेको छु, अब त्यस्ता विद्यालयको पूर्वाधारलाई अब्बल बनाउनुपर्नेछ।’ उनका अनुसार गाउँमा सधैंको समस्या हो, मोटरबाटोको। वर्षामा हिलो र हिउँदमा धुलोको समस्या हुन्छ गाउँका सडकमा। हिलोको समस्याले गर्दा वर्षायाममा गाडी चलाउन सकस हुन्छ। अबको पाँच वर्षभित्र कच्ची सडकलाई पक्कि बनाउने उनको वचन छ।

‘गाउँका कच्चि र महत्वपूर्ण सडकलाई कालोपत्रे नगरेसम्म जनताले सुख पाउँदैनन। त्यसैले सकेसम्म कच्चि सडकलाई पक्कि बनाउने हो। मुल सडकलाई कालोपत्रे नगरी हुँदैन,’ उनले भने, ‘अघिल्ला जनप्रतिनिधिले गरेका राम्रा कामलाई निरन्तरता दिनेछु। गाउँलेका समस्याप्रति म जानकार छु। ती समस्या समाधानमा मेरो प्रयास रहनेछ।’

उनका अनुसार कतिपय गाउँमा खानेपानीको उस्तै समस्या छ। मुल भएर पनि गाउँलेले घरसम्म खानेपानी ल्याउन सकेका छैनन। ती गाउँलेको घरसम्म पानी ल्याउने जिम्मा पनि आफ्नो रहेको उनले बताए।  गाउँपालिकाभित्रका मुख्य पर्यटकीय क्षेत्र माछापुच्छ्रे मोडल ट्रेक र मर्दी हिमाल पदयात्राको प्रवर्द्धनमा पनि उत्तिकै ध्यान दिने उनले बताए। पर्यटकीय गन्तव्यलाई अझ प्रवर्द्धन गर्दै ती गन्तव्यका पदमार्गलाई सुधार गर्ने पनि उनले बताए। ‘सबैतिर एउटै समस्या छैनन, फरक गाउँका फरक समस्या छन्। सबै समस्यालाई हामीले प्राथमिकता दिने हो,’ उनले भने।  

तनहुँको शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले हालैमात्र कार्यभार सम्हाले। पण्डितले पनि सडक सुधार, खानेपानी, शिक्षा, कृषिमै बढी प्राथमिकता दिने बताएका छन्। ग्रामिण भेगका ग्राभेल सडकलाई कालोपत्रे गर्ने आफ्नो प्राथमिकतामा रहेको उनले बताए। ‘अहिले ग्राभेल सडक छन्। ती सडकलाई कालोपत्रे गर्न जरुरी छ। त्यस्तै शिक्षाको गुणस्तर पनि उत्तिकै सुधार गर्नुपर्ने छ,’ उनले भने, ‘कृषिक्षेत्रका लागि विभिन्न कार्यक्रम ल्याएर उत्पादन बढाउने योजना बनाउने हो। उत्पादन बढाउनेतिर ध्यान दिने हो। उतपादन बढाउन सकेमा गाउँमै रोजगारी सिर्जना हुन्छ।’ स्वास्थ्यका पूर्वाधार अब्बल बनाउने, नगरलाई सफा, सुन्दर र सुरक्षित बनाउनेतर्फ पनि आफ्नो ध्यान रहने उनले बताए।  

पृथ्वी राजमार्गमा पर्ने शुक्लागण्डकी नगरपालिकाभित्र प्राकृतिक श्रोतको दोहन बढेको गुनासो बेलाबेला आउने गर्छ। सेती नदीको आडैमा क्रसर उद्योग संचालन भएको र बेलाबेला सेती नदीबाट जथाभावि नदीजन्य वस्तु निकाल्दा त्यसले आसपासका क्षेत्रमा नोक्सान पुर्‍याएको भनेर स्थानीयले गुनासो समेत गर्छन। नवनिर्वाचित मेयर पण्डितले ती क्रसर उद्योगलाई पनि व्यवस्थित गर्ने बताए। ‘जथाभावि नदीजन्य वस्तु निकासी गर्दा आसपासका क्षेत्रमा रहेका खानेपानीका मुहान सुक्ने अवस्था आएको छ। अब खोला गहिरिने गरी ढुंगा, गिट्टी, बालुवा निकाल्न पाइने छैन,’ उनले भने, ‘माथिबाट बगेर आएको वस्तुमात्र निकाल्ने हो, जथाभावी दोहन गर्ने होइन।’

