१५ चैत्र २०८० बिहीबार
निर्वाचन विशेष

मेयर उपमेयर दुवै जोगियो महेश वस्नेतको क्षेत्रमा

२०७४ सालको स्थानीय निकायको निर्वाचनमा भन्दा जिल्लाका दुई वटा नगरपालिकामा मेयर गुमाएको नेकपा एमालले पार्टीका चर्चित नेता महेश वस्नेतको क्षेत्रको नगरपालिकामा भने मेयर उपमेयर दुवै जोगाउन सफल भएको छ। 

जिल्लाका युवा नेता एवं एमाले केन्द्रिय सदस्य वस्नेतको बसोबास रहेको जिल्लाको सूर्यविनायक नगरपालिकामा मेयर र उपमेयर दुवै जोगाउन पार्टी सफल भएको हो।  

बिहीबार सार्वजनिक अन्तिम मत परिणाम अनुसार उक्त नगरपालिकामा पार्टीका मेयर पदका उम्मेदबार बासुदेव थापा र उपमेयर पदका उम्मेदबार कल्पना भटराई दुवै विजयी हुन भएका छन्। नेपाली कांग्रेस सूर्यविनायक नगर समितिका सभापति एवं पार्टीबाट सूर्यविनायक नगरपालिकाका मेयर पदका उम्मेदबार निशान ढुंगेललाई झिनो मतले हराएर बासुदेव मेयरमा जित्न सफल भएको हो। यस्तै नेकपा एसका श्याम वस्नेतलाई हराई कल्पना उपमेयरमा विजयी हुन सफल भएको हो।  

उक्त वडाको वडा अध्यक्षहरुमा भने आधीआधी बाँंडिएको छ। एमालले पाँंच वटा वडामा वडा अध्यक्ष जित्न सफल भएको छ भने कांग्रेसले पनि पाँंच वटै वडामा वडा अध्यक्ष जित्न सफल भएको हो । यो नगरपालिकामा कुल १० वटा वडाहरु रहेका छन्। 

वस्नेतको क्षेत्र सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुमा एमालले वडा अध्यक्षलगायत प्यानलसहित विजयी हुन सफल भएको थियो। उता पार्टीका अध्यक्ष केपी शर्मा ओली वस्ने सूर्यविनायक नगरपालिका २ बालकोटमा भने एमालेका उम्मेदबारलाई हराई कांग्रेसका वडा अध्यक्ष विजयी भएका थिए।  

यसैवीच विहीबार जिल्लाका चार वटै नगरपालिकाहरुको सम्पूर्ण मत परिणाम आएको छ। सार्वजनिक अन्तिम मत परिणाम अनुसार नेपाली कांग्रेसले दुई जना मेयर, नेपाल मजदुर किसान पार्टी (नमेकिपा) र नेकपा एमालेले एक एक वटा मेयर जितेको छ। 

कांग्रेसले मध्यपुर थिमि र चाँंगुनारायणमा मेयर जितेको हो। उता नेमकिपाले भक्तपुर र एमालेले सूर्यविनायक नगरपालिकामा मेयर जितेको छ। उपमेयरतर्फ एमालेले दुई वटा जितेको छ। एमालेले सूर्यविनायक र चाँंगुनारायणमा गरी दुई वटा उपमेयर जितेको हो। बाँंकी दुई वटा उपमेयरमध्ये भक्तपुरमा नेमकिपाले र मध्यपुर थिमिमा माओवादीले जितेको छ।  

भक्तपुरमा भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिकामा १० दस वटा वडाहरु र मध्यपुर थिमि र चाँंगुनारायणमा नौनौ वटा वडाहरु गरी कुल ३८ वटा वडाहरु रहेका छन्। ती वडाहरुमध्ये सवैभन्दा वढी कांग्रेसले वडा अध्यक्ष जितेको छ।

कांग्रेसले मध्यपुर थिमिमा ६ वटा, सूर्यविनायकमा ५ वटा र चाँंगुनारायणमा ४ गरी कांग्रेसले कुल १५ वटा वडामा वडा अध्यक्ष जितेको छ। नेमकिपाले भक्तपुरका १० वटै वडा र चाँंगुनाराणको १ गरी ११ वटा वडमा वडा अध्यक्ष जितेको छ। एमालेले सूर्यविनायकमा ५, मध्यपुर थिमिमा २, चांगुनारायणमा २ गरी नौ वटा वडाहरु जितेको छ। यस्तै राप्रपाले चाँंगुमा दुई वटा वडामा वडा अध्यक्ष जितेको छ।  

२०७४ सालको निर्वाचनमा एमालेले सूर्यविनायक, चाँंगुनारायण र मध्यपुर थिमिमा गरी तीन वटा मेयर जितेको थियो भने नेमकिपाले भक्तपुरमा एक वटा मेयर जितेको थियो। यसहिसावले तुलनात्मक रुपमा यो पटक एमाले गएको स्थानीय निकायको निर्वाचन परिणाम भन्दा कमजोर देखिएको छ।

प्रकाशित: ५ जेष्ठ २०७९ १४:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App