१९ चैत्र २०८१ मंगलबार
image/svg+xml ०:५५ पूर्वाह्न
ग्राहक विशेष

भाइ कुरिरहेका ‘मखमली’हरू

तस्बिर : उपेन्द्र लामिछाने/नागरिक

'अरू सबै तेरो भाइ मर्‍यो भन्छन् तर मेरो आशा मरेको छैन । टीकाको दिन टुप्लुक्क आउँछ कि जस्तो लाग्छ । त्यसैले मखमली रोप्न छाडेकी छैन'

बाटुली थापा, भक्तपुर

 

थुप्रै भाइहरू तिहारको मुखमा पनि विदेसिन छाडेका छैनन् । एक साता मात्र कुरेको भए उनीहरूको निधार सप्तरङ्गी टीकाले सजिन्थ्यो । गला मखमली मालाले भरिन्थ्यो । हातभरि दिदीले दिएको मिठाइ र भाइमसलाको पोको हुन्थ्यो । मनभरि देउसी भैलोको उमङ्ग रहन्थ्यो तर उनीहरू उदास अनुहार लगाएर बाहिरिँदै थिए ।

 

तेल धारा लगाएर काललाई बरु रोक्न सकिन्थ्यो होला । गरिबीका कारण घर छाडेर जाँदै गरेको भाइलाई कसरी रोक्न सकिन्छ ? ‘वैदेशिक रोजगारीको पीडा मलाई काल भन्दा पनि डरलाग्दो लाग्छ ।’

रमिता ढुङ्गाना, नुवाकोट 

 

२०८०-८१ को भन्सार विभागको तथ्याङ्कअनुसार पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक निर्यात कारोबार १ करोड २ लाख १२ हजार रुपैयाँ बराबर छ । जबकि त्यही वर्षको पुष्प तथा पुष्पजन्य वस्तुको आयात कारोबार भने २७ करोड ७९ लाख रुपैयाँ छ । ‘यो एउटा सामान्य उदाहरण मात्र हो’, नर्सरी व्यवसायी सङ्घ नेपालका अध्यक्ष रामजीप्रसाद तिमल्सिना भन्छन्– कम्तीमा फूलमा मात्र आत्मनिर्भर बन्ने हो भने अरू कुरामा आत्मविश्वास स्वतः बढ्थ्यो ।  

उनको भाइ बेपत्ता भएको झन्डै दशक पुगेको छ । २०७२ वैशाख १२ को भूकम्पमा बेपत्ता भएका सूर्यविनायक–४ का सविन खड्काको ‘काजक्रिया’ गरेको पनि ३ वर्ष बितिसक्यो तर ७२ वर्षीय  दिदी (फुपू) बाटुली थापाले भाइ फर्कन्छ कि ? भन्ने आसमा मखमली रोप्न  छाडेकी छैनन् ।  

‘मखमली फक्रिएपछि भाइको सम्झना झन् धेरै आउँदो रहेछ’, आँगनको डिलमा रहेको फूललाई मुसार्दै उनले भनिन्– यो फक्रँदा भाइ हाँसे जस्तो लाग्छ ।  

नेपाली सेनामा कार्यरत सविन लाङटाङ राष्ट्रिय निकुञ्जमा खटिएका थिए । वैशाख १२ को भूकम्पसँगै आएको हिमपहिरोमा परी उनीसहित १० सैनिक बेपत्ता भए । त्यसयता बाटुली भाइको खोजीमा जीवन बित्दै गएको बताउँछिन् । सबैतिर खोजेर हारेपछि पिँढीको डिलमा बसेकी उनी भाइ आउने बाटो कुरिरहेकी छिन् ।  

उनी भाइको खोजीमा रसुवाका पहाडसमेत पुगिन् । नेपाली सेनाको हेडक्वार्टर पुगेर चाँडो खोजिदिन झगडा नै गरिन् । कैयौँ रात भोकै बसिन् । अहं..., तर भाइको अत्तोपत्तो नहुँदा निराश छिन् ।  

गाउँमा सबैजसोको फूल खेती भएकाले माला उन्ने खेताला पाउनसमेत समस्या रहेको उनले सुनाइन् । ‘केटाकेटी-बूढाबूढी सबै फूलमै व्यस्त हो’, उनी थप्छिन्– अहिले हामीलाई मखमली चटारो छ । 

