४ पुस २०८१ बिहीबार
image/svg+xml
निर्वाचन विशेष

खोटाङको दिक्तेल रुपाकोटमा गठबन्धन विजयी

नवनिर्वाचित मेयर उपमेयर भट्टराई र राई। तस्विरः महेश्वर

एमालेको गढ मानिएको खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धनले जितेको छ। भर्खरै घोषित परिणाम अनुसार मेयर, उपमेयरसहित १५ मध्ये ३ वटाबाहेक सबै वडामा गठबन्धनले किल्ला जमाउन सफल भएको हो।

गठबन्धनका तर्फबाट मेयरमा नेपाली काँग्रेसका तीर्थराज भट्टराईले झण्डै साढे ४ हजार मतान्तरले एमालेका कुमारप्रसाद आचार्यलाई पराजित गरेका छन्। भट्राईले ११ हजार ३ सय ७९ मत ल्याएर जित्दा निकटतम प्रतिद्वन्द्वी आचार्यलाई ६ हजार ९ सय ९६ मत परेको छ। राप्रपाबाट मेयरका प्रत्यासी जीवनकुमार श्रेष्ठले ४ सय ५ मत ल्याउँदा खम्बुवान राष्ट्रियमोर्चा नेपालका उम्मेदवार सुबास राईले ४८ मतमा चित्त बुझाउनु परेको छ।  

उपमेयरमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का बिसन राई पनि फराकिलो मतान्तरले विजयी भएका छन्। उनलाई १० हजार ४ सय ४१ मत पर्दा एमालेकी प्रत्यासी विणादेवी राईले ७ हजार ३ सय १९ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।  

१५ वडा रहेको दिक्तेल रुपाकोट मझुवागढीमा माओबादीले ७, काँग्रेसले ४ र जनता समाजवादीले १ वडा जित्दा एमालेले ३ वटामा चित्त बुझाउनु परेको छ। १ नं. वडाध्यक्षमा काँग्रेसका नवराज राईले जितेका छन् भने २ मा माओबादीका ध्रुबविक्रम राई, ३ मा एमालेका महेन्द्र राई, ४ मा माओवादीका खगेन्द्र राई, ५ मा काँग्रेसका दिनेश घिमिरे जित्दा ६ मा माओवादीकै माधव राईले जितेका छन्। त्यस्तै ७ मा काँग्रेसका हरि चौलागाई, ८ मा एमालोका लिलाकुमार चौहान, ९ मा माओवादीका दिनेश कठैत, १० मा जसपाका मुगाराम राई जित्दा ११ मा माओबादीकै इखबहादुर राईले विजयी भएका छन्।  

त्यसैगरी वडा नं. १२ र १३ मा माओबादीकै दानबहादर राई र भगेश्वर राईले वडाध्यक्ष जित्दा १४ मा एमालेका दिनेश राई र १५ मा माओवादीकै रामबहादुर कटुवालले बाजी मारेका छन्। खुल्ला सदस्य, महिला सदस्य र दलित महिला सदस्यमा पनि गठबन्धनका उम्मेदवारहरु भारी मतले विजयी भएका छन्। सदरमुकामसमेत रहेको यो नगरपालिकामा ०७४ को चुनावमा मेयर, उपमेयरलगायत अधिकांश वडामा एमालेको एकछत्र जस्तो दबदबा थियो। ०७९ को चुनावमा भने गडबन्धनका कारण दिक्तेल रुपाकोट मझुवागढी नगरमा एमाले अस्तित्व रक्षा गर्नसम्म सफल भएको छ।  

जिल्लाका साकेला, खोटेहाङ, बाराहापोखरी, रावाबेँसी, जन्तेढुंगा र केपिलासगढी गाउँपालिकामा पनि गठबन्धनले जितेको छ। साकेलामा एक मात्र महिला उम्मेदवार अरुणादेवी राई माओवादीबाट अध्यक्ष जितेकी छिन् भने उपाध्यक्षमा काँग्रेसका खेमबहादुर खड्का विजयी भएका छन्। 

त्यस्तै खोटेहाङ गाउँपालिका अध्यक्षमा माओवादीकै उदिमबहादुर राई र उपाध्यक्षमा काँग्रेसका रुपेश राई विजयी भएका छन्। बाराहापोखरीमा काँग्रेसका शालिग्राम बन्जरा र उपाध्यक्षमा एकीकृत समाजवादीका भुवलराज राईलले जितेका छन् भने रावाबेँसीमा काँग्रेसका फटिकमुमार श्रेष्ठ र उपाध्यक्षमा एमालेका कौशिला गुरुङ जितेकी छिन्। त्यस्तै केपिलासगढी गाउँपालिकामा काँग्रेसका समीर राई अध्यक्ष जित्दा माओवादीका गुरुराज राई उपाध्यक्ष जितेका छन्।  

यता ऐसेलुखर्क र दिप्रुङ चुईचुमा गाउँपालिकामा भने एमाले जितेको छ। ऐसेलुखर्कमा गिरेन्द्र गीरेन्द्र राईले गठबन्धनतर्फबाट माओवादीका श्रीबहादुर राईलाई हराएका छन्। उपाध्यक्षमा काँग्रेसका राजेश राजभण्डारी जितेका छन्। त्यस्तै दिप्रुङचुईचुमामा एमालेका लोकेन्द्र राईले काँग्रेसका नरेन्द्र राईलाई हराएका छन्। उपाध्यक्षमा एमालेकै अरुणा राईले जितेकी छिन्।  

गठबन्धन नभएको त्यहाँ माओवादीका गोपालचन्द्र राईले १ हजार ७ सय ६ मत ल्याउँदा एमालेले २ हजार ७ सय ३३ मत ल्याएर अध्यक्षमा बाजी मारेको छ। गोपाल नेपाल आयल निगममा सातौँ तहको अधिकृतबाट राजीनामा दिएर गाउँपालिका अध्यक्ष उठेका थिए।  

उता अर्को नगरपालिका हलेसी तुवाचुङमा मतगणना अन्तिम चरणमा पुगेको छ। हालसम्मको गणनामा काँग्रेसकी मेयर उम्मेदवार बिमला राई एमालेका खडेन्द्र राईभन्दा दुईसय मतले अगाडि छिन्। बिमलालाई ४ हजार ९ सय ८८ मत पर्दा खडेन्द्रलाई ४ हजार ७ सय ७१ मत परिरहेको छ। उपमेयरमा काँग्रेसका रमेश राउतलाई ४ हजार ६ सय ७२ मत आउँदा माओवादीका अम्बेवर राईले ४४ सय ६२ मत पाईरहेका छन्। सो नगरपालिकामा गठबन्धन नगरेका सत्तासिन पार्टीमध्येको माओवादीले उपमेयरमा एमालेसँग अघोषित तालमेल गरेको जनाइएको छ।

प्रकाशित: ४ जेष्ठ २०७९ ०९:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App