पाल्पाको बगनासकाली गाउँपालिका अध्यक्षमा नेकपा एमालेकी उम्मेदवार सरस्वती चिदी विजयी भएकी छिन्। उपाध्यक्षमा एमालेकै उम्मेदवार हरि पाठक विजयी भएका छन्।
चिदीले ६ हजार ४ सय ६६मत प्राप्त गरी गाउँपालिका अध्यक्षमा निर्वाचित भइन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सचिव समेत रहेकी सुनिता अधिकारीले ५ हजार ६ सय ३३ मत प्राप्त गरिन्। यस्तै बगनासकाली गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेकै हरि पाठक विजयी भएका छन्।
उनले ५ हजार ८ सय ७३ मत प्राप्त गर्दा नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष समेत रहेका खिमानन्द पाण्डेले ४ हजार ७ सय ७८ मत प्राप्त गरे।
बगनासकालीमा नौ वडामध्ये ६ वडामा एमालेले र तीन वडामा कांग्रेस विजयी भएको छ। पोखराथोक, नायरनमतलेस, खानीछाप, दर्लमडाँडा, खानीगाउँ र बराङदीमा एमालेका वडाध्यक्ष र चिर्तुङधारा, चापपानी र यम्घामा कांग्रेस विजयी भएको हो। बगनासकाली गाउँपालिकामा २०७४ सालको निर्वाचनमा कांग्रेसले अध्यक्ष र एमालेले उपाध्यक्ष जितेको थियो।
कुल १९ हजार ८ सय ३९ मतदाता रहेको बगनासकालीमा १३ हजार ७ सय १७ मत खसेको थियो।
प्रकाशित: ४ जेष्ठ २०७९ ०१:५५ बुधबार