उनले सुरुका केही वर्ष भाइको सकुशल फिर्तीका लागि घर मन्दिरमा अखण्ड दियो पनि बालेकी थिइन् । दियो निभ्ला बनेर कैयौँ रात अनिँदैसमेत रहिन् । ‘अनन्तलिङ्गेश्वर मन्दिर र घरमा दुवैतिर दियो बालेर बसेँ’, उनले थपिन्– ‘भाइ नफर्केपछि मन्दिर जान पनि छाडे ।’ सरकार र सेनासँग भाइ खोजिदिन हारगुहार गरे पनि पत्ता नलागेपछि भगवानको शरणमा परेकी उनले भाइ नफर्कँदा भगवान्सँग पनि झोक चलेको छ ।  

परिवारका एक्लो सन्तान सविन आफूसँग टीका लगाएपछि मात्र अन्य दिदीबहिनीसँग टीका लगाउने गरेको उनले सुनाइन् । सानैदेखि आफूलाई पछ्याउने गरेका कारण उसैप्रति धेरै माया गढेको थियो उनको पनि । ‘मलाई  लप्टनको पास आउटमा पनि सँगै ब्यारेक लगेको थियो’, अवरुद्ध गलाबाट सकी-नसकी आवाज निकालिन्– औँसीमा पनि आमा–बा भन्दा पहिला मेरो मुख हेर्न आउँथ्यो । त्यसैले उनको अगाडि सविनको कुरा उठ्नेबित्तिकै आँसु झारिहाल्छिन् । ‘अरू सबै तेरो भाइ मर्‍यो भन्छन् तर मेरो आशा मरेको छैन’, उनले भनिन्– ‘टीकाको दिन टुप्लुक्क आउँछ कि जस्तो लाग्छ ।’  

यसरी बाटुलीलाई त ‘मरिसकेको भाइ’ फर्कने आशा छ भने सोही गाउँकी नम्रता कार्कीलाई विदेश गएको भाइ फर्कने आशा किन नहोस् । उनले पनि खाडी मुलुक कतार गएको आफ्नो भाइ फर्कने आशमा मखमली रोप्न छाडेकी छैनन् । तर  भाइ  प्रवीण  नफर्केको ३ वर्ष भइसकेको उनले सुनाइन् । ‘कामबाट आउन मिलेन भन्छ, अर्को वर्ष आउँछु भन्छ,’ उनले थपिन्– यसो भन्दाभन्दै ३ वर्ष बितिसक्यो ।

उनले यसो भन्दै गर्दा नुवाकोट थानसिङकी रमिता ढुङ्गाना आफ्नो २१ वर्षीय भाइ रितेषलाई विमानस्थलमा बिदाइ गर्दै थिइन् । ‘मेरो एउटै भाइ त्यो पनि तिहारको मुखमा विदेशिँदैछ’, विमानस्थलमा भेटिएकी उनले अँध्यारो अनुहार लगाउँदै भनिन्– अर्को वर्षको तिहारमा आउने वाचा गरेर जाँदैछ ।  

कम्तीमा वडाले स्थानीय किसानसँग सहकार्य गरेर बजारको व्यवस्थापन गर्दिए मात्र पनि निकै राम्रो हुने उनको सुझाव छ । यस भेगमा मात्र ४ सय व्यक्तिले फूल रोपेका र करिब ५ लाख माला बिक्री हुने गरेको उनको अनुमान छ ।

भाइका लागि भनेर रोपेको मखमली फूल आँगनको डिलभरि फुलेका छन् । तर भाइ उड्दैछ । ‘तेल धारा लगाएर काललाई बरु रोक्न सकिन्थ्यो होला, गरिबीका कारण घर छाडेर जाँदै गरेको भाइलाई कसरी रोक्न सकिन्छ ?’, उनले थपिन्– वैदेशिक रोजगारीको पीडा मलाई काल भन्दा पनि डरलाग्दो लाग्यो ।  

यो विवशता वैदेशिक रोजगारमा जाने हजारौँ घर÷परिवारको साझा समस्या हो । स्वदेशमै रोजगार नमिल्दा युवा दसैँ, तिहार र छठ जस्ता पर्व मात्र हैन, बुढेसकालका आमाबुबालाई छाडेर दैनिक २ हजारको हाराहारीमा देश छाडिरहेका छन् ।  

चार–पाँच दिन कुरेको भए उनीहरूको निधार सप्तरङ्गी टीकाले सजिन्थ्यो । गला मखमली मालाले भरिन्थ्यो । हातभरि दिदीले दिएको मिठाइ र मसलाको पोको हुन्थ्यो । मनभरि देउसी भैलोको उमङ्ग रहन्थ्यो तर उनीहरू उदास अनुहार लगाएर बाहिरिँदै थिए ।  

