मैथिली लोकगाथामा सर्वाधिक चर्चित र लोकप्रिय जननायकको रूपमा रहेका छन्– सलहेस। उनी त्यो बेलाको मिथिला राज्य, अहिलेको मधेस प्रदेशको सिरहा नगरपालिकास्थित महिसौथाका बासिन्दा थिए। देवी दुर्गाका अनन्य भक्त थिए, सलहेस। प्रायःजसो प्रत्येक दिन कमलदह/मानिक दहमा स्नान गर्थे। फूलबारीमा फूल टिप्थे र देवी दुर्गाको पूजाअर्चना गर्थे।
फूलबारीमै रहेको सिलहट अखडामा उनी कुस्ती खेल्थे। उनको पहिचान आकर्षक थियो। सम्पर्कमा आउने जोकोही उनीप्रति मोहित हुन्थे। एकपटक पकडियागढकी राजकुमारी चन्द्रावती फूल टिप्न फूलबारी आउँदा सलहेसलाई देखिन्छिन्। उनले सलहेसप्रति मोहित भएर प्रेम प्रस्ताव नै राखिछिन्। सलहेसले भने उनको प्रस्ताव अस्वीकार गरेछन्। कारण, उनी विवाहित थिए। यो अस्वीकृति चन्द्रावतीलाई सह्य भएन। उनले आफ्नो बुबालाई पनि सलहेसको चरित्रप्रति आक्षेप लगाउँदै कुरा लगाइछन्।
राजाले राजकुमारीको गुनासो तत्काल सुनुवाइ गरी सलहेसलाई समात्न आदेश दिए । सलहेस समातिए। चन्द्रावतीको सुरक्षामा खटिएका चुहडमललाई हटाएर उनको ठाउँमा सलहेसलाई राखियो। चुहडमलले आफ्नो अपमानको बदला लिन सुरुङ खन्छन् र राति सुतिरहेको अवस्थामा चन्द्रावतीका सबै गहना चोरेर भाग्छन्।
चौकीदार राखिएका सलहेसलाई चोरीको आरोपमा जेल पठाइन्छ। सलहेसप्रति आशक्ति राख्ने तरेगनागढका चार राजकुमारीमध्ये दौना मालिन यो खबर सुनेपछि मर्माहत हुन्छिन् । उनले राजदरबारमा पुगेर कागज गरी केही समयका लागि सलहेसलाई मागी सबै गरगहनासहित चोर समातेर ल्याउने वचन दिन्छिन्। राजाले दौनाको विश्वासमा सलहेसलाई छाडिदिन्छन्।
दौना आफू नटिन (नर्तकी) र सलहेसलाई नट (नर्तक) बनाएर चुहडमलको घर पुग्छिन् र उनलाई आफ्नो मायाजालमा पारी सबै गहनासहित राजदरबारमा हाजिर गराउँछिन्। राजा प्रसन्न भई सलहेसलाई मुक्त गर्छन्। यसबाट सलहेस र दौनाबिचको प्रेम प्रगाढ हुन्छ। स्वर्गीय नथुनीसिंह दनुवारद्वारा लिखित ‘लोकनायक सलहेस’ पुस्तकमा उल्लेख भएअनुसार राजा कुलेश्वरद्वारा संरक्षित फूलबारीको रेखदेख सलहेसको जिम्मामा थियो। फूलबारीमा फूल टिप्न दौना आइरहन्थिन्। सोही क्रममा दौना सलहेसप्रति मोहित भइन्।
सलहेससँग प्रेममा परेकी दौनाले आफ्नो प्रेमलाई विवाहमा रूपान्तरण गर्न भने सकिनन् । सलहेससँग दौनाले विवाह प्रस्ताव राखे पनि उनले स्वीकार गरेनन्। कारण, उनी विवाहित थिए। दौनाले सलहेससँगको प्रेमलाई निश्चल राखिरहिन् । उनले विवाह गरिनन्। उनी सलहेसको सम्झनामा माला लिएर उभिइरहिन्।
सलहेससँगको अमर प्रेमको सम्झनामा फूलबारीमा रहेको सलहेस मन्दिरको दक्षिणपट्टिको हारमको रुखमा वर्षमा एक पटक फुल्ने सुनाखरीको मालाआकृत फूल दौना र सलहेसकै ‘प्रेम प्रतीक’ भएको लोकमान्यतालाई दनुवारद्वारा लिखित पुस्तकमा उल्लेख गरिएको छ।
