मधेस प्रदेशको सप्तरीस्थित छिन्नमस्ता मन्दिर (सखडा) पुग्ने प्रायः को ध्यान मन्दिरको भित्ताले खिच्छ। फुरुङ्ङ रङ उडेको भद्दा भित्ताको भित्री भाग अहिले धपक्क बलेको छ। हातमा ब्रस र एक्रेलिक रङ बोकेर भित्तामा मिथिला पेन्टिङ कुँदिरहेका महिला लहरमा मुनी खातुन भिटिइन्।
मुनी तल राम र सीताको विवाह समयको प्रतीकात्मक चित्र भित्तामा कोर्दै थिइन्। चित्रकलामार्फत उनी राम र सीताको जीवनशैली कुँदिरहेकी थिइन्।
‘पहिला स्केच बनाउनुपर्छ अनि मात्र रङ भर्नुपर्छ,’ मुनीले नागरिकसँग भनिन्, ‘भित्तामा सेतो रङ लगाएपछि स्केच कोरिन्छ। त्यसमाथि रङ भरिन्छ। रङ भरिएको चित्रकला गजब देखिन्छ।’ यस चित्रकलालाई तयार पार्न मुनीसहित थुप्रै चित्रकार खटिएका छन्।
मिथिला चित्रकार मुनी भन्छिन्, ‘सिमेन्टको पर्खालमा पेन्टिङ गर्न एक्रेलिक कलरको प्रयोग गरिन्छ। पहिला माटोको भित्तामा मिथिला पेन्टिङ गरिन्थ्यो। अहिले सोही विषयवस्तुलाई सिमेन्टको भित्तामा उतार्ने क्रम बढ्दो छ। विषयवस्तु पुरानै भए पनि माध्यम भने बदलिएको उनी बताउँछिन्।
मुनीको मिथिला चित्रकलामा प्रवेश
तीन दशकअगाडि पतिको साथ गुम्यो। पाँच छोरी र एक छोरा हुर्काउने जिम्मा उनको काँधमा आइपर्यो। छोरी सलमा खातुन काखमै थिइन्, जब उनका पिता दुनियाबाट बिदा भए। जनकपुरधाम नगरपालिका–४ की मुनीलाई बच्चा हुर्काउन सजिलो थिएन। ‘कालो अक्षर भैंसी बराबर’ मुनी अलमल्ल परिन्। बालबच्चा हुर्काउने कसरी? महिना दिन जसोतसो पिताजीको घरमा आश्रय लिइन्। त्यसपछि काम खोजिन्। अलिक दिन मजदुरी गरिन्, तर भारी काम गर्न उनको शरीरले मानेन।

बेकामे बस्दा मुनीलाई घरखर्च चलाउन मुस्किल भयो। उनका पतिका कारण छिमेकी अजित साहसँग घनिष्ट थियो खातुन परिवार। मुस्लिम समुदायको भए तापनि अजितको परिवारसँग खातुन परिवारको राम्रो हिमचिम थियो।
हिन्दु पर्वमा खातुन परिवार निम्ता मान्थे। मुस्लिम पर्वमा साह परिवार आउँथे। साह जनकपुर आर्ट एन्ड क्राफ्टका प्रबन्ध निर्देशक हुन्। तिनै साहको सहयोगले मिथिला कला यात्रा सुरुवात गरिन् मुनीले। आज मुनी मिथिला चित्रकलाकी स्थापित कलाकार भइसकेकी छन्।
मुनी भन्छिन्, ‘मुना बौवा (अजित)ले हौसला नबढाएको भए म कहाँ हुन्थेँ, मेरा बालबच्चा कहाँ हुन्थे?’