‘पर्व भन्दा ठूलो काम हुँदोरहेछ’, गोर्खा आरुघाटका विनय अधिकारीले भने– ‘पर्वको अगाडि उड्नुपर्दा मन दुख्दोरहेछ ।’ दसैँको टीका लगाए पनि तिहारअगाडि हिँड्नुपर्दा दिदीको अनुहार सम्झेर निकै मन दुखेको उनले सुनाए । ‘मलाई बिदाइ गर्ने बेलामा दिदी रोएर आउनु भएन’, उनले थपे– मलाई त्यो दृश्य सम्झँदा पनि निकै दुःख लाग्छ ।  

उनले पनि खाडी मुलुक कतार गएको आफ्नो भाइ फर्कने आशमा मखमली रोप्न छाडेकी छैनन् । तर  भाइ  प्रवीण  नफर्केको ३ वर्ष भइसकेको उनले सुनाइन् । 

उनले यसो भन्दै गर्दा अर्का एक युवा झोला बोकेर विमानस्थलतर्फ जाँदै थिए । तिहारको मुखमा विदेश जानुको पीडा उनको अनुहारमा पनि प्रष्टै झल्कन्थ्यो । उज्यालोको पर्व आउँदै गर्दा उनी पनि अँध्यारो मुख लगाएर विदेश जाँदै थिए । ‘दिदीले मखमली पनि रोप्नुभएको थियो’, सिन्धुपाल्चोक मेलम्चीका नरेश चालिसेले भने– ‘तर माला उनिनु पहिल्यै म उड्दैछु ।’ घर÷परिवार र आफन्तका सपना पूरा गर्न मलेसिया जाँदै गरेका उनले उताबाट फर्केपछि मखमली माला लगाउने सुनाए ।  

तेलको धाराले घेरेर, कानमा ओखरको टक्टक् सुनाउँदै दिदीले लगाइदिएको सप्तरङ्गी टीका निकै प्यारो लाग्ने उनले सुनाए । ‘घेरो लाग्नुअगावै बाध्यताले हामीलाई उडायो’, उनले भने– ‘बिदाइका बेलाको दिदीको अनुहार सम्झँदा अहिले पनि नरमाइलो लागिरहेको छ ।’ आफूलाई दिदीले घरबाटै बिदाइ गरेर पठाएको पनि उनले सुनाए ।

गुण्डू अर्थात् मखमली गाउँ  

मखमलीको कुरा आएपछि भक्तपुरस्थित गुण्डूको नाम अगाडि आउँछ । यतिबेला यहाँ कोही फूल टिप्दै, कोही माला उन्दैछन् । कोही बजार जाँदै । कोही पैसा गन्दै । अन्यत्रका किसानलाई धान थन्क्याउने चटारो हुँदै गर्दा गुण्डूका किसानलाई भने यतिबेला मखमली फूलको चटारो छ । साउनदेखि मखमली टिप्न सुरु गरेका उनीहरूलाई तिहार नजिकिँदै गर्दा माला गाँस्न भ्याइ÷नभ्याइ छ ।  

‘मैले एक लाखको माला बेचिसकेँ’, स्थानीय सरस्वती विष्टले भनिन्– ‘अझै केही बेच्न बाँकी छ ।’  गाउँमा सबैजसोको फूल खेती भएकाले माला उन्ने खेताला पाउनसमेत समस्या रहेको उनले सुनाइन् । ‘केटाकेटी-बूढाबूढी सबै फूलमै व्यस्त हो’, उनी थप्छिन्– अहिले हामीलाई मखमली चटारो छ ।  

यो पनि पढ्नुहोस्

हिमाली भूमिको मोहनी

 

उनीहरूले उनेका मखमली माला तिहारको भाइटीकाका लागि विराटनगर, पोखरालगायतका ठाउँसम्म मात्र हैन, विदेशसमेत पुग्ने गरेको छ । गाउँमा थुप्रै युवा विदेश पनि गएका छन् । ‘हामीले भाइलाई माला लगाउन नपाए पनि यो माला विदेश पुग्छ’, नम्रता कार्की भन्छिन्– शायद हामीले उनेका माला उतै रहेका भाइहरूको गलामा पुग्नेछ ।

२० वर्षदेखि २० रुपैयाँ  

गुण्डूका लक्ष्मण थापाले मखमली लगाउन थालेको झण्डै दुई दशक भइसक्यो । बजारमा हरेक कुराको मूल्य बढे पनि मालाको मूल्य भने नबढेको उनी सुनाउँछन् । ‘उतिबेला २० रुपैयाँ गोटामा माला बेचेका थियौँ’, उनले भने– ‘अहिले पनि त्यही मोलमा बेच्न बाध्य छौं ।’ फूलले धोका नदिए पनि बिचौलियाले किसानलाई समस्यामा पारेको उनको बुझाइ छ ।  

