१६ चैत्र २०८० शुक्रबार
निर्वाचन विशेष

गोरखाका ठूला नेताले आफ्नै वडा र पालिका जिताउन सकेनन्

गोरखाका शीर्ष नेताहरु कोही वडामै कोही पालिकामा पराजित भएका छन्। जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आफ्नो गृह नगर जोगाउन सकेनन्।

कांग्रेस सँगको तालमेल सफल नभएपछि उनले एमाल सँग तालमेल गर्दापनि जसपा उम्मेदवारलाई माओवादी उम्मेदवारले मेयरमा पराजित गरे। माओवादी उम्मेदवार बिवस चिन्तन मेयरमा बिजयी बने। जसपाले पालुङटारमा तीनवटा वडा मात्रै जित्यो।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि आफ्नो वडा र गृहपालिका जिताउन सकेनन्। गोरखाको अधिकासं स्थानीय तहमा बिजयी माओवादी केन्द्रले शिर्ष नेता नारायणकाजी श्रेष्ठको पालिका सिरानचोक र वडा नम्बर ८ गुमाउनुपर्‍यो। गृहवडा र पालिकामा कांग्रेस बिजयी भएको छ। उनको पालिकामा माओवादी केन्द्रले तीनवटा वडा मात्रै जित्न सफल भयो।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डले पनि आफ्नो वडा जोगाउन सकेनन्। त्यहाँ जनता समाजवादी पार्टीका उम्मेदवार बिजयी बने। उनले आफ्नो वडा र गृह नगर पालुङटार जोगाउन सकेनन्। अघिल्लो निवार्चमा जितेको पालिकामा अहिले माओवादी केन्द्र बिजयी बन्यो। उनको गृहनगर पालुङटारमा कांग्रेसले तीनवटा वडा मात्रै जित्यो।

नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले पनि आफ्नो गृहवडा जिताउन सकेनन्। परिवार दलले स्थानीय निर्वाचनमा एमालेलाई सघाउने बताएका उनको गृहवडा माओवादी केन्द्रले जितेको छ। उक्त पालिकामा उनले सहयोग गरेका नेकपा एमालेले एउटा पनि वडा जित्न सकेन।

एमाले केन्द्रिय सदस्य रामशरण बस्नेतले पनि आफ्नो गृहपालिका गोरखा नगर जिताउन सकेनन्। गृहवडा एमालेलाई जिताएका उनको गृह नगरमा माओवादी केन्द्रले जित्यो। नगरमा भने दुईवटा वडा नेकपा एमालेले जित्न सफल भयो।

प्रकाशित: ६ जेष्ठ २०७९ १४:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App