वैशाख लागेसँगै मिथिलाञ्चलमा विवाहको माहोल उत्कर्षमा पुग्छ । मिथिलाञ्चलमा केही दशकअघिसम्म स्वयंवर संस्कारअनुसार विवाह छिनोफानो हुन्थ्यो। राजा जनकको यो परम्परा चल्दासम्म केटी पक्षकै बोली बिक्थ्यो। केटी पक्षकै सर्तअनुरूप केटा पक्ष विवाहका लागि राजी हुन्थे। केटा पक्षबाट बेहुली (छोरी) असुरक्षित हुने अवस्था थिएन। तर अहिले समय उल्टिएको छ। केटा पक्षको सर्तअनुरूप केटी पक्ष विवाहका लागि बाध्य हुनुपर्ने अवस्था छ।
तामझामका साथ हुने दाइजो विवाहमा प्रदेश सरकारका मन्त्रीदेखि सांसद र स्थानीय सरकारका प्रतिनिधिको उत्साहपूर्ण सहभागिता देखिन्छ। यसले दाइजो निरुत्साहनभन्दा पनि प्रोत्साहन भइरहेको सामाजिक अभियन्ताहरूको टिप्पणी छ। मानव विकास सूचकांकअनुसार यस प्रदेशको गरिबी दर ४७.९ प्रतिशत छ।
मधेसमा हुने विवाहको सुरुवात बडो रोचक छ। केटाको रोजाइ पसलमा वस्तु खरिदका लागि गरिने मोलतोलजस्तै हुन्छ। फलानाको छोरा डाक्टर पढेको छ ? हो त। कति कमाउँछ ? महिनाको २÷४ लाख कमाइहाल्छ नि ! त्यसो भए छोरीको विवाह ऊसँग गर्दा कसो होला ? दाइजो कति लेला? चलनचल्तीमा डाक्टरको त महँगो छ। मोलमोलाइ गर्दा ४० लाखसम्म झर्ला कि ! मधेसमा केटा (बेहुला) छनोटको पहिलो चरणमा केटी (बेहुली) का अभिभावक अगुवासँग (मध्यस्तकर्ता) विवाहको कुराकानीयस्तै संवादबाट सुरु गर्छन्। त्यहींबाट अघि बढ्छ विवाहको मोलमोलाइ।
मधेसी समाजमा केटी पक्षले विवाहको कुरा छिन्न केटाको घरमा जानुअघि आफ्नो औकात केटा पक्षकै जस्तो बलियो बनाउनुपर्छ । केटा पक्षले सर्तमाथि सर्त राख्दै जान्छन्, केटी पक्षले यति त सक्दिनँ भन्दै मोलमोलाइ गर्दै सर्त घटाउने प्रयत्न गर्छन्। मोलमोलाइको यो क्रम दाइजोको टुंगो नलागेसम्म चल्छ। मधेसी समाजमा व्याप्त यो कुप्रथा धेरै वर्ष पुरानो भने होइन।
मैथिली संस्कृतिका जानकारका अनुसार चार दशकअघिसम्म मधेसी समाजमा केटा पक्षले केटी माग्न जाने परम्परा थियो। त्यस बेला बिहेबारीमा दाइजोको कुरीति छिर्न पाएको थिएन। जीविकाको पहिलो आधार कृषि बनाएका मधेसी समुदाय कर्मशील थिए। त्यसैले कर्मशील केटी (बेहुली) माग्थे। जब यो समुदाय कृषि कर्मबाट रोजगारीमा प्रवेश गर्यो, त्यसपछि दाइजोको चलन बढेको मैथिली संस्कृतिका जानकारहरू बताउँछन्। मधेसका किसानको (जमिनदार) रूपान्तरणसँगै समाजमा दाइजो प्रवेश पाएको उनीहरू बताउँछन्।