२०८०-८१ को भन्सार विभागको तथ्याङ्कअनुसार पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक निर्यात कारोबार १ करोड २ लाख १२ हजार छ जबकि त्यही वर्षको  पुष्प तथा पुष्पजन्य वस्तुको आयात कारोबार भने २७ करोड ७९ लाख रुपैयाँ छ ।

‘व्यापारी सिधै बारीमा आइदिए किसान र उपभोक्ता दुवैलाई फाइदा हुन्थ्यो’, उनी भन्छन्– ‘तर त्यसो  भएको छैन ।’ कम्तीमा वडाले स्थानीय किसानसँग सहकार्य गरेर बजारको व्यवस्थापन गर्दिए मात्र पनि निकै राम्रो हुने उनको सुझाव छ । यस भेगमा मात्र ४ सय व्यक्तिले फूल रोपेका र करिब ५ लाख माला बिक्री हुने गरेको उनको अनुमान छ । विगतका दिनमा गुण्डूमा मखमली खेती हुने गरेकामा पछिल्लो समयमा यो खेती कटुञ्जे, सूर्य विनायक, लुभू, झौखेललगायत उपत्यकामा विभिन्न ठाउँमा फैलिएको छ । ‘गुण्डूका छोरीहरू बिहेपछि जता जान्छन् उतै मखमली रोप्न थाले’– यसरी विस्तार हुनुको एउटा कारण उनले सुनाए । एक दशकअघिसम्म  मखमली भन्नेबित्तिकै गुण्डू सम्झिन्थ्यो तर अहिले भने सबैतिर यो फूल रोप्न थालिएको छ ।  

पछिल्लो समय देशका अन्य भागमा पनि फूल उत्पादन हुन थालेको छ तर त्यो पर्याप्त छैन ।  पुष्प व्यवसायमा आत्मनिर्भर बन्ने रहरमा सरकारी नजर नपुगेको सरोकारवालाको गुनासो छ । ‘छिमेकी मुलुक भारतमा किसानलाई सरकारको ८० प्रतिशत अनुदान हुने गर्छ’, नर्सरी व्यवसायी सङ्घ नेपालका अध्यक्ष रामजीप्रसाद तिम्सिनाले भने– ‘तर नेपालका किसानलाई यसतर्फ केही सहयोग छैन ।’ पछिल्लो समय  सरकारले केही ठाउँमा सहयोगको नीति ल्याएको तर त्यो नक्कली किसानको हातमा पुगेको उनले सुनाए ।  

 ‘मेरो एउटै भाइ त्यो पनि तिहारको मुखमा विदेशिँदैछ’, विमानस्थलमा भेटिएकी उनले अँध्यारो अनुहार लगाउँदै भनिन्– अर्को वर्षको तिहारमा आउने वाचा गरेर जाँदैछ ।  

फ्लोरिकल्चर एसोसिएसनको तथ्यांकअनुसार पछिल्लो समय नेपालमा पुष्प व्यवसायीहरूको संख्या ११ सय ७४, पुष्प खेती भइरहेको जिल्ला ५२, उत्पादन क्षेत्रफल ३ सय ६० हेक्टर  छ भने रोजगारीको संख्या ५१ हजार ५ सय छ । तर आयात र निर्याततर्फ भने आकाश–जमिनको अन्तर छ ।  

तथ्यांक: कृषि पत्रिकाबाट

चाडपर्वमा  यहाँबाट केही लाखको फूल निर्यात हुने गरेको छ भने करोडौँको फूल आयात हुने गरेको तथ्याङ्कले देखाएको छ । २०८०-८१ को भन्सार विभागको तथ्याङ्कअनुसार पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक निर्यात कारोबार १ करोड २ लाख १२ हजार छ जबकि त्यही वर्षको  पुष्प तथा पुष्पजन्य वस्तुको आयात कारोबार भने २७ करोड ७९ लाख रुपैयाँ छ । ‘यो एउटा सामान्य उदाहरण मात्र हो’, नर्सरी व्यवसायी सङ्घ नेपालका अध्यक्ष रामजीप्रसाद तिमल्सिना भन्छन्– कम्तीमा फूलमा मात्र आत्मनिर्भर बन्ने हो भने अरू कुरामा आत्मविश्वास स्वतः बढ्नेछ । 

प्रकाशित: १४ कार्तिक २०८१ १६:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App