१२ असार २०८१ बुधबार
image/svg+xml
निर्वाचन विशेष

मतपत्र विवादले रोकिएको धरानको मतगणना सुचारु

मतदान अधिकृतको दस्तखत विनाको मतपत्र भेटिएपछि रोकिएको धरानको मतगणना कार्य सुचारु भएको छ।माओवादीको विरोधपछि बुधबार दिउँसो करिब ४ बजेदेखि रोकिएको मतगणना आज सुचारु भएको निर्वाचन सहायक अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए। अहिले वडा ८,१२ र ११ को मतगणना भइरहेको छ।  

धरान वडा नं २० को मतगणना भइरहदा बुधबार १८ वटा मतपत्र दस्तखत विनाको भेटिएको थियो। वडा २० को मतगणना सकिदा नेपाली कांग्रेसका उम्मेद्वारले ५ भोटले जितेपछि माओवादी केन्द्रले उक्त मतपत्र सदर गर्नुपर्ने वा पुनः मतदान गर्नुपर्ने भन्दै विरोध प्रर्दशन गरेको थियो। दस्तखत नभएपछि वदर भएको मतपत्रमा ११ वटा माओवादी केन्द्रको भोट भएको दाबी छ।  

आयोगले दस्तखत नगरी मतपत्र वितरण गर्ने अधिकृतलाई कारबाही गर्न सिफारिश गर्ने र मतगणना सुचारु गर्ने निर्णय गरेको थियो। यहाँका राजनीतिक दलहरुले पनि बैठक बसेर वडा २० को मतगणना कार्य थाति राखेर अन्य वडाको सुचारु गर्ने सहमति गरेका थिए। माओवादी केन्द्रले वडा २० को पुनः मतगणना गर्नुपर्ने अडान राखेको छ भने नेपाली कांग्रेसले मतगणना सम्पन्न भइसकेको कारण नतिजा घोषणा गर्नुपर्ने माग राखेको छ।

धरानमा कुल १ लाख ३२४ मतदाता छन्। बैशाख ३० गतेको निर्वाचनमा ६२ हजार ८९७ मत खसेको थियो। बिहिबार दिउँसो १ बजेसम्म  २० वटा वडामध्ये १, २, ३, ४, ५, ६, ७, ९, १०, १८ र १९ वडाको मतगणना सम्पन्न भइसकेको छ। गणना सम्पन्न भएको वडाहरुमध्ये १, ३, ९ र १८ नेपाली कांग्रेसले जितेको छ भने २, ४, ५, ७, १० र १९ वडा एमालेले जितेको छ। वडा नं ६ को अध्यक्षमा भने स्वतन्त्र उम्मेद्वारले जितेको छ।

प्रकाशित: ५ जेष्ठ २०७९ ०९:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App