नयाँ वर्षको सायत पारेर फक्रिने यो मालाआकृत फूल प्रेमिका दौनाले सलहेसका लागि ल्याएकी थिइन्। जुन उनले सलहेसलाई पहिर्याउन पाइनन्। यी दुवैको प्रेमको प्रतीकका रूपमा नयाँ वर्षमा फक्रिने मालाआकृत फूल हेर्न यहाँ हरेक वर्ष भिड लाग्छ।
यो फूलबारी १४औं शताब्दीमा राजा पुरादित्यद्वारा लगाइएको कथन छ। १६औं शताब्दीमा राजा कुलेश्वरले फूलबारीको संरक्षकका रूपमा सलहेसलाई नियुक्त गरेका थिए। फूलबारीमा सबैभन्दा पहिले राजा कुलेश्वरको पूजाको चलन अझै कायम छ।
सलहेस फूलबारीमा जैविक विविधता रहेको छ। ४५ प्रजातिका ७१ वनस्पति र ८२ प्रजातिका बिरुवा छन् त्यहाँ। फूलबारीको माटो घर पोत्न लग्ने क्रम अझै कायम छ। यहाँ भाकल गरेपछि मनोकामना पूरा हुने, सुख–शान्ति प्राप्त हुनुका साथै यहाँ गरिएको प्रेम वाचा र विवाह जीवनपर्यन्त सुखमय रहने जनविश्वास छ।
लोकगाथाका यी अमर पात्र सलहेस आफ्नो प्रभाव क्षेत्रमा बसेका जनताका लागि शोषण, अत्याचार र सामाजिक अराजकताको विरुद्ध निरन्तर संघर्षरत थिए । सलहेसलाई दुसाध जातिको भनिन्छ। प्राचीन समयदेखि नै दुसाधहरू शूरवीर मानिन्थे । त्यसैले सुरक्षाको जिम्मेवारी उनीहरूले पाउँथे। सलहेस पनि प्रारम्भमा पहरेदार नै थिए। पछि उनले आफ्नो सेनाको गठन गरी उत्तरतिरबाट तिब्बत र किरातहरूको आक्रमणको वीरतापूर्वक सामना गरेका थिए र आफ्नो समाजलाई स्वाभिमानीपूर्वक जिउने वातावरण मिलाएका थिए।
लोककल्याणका लागि चामत्कारिक काम पनि गरेको हुनाले यिनी देवताको रूपमा पुजिन थाले। सलहेसको समयमा जादु–टुना, तन्त्र–मन्त्रको प्रगाढ प्रयोग भइरहेका थिए। आफ्नो स्वरूप परिवर्तन गर्ने, अरूको स्वरूप परिवर्तन गरिदिने, आकाशमा उड्ने, अदृश्य हुने, पशुपंक्षी पनि मानवजस्तै बोल्नेजस्ता अलौकिक क्रियाहरू हुने गरेका कारण विद्वान्हरूको एउटा वर्गले सलहेसको समय छैटौं–सातौं शताब्दी ठान्छ। त्यसबेला मालिनीहरूको चर्चा आएको र तिनीहरू मन्त्रमा सिद्ध भएकाले पनि यस तर्कलाई अघि बढाएका छन्। हर्षवर्धनको मृत्युपछि मिथिलामा आएको अराजक अवस्थाकै उपज सलहेस भएको एकथरी विद्वान्हरूको मत छ।
गाथागायकहरूले राजा सलहेसलाई आफ्नो सौर्यले गर्दा महिसौथा राज्यको राजासम्म भएको वर्णन गरेका छन्। अर्को मतमा कर्णाट राजा हरिसिंह देवको समयमा मैथिली भाषाको प्रथम गद्यग्रन्थ ‘वर्णरत्नाकर’को रचना ज्योतिरीश्वर ठाकुरले सन् १३२४ तिर गरेका थिए। उक्त ग्रन्थमा ‘लोरिकनाच’को चर्चा छ तर सलहेसको चर्चा छैन। त्यसैले सलहेसको समय चौधौं शताब्दीको अन्त्य वा पन्ध्रौं शताब्दीको सुरुतिर भएको हुन सक्ने अनुमान पनि गरिएको छ तर त्यतिबेला राजदरबारमा संस्कृत पण्डितहरूको वर्चस्व रहेकाले दुसाधजस्ता तल्ला जातका नायक व्यक्तित्वबारे लेख्न आवश्यक नठानिएको हुन सक्छ। किनभने अहिले पनि सन् १८८१ मा जार्ज ग्रियर्सनले सलहेस गाथालाई लिपिबद्ध नगरेको भए शास्त्रीय लेखकहरूले लेख्ने थिएनन्।
