२२ आश्विन २०८३ बिहीबार
image/svg+xml
धर्म/संस्कृति

कर्णालीमा धार्मिक पर्यटक: ओझेलमा पञ्चकोसी र त्रिवेणी

पानीमाथि ज्वाला बल्छ, मन्दिरमा आस्थाको दीप झिलिमिली हुन्छ, वरिपरि इतिहास र किंवदन्तीका कथा छन् तर यही ज्वालाको उज्यालो बोकेको दैलेखको पञ्चकोसी भने विकास र प्रचारप्रसारको अभावमा बिस्तारै ओझेलिँदै गएको छ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरसंगै जोडिएको पञ्चकोसी मात्रै होइन कालिकोटको ३ हजार ८ सय ६० मिटर उचाइमा रहेको त्रिवेणी धाम पनि आस्थाको धरोहरको रूपमा रहेको छ। त्रिवेणी पाटन सौन्दर्यका हिसाबले मात्र नभई धार्मिक हिसाबले महत्त्वपूर्ण छ। प्रचारप्रसार नहुँदा यसको महिमा गुपचुपजस्तै बनेको छ। सरकारको विकास प्राथमिकतामा कहिल्यै नपरेकाले पञ्चकोशी र त्रिवेणी धाम गुमनामजस्तै बनेका छन्।

ज्वालाको उज्यालोमा ओझेलिएको पञ्चकोसी

दैलेखको पञ्चकोसी पुग्दा धर्म, आस्था र प्रकृतिको अद्भुत संगम देखिन्छ। कतै पानीमाथि नै ज्वाला बलिरहेको दृश्य भेटिन्छ, कतै प्राचीन मन्दिर र तीर्थस्थलले इतिहासको कथा सुनाइरहेका हुन्छन्। धार्मिक आस्थासँगै वैज्ञानिक र पर्यटकीय सम्भावना बोकेको यो क्षेत्र भने अहिले आफैं ओझेलमा पर्दै गएको छ।

स्थानीयदेखि प्रदेश सरकारसम्मको प्राथमिकतामा पर्न नसक्दा दैलेखको महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्र पञ्चकोसीको विकासको गति बर्सेनि सुस्ताउँदै गएको छ। पर्यटकलाई आकर्षित गर्ने आशालाग्दा संरचना निर्माण नहुँदा यहाँ आउने पर्यटकको संख्या पनि अपेक्षाअनुसार बढ्न सकेको छैन्। पञ्चकोसी क्षेत्रमा श्रीस्थान, नाभिस्थान, पादुका, धुलेश्वर र कोटिला गरी पाँचवटा महत्त्वपूर्ण तीर्थस्थल छन्। धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेका यी स्थललाई व्यवस्थित गर्न दीर्घकालीन गुरुयोजना बन्न सकेको छैन्। सडक, विद्युत्, पर्यटकका लागि आवश्यक पूर्वाधार र प्रचारप्रसारको अभावले यस क्षेत्रको सम्भावना खुम्चिँदै गएको स्थानीयको गुनासो छ।

पञ्चकोसीको सबैभन्दा रोचक पक्ष श्रीस्थान र नाभिस्थानमा देखिने प्राकृतिक ज्वाला हो। यहाँ पानीमाथि नै ज्वाला बलिरहेको देख्न सकिन्छ। आसपासका खोला तथा खोल्सामा समेत ज्वाला बाल्न सकिने अवस्था रहेको स्थानीय बताउँछन्।

