पोखरा महानगरपालिका–१३ कुँडहरस्थित कमलपोखरीले नागजन्य दोषबाट मुक्ति पाइने तीर्थस्थलका रूपमा चासो र चर्चा कमाएको छ। प्राचीन कालदेखि नागको बासस्थानका रूपमा मानिएको यो तीर्थस्थलमा हरेक वर्ष नागपञ्चमीमा विशेष मेला लाग्छ।
नागपञ्चमीमा यो तीर्थस्थलमा आएर नागको दर्शन गरे नागजन्य दोषबाट मुक्ति पाइने विश्वास रहेको मादी गाउँपालिका–५ चितेपानीकी मेनुका अधिकारीले बताइन्। नागपञ्चमीमा यहाँ दर्शन गरे नागजन्य दोषका साथै बाढीपहिरो, खोलानाला, चट्याङ आदि प्राकृतिक प्रकोपबाट मुक्ति पाइने विश्वासले टाढाटाढाबाट दर्शनार्थी आउँछन्।
विश्व रामसार सूचीमा समेत सूचीकृत यो ताल नाग र यहाँ फुल्ने कमलका फूलका कारण परिचित छ। पोखराको मुख्य बजार क्षेत्र नजिकै रहेको कमलपोखरी ढकमक्क कमल फूलले ढाकिन्छ र नागको बासस्थान रहेको प्राचीन जनविश्वासले यसको महत्व र गरिमा बढाएको छ। पछिल्ला वर्षमा तालको अवलोकन र यहाँ पाइने विभिन्न प्रजातिका चराचुरुङ्गी हेर्न पर्यटक आउने गरेका स्थानीय चित्रबहादुर रानाले बताए। पर्यटकको आगमन बढ्दो छ, तर उचित व्यवस्थापन नहुँदा ताल पुरिने चिन्ता रहेको उनले बताए।
‘कमलपोखरी ताललाई व्यवस्थित गरे पर्यटकीय गन्तव्य बन्न सक्छ,’ रानाले भने, ‘यसका लागि स्थानीयसँगै राज्यका सबै निकायको ध्यान पुग्न जरुरी छ।’ यहाँको संरक्षणमा स्थानीय दलित समुदाय चार दशकदेखि लागिपरेको कमलपोखरी संरक्षण समितिका सचिव तिलबहादुर सुनारले जानकारी दिए। तालको संरक्षण गर्न स्थानीय २०४५ सालदेखि सङ्गठित छन्। विसं १९९० को नापीमा कमलपोखरीको क्षेत्रफल १८२ रोपनी रहेको सुनिएको छ, तर अहिले ३२ रोपनी मात्र जग्गा रहेको उनले बताए। पछिल्लो समय स्थानीयको सक्रियतामा विभिन्न संरचना निर्माण गरिएको छ।
ताल संरक्षण गर्न विभिन्न पूर्वाधार निर्माण थालिएको पोखरा महानगरपालिका–१३ का वडाध्यक्ष किरण बरालले बताए। ताल वरपर पैदल मार्ग बनाउन सङ्घीय सरकारले ४० लाख रुपैयाँ विनियोजन गरेको छ। तालमा आउने खोलालाई बाँधसहित व्यवस्थित गर्न २५ लाख रुपैयाँ विनियोजन भई काम अघि बढाइएको सचिव सुनारले बताए।
विश्व रामसार सूचीमा सूचीकृत कमलपोखरी परिसरमा हरेक वर्ष नागपञ्चमीमा मेला लाग्छ। करिब साढे चार दशकअघिसम्म कमलपोखरी बुडुवा तालका रूपमा चिनिन्थ्यो। तालको बीचमा नागको सुन्दर मूर्तिसहित किनारमा राधाकृष्ण, गणेश, नाग र बाबा विश्वकर्माको मन्दिर छ। रासस
प्रकाशित: १३ श्रावण २०८२ १५:३९ मंगलबार