१ भाद्र २०८३ सोमबार
image/svg+xml
धर्म/संस्कृति

थारु समुदायले हर्ष उल्लासका साथ मनाए गुरही पर्व

रोगव्याधि र नकारात्मकता लखेट्ने विश्वास

खेतीपातीको काम सकिएसँगै थारु समुदायमा मनाइने पहिलो महत्त्वपूर्ण बालपर्व ‘गुरही’ अर्थात् ‘गुरिया’ पर्व सोमबार पश्चिम तराईका थारु बस्तीमा हर्षोल्लासका साथ मनाइएको छ।

श्रावण शुक्ल पञ्चमीअर्थात् नागपञ्चमीका दिन मनाइने यो पर्वमा बालबालिका तथा युवायुवतीदेखि समुदायका ज्येष्ठ सदस्यसम्म सहभागी भएर परम्परागत संस्कारलाई निरन्तरता दिएका छन्।

बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरलगायत पश्चिम तराईका थारु बस्तीमा गुरही पर्व विशेष उत्साहका साथ मनाइएको हो। पर्वका अवसरमा गाउँका चोक तथा चौबाटामा जम्मा भएर कपडाबाट बनाइएका गुरही (पुतली) फाल्ने र त्यसलाई लौरो वा सोंटाले ठटाएर विसर्जन गर्ने परम्परा छ।

थारु समुदायमा ‘असरैना’ भन्नाले विसर्जन गर्नु वा सेलाउनु भन्ने बुझिन्छ। यही परम्पराअनुसार दिदीबहिनी तथा बालिकाहरूले विभिन्न रङका पुराना कपडाबाट गुरही तयार पार्छन्।

साँझपख ती गुरहीलाई गाउँको चोक वा चौबाटामा लगेर फालिन्छ र दाजुभाइ तथा बालकहरूले निगालो वा बाँसबाट बनाइएको सोंटाले गुरहीलाई ठटाउने गर्छन्।

कोहलपुरका बरघर चिन्कु थारुका अनुसार गुरही मनोरञ्जनका लागि मनाइने पर्व नभई थारु समुदायको पुरानो सांस्कृतिक र सामाजिक परम्परासँग जोडिएको पर्व हो। गुरही ठटाएर गाउँबाट रोगव्याधि, महामारी तथा बालीनालीमा लाग्ने हानिकारक कीरा हटोस् भन्ने सामुदायिक विश्वास रहेको उनले बताए।

‘गुरही हाम्रो पुरानो परम्परा र संस्कृतिसँग जोडिएको पर्व हो। बालबालिकाको सहभागिता बढी हुने भएकाले यसलाई बाल पर्वका रूपमा पनि लिइन्छ,’ बरघर थारुले भने, ‘गुरही ठटाएर रोग, महामारी र बालीनाली बिगार्ने कीरा गाउँबाट बाहिर जाऊन् भन्ने मान्यता छ।’

गुरही पर्वका लागि घरघरमा विशेष तयारी गरिन्छ। दिदीबहिनी तथा बालिकाहरूले गुरही तयार पार्ने गर्छन् भने घरमा विभिन्न परिकार बनाइन्छ।

केराउ, चना, मकैजस्ता गेडागुडी भुटेर बनाइने ‘घुघ्री’ यस पर्वको प्रमुख परिकार हो। यसबाहेक थारु समुदायका परम्परागत रोटी, बरिया तथा अन्य परिकारसमेत बनाउने गरिन्छ।

स्थानीय रोशन चौधरीका अनुसार गुरही पर्वले थारु समुदायमा दाजुभाइ र दिदीबहिनीबिचको सम्बन्धलाई थप आत्मीय बनाउने काम गर्छ। पर्वमा बालबालिकाको सक्रिय सहभागिता हुने भएकाले नयाँ पुस्ताले पनि आफ्नो मौलिक संस्कार र संस्कृति सिक्ने अवसर पाउने उनको भनाइ छ।

‘गुरहीमा बालबालिकादेखि वृद्ध वृद्धासम्म सहभागी हुन्छन्। गुरही ठटाउने, घुघ्री खाने र गीत गाउँदै रमाउने भएकाले गाउँमा छुट्टै उत्साह देखिन्छ,’ चौधरीले भने, ‘यसले आपसी सद्भाव र भाइचारासमेत बलियो बनाउँछ।’

गुरही असरैनाका लागि गाउँका दाजुभाइ, दिदीबहिनी र बालबालिका परम्परागत पहिरनमा सजिएर चोक तथा चौबाटामा भेला हुने गर्छन्।

गुरही ठटाउने कार्य सकिएपछि दिदीबहिनीले दाजुभाइ तथा सहभागीलाई घुघ्री र भुटेको चना प्रसादका रूपमा बाँड्ने चलन छ। त्यसपछि थारु समुदायका परम्परागत गीत तथा नाचगान प्रस्तुत गर्दै पर्व मनाउने गरिन्छ।

थारु समुदायमा गुरही पर्वसँग रोगव्याधि र प्राकृतिक विपत्तिसँग जोडिएको धार्मिक तथा सांस्कृतिक विश्वाससमेत रहेको छ। गुरहीलाई ठटाएर विसर्जन गर्दा गाउँमा फैलिन सक्ने रोग, महामारी, आँखासम्बन्धी समस्या तथा बालीनालीमा क्षति पुर्‍याउने कीरा हट्ने जनविश्वास छ।

यसलाई वर्षायाममा खेतीपातीको काम सकिएपछि समुदायले सामूहिक रूपमा मनाउने शुभ पर्वका रूपमा समेत लिइन्छ। गुरही पर्वको अर्को महत्त्वपूर्ण पक्ष पुस्तान्तरण हो।

आधुनिक जीवनशैलीका कारण कतिपय मौलिक परम्परा हराउँदै गइरहेका बेला गुरही पर्वमा बालबालिकाको प्रत्यक्ष सहभागिताले थारु समुदायको मौलिक संस्कार नयाँ पुस्तासम्म पुर्‍याउन सहयोग गरेको स्थानीयको भनाइ छ।

पश्चिम तराईमा थारु समुदायको बाक्लो बसोबास रहेका बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरमा गुरही पर्वको विशेष महत्त्व छ। विशेष गरी गाउँका बरघर तथा भल्मन्साको अगुवाइमा सामूहिक रूपमा पर्व मनाउने परम्परा अझै कायम छ।

गुरही पर्वले धार्मिक तथा सांस्कृतिक पक्षसँगै समुदायबिचको एकता, पारस्परिक सहयोग र सामाजिक सद्भावलाई पनि जोड्ने भएकाले यसको महत्त्व अझै कायम रहेको स्थानीय बताउँछन्।

पछिल्लो समय विभिन्न संघसंस्था र स्थानीय तहले समेत थारु समुदायका मौलिक पर्व तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा जोड दिन थालेका छन्।

प्रकाशित: १ भाद्र २०८३ १७:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App