यही कारण पञ्चकोसी धार्मिक आस्थासँगै वैज्ञानिक चासोको क्षेत्र पनि बनेको छ। यहाँ प्राकृतिक ग्यास तथा पेट्रोलियम पदार्थको सम्भावना रहेको भन्दै विभिन्न समयमा अध्ययनसमेत भएका छन्। चिनियाँ टोलीले समेत यस क्षेत्रमा अध्ययन गरेको स्थानीयको भनाइ छ। तर, वैज्ञानिक सम्भावनाभन्दा धार्मिक आस्था नै पञ्चकोसीको मुख्य पहिचान बनेको छ। टाढाटाढाबाट श्रद्धालुहरू यहाँ दर्शन र पूजाका लागि आउने गर्छन्। धार्मिक पर्यटकका लागि आस्थाको केन्द्र बनेको यो क्षेत्र भने आवश्यक पूर्वाधारको अभावमा अझै व्यवस्थित पर्यटकीय गन्तव्य बन्न सकेको छैन।

सम्भावना धेरै, लगानी न्यून

पञ्चकोसी क्षेत्रको विकास गर्न सके दैलेखको पर्यटनसँगै स्थानीय अर्थतन्त्रमा समेत ठूलो योगदान पुग्न सक्ने ब्यवसायी राजेशकुमार हमालले बताए। स्थानीय तहहरूले धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर ठोस कार्यक्रम ल्याउन नसकेको उनको भनाइ छ। हमालले भने, ‘पर्यटन विकासमा लगानी गर्न सके आर्थिक विकास सम्भव हुन्छ।’

पञ्चकोसी क्षेत्र चारवटा स्थानीय तहमा फैलिएको छ। दुल्लु, नारायण र चामुण्डाविन्द्रासैनी नगरपालिका तथा भैरवी गाउँपालिकाभित्र पर्ने यी पाँचवटै तीर्थस्थललाई एउटै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रयास भने अझै प्रभावकारी बन्न सकेको छैन।

पञ्चकोसीको विकासका लागि संरचना निर्माणसँगै यसको प्रचारप्रसार पनि उत्तिकै आवश्यक रहेको पत्रकार विशाल सुनार बताउँछन्। उनका अनुसार पञ्चकोसीलाई धार्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्न सडक र भौतिक पूर्वाधारसँगै प्रचारप्रसार, पर्यटकमैत्री सेवा र दीर्घकालीन योजना आवश्यक छ।

पाँच तीर्थस्थल, पाँच कथा

पञ्चकोसीका पाँचवटै तीर्थस्थलको आफ्नै धार्मिक महत्त्व छ। स्वस्थानी व्रतकथासँग जोडिएको जनविश्वासअनुसार महादेवले सतीदेवीको शव बोकेर पृथ्वी परिक्रमा गर्ने क्रममा दैलेखका विभिन्न स्थानमा उनका अंग खसेका थिए। जनश्रुतिअनुसार श्रीस्थानमा सतीदेवीको शिर, नाभिस्थानमा नाभि, पादुकामा पाउ, कोटिलामा कोटी र धुलेश्वरमा बाँकी धुलो खसेको मानिन्छ। सतीदेवीका अंग खसेका स्थानमा महादेवको आक्रोशबाट ज्वाला उत्पन्न भएको धार्मिक विश्वाससमेत रहँदै आएको छ।

विगतमा पाँचै स्थानमा ज्वाला बल्ने गरेको भनिए पनि अहिले मुख्यतः श्रीस्थान र नाभिस्थानका विभिन्न स्थानमा प्राकृतिक ज्वाला देखिने गरेको छ। धार्मिक विश्वास, प्राचीन इतिहास, प्राकृतिक ज्वाला र वैज्ञानिक सम्भावनाले पञ्चकोसीलाई अरूभन्दा फरक बनाएको छ। तर, यही सम्भावना बोकेको क्षेत्र अहिले पर्याप्त पूर्वाधार, प्रचारप्रसार र योजनाको अभावमा गुमनाम बन्दै गएको छ।