त्यति मात्र होइन, आजसम्म पनि डा. महेन्द्रनारायण राम (सलहेसका स्वजातीय) बाहेक कसैले पनि सलहेस गाथाको उद्धार गरी लिपिबद्ध गर्ने साहस देखाएका छैनन्। त्यस्तै नेपालका पुरातत्त्वविद् तारानन्द मिश्रले सलहेस गाथामा आएको महेश्वर भण्डारीको चर्चाको ऐतिहासिक साक्ष्यको आधारमा पृथ्वीनारायण शाहको समयसम्म ल्याउँदै सलहेस गाथालाई शाहकालको मध्यभाग १८३० सालमा हुने तथ्य निरूपण गरेका छन्। लगभग एक सय वर्षपछि जार्ज ग्रियर्सनले सलहेस गाथाको प्रसंग छापे र दुसाध जातिद्वारा सलहेस पुजिने गरेको कुरा पनि भने। पचास–सय वर्षको अवधिमा उनी महानायकबाट देवतासम्म हुन पुग्छन्, जुन त्यति सम्भव लाग्दैन।
मैथिली लोकगाथामा सलहेसको स्थान यसकारण पनि विशिष्ट छ कि यसको प्रचार–प्रसार निकै विस्तृत भूभागमा फैलिएको छ। मैथिल गाथामा वर्णित स्थानहरू आजसम्म पनि छन्। यस्ता स्थानहरूमा महिसौथा (सलहेसको जन्मस्थान), सलहेस फूलबारी (जहाँ सलहेस पूजा गर्न फूल टिप्थे), मनिकदह (जहाँ सलहेस नित्य नुहाउँथे), पकडियागढ (जहाँको दरबारमा सलहेस चौकीदार थिए), कमलदह (जहाँ परीद्वारा सलहेसलाई जन्माएर छाडिएको विश्वास गरिन्छ), त्रिवेणी (कमला, बैजनी र ताउखोलाको संगममा प्रत्येक वर्ष मेला लाग्ने ठाउँ), ननमहरी (जहाँ रहेको मन्दिरमा सामान्य व्यक्तिको प्रवेशमा लागेको प्रतिबन्ध सलहेसले फुकुवा गराएका थिए), मोरङ (गाथामा महेश्वर भण्डारीको राजधानी), बराटपुर, सिलहट अखडा आदि स्थानहरू महिसौथा नजिकै छन्। यी स्थान अधिकांश सिरहा जिल्लामा पर्छन्।
गाथाको बनोट र जननायक सलहेसको अवस्थिति, तिब्बत र किरातसँगको युद्धमा प्रदर्शित बहादुरीजस्ता प्रसंगले पनि उनलाई नेपालको राष्ट्रिय विभूतिको रूपमा स्वीकार गर्नुपर्ने तर्क अघि सारिन्छ।
सिरहा जिल्लामा रहेका सलहेससम्बन्धी स्थलहरूको संरक्षण गर्नुपर्छ। एउटा सामान्य सुरक्षा अधिकारीबाट जीवनयात्रा थालेका सलहेस नेपाल–भारतको मैथिली भाषी क्षेत्रमा पुजनीय बन्न पुग्नु सामान्य कुरा होइन।
निकै लामो समयदेखि मैथिल समाजको लोककण्ठमा बास बस्दै आएको सलहेसको कथाले सम्पूर्ण समाजलाई प्रभावित पार्दै जानुले यसको प्राचीनता, विश्वसनीयता र ऐतिहासिकता प्रमाणित हुन्छ।
वर्ण व्यवस्थाको प्रारम्भिक चरणमा शोषण, अत्याचार र सामन्ती प्रवृत्तिविरुद्ध सलहेसले दलित तथा शोषित समाजका लागि सौर्य र तेजद्वारा नयाँ वातावरण निर्माण गर्न सकेका कारण उनको व्यक्तित्व उच्च देखिन्छ।
प्रकाशित: २१ चैत्र २०८२ १०:२८ शनिबार





