हरेक वर्षजस्तै यस वर्ष पनि पौष शुक्ल पूर्णिमादेखि श्री स्वस्थानी व्रत आरम्भ भइसकेको छ। यसै दिनदेखि भक्तालुहरूले माघ स्नान गर्ने र घर–घरमा पूजा आराधना गरी स्वस्थानीको कथा सुन्ने, सुनाउने गरिन्छ। यो परम्परा नेपालमा मूलतः काठमाडौं उपत्यका अर्थात् इतिहासमा नेवाः भूमिका रूपमा चिनिएको नेपालखण्डमा केन्द्रित छ र त्यसो हुनुका केही कारण छन्। यसमा उल्लेखित कतिपय भौगोलिक नामहरू परिचित स्थान भएकाले कथाको उद्गमस्थल नै नेपाल भएको जनाउँछ। धेरैको मन मस्तिष्कमा यो एक पौराणिक कथाभन्दा कुनै बेला आफ्नै गाउँठाउँमा घटेको घटनाजस्तो बनेर स्थान लिएको छ। स्वस्थानी कथा संस्कृतपछि पहिला नेवारीमा लेखिएको मानिन्छ। एक अपुष्ट दाबीअनुसार राजा जयन्तदेवले नेपाल संवत् ६९३ मा नै स्वस्थानीको कथा लेखेर व्रतको परम्परा चलाएका थिए। त्यसको केहीपछि मैथिलीमा र दुई शताब्दीपछि नेपालीमा पनि लेखियो र व्रत बस्ने चलन अन्य समुदायमा समेत फैलियो। त्यस बेलासम्म उपत्यकामा शाह राजाहरूको शासन सुरु भइसकेको थियो। तर स्वस्थानी कथाको नेवारी र नेपाली भाषाका संस्करण हुबहु समान छैनन् र एक अर्काको अनुवाद पनि होइनन्।
यस लेखमा नेवारी, मैथिली, नेपाली संस्करणबारे होइन, रुसी भाषामा प्रकाशित स्वस्थानीबारे चर्चा गरिनेछ। स्वस्थानी व्रत कथाको केन्द्रमा शिव–पार्वती भए पनि हिन्दु धर्मको प्राधान्य भएका भारतलगायत अन्य मुलुकमा यस्तो प्रचलन व्यापक रूपमा रहेको पाइँदैन तर हिन्दु संस्कृतिसँग कुनै साइनो नभएको दूरदराजको मुलुकको भाषामा स्वस्थानी छ भनेको सुन्दा धेरैलाई अनौठो लाग्न सक्छ। यसको श्रेय स्व. कृष्णप्रकाश श्रेष्ठलाई जान्छ, जसले रुसी साहित्यका विश्वविख्यात कृतिहरूको नेपालीमा र नेपाली साहित्यका कृतिहरूको रुसी भाषामा अनुवाद गरेर ख्याती कमाउनुभएको थियो। रुसी भाषाको स्वस्थानीमा यससँग सम्बद्ध कथा र धार्मिक प्रचलनको परिचयसहितको भूमिका, पाँच भागमा प्रस्तुत मूल कथाको भावानुवाद, टिप्पणी र सन्दर्भसामग्री समावेश गरिएको छ। भूमिकामा स्वस्थानीबारे उहाँको आफ्नै व्याख्या पेश गरिएको छ, जसका आधारमा रुसका पाठकहरूले यसप्रति धारणा बनाउन सक्छन्।
सृष्टिकी जननी नारी
महिला हक र सशक्तीकरण अभियानले पछिल्ला वर्षमा ल्याएको जागरणको पृष्ठभूमिमा स्वस्थानी कथाका केही अंश र सन्देश विवादमा परेका छन्। कथाको एक प्रसंगमा छद्मभेषमा रहेका महादेव स्वयंले घरमा एक्लै अवस्थामा रहेकी अबोध बालिका गोमालाई भिक्षा दिन ढिलो गरेको दोष लगाई श्राप दिन्छन् -‘त्वद्भिक्षां नैव गृहणामि शृणु ब्राम्हणकन्यके, अशीति वयसा वृध्दःपतिस्तव भविष्यति।’ अर्थात् ‘मलाई तेरो भिक्षा चाहिँदैन, बरु तैंले असी वर्षको बुढो लोग्ने बेहोर्नु परोस्।’
