२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
धर्म/संस्कृति

ताइवानबाट गुरु खोज्दै नेपाल आएर भिक्षुणी बनिन स्याङ लोङ

अध्यात्मभूमि नेपालमा धार्मिक आस्थासहित आउनेको संख्या बढ्दै

ताइवानकी स्याङ लोङ  नेपाल आएर भिक्षुणी बनेकी छन् । कार्तिक १४ गते शुक्रबार थेम्सुम छ्योफेल्लीङ गुम्बामा एक धार्मिक कार्यक्रमको आयोजना गरी उनी भिक्षुणी बनिन् । स्याङ लोङले २० वर्षअघि नै गुरु खेम्बोच्चे आचार्य कमल मोक्तानबाट दीक्षा ग्रहण गर्दै थाङ्ग स्याङ यिन (गुरुमा) बनेकी थिइन् ।  

ताइवानकी उनी नेपाल आएर दीक्षा लिनु र भिक्षुणी बन्नुमा गज्जबको धार्मिक सम्बन्ध छ । विगतमा पनि उनले आफ्नो पूर्वजन्मलाई सपनामा देखेर गुरु खोज्दै नेपाल आएकी थिइन । २० वर्षअघि नेपाल आएकी उनले आचार्य कमल मोक्तानबाट गुरु मन्त्र लिँदै दीक्षित भएकी थिइन् ।  

उनीसँगै दीक्षा लिएका बालाजु बिहारका प्रमुख थुप्देन लामाले अनौठो संयोगले यिन नेपालमा रहेको बताए । उनले विगत सुनाउँदै भने, ‘उहाँ २० वर्ष अघि गुरुबाट दीक्षा लिनुभएको हो । त्यसपछि उहाँ आफ्नै ठाउँमा अलमलिनु भयो । एक वर्षअघि उहाँले सपनामा गुरुलाई देखेर खोज्न आउनुभएछ । त्यस बेला भेट्नु भएन । फेरि एक महिना अघि आएर खोजी गर्दा यहाँ गुरु रहनुभएको थाहा भयो । उहाँको परिनिर्वाण भएको पाँच वर्ष नै भइसकको रहेछ । उहाँको परिनिर्माण भएको पाँचौ पुन्य तिथीमा आज भिक्षुणी बन्नुभयो ।’

२० वर्ष अघि पनि आफूले सपनामा गुरुलाई देखेर खोज्दै नेपाल आएको र गुरुलाई भेटेपछि भावविह्वल हुँदै गुरु मानेको लामाले बताए ।  

अहिले यहाँ गुरुको गुम्बा भएको थाहा पाएपछि र उहाँका अरु सहयोगीहरूले गुरुको परिनिर्वाणकै दिन भिक्षुणी बन्न सुझाएकाले यही तिथीमा भिक्षुणी बनेको लामाले बताए ।  

बुद्धको ज्ञानलाई प्रयोगात्मक बनाउन नेपालमा काम गर्छु

शुक्रबार भिक्षुणी बनेकी थाङ्ग स्याङ यिनले बुद्ध धर्म र बुद्धको ज्ञानलाई नेपाली भूमिमा प्रयोगात्मक बनाउने आफ्नो सपना रहेको बताएकी छन् । आधुनिक बुद्धिजमको अध्ययन गरिरहेकी उनले आफ्नो अध्ययन अरुको भन्दा फरक रहेको र फरक क्रियाकलापबाट बुद्धिजम र बुद्धको ज्ञानलाई नेपाली भूमिका प्रयोग गर्ने बताइन ।  

उनले भनिन्, ‘म यहाँ गुरुकै खोजीमा आएकी हुँ । आजको दिनले मलाई धेरै खुसी मिलेको छ । म यहाँ बुद्धको ज्ञानलाई व्यवहारिक बनाउने सोचमा छु ।’

२० वर्षपछि पनि बुद्धको ज्ञानलाई व्यवहारिक प्रयोगात्मक बनाउन बुद्धभूमि खोज्दै आएको उनको भनाइ छ। उनले आफूले पनि ताइवानमा धेरै चेला बनाएको उल्लेख गर्दै ती चेला आफूसँगै रहेको बताइन ।  