उनलाई सुरुमा मिथिला चित्रकला पहाड चढेजस्तै गारो भयो। छोराछोरीको अनुहार सम्झेर चित्रकलामा डुबिन्। ‘ब्रस समातेर क्यानभासमा स्पर्श गर्नेबित्तिकै आँसुले पाना भिज्थ्यो। अजितले हौसला बढाउँदै आँसु पुछिदिन्थे,’ उनले तीन दशकअघिको क्षण सम्झिइन्, ‘पन्ध्र दिनजति लाग्यो, ब्रसमा रङ चोबेर क्यानभासमा जीवन्त कला उतार्न।’
दिनरात मिहिनेत गरिन्। काममा लगन र दृढ अठोट भएपछि गर्न नसकिने केही छैन। उनलाई पत्तै भएन, मुस्लिम समुदायमा जीवन्त कलाकर्म गर्न बन्देज छ भन्ने। जब कलामा निखार आउन थाल्यो, समुदायबाट पछि हट्न दबाब आयो। उनले हरेस खाइनन्। समुदायलाई सम्झाइन्। धर्मगुरु (मौलाना)हरूलाई छोराछोरीको पालनपोषणका लागि काम गरेको बाध्यता बुझाइन्।
‘पेटका खातिर गरेको काम ‘गुनाह’ (अपराध) हो?’, धर्मगुरुहरूसँग उनी सोध्थिन्। मौलानाहरू पनि मुनीको तर्कबाट सहमत हुँदै गए। पछि उनीहरूले नै हौस्याउन थाले।
उनले भन्थिन्, ‘इश्वरलाई भनिदिन्छु, बच्चाका लागि म काम गर्छु।’ उनी कलाकर्मबाटै पाँच छोरीको विवाह गर्न सफल भइन्।

‘गुजारा कसैले चलाइदिँदैन। आफैंले गर्नुपर्छ,’ उनी भन्छिन्, ‘दुनियाको मुखमा जवाफ फर्काउनुभन्दा आफ्नो कामप्रति निरन्तर लाग्नुपर्छ। कर्म गरेपछि फल अवश्य पाइन्छ।’
मुनीको चित्र अहिले विश्व बजारमा बिक्छ। ‘विश्वका धनवान्हरूका भित्तामा मेरो कला झुन्डिएको छ,’ उनी गर्व गर्छिन्, ‘कलाले परिवार त पालेँ नै, सन्तुष्टि पनि दिएको छ।’
कलाले हिन्दु र मुस्लिम भनेर छुट्टयाउँदैन। भन्छिन्, ‘कलाले सबै धर्म, संस्कृति र संस्कारलाई जोड्ने काम गर्छ। हामी चित्र बनाउँदा ब्राह्मण, कायस्थ सबै एकै थलोमा हुन्छौं। एकसाथ खानपिन गर्छौं।’
उत्कृष्ट कला
मिथिला चित्रकला उत्कृष्ट छ। मिथिलाको सभ्यता, रहनसहन, जीवनशैलीलाई चित्रका माध्यमले प्रस्तुत गर्ने कला कसरी धार्मिक घेरामा खुम्चिन सक्छ? मिथिला सभ्यतामा सबै धर्म र जाति समेटिएका छन्।
मिथिला क्षेत्रका घरआँगनको शृङ्गारका लागि कोरिँदै आएको कला विश्वमा फैलिइसकेको छ। अहिले नेपाल र भारतको नक्सामा मिथिला राज्य भेटिँदैन। इतिहासमा भारतको उत्तरी विहारदेखि नेपालको तराईसम्म मिथिला राज्य थियो।
जनकपुर राजधानी रहेको मिथिला बौद्धिक, सांस्कृतिक र कलाका दृष्टिले अग्रणी मानिन्थ्यो। ‘पहिला माटाका घरले भरिएको मिथिला क्षेत्र पक्की घरको स्वरूपमा लम्किँदै छ। यद्यपि, मिथिला क्षेत्रले आफ्नो छवि गुमाइसकेको छैन। कुनै समय जाति विशेषमा सीमित मिथिला आर्टले व्यापकता पाइसकेको छ।
मिथिला कलाको सहरका रूपमा विगतमा जनकपुरधाम मात्रै चिनिन्थ्यो। आज यो कला व्यापक बन्दै दूरदराजदेखि सहरसम्म फैलिइसकेको छ। मिथिला सभ्यता चिनाउन यसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ।