यसै श्रापपछि कथाले एक दर्दनाक मोड लिन्छ र गोमाले पति तथा पुत्रको खातिर तिरष्कार र कष्ट भोगेर आफ्नो जीवनको सुख सन्तुष्टि सबै तिलाञ्जली दिनुपरेको हुन्छ। यसैको कारण आधुनिक युवतीहरूको मनमा स्वस्थानीले कस्तो आदर्श स्थापित गर्न चाहेको हो भन्ने प्रश्न अवश्य उब्जिन्छ। पतिहीन हुँदा होस् या सन्तानहीन हुँदा, सबै दोष किन एक नारीमाथि मात्र लाग्छ? किन पुरुषलाई बहुविवाह र परस्त्रीगमनको छुट दिइएको हुन्छ? किन हाम्रा धर्म–पुराणहरूमा पत्नी प्राप्त होस् भनेर कसैले पूजा या आराधना गरेको कथाका सन्देश पढ्न पाइदैन? के लोग्ने मान्छेहरूको कुनै जिम्मेवारी छैन? स्वस्थानी कथा र व्रतलाई लिएर गरिएका यस्ता धेरै प्रश्न उठाइएका छन्।
स्वस्थानीका विभिन्न संस्करणको अध्ययन गरेका विद्वान्हरूले समयको लामो अन्तरालमा यसको कथामा परिवर्तन हुँदै गएको बताएका छन्। तर त्यो परिवर्तन स्वस्थानीको मूल कथाबाट बरालिएर शिव पार्वतीप्रति भक्तिभावलाई जोड दिनेतर्फ निर्दिष्ट देखिन्छ। माथि उठाइएका प्रश्न अनुत्तरित नै रहेका छन्।
रुसी संस्करणमा भने स्वस्थानीलाई भिन्न र सकारात्मक रूपमा प्रस्तुत गरिएको छ। यसको सम्बन्ध शिव–पार्वतीको प्रेम कहानीसँग भन्दा महामायासँग ज्यादा भएको (महामायालाई योगमायाकै रूपमा लिइएको छ) र उनै महामायाको प्रतापबाट चिरनिद्रामा रहेका विष्णु जागेका र ब्रह्माले सृष्टिको प्रेरणा पाएका हुन् भन्ने उल्लेख छ। अर्थात् स्वस्थानी कथाले सृष्टिको प्रारम्भमा एक नारी रहेकी र महामाया उनैको प्रतिरूप भएकी जनाएको छ।
स्वस्थानीको शाब्दिक अर्थले उनी आफ्नै स्थानकी रक्षक या शक्तिदेवीको पहिचान दिन्छ। स्वस्थानीको आसन शिवलिंग र ॐ अंकित आरतीसँगै हुन्छ। शिवलिंगले शक्तिको प्रतिनिधित्व गर्छ भने ॐ ले हिन्दु धर्मअनुसार सृष्टिकर्ता त्रिमूर्ती (ब्रह्मा, विष्णु र शिव) को प्रतिनिधित्व गर्छ। यस अर्थमा स्वस्थानीको स्थान सृष्टिकर्ता समान र पार्वती या दुर्गाजस्ता अन्य देवीहरूको भन्दा उच्च छ।
राजा प्रताप मल्लको पालामा बनेको काठमाडौंको मखनमा रहेको मूर्तिमा पनि स्वस्थानी शिवसँगै तर फरक ढंगले वरद मुद्रामा देखिन्छिन्। शिवको हातमा रुद्राक्ष, त्रिशूल र भिक्षापात्र छ भने स्वस्थानीको हातमा खड्ग, ढाल र पद्म रहेको छ। यी तथ्यहरूले स्वस्थानी नामअनुसार नै आफ्नै हैसियतकी देवी हुन भन्ने जनाउँछ।
कैयन् पुराणहरूले पनि कुन कुराको पर्याप्त आधार दिएका छन् भने महामायाको आफ्नै स्वरूप थिएन। जब शिवजीलाई उनको आवश्यकता पर्याे, उनी संहारक बनेर महाकालीका रूपमा प्रकट भइन्। त्यसरी नै उनी ब्रह्माका लागि महासरस्वती र विष्णुका खातिर महालक्ष्मी बनेर उत्पन्न हुन्छिन्। यी तीनको संयोगबाट त्रिमातृका अर्थात् तीन आमाको स्वरूप बन्छ। समयको अन्तरालमा प्रतिमामा संलग्न देवीहरूको संख्या बढ्दै जान्छ र सप्तमातृकाको प्रसंग सुरु हुन्छ, जसमा इन्द्रायणी, वाराही, चामुण्डा आदि पर्छन्। तर महाभारत महाकाव्यमा उल्लेख गरिएको सप्तमातृकामा आर्या, मालिनी, बृहतालगायत भिन्दै देवीहरूको नाम उल्लेख छ। जेजस्तो भए पनि विभिन्न ग्रन्थहरूमा उनीहरू सबै मातृत्वकै भूमिकामा देखिन्छन्, जसले स्वस्थानी कथा सृष्टिकी जननीबारे हो भन्ने पुष्टि गर्छ।