मधेसका जमिनदार किसानबाट मालिक, हाकिम बनेपछि समाजमा दाइजो प्रवेश गरेको हो। त्यसपछि मधेसी समाजमा दाइजो फैलँदै गयो। कर्मशील वर्गका लागि मिलीजुली श्रम गर्ने कुराले महत्त्व राख्थ्यो तर कर्मशीलतालाई पुँजीले छोप्दै गएपछि दहेज कुप्रथाका रूपमा समाजमा जरा गाड्दै गयो। मिथिला संस्कृति जानकारका अनुसार मधेसमा दहेज भित्रिएको मैथिली ब्राह्मण र कायस्थ समुदायबाट हो। यी समुदायका महिला बाहिर काम गर्न जाँदैनथे। जसकारण यी समुदायका महिला पुरुषमाथि निर्भर थिए। पुरुषमाथि निर्भरताका कारण केटी पक्षका अभिभावकले मेरी छोरी सुखी घरमा रहोस् भनेर जब केन्द्रित हुन थाले, केटाको भाउ बढ्न थाल्यो। ब्राह्मण र कायस्थ समुदायका केटी पक्षका अभिभावकले मालिक, महाजन, हाकिमको घर ताकेर छोरी दिने परम्परा सुरु गरेपछि केटाको भाउ बढेको जानकारहरू बताउँछन्। यस समुदायमा हाकिम, मालिक र महाजन वरका लागि केटी पक्षले विवाहमा खुबै लेनदेन गरेको देखेपछि अरू जातमा पनि यो प्रथा सर्दै गएको पाइन्छ।
यसरी विकृत हुँदै गयो विवाह
सीमावर्ती विहार राज्यको मिथिलाञ्चलमा खासगरी ब्राह्मण र कायस्थ समाजमा विवाहको एउटा अद्भूत एवं रोमाञ्चकारी परम्परा सुरुवात भयो, जहाँ बेहुलाको प्रदर्शनी हुन्छ। मिथिलाञ्चलअन्तर्गत विहार राज्यको मधुवनी जिल्लास्थित सौराठ गाउँमा वैवाहिक सभा आयोजना हुँदै आएको छ। इतिहासकारहरू सौराठ सभाको सुरुवात १४औं शताब्दीमा कर्नाट वंशीय राजा हरिसिंह देवले गरेको ठान्छन्। राजा हरिसिंह देवको शासनकालमा विद्वान्बिच शास्त्रार्थ हुन्थ्यो। यसमा विजयी विद्वान्लाई पुरस्कृत गरिन्थ्यो । सन् १३२६ मा राजा हरिसिंह देवले अविवाहित मैथिल ब्राह्मण युवकबिच शास्त्रार्थ गराएका थिए। लामो समयसम्म तर्कवितर्क चलिरह्यो र त्यसमा वेद, वेदान्त, योग र न्यायजस्ता विषय उठ्थ्यो। राजा हरिसिंह देवले ब्राह्मण युवकको विद्वता देखेर प्रभावित भए र अनौठो तरिकाले ती युवकलाई पुरस्कृत गरे। यद्यपि शास्त्रार्थमा भाग लिने युवक अविवाहित भएकाले पुरस्कारस्वरूप उनीहरूलाई एकएक सुन्दर बेहुली विवाह गर्ने मौका दिए।
भनिन्छ, त्यसपछि यसको आयोजनले निरन्तरता पाउन थाल्यो। पहिले मैथिल ब्राह्मण युवकको सभा हुने गथ्र्याे। यसमा उनीहरूबिच शास्त्रार्थ हुन्थ्यो र बेहुली पक्ष आफ्नी छोरीका लागि योग्य बेहुलाको खोजी गर्न त्यहाँ भेला हुन्थे। यसले मैथिली समाजमा बसालिदिएको शिक्षाका आधारमा वर चुन्ने परम्परापछि विकृत बन्यो। छोरीको विवाहका लागि एउटै केटामाथि धेरैले दाबी गर्न थालेपछि लेनदेनले प्रवेश पायो। दाइजो प्रथा यहींबाट सुरु भएको जानकारहरू बताउँछन् । एउटै केटामाथि धेरैको आँखा परेपछि ‘डाक बढाबढ’ हुन थाल्यो । पछिल्लो समय मधेसी समाजमा देखिएको दहेजरूपी प्रथा यसैको दुष्परिणाम हो।