विशेषतः मैथिल क्षेत्रमा घरआँगन, भित्तामा कोर्दै आएको मिथिला चित्रकला पछिल्लो समय व्यावसायिक बन्दै छ। परम्परागत मैथिल जनजीवन, रीतिरिवाज र पौराणिक घटनावलीलाई मिथिला आर्टमा प्रस्तुत गरिन्छ। यसमा प्रतीकात्मक र आध्यात्मिक विम्ब हुन्छन्।
चाडपर्व वा विवाहलगायत उत्सवमा आँगन र भित्तामा कोरिने कला अहिले लोक्ता (नेपाली कागज), कपडा, क्यानभास र भाँडावर्तनमा पनि उतार्न थालिएको छ।
आँगन र भित्तामा बुट्टा कोर्ने काममा प्रायः महिला सरिक हुन्थे। तर, यो शृङ्गारिक कलालाई लोक्ता वा क्यानभासमा उतार्न थालेदेखि महिला-पुरुष दुवैको सहभागिता सरोबरी छ। गाउँघरमा अझै पनि महिलाले नै कोहबर, बाँस, लटपटिया सुगा, विधिविधाता आदि विषयमा कला कोरेको देखिन्छ।

मैथिल मूलबाहेकले पनि यसमा रुचि देखाएका छन्। मैथिल कलामाथि नयाँ पुस्ताले नयाँ नयाँ प्रयोग गरिरहेका छन्। अजित साह भन्छन्, ‘कतिले त आधुनिक कलालाई पनि मिथिलासँग संयोजन गरी नयाँ बनाएका छन्।’
कलाको बजार बढेसँगै कलाकारले पनि ‘एक्सपोजर’ पाइरहेका छन्। देशविदेशमा कला प्रदर्शनी हुन थालेको छ।’
इतिहास
भारतमा मिथिला कलालाई ‘मधुवनी कला’ नाममा पनि सम्बोधन गरिन्छ। मिथिला लोककला सदियौंदेखि आम समुदायको संस्कारसँग नजिकबाट जोडिएको छ। यो परम्परा हिजो पनि थियो र आज पनि छ। यसलाई संस्थागत रूपमा अगाडि ल्याउने काम सन् १९९२ तिर स्थापना भएको ‘नारी विकास केन्द्र’ले गर्यो।
यो एनजिओका रूपमा एक अस्ट्रेलियन नागरिकको पहलमा स्थापना भएको थियो। केन्द्रले स्थानीय महिलालाई संगठित गरी उनीहरूकै नेतृत्वमा स्थानीय स्रोत (मिथिला कला)को परिचालन गरी आयआर्जन बढाउने मूल ध्येय लिएको थियो। यो संस्थाले सफलता पाएपछि अहिले यसै प्रकारका मिथिला कला सिर्जना गर्ने र विश्वभर बिक्रीवितरण गर्ने दर्जनौं निकाय वा संस्था कार्यरत छन्।
भारततर्फ रहेको मिथिला कलाको भने अलिकता फरक प्रक्रियामा अगाडि बढेको इतिहास छ। सन् १९३४ तिर गएको भूकम्पले विहारका दरभंगालगायत धेरै ठाउँमा धनजनको क्षति गर्यो। त्यस क्षतिको अवलोकन गर्न विलियम जी आर्चर पनि आएका थिए। उनले त्यहाँका भित्तामा लोककला देखे। कलामा गहिरो दक्खल राख्ने विलियमले ती कलामा आधुनिक कलाकार पिकासो र मिरोको सुगन्धलाई महसुस गरेका थिए।
भारतमा देखिएको यो एक अलग लोककलाको शैली र प्रवृत्तिबारे उनले गहन लेख लेखेर ‘मार्ग’ भन्ने पत्रिकामा छापे। मधुवनीमा पाइएकाले यसलाई ‘मधुवनी कला’ नाम राखियो।
तत्कालै सरकारले पनि विशेष चासो राख्दै ती भित्तामा देखिएका चित्रलाई तत्कालीन मिथिला कलाकारबाट कागजमा उतार्न लगायो। स्वदेशमा मात्र होइन, विदेशमा समेत यसको प्रचारप्रसार तीव्र भयो। आज यो मधुवनी चित्रका नाममा विश्वमा अलग पहिचान बनेको छ। नेपालमा कलाकै रूपमा औपचारिक प्रक्रियाका साथ गहिरो अनुसन्धान गरी राष्ट्रले आजको दिनसम्म यसो गर्न भ्याएको छैन।
प्रकाशित: २५ आश्विन २०८२ १०:०२ शनिबार