क्रसर उद्योगमा ठूलो आकारको लगानी भएकोले ती व्यवसायलाई पनि व्यवस्थित गर्ने उनले बताए। ‘ठूलो लगानी क्रसर उद्योगमा छ। ती उद्योगलाई पनि व्यवस्थित गर्नुपर्छ। क्रसर उद्योगका कारण अहिले सेतीनदी प्रदूषित भएकोले जथाभावि फोहर नदीमा मिसाउन नदिन मेरो प्रयास हुनेछ,’ उनले भने, ‘दोहन रोक्न र कटान हुन नदिन पनि योजना बनाउनेछु।’  

तनहुँको भीमाद नगरपालिकाका नवनिर्वाचित मेयर दधीराज सुवेदी पनि जनताका घरदैलोमा पुग्दा शुद्ध खानेपानी नपाएको देखेकोले अब पहिलो प्राथमिकता शुद्ध खानेपानी जनताको घरसम्म पुर्‍याउने योजना रहेको बताउँछन्। ‘पदभार ग्रहण गर्ने बेला नै मैले वडाध्यक्षलाई निर्देशन दिएर शुद्ध पानी नपुगेको घरको तथ्यांक निकाल्न भनेको छु,’ सुवेदीले भने, ‘जनताको माग पनि शुद्ध पानी पाउनुपर्ने छ। हामीले पहिलो काम नै शुद्ध खानेपानी वितरणबाट थाल्नेछौ।’

सरकारले एक घर एक धारा भनेपनि विद्यालयमा शुद्ध खानेपानी अभाव भएकोले बालबालिकाले पानी नपाएको उनले बताए। ‘बालबालिकाले विद्यालयमा शुद्ध खानेपानी पाएका छैनन। त्यसैले घरमा मात्र नभई विद्यालयमा पनि शुद्ध खानेपानी पुर्‍याउनुपर्नेछ,’ उनले भने। त्यसबाहेक भीमाद बजारको ११ सय घरधुरी जग्गाको लालपुर्जा नभएको र ती घरजग्गाको लालपुर्जा दिलाएर त्यसवापत कर लिएर नगरपालिकाको आम्दानी बढाउने योजना उनले सुनाए।

‘जग्गाको लालपुर्जा दिलाउने काम पनि मुख्य प्राथमिकतामा छ। जग्गाको लालपुर्जा दिलाउना साथ नगरपालिकाको आम्दानी बढ्छ। नगरको आम्दानी बढेपछि बल्ल गाउँमा विकास गर्न सकिन्छ,’ उनले भने, ‘त्यसबाहेक सडकको ट्रयाक खोलिएको भएपनि ती सडक सुरक्षित छैनन। अब ती सडक पनि सुरक्षित बनाउने हो।’ त्यस्तै कटानको मारमा परेको भीमाद बजार जोखिममा छ। गत वर्ष पनि बजारको कटान रोक्ने गरी तटबन्ध बनाउने भनिए पनि काम अघि बढ्न नसकेकोमा यो वर्षभित्रै तटबन्ध बनाएर नगर र बजार सुरक्षित गर्नेतर्फ ध्यान दिने उनले सुनाए।  

कास्कीको मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङ पनि स्थानीय तहको प्राथमिकतामा मोटरबाटो र खानेपानी नै पहिलो नम्बरमा पर्ने भएकोले ती कामबाटै आफ्नो कार्यकाल सुरु गर्ने बताउँछन्। ‘खानेपानी, मोटरबाटो गाउँका समस्या हुन्। ती समस्या समाधान गरेर अघि बढ्ने हो,’ उनले भने, ‘गाउँमा स–साना काम र कुराले महत्व राख्छ।’ उनले मादीका वृद्धवृद्धा र अपांगका लागि वडाबाटै भत्ता दिलाउने गरी वित्तीय पहुँच पुर्‍याउन पहल गर्ने बताए।  

‘वडाबाटै वृद्धवृद्धा र अपांगले भत्ता पाउने हो भने उनीहरु खुसी हुनेछन। हेर्दा यो सानो काम हो, तर यसले ठूलो जनसमुदायमा खुसी थप्छ,’ उनले भने, ‘साना काम गरेर जनप्रतिनिधिले जनताको मन जित्नुपर्छ।’ त्यसबाहेक विभिन्न ठाउँमा सडकको स्तरोन्नती नगर्ने हो भने वर्षामा जनतालाई सहज हुनेछैन। गाउँपालिकाको बजेटले ती सबै सडक स्तरोन्नती गर्न गाह्रो हुन्छ। त्यसैले संघीय सरकारबाट बजेट लिएर भएपनि ती काम पुरा गर्ने उनले बताए।

प्रकाशित: ७ जेष्ठ २०७९ १०:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App