ललितपुरका शाक्य–बज्राचार्य समुदायले शाक्य बज्राचार्य बृहत जनसभा गर्ने भएका छन् । जनसभा सांस्कृतिक बाजागाजासहित नगर परिक्रमा गरेर चैत १३ गते शुक्रबार ललितपुरमा हुनेछ ।
कार्यक्रमबारे जानकारी दिन शाक्य बज्राचार्य समाज यल ललितपुरले बुधबार ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यक्रम बिहान ७ बजे ललितपुरको बृहत साइकल र्यालीबाट सुरु हुने जनाइयो । पत्रकार सम्मेलनमा कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न शरणकुमार शाक्यको संयोजकत्वमा तयारी समिति गठन गरिएको जनाइयो । सम्मेलनमा संयोजक संयोजक शाक्यले सम्पूर्ण समुदाय, सरोकारवाला तथा सर्वसाधारणलाई कार्यक्रममा सहभागी हुन आग्रह गरे।
उनका अनुसार सोही दिन विहान ८ बजे धाँ बाजा र सांस्कृतिक झाँकीसहितको टोलीले नगरका विभिन्न भागहरुमा परिक्रमा पनि गर्नेछ । हखा, सौगःनुगः, ओकुबहाः थपाहिति, थैना, नौद्ध, चत्रबहिल,हौगः, इखालखु, महापाल, गाःबहाः, प्यगंथां, चल्खु, साल्हँ, नःबहि, खाछें, क्वाल्खु, पटको, भिन्द्यो, कव हुँदै यल लायकु कातिक दवूमा पुगेकार सभामा परिणत हुनेछ ।
त्यसपछि दिउँसो बृहत् जनसभा तथा गोष्ठी कार्यक्रम सञ्चालन हुनेछ । कार्यक्रममा बौद्ध धर्म, संस्कृति, सामाजिक सुदृढीकरण, आर्थिक सशक्तीकरण र राज्यसँगको सम्बन्धजस्ता विषयमा छलफल गरिनेछ। विभिन्न विद्वान तथा वक्ताहरूले आ–आफ्नो धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
समाजका अनुसार, शाक्य–वज्राचार्य समुदायको एकता, हक–हित तथा सांस्कृतिक पहिचान सुदृढ गर्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको हो। साथै, नयाँ पुस्तामा सांस्कृतिक चेतना अभिवृद्धि गर्ने लक्ष्य पनि राखिएको छ।
प्रकाशित: ११ चैत्र २०८२ १८:५० बुधबार