नेपालसँग जोडिएको सम्बन्ध सुनाउँदै उनले भनिन्, ‘पहिला २० वर्षअघि नेपाल आएर गुरुको माध्यमबाट चेला बनेको हो । अघिल्लो वर्ष छोरा लिएर काठमाडौं आएको थिएँ । सपनामा यही ठाउँ देखेको हो । म यहाँ सपनामै देखेर आएको हो । नेपाली बुद्ध अनुयायीले यो ठाउँ देखाएपछि म आएँ । मेरो गुरुले परनिर्वाण प्राप्त गर्नुभएको रहेछ । सोही तिथी उपर्युक लागेर आज भिक्षा लिएकी हुँ ।’

आफ्नो गुरुको गुम्बालाई राम्रो बनाउने, विश्वमा चिनाउन दृढताका साथ काम गर्ने योजनामा रहेको पनि उनले सुनाइन । आज भिक्षा ग्रहणको खुसी साट्दै उनले भनिन्, ‘आज ममा भिन्नै खालको अनुभूत भएको छ । म धेरै खुसी छु । यो गुम्बालाई धेरै राम्रो बनाउने, विश्वमा चिनाउने गरी काम गर्ने दृढताका साथ काम गर्ने योजनामा छु ।’

उनले नेपालमा बौद्ध धर्मावलम्बीले पढ्ने विद्यालय र भिक्षुणी गुम्बा बनाउने योजना आफूसँग भएको बताइन् । उनले भनिन्, ‘टाढा ताइवानबाट आएको छु । मेरो सपना छ, यहाँ बौद्ध धर्माबलम्बीले बुद्धबारे पढ्ने स्कूल र भिक्षुणी गुम्बा बनाउने । म त्यो कामका लागि अब खट्ने छु।’

आफूले गुरुको आशिर्वादसँगै विश्वका मानव जातिमा सुख र शान्तिको कामना गरिरहेको बताइन ।  

थाङ्ग स्याङ यिनलाई दीक्षा दिने गुरु खेम्बोच्चे आचार्य कमल मोक्तानले वनारसमा अध्ययन गरेका थिए । उनको जन्म इलामको पञ्चकन्यामा भएको थियो भने आजभन्दा पाँच वर्षअघि आजकै दिन उनको परिनिर्वाण भएको थियो ।

नेपाल खोज्दै आउने धर्माबलम्बी बढ्दै

बालाजु बिहारका प्रमुख थुप्देन लामाले नेपाल आफैँमा अध्यात्मभूमि भएकाले अहिले नेपाल खोज्दै आउने धर्माबलम्बीको संख्या बढ्दै गएको बताए । उनले भने, ‘नेपाल आफैँ ज्ञानभूमि, शान्तिभूमि, देवभूमि हो । नेपाललाई हाम्रो समूदायले त खुल्ला विश्वविद्यालय भन्ने गरेको छ । त्यसमा पनि अध्यात्मिक हिसाबले सबैभन्दा उर्भर भूमि विश्वले नेपाललाई नै मान्छ ।’

बोद्ध धर्माबलम्बीले नेपाल खोज्दै आउँदा खुसी लागेको सुनाउँदै उनले भने, ‘हुन त ज्ञानको हिसाबले विश्वका धेरै देशमा विद्वान गुरुहरू हुनुहुन्छ होला । तर भूमिका हिसाबले सबैभन्दा उर्भर र अध्यात्मभूमि नेपाललाई मान्ने गरिएको छ । हामीले महायानकै कुरा गर्ने हो भने सबैभन्दा शक्तिशाली गुरुहरु तिब्बतमा पाउनुहुन्छ । त्यसपछि भुटानमा तर उहाँहरूको पृष्ठभूमि खोज्न नेपाल नै आउनुपर्छ। त्यसैले पनि नेपाली भूमिको विशेष महत्व छ ।’

आफूले नेपाल आउने गुरु तथा गुरुको ज्ञानको खोजीमा आउने चेलासँग कुरा गर्दा तपस्याकै लागि नेपाल आउनेको संख्या बढ्ने गरेको पनि उनले सुनाए । उनले भने, ‘विश्वमा धेरै धर्माबलम्बी छन् । विश्वका सबै ठाउँको आआफ्नै महत्व छ । तपस्या गर्न नेपाल विशेष छ । अरु ठाउँमा १० वर्ष तपस्या गर्दा प्राप्त हुने सिद्धि नेपालमा एक महिनाको तपस्याले नै प्राप्त हुने विश्वास गरिन्छ । यहाँ आउने गुरु तथा चेलाहरूसँग कुरा गर्दा त्यस्तो बताउनुहुन्छ ।’

प्रकाशित: १४ कार्तिक २०८२ २१:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App