मधेसी समाजमा छोरीलाई ‘पराया धन’ भन्ने गरिन्छ । यो मान्यताका कारण छोरीलाई धेरै पढाउनेभन्दा छिट्टै विवाह गरिदिनु यहाँ उचित ठानिन्छ। ‘छोरी दिन्छु तर दाइजो दिन्नँ’ भन्ने अभिभावक बिरलै भेटिन्छन्। ‘दाइजो होइन, गुणी बुहारी’ चाहिन्छ भन्ने अभिभावक पनि दुर्लभ छन् मधेसमा।
यसरी सम्पन्न हुन्छ विवाह
मधेसमा विवाह संस्कार सम्पन्न गर्न धेरै चरण पार गर्नुपर्छ। विवाहको पहिलो चरणमा केटी पक्ष केटाको घरमै पुगेर टीकाटालो गर्छन्, जसलाई छेका भनिन्छ। सामान्य मन्त्रोच्चारण गरेर केटालाई छेक्ने (घरजग्गा खरिद गर्दा बैना दिएजस्तै) काम गरिन्छ । स्याउ, केरा, सुन्तला, पानको पात, सुपारी, अक्षता राखेर केटीको भाइले केटाको हातमा सामान सुम्पिन्छ । यो पहिलो विधिबाटै केटी पक्षले गोजी खाली गर्नुपर्ने बाध्यता छ । समाजकै रोहबरमा छेका (तिलक) हुने भएकाले केटी पक्षले केटालाई कति रकम (खुट्टा ढोगेबापत) चढाए, त्यो सबैको चासोको विषय हुन्छ। त्यसैले केटीका अभिभावकले सामाजिक प्रतिष्ठाका लागि पनि मोटै रकम चढाउनुपर्छ।
केटी पक्षले सकारेको नगद (दाइजो रकम) समेत सम्भव भएसम्म यसै दिन बुझाउनुपर्ने हुन्छ। जिन्सी सामान टेलिभिजन, फ्रिज, पलङ, सोफासेट, भाँडाकुँडा, गरगहनाबारे समेत एक–एक खोलेर केटापक्षलाई बुझाउने समयसीमा तारेख तोकिन्छ। बिहेको राति जन्तीका लागि खानपिनको मेनु प्रायः केटा पक्षले छेकाकै दिन तयार पारिदिएर केटी पक्षलाई बुझाउँछन्। जन्ती कति ल्याउने भन्ने विषयमा समेत केटा पक्ष र केटी पक्षबिच विवाद हुन्छ। केटा पक्ष जतिसक्दो धेरै लैजाने र केटी पक्ष थोरै ल्याउनुपर्ने मान्यता राख्छन्। सामानको गुणस्तरमा समेत बहस हुन्छ। गुणस्तरीय ठहरियो भने केटी पक्षले वाहवाही पाउँछन्, नत्र आलोचना र गाली । छेकाका बेला गाइने मौलिक गीतमा समेत केटालाई दिइएको सरसामानको चर्चा गरिन्छ।
विवाहको पहिलो रात खानपिनको मेनु प्रायः केटा पक्षले तयार पारिदिएकै अनुसार हुनुपर्छ । केटी पक्षले पनि छोरीको विवाहमा बराती (जन्ती) लाई सकभर मिठो परिकार नै खुवाउने कोसिस गर्छन् तर बरातीलाई खानाका ८४ व्यञ्जन पस्के पनि केटापक्ष सन्तुष्ट हुन्नन् । हात चुठ्ने बेलामा केही न केही कमजोरी निकालेर केटी पक्षसमक्ष गुनासो गरिहाल्छन्। सिन्दूर दानका बेलासम्म आइपुग्दा केटी पक्षको कबुलेको सामानबाहेक दाइजोको रकम केटा पक्षलाई पुगिसकेको हुन्छ तर सिन्दूर दानका बेला केटा रिसाएर ठुस्स पर्छन्। केटी पक्षले केटालाई फकाउन थप सामान कबोल गर्छन्। त्यसपछि सिन्दूर दान हुन्छ।
मिथिला–मधेसमा विवाह दिउँसो नभई रातभर चल्छ। जब जन्ती बेहुलीको घर आउँछन्, बेहुलालाई आरती गरेर भित्र लगिन्छ। त्यसपछि बेहुलाको ‘परीक्षण’ विधि सुरु हुन्छ र यसको निम्ति परीक्षण गीत गाइन्छ।
‘परिछन चलियौ सखी रामसन जमैया हे सोहाबन लागे...’
