भारतको उत्तरप्रदेश राज्यअन्तर्गत नानपारा तहसील क्षेत्रका करिब तीन हजार कावड यात्रीले बिहीबार नेपालगन्ज पुगेर ऐतिहासिक बागेश्वरी मन्दिर परिसरभित्र रहेको खडेश्वर जुँगे महादेवलाई मैत्री जल अर्पण गरेका छन् । कावड यात्रीहरुले नानपारास्थित शिवपुर तकिया घाटबाट सरयू नदीको पवित्र जल संकलन गरी पैदल यात्रामार्फत नेपालगन्ज पुगेर मैत्री जल अर्पण गरेका हुन् ।
उनीहरुले बागेश्वरी मन्दिरमा जल चढाउने साथै पुँजापाठसमेत गरेका छन् । बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका कार्यालय प्रमुख राजु केसीका अनुसार भारतीय धार्मिक पर्यटकहरूको स्वागतका लागि मन्दिर परिसरमा विशेष व्यवस्था मिलाइएको थियो । यात्रुहरूको भीडलाई सहज बनाउन स्थानीय स्वयम्सेवक र सुरक्षाकर्मीको टोली पनि परिचालन गरिएको थियो । कावड यात्राको नेतृत्व नवयुवक कावरिया संघ नानपारा भारतका तहसील अध्यक्ष कुंवर बद्रीनाथ प्रताप सिंहले गरेका थिए । सिंहका अनुसार कावड यात्रा भारत र नेपालबीचको धार्मिक, सांस्कृतिक र मैत्रीपूर्ण सम्बन्ध सुदृढ बनाउन आयोजित गरिएको हो । उनले दुई देशका जनताबीचको आपसी विश्वास र धार्मिक सहिष्णुताको परम्परालाई यस्ता यात्राले अझ मजबुत बनाउने विश्वास व्यक्त गरे ।
यात्रुको आगमनसँगै बागेश्वरी मन्दिर परिसरमा धार्मिक वातावरण थप उल्लासमय बनेको थियो । यात्रुहरूले खडेश्वर जुँगे महादेवको विशेष पूजा–अर्चना गर्दै बागेश्वरी देवीको दर्शन गरेका थिए । मन्दिर परिसरमा भजन–कीर्तन, मन्त्रोच्चारण र धुप–दीप प्रज्वलन गरिँदा वातावरण पूर्णतया आध्यात्मिक बनेको स्थानीय भक्तहरूले बताएका छन् ।
नेपालगन्जका स्थानीयवासी, धार्मिक अगुवा र विभिन्न संघसंस्थाले यात्रुहरूको भव्य स्वागत गरेका थिए । मन्दिरको गुठी व्यवस्थापन समितिले यात्रुहरूलाई जल चढाउने, पूजा गर्ने र आरामको सुविधा मिलाउन समन्वय गरेको थियो । धार्मिक पर्यटनको दृष्टिकोणले यस्ता यात्राले नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्धलाई बलियो बनाउनुका साथै क्षेत्रीय पर्यटन प्रवद्र्धनमा पनि टेवा पु¥याउने विश्वास स्थानीय व्यवसायी र धार्मिक संघसंस्थाले व्यक्त गरेका छन् ।
बागेश्वरी मन्दिरको धार्मिक महŒवका कारण बर्सेनि भारतका विभिन्न भागबाट हजारौं भक्तजन यहाँ आउने गरेका छन् । यसपटक नानपाराबाट करिब तीन हजारको समूहले पैदल यात्रा गर्दै नेपालगन्ज पुग्नुले धार्मिक सद्भाव र आपसी मित्रतालाई थप सुदृढ पारेको छ । केसीका अनुसार यात्रुहरूको सुरक्षित आवतजावत र पूजाअर्चनाका लागि सम्पूर्ण व्यवस्थापन सहज बनाइएको थियो । उनले नेपालगन्ज र भारतबीचको धार्मिक–सांस्कृतिक आदानप्रदानलाई निरन्तरता दिन यस्ता कार्यक्रम महŒवपूर्ण रहेको बताए ।
यसरी कावड यात्रुले दुई देशबीचको धार्मिक सहिष्णुता र सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउने मात्र नभई धार्मिक पर्यटन र स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पारेको छ ।
प्रकाशित: ८ श्रावण २०८२ १५:४२ बिहीबार