अष्टमातृका
स्वस्थानीको रुसी संस्करणमा कृष्णप्रकाश श्रेष्ठले नेपाली परम्परामा त्रिमातृका र सप्तमातृकाको सामान्य उल्लेख हुने गरेको भए पनि अष्टमातृकाको स्थान बलियो र व्यापक भएको कुरामा जोड दिनुभएको छ। यसो हुनुको एक प्रमुख कारण हाम्रो समाजमा तान्त्रिक विद्याको प्रसार र यसको आधारमा बनेका मण्डलाहरूको लोकप्रियता हो।
मण्डला शैलीमा ब्रह्माण्ड चित्र कोर्न आठै दिशामा एकएक देवी आवश्यक हुन्छ। सप्तमातृकामा नपुगेको एक स्थानमा नृसिंह देवी राखेर अष्टमातृका बन्यो। कतैकतै नृसिंहको सट्टा कौबेरी राखेको पनि देख्न सकिन्छ तर मुख्य कुरा स्वस्थानीलाई आठ शक्तिदेवीले घेरेर सुरक्षा दिइरहेका छन् भन्ने हो। स्वस्थानी पूजाको लागि यिनै अष्टमातृकाले घेरेर बिचमा कमलको फूलको आसनमा बसेकी देवीको स्वरूप लोकप्रिय छ। तर नेवारी परम्परा भने भिन्न छ।
अष्टमातृकाको स्थानमा आठ अजिमाहरू (आमाको स्थानमा बज्यै) छन् र तिनको नाम पनि नेपालीमा भन्दा फरक छ। उदाहरणको लागि मातृका ब्रह्मायणीलाई नेवारीमा पासिक्वं अजिमा र मातृका माहेश्वरीलाई नेवारीमा लुँमरि अजिमा भनिन्छ।
अष्टमातृकाको मान्यता स्थापित भइसकेको भए तापनि नेपाली परम्परामा देवीहरूको संग्रह थप्ने क्रम रोकिएन भन्दै रुसी भाषाको स्वस्थानीमा नवदुर्गाको पनि वर्णन गरिएको छ। नवदुर्गाले नौ शक्तिदेवीहरूको प्रतिनिधित्व गर्छिन् र अठार बाहु भएकी भगवतीको एकल स्वरूपमा पनि प्रकट हुन्छिन्। उनको चित्रण एक योद्धाका रूपमा गरिन्छ। हातमा नाना थरीका अस्त्र धारण गरेर उनी सिंह वाहनमा सवार हुन्छिन्। भाला रोपेर महिषासुर दैत्यको वध गरेकी हुनाले उनी महिषमर्दिनीको नामले पनि चिनिन्छिन्।
नवदुर्गालाई सहर र किल्लाहरूको संरक्षण दिने देवीका रूपमा मानिने भएकाले बडा दसैंको समयमा कोत र मौलाहरूमा बलिदिएर देवीको पूजा गरिन्छ। उपत्यकाको प्राकृतिक बनोटले पनि अष्टमातृकाको धारणा र मान्यतालाई बलियो टेवा दिएको छ। यसको बाह्य सम्पर्क चारभन्ज्याङमार्फत हुन्छ। उपत्यकाका आठ दिशामा एकएक घाट छन्, जहाँ आठ देवीस्थानहरू छन्। यी सबैलाई आठ भैरवले पहरा दिन्छन्। समग्रमा हेर्ने हो भने उपत्यका स्वयंले एक विशाल तान्त्रिक मण्डला या बौद्धहरूले भन्ने गरेको धर्मचक्रको स्वरूप निर्माण गरेको छ।
सामाजिक चेतनामा स्वस्थानीको प्रभाव
संस्कृतमा लेखिएको एक लघुकाव्यका रूपमा आरम्भ भएर अहिले घरघरमा सबैले पढ्ने ३१ अध्यायको ग्रन्थ बन्दासम्म स्वस्थानीको कथाको रूप, सार र संरचनामा व्यापक परिवर्तन भएको छ।