जन्ती आउँदा थरीथरीका सामग्री डालोमा लिएर महिलाहरू चामलमाथि दियो बालेर तैनाथ हुन्छन्। परीक्षण विधिको मुख्य विशेषता बेहुलीका लागि बेहुला अब्बल छन् कि छैनन् भनेर मूल्यांकन गर्ने हो। त्यसैले दुलहा आइसकेपछि पानको पातले उनको नाक समातेर भित्रसम्म लगिन्छ।
दोस्रो चरणको परीक्षण सकिएपछि दुलहालाई डालोमा भएको पानको पात समातेर तीनपटक उठबस गर्न लगाइन्छ। केटाका हातखुट्टा ठिकठाक छन् कि छैनन् भनेर जाँच्ने यो परीक्षणको उद्देश्य हो।
त्यसपछि दुलहालाई फेरि पानको पातले नाक समातेर घरको आँगनमा लगिन्छ। त्यहाँ सालीहरूले दुलाहाको ‘द्वार छेकाइ’ गर्छन्। त्यस बेला दुलहासँग हँसीमजाक हुन्छ, पैसा पनि मागिन्छ।
यसरी आँगनमा ल्याउँदासम्म निरन्तर गीत चलिरहेको हुन्छ, जसलाई ‘बटगवनी’ भनिन्छ। बाटोमा गाउने गीत भएकाले यसलाई बटगवनी भनिएको हो।
आँगनबाट दुलहालाई फेरि कोठामा लगिन्छ । त्यहाँ ‘ओठंगर कुटाइ’ विधि हुन्छ। यो विधिअन्तर्गत सात जना विवाहित पुरुष र एक जना बेहुला गरी आठ जनाले ओखलमा धान कुटेजस्तो गर्छन् । त्यही भएर यसलाई ओठंगर भनिएको हो। जब बेहुला ओठंगरमा व्यस्त हुन्छन्, बेहुली आँप र महुवासँग विवाह गर्न जान्छिन् । यति बेला पनि बेहुली जाँदै गर्दा बटगवनी गीत गाइन्छ । यसले वैवाहिक जीवन आँपजस्तै मधुर होस् र महुवाजस्तै मादक होस् भनेर संकेत गर्न खोजिएको हो। अचेल महुवासँग विवाह गर्ने चलन लोपप्रायः भइसक्यो। कारण महुवा पाउनै छोडिसक्यो । आँपसँग भने अझै विवाह हुन्छ । यो विधिका लागि कम्तीमा आँप फलेको बोट हुनुपर्छ। त्यहाँ गएर आँपको बोट वरिपरि पाँचपटक घुम्ने र पूजाआजा गर्नुपर्छ । विवाहको सम्पूर्ण विधि पूरा गरिसकेपछि बेहुलालाई कोहबर घरमा सुताइन्छ भने बेहुलीलाई विधकरीसँग चार दिन छुट्टै राखिन्छ । यो विधि मैथिल ब्राह्मण, कायस्थ जातिमा हुन्छ । यी चार दिन उनीहरूले नुन पनि खाँदैनन् ।
यसरी छुट्टाछुट्टै सुताउनु र नुन नखुवाउनुको कारण पनि रोचक छ । नुन नखाएपछि शारीरिक रूपले दुवै शिथिल हुन्छन् । यसले उनीहरू मानसिक रूपमा मात्र एकअर्काको नजिक आउन सक्ने हुन्छन् । चार दिन अलग्गै राख्नुको अर्को कारण पनि छ।