पञ्चकोसीलाई केवल पूजा र दर्शन गर्ने स्थलका रूपमा सीमित नराखी धार्मिक, सांस्कृतिक, ऐतिहासिक र वैज्ञानिक पर्यटनको साझा गन्तव्यका रूपमा विकास गर्न सके दैलेखको पर्यटनले नयाँ उचाइ लिन सक्ने दुल्लु नगरपालिकाका नगर प्रमुख भरत रिजालले बताए। त्यसका लागि पाँचै तीर्थस्थललाई जोड्ने एकीकृत गुरुयोजना र त्यसको निरन्तर कार्यान्वयन भने अझै पर्खाइमै छ।

धार्मिक आस्थाको धरोहर, भू-स्वर्ग त्रिवेणी

कर्णालीमा लुकेको प्रकृतिको सुन्दर रचना। मानव जातिका लागि अमूल्य उपहार। जो अलौकिक छ। अद्भुत छ। अकल्पनीय छ। मनमोहक अनि बेजोड छ त्रिवेणी। समुद्री सतहदेखि ३ हजार ८ सय ६० मिटर उचाइ। आँखाका नजरहरूले नभ्याउने विशाल क्षेत्रफल धर्तीको स्वर्ग अर्थात् भू–स्वर्ग। प्रकृतिको हरित कुचीले रङ्गिएका फराकिला फाँटहरू।

पछिल्लो समय त्रिवेणी पाटन पश्चिम नेपालकै सुन्दर पर्यटकीय स्थल बन्दै गएको छ। त्रिवेणी पाटन सौन्दर्यका हिसाबले मात्र नभई धार्मिक हिसाबले महत्त्वपूर्ण छ। नजिकै देखिने सुन्दर हिमाल, मनोरम प्राकृतिक दृश्य त्रिवेणी पाटनका विशेषता हुन्। पाटनबाट तीनवटा मुहान फुटेर बगेको खोलाको संगम रहेकाले यसलाई त्रिवेणी पाटन भनिएको हो।

त्रिवेणी पाटनमा दुईवटा खोला छन्, गंगा र जमुना जहाँ नुहाउँदा रोग र पाप पखालिन्छ भन्ने धार्मिक विश्वास रहेको छ। त्रिवेणी पाटन घुम्न वैशाखदेखि असोजसम्मको समय उत्तम मानिन्छ। नजिकै रहेको बडिमालिका मन्दिरमा जनैपूर्णिमाको अघिल्लो दिन मेला लाग्ने गर्छ। मेला भर्न विभिन्न जिल्ला र भारतबाट पनि मानिसहरू बडिमालिका पुग्ने गरेका छन्। उनीहरू पनि एकपटक त्रिवेणी पाटनमा पुगेरै जाने गरेको सान्नीत्रिवेणी गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीले बताए।

त्रिवेणी पाटन आसपासमा रहेका २२ वटा पाटनमा सयौं प्रजातिका फूल फुल्छन्। त्रिवेणी पाटननका जुनसुकै भागमा उभिएर हेर्दा पनि मनोहक प्रकृतिको बिपुल छटाले घेरेको पाइन्छ। करिब एक सय ४० भन्दा बढी जातका फूल, सयौं जातका जडीबुटी, १ सय भन्दा बढी प्रकारका चरा, ६ महिना घोडा, भेडा चराउन २२ घाँसे मैदान र तीन नदीको संगम रहेको पवित्र धाम, हिमशृंखलाले यसको महत्त्व झनै बढाएको छ।

पछिल्लो समय धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको त्रिवेणी पाटनमा पर्यटन प्रवर्धन गर्न पूर्वाधार निर्माण गरिएको छ। त्रिवेणी पाटनमा घुम्न पुग्ने पर्यटक तथा बडिमालिकाको दर्शन गर्ने भक्तजनहरूका लागि धर्मशाला, स्नानका लागि एक सय आठ धारा, शौचालय, ड्रेस चेन्ज रुम, हेलिप्याड तथा प्रवेशद्वारलगायत संरचना निर्माण भएपछि आन्तरिक पर्यटक तथा भक्तजनहरूलाई सहज भएको हो।

पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित पूर्वाधार निर्माणपछि त्रिवेणी पाटन पुग्ने भक्तजन र पर्यटकलाई बास बस्न सहज भएको डिभिजन वन कार्यालय कालीकोटका प्रमुख धर्मराज उपाध्यायले बताए।

वर्षौँदेखि आवश्यक पूर्वाधारको अभावमा समस्या भोग्दै आएका आन्तरिक पर्यटक तथा भक्तजनहरूलाई अहिले भने सहज रूपमा दर्शन तथा भ्रमण गर्न सक्ने अवस्था बनेको उनको भनाइ छ।

यस पाटनको आकर्षण भनेको जंगली जनावर पनि हुन्। कस्तुरी, मृग, हिउँ चितुवा, हिमालयन थार, हिमाली भालु, वन कुकुर, नायरलगायत वन्यजन्तु यस क्षेत्रमा पाइने गरेको स्थानीय बताउछन्। जडीबुटीका लागि त्रिवेणी क्षेत्र प्रख्यात छ।

यस क्षेत्रमा ४५ भन्दा बढी प्रजातिका दुर्लभ तथा बहुमूल्य जडीबुटी पाइन्छ। त्रिवेणी पाटन, आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा परिचित छ।

यहाँ पर्यटक भिœयाउन सक्ने हो भने त्रिवेणी सिमाना कालीकोट, सुदूरपश्चिम प्रदेशका बझाङ, बाजुरा, अछाम, र डोटी जिल्लाको आन्तरिक आयस्रोतमा ठूलो सहयोग पुग्ने स्थानीयको विश्वास छ। सिजनअनुसार पर्यटक पुग्ने हुनाले यो क्षेत्रमा खाना तथा बासको उचित प्रबन्ध छैन। यो क्षेत्रमा सबै सरोकारवालाको नजर पुगेको खण्डमा विदेशी पर्यटकलाई भिœयाउन सकिने स्थानीयको भनाइ छ।

बहुचर्चित बडीमालिका मन्दिरका कारण त्रिवेणी पाटन चर्चामा छ। धार्मिक मान्यताअनुसार यही त्रिवेणी पाटनमा टेकेर मात्र बडीमालिका दर्शन गर्न जानुपर्छ। यही मान्यताअनुसार त्रिवेणीमा नुहाएर बडीमालिकामा गई माईको पूजा गर्ने प्रचलन रहिआएको हो।

हरेक वर्ष जनैपूर्णिमाका दिन बडिमालिका, त्रिवेणीमा धार्मिक मेला लाग्छ। जनै पूर्णिमामा भारतको कुमाउ र गढवालदेखि भक्तजन त्रिवेणी आउने गरेको कालिकोटका पुजारी कृष्णप्रसाद धमला बताउँछन्। उनी भन्छन्, ‘त्रिवेणी हुँदै बडिमालिका जाने हजारौं तीर्थालु हुन्छन्।’

हरेक वर्षको श्रावण शुक्ल चतुर्दशी (जनै पूर्णिमाको अघिल्लो दिन) बडिमालिका मन्दिरमा पूजाआजा हुने प्रचलन छ। बडिमालिका दर्शन गरेमा इच्छाएको वरदान प्राप्त हुने जनविश्वासका कारण यहाँ पुग्नेको घुइँचो लाग्ने गर्छ।

बडिमालिका मन्दिर ४ हजार २ सय मिटरको उचाइमा न अवस्थित कलात्मक शक्तिपीठ हो। जसको धार्मिक, ऐतिहासिक र प्राकृतिक महत्त्व अत्यन्तै उच्च छ। नेपाली सेनाले अनेकौं चुनौती छिचोल्दै गत वर्ष पुरानो मन्दिर जीर्णोद्धार गर्दै पुरातात्त्विक मापदण्डमा नयाँ मन्दिर निर्माण गरेपछि बडिमालिकाको निकै चर्चा छ।

प्रकाशित: २१ आश्विन २०८३ १०:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App