पहिला यो शिव–पार्वती संवादबाट सुरु हुन्थ्यो र यसमा ब्रह्माण्ड र पृथ्वीमा जल र स्थलको सृष्टिको लामो उपाख्यान केही थिएन। गोमाको दुःख र श्री स्वस्थानीको कृपाबाट उनी कसरी मुक्त हुन सकिन् भन्नेबारे थियो। सर्वसाधारणले बुझ्ने भाषामा लेखिएपछि स्वस्थानी निकै लोकप्रिय हुन थाल्यो। बिस्तारै स्वस्थानी अन्य धार्मिक कथा र किंवदन्तीहरू जनमानससम्म पु¥याउने माध्यम बन्न थाल्यो। खास गरी नेपाली स्वस्थानीमा विभिन्न पुराणहरूबाट ल्याइएका नयाँ नयाँ कथाहरू थपिन थाले।
स्कन्द पुराण थपिएका कथाहरूको मुख्य स्रोत बन्यो। यसैकारण स्वस्थानीको हाल प्रचलनमा रहेको कथाको हरेक अध्याय ‘इति श्रीस्कन्दपुराणे केदारखण्डे माघमहात्म्ये कुमार अगस्त्य संवादे’ भनेर टुंग्याइन्छ।
सोह्रौं शताब्दीमा नेपालका अधिकांश मानिस निरक्षर थिए। स्वस्थानीको लोकप्रियता बढेपछि प्रकाशकहरूले वृद्ध र अलिअलि मात्र अक्षर चिनेकाले पनि कनीकुथी गरेर भए पनि स्वस्थानी पढ्न र सुनाउन सकून् भनी ठुल्ठुला अक्षरमा पुस्तक छाप्न थाले। हरेक घरमा स्वस्थानीको पुस्तक राख्न थालियो।
पुस्तक भएपछि पढ्ने मानिस पनि चाहियो। हुर्किरहेको उमेरमा नै आफन्तले छोरा–नातिलाई ‘स्वस्थानी पढ्न सक्छौ’ भनेर योग्यता जाँच्न थाले। यसले साक्षरता विस्तारमा योगदान दियो, यद्यपि सुरुमा यो पुरुषहरूमा नै सीमित थियो। गाउँघरमा आज फलानाको घरमा स्वस्थानी सुन्न जाने भनेर इष्टमित्रहरू जम्मा हुन्थे। यस परम्पराले मनोरञ्जनको अन्य साधन नभएको त्यस जमानामा सामाजिक सद्भावना कायम गर्न बल पुर्याएको थियो।
स्वस्थानीले साहित्य र संस्कृतिको विकासमा पनि ठुलो प्रभाव पारेको छ। कालिदासले पनि स्वस्थानी कथाबाट प्रेरित भएर संस्कृत महाकाव्य कुमारसम्भवम् (कार्तिकेयको जन्म) लेखेका हुन् भनिन्छ। अन्य कैयन् कृतिमा पनि स्वस्थानी या शिव–पार्वतीको स्वरूपसँग जोडिएका घटना, उपमा या विम्बहरू देख्न सकिन्छ। स्वस्थानीका कथा र पात्रहरूमा आधारित भएर कैयन् भित्तेकला र मूर्तिकला बनेका छन्। आधुनिक विधातर्फ पनि स्वस्थानीमा आधारित कथानक फिल्म बनेको कुरा सर्वविदितै छ।
भनिन्छ, समयको तीर एक दिशातर्फ मात्र फर्केको हुन्छः भूत, वर्तमान, भविष्य। वर्तमानपछि भूत आउन सक्दैन। त्यसैले शताब्दीयौं अघि लेखिएका कथालाई आजको मान्यताको कसीमा राखेर जाँच्न मिल्दैन। तर त्यसबाट पाठ सिक्न सकिन्छ।
स्वस्थानीबाट सिक्ने पाठ भनेको अब कसैले पनि गोमा बन्नु नपरोस् भन्नु हो, स्वस्थानीकै वहिष्कार या तिरष्कार होइन। हिन्दु दर्शनमा नारीलाई सृष्टिको स्रोत मानेर पूजा गर्ने गरेको सन्देश पनि स्वस्थानी कै हो। यसको अध्ययन–मनन नेपाल र नेपालबाहिर पनि जारी रहनेछ। विभिन्न जाति, भाषा र संस्कृतिले धनी देश रुसका पाठकहरूले पनि रुसी भाषामा प्रकाशित स्वस्थानीको माध्यमबाट उनीहरूको विविधता अझै विस्तार भएको महसुस गर्न सकून्।
प्रकाशित: २६ पुस २०८२ १०:०४ शनिबार





-600x400.jpg)