यसबिच बेहुलामा केही शारीरिक वा व्यावहारिक कमजोरी देखियो भने उसलाई छोरी नदिई फिर्ता पठाइन्छ । कुनै कमजोरी देखिएन भने बल्ल पूर्ण विवाह गराइन्छ।
यी चार दिनको अवधिभरि हरेक दिन बेहुलाले आफू बस्ने कोहबरबाट विधकरीसँग बसेकी बेहुलीलाई लिन जान्छन् र हात समातेर गौरी पूजा चलिरहेको ठाउँसम्म ल्याउँछन् । पूजाआजा गर्छन् । यी चार दिनमा केटा र केटी दुवैले घरका काम गर्दैनन् । उनीहरूलाई आँगन र घरको चार किल्लाभन्दा बाहिर जाने छुट हुँदैन । उनीहरू सँगै नबसे पनि एकअर्काबाट अलग नहोऊन् र विवाहको समयमा केही अशुभ नहोस् भनेर यसो गरिएको भनाइ छ।
चार दिन पूरा गरेपछि दुलहा र दुलहीले चार दिनअघि घैलामा ल्याएको पानीले नुहाउनुपर्छ । त्यसअघि बेसार र दही मिसाएर वा हल्दी लगाउने चलन छ । बेहुला र बेहुलीले त्यस दिनसम्म पहेँलो लुगा लगाएका हुन्छन् । बेहुलाले पहेँलो धोती र बेहुलीले पहेँलो सारी लगाउँछन् । चार दिनपछि नुहाइसकेपछि बेहुलीले रातो लुगा लगाउँछिन् भने बेहुला विवाहको औपचारिक पहिरनमा सजिन्छन् । चार दिनपछि बल्ल मूल विवाह सुरु हुन्छ । त्यो दिन बेहुलाले बेहुलीलाई रातो सिन्दूर लगाइदिन्छन् ।
त्यस दिन थरीथरीका परिकार पकाइएको हुन्छ । चार दिनसम्म नुन नखाएका बेहुला–बेहुली र विधकरीले पनि यस दिन नुन र अन्य खानेकुरा खान्छन् । त्यस दिन केटीलाई विधिवत् रूपमा केटाको घर पठाइन्छ ।
केटाको घर पुगेपछि अर्थात् पाचौं दिन ‘दहनही’ हुन्छ, जसमा नजिकैको दह अर्थात् पोखरी गएर बेहुलीले नुहाउनुपर्छ । यसमा पाँचथरीका अनाज मिसाएको सामग्री लगेर पोखरीको पूजा गर्नुपर्छ । अचेल घरकै धारामा नुहाउने चलन छ।
चार दिन मात्र होइन, विवाह गरेको वर्ष पहिलो साउन महिनामा पर्ने मधुश्रावणीसम्म पनि केटामा कुनै खराबी पाइयो भने केटीलाई फर्काउन मिल्छ । मधुश्रावणीसम्म केटीका तर्फबाट विवाह शत प्रतिशत सम्पन्न भएको हुँदैन । चार दिनमा बाँकी रहेको कमी भने मधुश्रावणीपछि मात्र शत प्रतिशत पूरा हुन्छ । यी विधिहरू ब्राह्मण, कायस्थ जातिका हुन् ।
प्रकाशित: ५ वैशाख २०८३ ०९:३५ शनिबार





